ओलीको कुरा सुन्न आएकाहरू भन्छन् : सरकारको काममा चित्त बुझाउने ठाउँ छैन | Khabarhub Khabarhub

ओलीको कुरा सुन्न आएकाहरू भन्छन् : सरकारको काममा चित्त बुझाउने ठाउँ छैन

जनतामा उत्साह भर्न कांग्रेस-एमालेको मिहिनेत चाहियो



काठमाडौं– सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जनसभा गरेको छ । जागरण सभा नाम दिएर एमालेले काठमाडौं, ललितपुर र भक्तपुरबाट एक लाख समर्थक उतार्ने भनेको थियो । तर सभामा करिब १५ हजारजति उपस्थित देखिए ।

संसदीय अभ्यासमा साधरणतः यस्ता सभा प्रतिपक्षले गर्छन् । तर, एमाले आफैं सरकारको नेतृत्व गर्दा पनि सडकमा कार्यकर्ता उतारेको हो । सरकारको नेतृत्व गरेको चार महिना भइसक्दा पनि जनताले महसुस गर्ने गरि नतिजा दिन नसक्दा अहिले प्रधानमन्त्री केपी शर्मा ओली आलोचनामा परिरहेका छन् । तर ओलीले शुक्रबार दरबारमार्गको मञ्चबाट सरकार बाहिर भएकाहरूले अराजक शैलीमा आफ्नो विरोध गरिरहेको टिप्पणी गरे ।

सरकारले काम गर्दा गर्दै पनि सुनियोजित घेराबन्दी गरिएको भन्दै सडकमा कार्यकर्ता उतारेर ओलीले आफनो बचाउको सक्दो कोशिश गरे ।

सभामा ओलीले पछिल्लो समय आफूलाई लागेको कम्बोडियामा लगानीबारे पनि जवाफ दिए । ‘अमेरिकी बैंकमा आधा लगानी मेरै छ । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । ओलीले आक्रमक शैलीमा भने, ‘यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।’

यस्तै, उनले सरकार र गठबन्धनमा कुनै विवाद नभएको जिकिर गरे । ‘कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’, उनले भने । ओलीले यसो भने पनि चिनियाँ परियोजना बीआरआराईबारे सत्ता गठबन्धनका दुई दलबीच असमझदारी देखिएको छ ।

कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेलले पनि सम्बोधन गरे । उनले मुलुकलाई संकटबाट माथि उठाउने उद्देश्यसहित अगाडि बढिरहेको बेला एमालेको प्रयासलाई असफल बनाउन भ्रम र दुष्प्रचारको शृंखला अगाडि बढाइएको बताए । मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने संकल्प र अठोटसहित जागरण सभा गरिएकोसमेत दाबी गरे ।

जागरण सभा चलिरहेका बेला खबरहबले जागरण सभामा सहभागी एमाले कार्यकर्तासहितका सात जनसँग तीन प्रश्नसहित कुराकानी गरेका छौँ ।

हामीले सुरुमा सरकारको काममा चित्त बुझेको छ भनेर सोध्यौँ । यस्तै, सरकारको कामलाई १ सयमा कति अंक दिनुहुन्छ ? भनेर दोस्रो प्रश्न गर्‍यौँ । तेस्रो प्रश्न, सत्तामा भएको दल सडकमा आएको ठिक लागेको छ ? भनेर सोध्यौँ ।

एमालेको सभामा स्मृति लामा र उनका दुई साथी

सरकारको काममा चित्त बुझेको छ ?

भूपेन्द्र श्रेष्ठ, काठमाडौं : यो सरकारले विगतका सरकारभन्दा तुलनात्मक रूपमा राम्रो काम गर्ने खोजिरहेको छ । सरकारको काममा चित्त बुझेको छ । तर, गठबन्धन सरकार स्थिर भए मात्रै जनअपेक्षा अनुसार काम गर्न सक्छ । सबै मन्त्तीहरुले राम्रोसँग काम गर्नुपर्छ । जनतालाई उत्साहित बनाउन सक्नुपर्छ । यो सरकारलाई असफल हुने छुट छैन ।

रोजिना आचार्य, बनेपा : सरकारको काममा पूरा चित्त बुझेको छैन । तर मूल्यांकन गरेरभन्दा राम्रो छ । तर, दुई ठूला शक्ति मिलेर बनेको सरकारले देशको हितमा अझै काम गरोस् भन्ने लाग्छ । युवामा रहेको निराशा चिर्न सक्नुपर्छ लाग्छ । युवा विदेशिएको चाहिँ आमाबाबुकै कारण हो । यसलाई हामीले बुझाउन सक्नुपर्छ । निम्न वर्गको उत्थानका लागि काम भएका छैनन्, त्यसमा ध्यान दिनुपर्छ ।

रोजिना आचार्य, बनेपा

भवनी बजगाईँ, ललितपुर : सरकारको काममा चित्त बुझेको छ । काम निरन्तर भइरहने कुरा हो । बजेट बनाउने बेला सरकार आफ्नै थियो वा अरु भन्ने कुराले पनि अर्थ राख्छ । भइरहेको बजेट प्रयोग गर्दा पनि राम्रो हुन्छ । अर्को वर्ष आफैं बजेट ल्याएर अझै राम्रो काम गर्ने अपेक्षा छ । भएका कुराहरू कार्यान्यनमा लगिदियोस् । दुई पार्टीबीच विवाद नहोस् । जनताले स्थिरता खोजेका छन् ।

नवीन राना मगर, टीकाथली : सरकारको काममा चित्त बुझ्न बाँकी छ । बिस्तारै बुझ्दै जानेछ । किनकि दुई ठूला दल मिलेर बनेको सरकारसँग जनताको ठूलो आसा र भरोसा छ । देशी–विदेशी शक्ति र प्रतिपक्षीले सरकारको काममा तगारो हालेका छन् । यो आक्रमण ठिक छैन । तर, एमाले र कांग्रेस एकमत भएर जानुपर्छ । विभिन्न भ्रमको खेती चिर्न सरकारले काम गर्नुपर्छ । प्रतिपक्षीलाई काम गरेर देखाउनुपर्छ, गाली गरेर हुँदैन ।

प्रेम थापा, जनप्रतिनिधि : हामी स्पष्ट रूपमा नीति तथा कार्यक्रम लिएर आएका छौँ । त्यहीअनुसार सरकार लागेको छ । लामो समयको अन्योल चिरेर देशका ठूला दुई शक्तिको सरकार बनेको छ । यो सरकार ठिक तरिकाले जानुपर्छ । जनताको निराशा चिर्छ भन्नेमा आशावादी छु । सरकारले काम गर्दै छ । जनतामा बिस्तारै उत्साह आउँदै छ, तर अझै मिहिनेत गर्नुपर्छ ।

प्रेम थापा, जनप्रतिनिधि

शान्तिदेवी थापा : सरकारको काममा पूरै त चित्त बुझेको छैन । राम्रो भनेर धेरै राम्रो पनि गरेको छैन । नराम्रो भनेर नराम्रै पनि गरेको छैन । स्वास्थ्य, शिक्षा र रोजगारीमा सुधार गरेको छैन । गाउँमा केटाकेटी र हामीजस्ता वृद्धवृद्धा मात्र बस्ने अवस्था छ । यो ठिक भएन । गाउँमा मलामी पनि पाइँदैन । यो कुरामा पनि ध्यान दिनुपर्छ ।

स्मृति लामा, बौद्ध : सरकारमाथि जनताको धेरै आशा छ । यो स्वभाविक हो । सामाजिक सुरक्षा लगायतका दीर्घकालीन काम भएका छैनन् । यो विषयमा सरकारले सोच्नुपर्छ । यो सरकारलाई स्थिरता दिनुपर्छ । जनतामा आशा भर्न सरकारले सक्नुपर्छ । दुई दलमा शंकाको वातावरण बन्नु हुँदैन । यो सरकार असफल भए जनताले दुख पाउँछन् ।

सरकारको कामलाई १०० मा कति अंक दिनुहुन्छ ?

भूपेन्द्र श्रेष्ठ : म १०० सयमा ६० मात्रै दिन्छु । यो सरकारसँग जनताको थुप्रै अपेक्षा छन् । यदि ठिक तरिकाले ०८४ सम्मै दुवै पार्टी मिले भने मात्रै १०० अंक दिन सकिन्छ । काम प्रारम्भ भएको छ । आर्थिक सुधार, सुशासन र विकास निमार्णको क्षेत्रमा केही राम्रो भएको छ । सुरु भएका विकासका पूर्वाधार सम्पन्न गर्नुपर्छ । पूर्व–पश्चिम राजमार्ग विस्तार हुनुपर्छ । काठमाडौ–तराई फास्ट ट्रयाक सम्पन्न हुनुपर्छ । प्रत्येक पालिकाका अस्पताल बन्नुपर्छ । सुरु मात्रै भएको छ । युवालाई रोजगारीको काम गर्नु पर्छ । सरकारले जनताको निराशा चिरे सफलता त्यही हो ।

रोजिना आचार्य, बनेपा : सरकारलाई म ९५ अंक दिन्छु । तर सुधार चाहिँ गर्नुपर्छ । महिला सशक्तीकरण, कृषिमा आधुनिकीकरण र छोरीको सुरक्षामा बजेट वृद्धि गर्नुपर्छ । कृषकलाई उत्प्रेरणा दिनुपर्छ । सबै जनतालाई उतिकै सेवा दिनुपर्छ ।

भवनी बजगाईँ, ललितपुर : म अंक ७० मात्रै दिन्छु । यो सरकारले हामी जस्ता युवालाई देशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । सृजनशील कुरा, रोजगारीको अवसर र शिक्षा, स्वास्थ्य जस्ता कुरा निःशुुल्क गर्नुपर्छ । उपचार गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।

नवीन राना मगर, टीकाथली : सयमा सय दिने अवस्था छैन । अहिले सरकारले काम गर्दै छ, ७० देखि ७५ सम्म दिन सकिन्छ । रोजगार वृद्धि गर्नुपर्छ, कृषिमा क्रान्ति गर्नुपर्छ । युवा बेरोजगारी र निराशाको अवस्था चिर्न सक्नुपर्छ । विदेशिएका युवा फर्किएपछि सीपको प्रयोग गरेर काम गर्ने वातावरण बन्नुपर्छ ।

नवीन रानामगर, टीकाथली

प्रेम थापा, जनप्रतिनिधि : कुनै पनि कुरा एकै पटक नबन्ने भएकाले स्पष्ट खाकासहित काम भइरहेको छ, यो निरन्तर होस् । सरकारको नीति तथा कार्यक्रमअनुसार काम गरे ९९ प्रतिशत नतिजा आउँछ । २०८४ सम्म गएमा १०० अंक दिन सकिन्छ ।

शान्तिदेवी थापा  : सरकार यतिकै मात्र चले त म १०० मा ५० मात्रै दिन्छु । तर, म यो सरकारले राम्रो गरोस् भन्ने शुभकामना दिन्छु । छोरा–नाति, नातिना घरमा बस्ने वातावरण मिलोस् । कृषिमा सुधार होस् । विदेशमा जस्तै देशमै केही गरेर प्रगति गर्ने अवस्था होस् । विषादीरहित कृषि उत्पादन गर्ने वातावरण बन्नुपर्छ ।

स्मृति लामा, बौद्ध : जुन हिसाबमा सरकार अगाडि बढेको छ, म ७० अंक दिन सक्छु । तर, प्रयास अझै पुगिनसकेकाले धेरै काम गर्नुपर्छ । मन्त्रीहरूले पनि जनतालाई आशा र विश्वास दिन सक्नुपर्छ । अर्थतन्त्र उकास्न राजश्व बढाउन सक्नुपर्छ । राष्ट्रिय पुँजी निमार्ण गर्न सक्नुपर्छ । गरिखाने वर्गको उत्थान हुनुपर्छ । मुख्य पार्टी एक ठाउँमा भएकाले सरकारले जनतामा आशाको सञ्चार भर्न सक्नुपर्छ ।

स्मृति लामा, बौद्ध

सत्तारुढ दल सडकमा आएको ठिक लागेको छ ?

भूपेन्द्र श्रेष्ठ : चारैतिरबाट प्रधानमन्त्रीमाथि आक्रमण भएकाले सडकमा आउनु ठिक छ । सरकारले गरेका कामबारे जनतालाई प्रष्ट पार्न उहाँ सडकमा आउनुभएको हो ।

रोजिना आचार्य, बनेपा : एमालेले सभा गरेको ठिक छ । कार्यकर्ता भेट्ने तथा शुभकामना आदान–प्रदान गर्ने थलो यस्तो सभास्थल हुन्छ । यसले त हामीलाई ऊर्जा दिएको छ ।

भवनी बजगाईँ, ललितपुर : समाजमा फैलिएको अराजकता हटाउन, सामाजिक सञ्जालका कु–प्रचारहरू चिर्न यस्तो सभा आवश्यक थियो । यसलाई घटाएर काम गर्ने सकिन्छ भनेर सभा गरिएको हो । सुशासन कायम गर्ने कुरामा एमाले कटिबद्ध छ भन्ने सन्देश पनि सभाले दिन्छ । यो पार्टीको सही कदम हो । सडकबाट एकै पटक सन्देश पुग्छ भन्ने आंकाक्षा पनि हो ।

नवीन राना मगर, टीकाथली : सत्ता पक्ष भएर सडकमा आउनु गलत हुन्छ भन्न मिल्दैन । अहिले सरकारको चौतर्फी विरोध छ, त्यसैले सरकारले परिणम पनि दिन सकोस् । गत साल मसिर ७ गते पनि यस्तै सभा भएको थियो । कांग्रेस र एमाले सत्ताका लागि मिलेको जस्तो मात्रै भएको छ, त्यसैले जनताले परिणाम खोजेका छन् ।

प्रेम थापा, जनप्रतिनिधि : सरकार बनाउने र बिगार्ने खेलमा विभिन्न शक्ति लागेका थिए । यसलाई चिरेर अगाडि बढ्न यो सभा गरिएको हो । गलत कुरा चिर्न एमाले सडकमा निस्किएको हो । एमाले जनतालाई जागृत गर्न पनि सडकमा आउनुपर्ने थियो । जनतासम्म पुग्ने एमालेको यो कदम सही छ ।

शान्तिदेवी थापा : जाम भयो र गाह्रो भयो भन्ने सुनेँ । अन्य ठाउँमा सभा गरेको भए हुने थियो कि ? तर, हामी कार्यकर्तासँग भेट्ने कार्यक्रमलाई नराम्रो भन्न मिल्दैन ।

शान्तिदेवी थापा

स्मृति लामा, बौद्ध : म सरकारको कामबारे त भन्न सक्दिनँ । तर, जनतामा जुन निराशा भरिएको थियो, यो सभाले आशाको बाटो पलाएको छ । युवामा आश जगाउन सक्नुपर्छ । जाम परेर जनतालाई दुःख भयो । कार्यक्रमस्थलबारे आयोजकले सोच्नुपर्ने थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ०५ बजे

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज

काठमाडौं – स्वतन्त्र सांसद्‌ अमरेशकुमार सिंहले दूरसञ्‍चार कम्पनी एनसेलको शेयर

लिपुलेकमा चीन–भारत मिल्दा नेपाल हेरेको हेर्‍यै

काठमाडौं– यही डिसेम्बर १८ (पुस ३) मा भारत र चीनको

अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने छ : ऊर्जामन्त्री

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष