विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता « Khabarhub

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटामा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर संकट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ ।

उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ । कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ । 

यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डकी नदीमा बाँध बाँधेर छ सय ४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना, जलविहारलगायत बहुउद्देश्यीय अयोजना सञ्चालनका लागि अहिले वातावरणीय प्रभाव मूल्यांकनलगायत काम भइरहेको छ ।

 ‘कालीगण्डकी बचाऔँ अभियान’ले यी दुवै परियोजनाले नदी र पर्यावरण संरक्षणका दृष्टिले उपयुक्त नरहेको विज्ञप्तिमार्फत जनाएको छ । कालीगण्डकी डाइभर्सन अयोजनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले हालै खारेज गरिदिएको विषयमा पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

‘यस्ता परियोजनाले आसपासका क्षेत्रका बासिन्दाको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर असर पुर्याउन सक्छ । कालीगण्डकी नदीको संरक्षण र यसको पारिस्थितिकीमा अझ बढी खतरा उत्पन्न हुन्छ’, अभियानका संयोजक आरके अदीप्त गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाले कालीगण्डकी नदीको आफ्नै जीवन्त प्राकृतिक प्रवाह खल्बलिने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वलाई नष्ट गर्ने जोखिम उत्पन्न गरेको संयोजक गिरीको भनाइ छ । 

नदीको मनलाग्दी दोहन र नदीमा आधारित ठूला विकास परियोजनाका कारण भविष्यमा जलसंकट, जैविक विविधताको ह्रास र भौगर्भिक सङ्कट निम्तिन सक्ने उनले बताए। अभियानले मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको संकटलाई अनदेखा नगर्न र मौनता नसाँध्न सबै पक्षलाई आग्रह गरेको छ । पर्यावरण संरक्षणसँगै मौलिक ढङ्गले विकास परियोजना सञ्चालन गर्नुपर्ने उसको माग छ । 

हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ । चार वर्षअघि जन्मेको उक्त अभियानले यसअघि ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाएको थियो । कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताए।

नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पुर्याइरहेको उनको भनाइ छ । नदीको धार परिवर्तन र जलासय निर्माणले धार्मिकस्थल, ऐतिहासिक संरचना र प्राकृतिक विविधताको नष्ट हुने जोखिम रहेको उनको भनाइ छ ।

कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने गिरीको भनाइ छ । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । 

विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख स्थितिमा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ । 

राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत संकटोन्मुख अवस्थामा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १० : १३ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ