काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वबाट हट्नुपर्ने बहसलाई रोकेका छन्।
ओलीले यो बहसलाई प्रतिवेदनमा रोके पनि केन्द्रीय कमिटी बैठकमा भने यो विषयले प्राथमिकता पाउन लागेको छ। एमालेमा नेतृत्व पुनर्गठनको बहसलाई प्राथमिकताका साथ बैठकमा उठाउने तयारी नेताले गरेको देखिन्छ।
सोमबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा बहुमत नेताले यथास्थितिमा पार्टी चल्न नसक्ने विषयलाई प्राथमिकताका साथ उठाउन लागेको जानकारी धेरै जनाले दिएका छन्।
०८२ मङ्सिरमा महाधिवेशन गरेर एमालेको अध्यक्षमा विजय भएका ओलीले अहिलेसम्म आफूबाहेक एमालेको विकल्प अरुलाई उभ्याउन चाहेका छैनन्। बदलिँदो राजनीति परिस्थिति र तल्लो तहका कार्यकर्ताको बदलिएको भावनालाई कदर नगरिकन ओली एकलौटी रुपमा नेतृत्वमा बस्न चाहेको विश्लेषण हुँदा पनि उनी पद छाड्ने मनस्थितिमा नपुग्नुले पार्टी निरन्तर ओरालो यात्रामा लागेको विश्लेषण पार्टी नेता गोकुल बाँस्कोटा गर्छन् ।
तल्लो तहका कार्यकर्ता र माथिल्लो तहका नेताले पनि ओली लगायत पहिलो पुस्ताले पार्टीबाट सम्मानजनक बिदा हुनुपर्ने माग राखिरहँदा ओली त्यस्ता माग राख्ने व्यक्तिलाई आवाराको संज्ञा दिन्छन् । निर्वाचनपछि पहिलोपटक गृहजिल्ला आएर ओलीले पार्टीमा नेतृत्व पुस्तान्तरण र पुनर्गठनको माग राख्ने व्यक्तिलाई आवाराको संज्ञा दिएका थिए। युवा पुस्ताले गरेको गत भदौ २३ र २४ को आन्दोलनपछि पनि पुरानै ढर्रामा रहेका ओलीलाई पार्टीबाट हटाउनका लागि लामो कोसिस भए पनि अहिलेसम्म एमालेजनले सकेका छैनन्।
आफू विरुद्धको प्रतिवेदनलाई फेल
एमाले अध्यक्ष ओली केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकमा समेत अल्पमतमा छन्। तर उनी अनेक जुक्ति गरेर नेतालाई आफ्नो पक्षमा तान्ने प्रयत्न गरिरहेको देखिन्छ । गत मङ्सिरमा भएको महाधिवेशनबाट ओलीले महासचिव पद नदिएपछि एमाले यथास्थितिमा चल्न नसक्ने मागलाई तिखो रुपमा उठाइरहेका प्रदीप ज्ञवाली पनि अहिले ओलीको पछि लागेको चर्चा हुन थालेको छ।
अरु केही युवा नेतालाई पनि ओलीले आफ्नो पक्षमा तान्नका लागि विभिन्न स्वार्थ देखाइरहेका छन्। तर पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकमा ओली अल्पमतमा रहेको दाबी पार्टीले युवा नेता नरेश रोकाय गर्छन्।
अरु केही युवा नेतालाई पनि ओलीले आफ्नो पक्षमा तान्नका लागि विभिन्न स्वार्थ देखाइरहेका छन्। तर पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकमा ओली अल्पमतमा रहेको दाबी पार्टीले युवा नेता नरेश रोकाय गर्छन्। उनी भन्छन,” हामीले अध्यक्षज्यूलाई मात्र होइन पार्टीको पहिलो पुस्तालाई सम्मानजनक विदाई गर्छौं भनेका हौँ। अहिलेको वर्तमान राजनीति परिस्थितिलाई उहाँले बुझेर सम्मानपूर्वक छोडिदिनुपर्छ। सम्मानपूर्वक बाटो छोडिदिनुहोस् पहिलो पुस्ताले भन्ने नेताहरू केन्द्रीय कमिटी र सचिवालयमा मैले देख्दा चाहिँ बहुमतै देख्छु।”
एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रघुजी पन्त, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट उपमहासचिव योगेश भट्टराई लगायतले पार्टीमा नेतृत्व पुनर्गठन र पुस्तान्तरणको बहसलाई यस अगाडि नै सचिवालय बैठकमा राखेका थिए। चौतर्फी रुपमा पार्टी पुनर्गठन र पुस्तान्तरणको बहस सातवटै प्रदेशबाट सुझावमा आएको थियो। तर ओलिका विश्वास पात्र रामबहादुर थापा बादलले तयार पारेको प्रतिवेदनमा पार्टी पुनर्गठन र पुस्तान्तरणको बहसलाई हटाइएको छ।
अध्यक्ष ओलीले तत्कालका लागि पार्टी पुनर्गठन र पुस्तान्तरणको बहस आवश्यकता नरहेकाले नराख्नका लागि बादलसहितका नेताहरुलाई दबाब दिएका थिए । त्यसपछि आज बसेको सचिवालय बैठक अगाडिको कार्यदलको बैठकमा शंकरले तयार पारेको प्रतिवेदनलाई रोकेर बादलले पुनर्गठन र पुस्तान्तरणको बहस हटाएर आफ्नो प्रतिवेदनमा मर्ज गरेका छन् । कार्यदलका संयोजक रामबहादुर थापा बादलले सो प्रतिवेदनलाई मर्ज गरेर एउटै प्रतिवेदन अब बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ।
अहिले पार्टीमा पुनर्गठन र पुस्तान्तरणको बहस आवश्यकता नरहेकाले एउटै प्रतिवेदन बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय भएको जानकारी सचिव पदमा अर्यालले दिइन् । ” अहिले दुईवटा प्रतिवेदन पेश गर्नु आवश्यकता छैन। नेतृत्व पुनर्गठनको बहस अहिले औचित्यहीन छ। सबै नेताले यही निष्कर्ष निकालेका कारण अब नेतृत्व पुनर्गठन र पुस्तान्तरणको बहस सहितको प्रतिवेदन पेश हुँदैन। भोलि बादल कमरेडले एउटा मात्रै प्रतिवेदन पेश गर्नुहुन्छ। त्यो हो कार्यदलले तयार पारेको एमाले जागृत गराउने प्रतिवेदन पेश हुन्छ।” अर्यालले भनिन्,”अरु प्रतिवेदन अहिले अर्थहीन हुन्छ त्यसकारण पहिला के गर्नुपर्ने हो पार्टीमा त्यो गर्नुपर्छ नेतृत्व परिवर्तनको बहस अहिले गर्ने उपयुक्त समय होइन किनभने हामीले भर्खरै महाधिवेशन गरेका छौं।”

प्रतिवेदनमा यो विषय नउठाइए पनि अनुसूचीमा भने प्रदेश र जिल्लाबाट आएका सुझावलाई समेटिने जानकारी पार्टी उपमहासचिव लेखराज भट्ट दिन्छन्। ” अहिले नेतृत्व परिवर्तनको विषय विवादित भएकाले प्रतिवेदनमा राखेनौँ। तर जिल्ला र प्रदेशबाट आएका सुझावलाई अनुसूचीमा समेटेका छौँ ,” भट्टले भने,” अहिले एउटै प्रतिवेदन लाने निर्णय भएका कारण यसो गरिएको हो। कसैको पनि यसमा विमति छैन। महासचिवले तयार पारेको प्रतिवेदन र कार्यदल संयोजक बादल कमरेडले तयार पारेको प्रतिवेदनलाई एउटै रूप दिने काम भएको हो।”
केन्द्रीय कमिटी र परिषद् बैठकमा उठाउनेछन् नेताले नेतृत्व पुनर्गठनको विषय
कार्यदलले तयार पारेको प्रतिवेदन ओलीले एक दुईपटकसम्म आफू र आफ्ना निकट नेताहरूलाई पढ्न लगाइसकेका छन्। त्यसमा काहीँ कतै परिवर्तनको बहस चुहिएको भए ओलीले शब्दबाटै सुधार्न आग्रह गरेका छन् । बादलले तयार पारेको प्रतिवेदनमा शंकरका पनि कुरा राखेर ओलीलाई नै अन्तिम रूप दिन लगाइएको थियो। त्यसपछि बादलले सो प्रतिवेदनलाई बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेछन् ।
आजबाट एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ। केन्द्रीय कमिटी बैठकमा नेतृत्व पुनर्गठनको विषय व्यापक रुपमा उठ्ने नेताहरु जानकारी दिन्छन्। “अध्यक्षज्यूले रोकेर रोकिनेवाला छैन चौतर्फी रुपमा तल्लो तहबाटै नेतृत्व पुनर्गठनको विषय उठेको छ। त्यसकारण हामीले यसलाई प्राथमिकताका साथ उठाउँछौं।” ती नेताले भने,” केन्द्रीय कमिटी बैठकले नै परिषद् कमिटी बैठक बोलाउने पनि निर्णय गर्छ। हामी अगाडि बढिरहेकाले नेतृत्व परिवर्तनको बहस रोकिँदैन किनभने पछिल्लो समयको राजनीति घटनाक्रमले नै पार्टीहरूमा नेतृत्व परिवर्तनका आवाज तीव्र रुपमा उठेको छ। तपाईं कांग्रेसमा हेर्नुहोस् । आखिर जित त युवाकै भयो नि ।”
महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनबाट नेतृत्व पुनर्गठन र परिवर्तनको बहसलाई हटाएर अरु कुरा भने समावेश गरिएको जानकारी उपमहासचिव भट्ट दिन्छन्।
नेताहरुले लिखित रुपमा नै पनि यो बहसलाई प्राथमिकता दिनका लागि निवेदन गर्नेछन् । महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा नेतृत्व पुनर्गठन र परिवर्तनको बहसलाई हटाएर अरु कुरा भने समावेश गरिएको जानकारी उपमहासचिव भट्ट दिन्छन्।
परिषद् बैठकको आह्वान
नेताहरुको चाहना अनुसार एमालेले केन्द्रीय परिषद् बैठक बाेलाएको छ । बैठकमा उपस्थित शीर्ष नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा नेताहरूले परिषद् बैठक बोलाउनका लागि आग्रह गरेपछि बैठक बाेलाइएको हो । गत विधान अधिवेशनबाट पारित भएको एमालेको विधानको धारा १२ मा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन सक्ने व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर केन्द्रीय कमिटी बैठकबाट पारित भएर यो प्रक्रियामा जान लागिएको हो।
“अब यो नेतृत्व पुनर्गठन पार्टी पुस्तान्तरण हस्तान्तरण र पहिलो पुस्ताको सम्मानजनक विदाईको बहस त प्राथमिकताका साथ उठेको छ। यसलाई कुनै पनि नेतृत्वले रोकेर रोकिनेवाला छैन किनभने पछिल्लो राजनीतिक घटनाक्रम हेर्नुभयो भने जुनसुकै पार्टीमा पनि यो बहसले प्राथमिकता पाएको छ। त्यसकारण एमाले जस्तो तल्लो तहमा नेता कार्यकर्ता र संगठन भएको पार्टीमा बिल्कुलै परिवर्तनको बहस उठ्छ,” पार्टीका एक केन्द्रीय सदस्यले भने,”हामीले पनि अध्यक्षज्यूलाई अप्ठ्यारोमा साथ दिएका हौँ। तर सधैंभरि बोकेर हिँड्ने कुरा पनि भएन फेरि अर्कोको कुरा के हो भने भदौ २३ र २४ को आन्दोलन नै पार्टीमा देखिएको उकुसमुकुसको पनि एउटा उदाहरण थियो किनभने २०८२ साल सम्म नेपालको राजनीतिले एउटा मोड लिएको थियो त्यसपछि नेपालको राजनीति अर्को मोडमा उभिएको छ। त्यो अर्को मोडमा उभिएको राजनीतिलाई त्यही पुस्ताले र त्यही विचारले गाइडेड गरेर जान जरुरी छ । म नै सधैंभरि पदमा बसिरहन्छु। मेरो विकल्प नै कोही छैन भन्ने कुरा त कसैले पनि गर्नुभएन नि ।”
अहिले एमालेमा ओलीको विकल्प विद्या भण्डारीलाई अघि सारिएको विषय पनि प्राथमिकताका साथ उठेको छ। तर पार्टीका युवा नेताहरू ओलीको विकल्प विद्या भण्डारी हुन नसक्ने बताउँदै दोस्रो या तेस्रो पुस्ताले नेतृत्व ल्याउनका लागि कसरत गरिराखेको बताउँछन् ।
” ओलीको विकल्प भण्डारी होइन भन्ने कुरा त यो आन्दोलन र आन्दोलनको मर्मले नै देखाइसकेको छ। त्यसकारण सीमित समयका लागि उहाँले नेतृत्व गरेर महाधिवेशनसम्म जान सक्नुहोला। त्यो चाहिँ सुशीला कार्कीको आन्तरिक सरकार जस्तो हुन्छ ।”
सीमित समयका लागि भण्डारीलाई नेतृत्व मानेर जान तयार हुने तर महाधिवेशनपछि अरु पुस्ता नै नेतृत्वमा आउनुपर्ने विषय पनि प्राथमिकताका साथ उठेको छ। ” ओलीको विकल्प भण्डारी होइन भन्ने कुरा त यो आन्दोलन र आन्दोलनको मर्मले नै देखाइसकेको छ। त्यसकारण सीमित समयका लागि उहाँले नेतृत्व गरेर महाधिवेशनसम्म जान सक्नुहोला। त्यो चाहिँ सुशीला कार्कीको आन्तरिक सरकार जस्तो हुन्छ ।” पार्टीका एक जिम्मेवार नेताले भने,” अब पनि एमालेमा अध्यक्षज्यूले म नै सर्वैसर्व हो मेरो नै हुकुम चल्छ भन्ने किसिमले कुरा गर्नुभयो भने चाहिँ पक्कै पनि हामीले अर्को निर्वाचनसम्म पनि पानी भन्न पाउँदैनौं।”
२०८२ भदौ २३ र २४ गते युवा पुस्ताले गरेको आन्दोलनमा केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री थिए। उनको सनकको कारण नै आन्दोलन हिंसात्मक भएको भन्दै तल्लो तहमा ओलीप्रति नकारात्मक दृष्टिकोण पैदा भइरहेको छ । बादलले तयार पारेको प्रतिवेदनमा घुमाउरो शैलीमा यो कुराहरू पनि उल्लेख भएको बताइन्छ।













प्रतिक्रिया