काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धिजस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाले तिनको सामना गर्न शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा ‘समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदा’को भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण र अनुकूलनका रणनीति विकास गर्न सकिने बताए । उनले बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू–उपग्रह प्रविधिसँग जोडेर ‘सटिक’ रुपमा पूर्व सूचना प्रदान गर्न सकिने बताए ।
मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धिजस्ता प्रकोप झेल्नु परिरहेको र संवेदनशील क्षेत्रका समुदाय यी जोखिमको अग्रभागमा रहेको बताए ।
मन्त्री पाण्डेले भने, ‘यसले हामीलाई संसारलाई कसरी हेरिरहेका छौँ, प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरहेका छौँ र सङ्कटमा हामी कसरी प्रतिक्रिया दिन्छौँ भन्ने कुरा निर्धारण गर्ने छ, प्रकोप र जलवायु परिवर्तनका सन्दर्भमा यी सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान् छन् ।’
उनले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौँदेखि जटिल ज्ञान र अभ्यासका प्रणाली विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए ।
सांस्कृतिक सम्पदामा यस्ता प्रकोपसँग कसरी अनुकूलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले सङ्कटका समयमा जीवित रहन महत्त्वपूर्ण भूमिका खेल्न उल्लेख गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरहरूको सामना गर्न यी अभ्यास आवश्यक रहेको कुरामा जोड दिए ।
मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परम्परागत काठका संरचनाको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केबल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एक अर्कासँग तथा आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताए ।
यस्तै अफ्रिकामा, परम्परागत सङ्गीत र कथावाचनले प्रकोपका बेला हुने आघात तथा क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको उल्लेख गरे ।
प्रतिक्रिया