सहकारी प्रकरणमा पक्राउ पूर्वडीआईजी जोशीलाई पोखरा लगिँदै

By खबरहब

September 22, 2024

काठमाडौं- सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा काठमाडौंको शंखमूलबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार नै पोखरा लगिँदैछ ।

काठमाडौंमा पक्राउ परेका उनलाई आइतबार राति ८ बजेको बुद्ध एयरको जहाजबाट पोखरा लैजान लगिएको छ ।

जोशीलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गरिएकाले अदालतबाट थप म्याद लिन जहाजमार्फत पोखरा लान लगिएको हो ।

छवि पक्राउ परेसँगै प्रहरीको अर्को टोली गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्न खटिसकेको छ । गितेन्द्रबाबु राई (जीबी), रवि र छवि गोर्खा मिडियाका साझेदार हुन् ।

लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली रास्वपा केन्द्रीय कार्यालयमा पुगिसकेको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएलगत्तै प्रहरीले सक्रियता बढाएको हो ।