कतारका राजा, हाम्रो देश ! | Khabarhub Khabarhub

कतारका राजा, हाम्रो देश !

सरकारमाथि प्रश्न- राजा आउँदा देशभर विदा जरुरी थियो ?


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

कतारका राजा आउने पूर्वसन्ध्यामा अव्यवस्थित तारसमेत नहटाई काठमाडौंको सडकमा टाँगिएको डिजिटल होडिङ बोर्ड ।

काठमाडौं- नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र कतारका राजा (अमिर) आज र भोलि दुई दिनका लागि नेपालको भ्रमणमा आउन लागेका छन् । राजा आउने चर्चासँगै हाम्रो देशभित्र केही कूटनीतिक बहस अनि रमाइला  ख्याल ठट्टासमेत सुरु भएका छन् ।

कतारका अमीर शेख तमिम बिन हमाद अल थानी को भ्रमणका क्रममा नेपालले लाभ लिन सक्ने ठाउँ प्रशस्त छन् । भ्रमणका क्रममा दुई देशवीच सहयोग आदान–प्रदानसम्बन्धी महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षरको तयारी छ ।

खेलकूद क्षेत्रमा फड्को मारेको कतारले नेपाललाई यस क्षेत्रमा धेरै ठूलो सहयोग पु¥याउन सक्छ । साथै, नेपालले कतारलाई अन्तरराष्ट्रिय तरकारी बजार बनाउने सम्भावना पनि छ ।

धनी देश कतारबाट नेपालको कषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानी भित्र्याउने वातावरणका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ ।

कतारी राजाको भ्रमणबाट कतारमा कार्यरत नेपालीहरुमा सकारात्मक प्रभाव पार्न सक्छ । यो भ्रमणले कतारमा नेपालीहरुको सम्मान बढाउन सक्छ, जुन हाम्रा लागि थप मनोवैज्ञानिक उपलब्धि हुनेछ ।

कतार र नेपालको सम्बन्धका आयामहरुबारे आर्थिक राजनीतिक विश्लेषण र समीक्षाहरु यो दुई दिनमा हुने नै छन् । तर, यहाँ कतारी राजाको नेपाल भ्रमणसँगै सामाजिक सञ्जालमा चलेका केही रमाइला बहसको चर्चा गरौं–

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निम्तोमा कतारका अमिर नेपाल आउने दिन मंगलबार  सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । राजाको सम्मानका लागि सिंगो नेपाल बन्द गर्नु उपयुक्त हो त ? यो पनि नयाँ शक्ति भनिएको रवि लामिछानेले गृहमन्त्रालय सम्हालेका बेला ।

राजाको भ्रमणका बेला सरकारबाटै गरिएको सार्वजनिक विदाको घोषणामाथि प्रश्न उठेको छ । सम्मानको तरिका सार्वजनिक विदा नै हो त ? कतै यो पुरानो राजतन्त्रकालीन मानसिकता पो हो कि ?  सरकारले यसबारे आगामी दिनमा विचार गर्नुपर्ने देखिन्छ, सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेर्दा ।

अर्को प्रश्न– कतारका राजाको आगमनमा राष्ट्रपति रामचन्द्र पौडेल  नै स्वागतका लागि त्रिभुवन विमानस्थल जाने खबरप्रति पनि सामाजिक सञ्जालमा प्रश्न उठेका छन् ।

विदेशबाट आउने सम्मानित पाहुनालाई राष्ट्र प्रमुखले नै ‘रिसिभ’ गर्ने अन्तराष्ट्रिय कूटनीतिक प्रचलनहरु नभएका होइनन् । तर, कतारका राजाप्रति गणतन्त्र नेपालका राष्ट्रपतिले दिन लागेको यो सम्मान नयाँ भएकाले बहसको विषय बनेको देखिन्छ ।

कतारका राजा नेपाल आउने चर्चासँगै गणतन्त्रमाथि व्यंग गर्नेहरु पनि सामाजिक सञ्जालमा देखिएका छन् । अर्कोतर्फ राजावादीहरुलाई पनि गणतन्त्रवादीले जिस्काएको पाइन्छ ।
‘दुर्गा प्रसाईले बैशाखमा राजा आउँछन् भन्थे, आएछन्, तर कतारका राजा !’

ट्विटर र फेसबुकमा दुई दिनयता यस्ता टिप्पणी प्रशस्तै पढ्न पाइन्छ ।

नेपालले लाभ लिनुपर्ने विषय

दुई मित्रराष्ट्रवीचको सम्बन्ध कुन देशमा कस्तो व्यवस्था छ भन्ने कुराले निर्धारण गर्दैन । कतारमा राजतन्त्र छ, नेपालमा गणतन्त्र छ, तर दुई देशको सम्बन्ध राजनीतिक व्यवस्थामा आधारित हुनुहुँदैन ।

नेपाली समाज गम्भीरतामा भन्दा पनि चटके कुरामा रमाउन थालेको उदाहरण यो प्रशंगमा पनि स्पष्ट हुन्छ । कतारका अमिर नेपाल आएको यो अवधिमा दुई देशवीचको सम्बन्ध र आर्थिक साझेदारीका विषयमा बहसहरु हुनुपर्ने हो, तर त्यो खासै हुन सकेको छैन । सरकारले पनि जे जति तयारी गरेको छ, त्यो हतारमै गरेको देखिन्छ ।

याे पनि-
कतारी अमिरको भ्रमण  : खेलकुद र शिक्षा क्षेत्रका समझदारी पत्रमा हस्ताक्षर हुने

कतारमा करिब ४ लाख नेपालीहरु कार्यरत छन् । नेपाली अर्थतन्त्रको एउटा मेरुदण्डको रुपमा कतारको त्यो रोजगारीलाई लिन सकिन्छ । यसअर्थमा पनि दुई देशवीचको सम्बन्ध सुमधुर रहन अपरिहार्य छ ।

दोस्रो कुरा, कतार सम्पन्न मुलुक भएकाले त्यहाँको वैदेशिक लगानी र सहयोग नेपालमा आकर्षित गर्न सके यसले देश विकासमा योगदान गर्ने कुरा निर्विवाद छ । तर, यसका लागि सरकारले पहलकदमी लिन सक्नुपर्छ ।

को हुन् शेख तमिम ?

शेख तमिम बिन हमाद अल थानी कतारका युवा राजा हुन्, जसले सन् २०१३ देखि कतारमा शासन चलाइरहेका छन् ।

तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । उनी सन् २००३ मा खलिफाका उत्तराधिकारी बनेका थिए, २०१३ मा पिताले गद्दी त्याग गरेपछि राजा बने । आफ्ना जेठा दाजु शेख जसिमले सिंहासनमा बस्न ईच्छा नगरेपछि बिन हमादले राजा बन्ने मौका पाएका हुन् ।

तमिमले कतारमा अधिनायकवादी शासन चलाउँदै आएका छन् । उनीसँग सबैखाले कार्यकारी र विधायिकी अधिकार अन्तरनिहीत छ । त्यहाँ राजनीतिक दलहरू खोल्न पाइँदैन ।

तमिम २०२२ फिफा विश्वकप जस्ता खेलकुद कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरेर कतारको अन्तर्राष्ट्रिय छवि बढाउने अमिर मानिन्छन् । साथै उनी पेरिसस्थित पीएसजी फुटबल क्लब खरीद गरेका कारण पनि खेलकूद क्षेत्रमा चर्चामा छन् ।

तमिम बिन हमादको जन्म ३ जुन १९८० मा कतारको दोहामा भएको हो । बेलायतमा अध्ययन गरेका उनी पश्चिमाहरुसँग राम्रो सम्बन्ध राख्ने मध्यपूर्वका राजनीतिज्ञ मानिन्छन् ।
अध्ययन सकेर फर्केपछि उनी कतार सशस्त्र बलमा सेकेन्ड लेफ्टिनेन्टका रूपमा भर्ना भए । सन् २००३ मा पिताको उत्तराधिकारी बनेपछि उनले सुरक्षा र आर्थिक क्षेत्रका महत्वूर्ण जिम्मेवारीहरु सम्हाले । र, सन् २०१३ मा धनी एवं समृद्ध मुलुक कतारको राजा बने ।

शेख तमिमले आफ्नो देशको अन्तर्राष्ट्रिय परिचय बढाउने काम गरेका छन् । सन् २००६ मा उनले दोहामा भएको १५ औं एसियाली खेलकुदको आयोजक समितिको अध्यक्षता गरे । उनैको नेतृत्वमा कतारले २०२२ फिफा विश्वकप सफलतापूर्वक आयोजना गर्‍यो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ४३ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने