याक्थुङ मुन्धुम : प्रारम्भिक कृषियुगको ऐना | Khabarhub Khabarhub

याक्थुङ मुन्धुम : प्रारम्भिक कृषियुगको ऐना

यालाङ र पालाम कृषियुगकै निशानी



याक्थुङ लिम्बू समुदायका येवा/येमानी, साम्बा, फेदाङ्मा (पुरोहित), तुतु तुम्याहाङ (ज्येष्ठ भद्र भलाद्मी) हरुले सुम्सेम्बा तङ्सिङ (तीनराते) अनुष्ठान गर्दा ‘मेन्छाम् याप्मी पोङ्मा मुन्धम’ (मानिसको सृष्टि कथा) लाई मुन्धुमी लयमा फलाक्ने गर्दै आएका छन्।

सहअस्तित्वको आधारमा पृथ्वीलाई एकपछि अर्को सुहाउँदिलो बनाउन चराचर जगत तयार भएपछि अन्तिममा मानिसको सृष्टि भएपछि ‘इक्सा खाम्बेक’ (सून्य ब्रमाण्डमा घुमिरहने पिण्ड-पृथ्वी) अझ सुहाएको, झन सौन्दर्य थपिएको वर्णन मुन्धुममा आउँछ।

हजारौं वर्षदेखि श्रुति परम्पराको आधारमा एक पुस्तादेखि अर्को पुस्तामा मुखमुखै सार्दै सिकाउदै येवा/येमानी, साम्बा, फेदाङ्माहरुले फलाक्दै गर्दा अन्नबाली र त्यसको विउविजन छरपोख र खेतीपाती गर्ने तरिका सिकेको एउटा लामो प्रसंग आउँछ। उक्त मुन्धुम अनुसार मानिसले अन्नबालीका बीउ विजन छरपोख वा खेतीपाती गर्न जान्नु अगाडि जंगली कन्दमुल, तरुल भ्याकुर, काँचै खाने गरेका थिए। तीर धनु काँडले जीवजन्तुका शिकार गरेपनि काँचै खाने गरेका थिए।

सहअस्तित्वको आधारमा पृथ्वीलाई एकपछि अर्को सुहाउँदिलो बनाउन चराचर जगत तयार भएपछि अन्तिममा मानिसको सृष्टि भएपछि ‘इक्सा खाम्बेक’मा झन सौन्दर्य थपिएको वर्णन मुन्धुममा आउँछ।

कन्दमुल र शिकार गरेको जीवजन्तुको मासु काँचै खाने गरेकाले रोगव्याधीले सावा येहाङका सन्तान कमजोर मात्र नभएर मर्ने गरेका थिए। तर जब खेतीपाती गर्न सिके, अन्नबाली उब्जाउन सिके, त्यसपछि ती अन्नबाली र वनजंगलमा शिकार गरेको जीवजन्तुको मासुलाई आगो (याक्थुङ साम्जिक मुन्धुममा आगोको उत्पति कथा बेग्लै छ) मा पकाएर बाँडेर खान सिके त्यसपछि उनीहरुले स्वाद मात्र पाएनन् स्वस्थ, पोषिलो र शक्तिबर्धक खाद्य र पेय पदार्थ (मुन्धुम अनुसार पकाएर खान सिकेसँगै जंगली वनस्पतिको मर्चा बनाएर अन्नलाई जाँड बनाउन पनि जान्ने भए) प्रति जानकार भएको अनेक प्रसंग मुन्धुममा वर्णन गरिएको छ।

अन्नबालीको बीउविजन छरपोख गर्ने र पकाएर खान जानेको मुन्धुमी वर्णनले याक्थुङ लिम्बू समुदाय कसरी प्राचीन समयमा कुनै प्राकृतिक ओढार वा गुफामा बसेर शिकारी वा जंगली युग पार गर्दै कृषि युगमा प्रवेश गरे भनेर बुझाउँछ। मुन्धुमको वर्णनलाई ‘डिकोड’ गर्दै जाने हो भने याक्थुङ लिम्बू समुदायको सभ्यताको विकास इम्बिरी याङ्धाङ्वा (तमोर नदी) र काङ्वा (काबेली) नदी बग्ने वेसिन आसपास भएको देखाउँछ। अर्थात फक्ताङ्लुङ (कुम्भकर्ण हिमश्रृङ्खला) को हिउँ पग्लेर तमोर र काबेली बनेका नदी किनार आसपासमा याक्थुङ सभ्यतामात्र निर्माण नभएर मुन्धुमको विकास र निर्माण भएको देखिन्छ।

अन्नबालीको बीउविजन छरपोख गर्ने र पकाएर खान जानेको मुन्धुमी वर्णनले याक्थुङ लिम्बू समुदाय कसरी प्राचीन समयमा कुनै प्राकृतिक ओढार वा गुफामा बसेर शिकारी वा जंगली युग पार गर्दै कृषि युगमा प्रवेश गरे भनेर बुझाउँछ।

याक्थुङ मुन्धुममा उच्चारण हुने मुरिङ्ला/खारिङ्ला/थेरिङ्ला (सुच्छुरु सुहाम्फेवा प्रौढाबस्थामा पुगेको बेला आफ्ना भागमा परेका नौ पुरोहित भद्रभलाद्मी छोराहरु लिएर बसेको उच्च स्थानको पारिलो डाँडाको टार), साङ्गुयक÷कोपियक (याक्थुङ सभ्यताको विकास भएको स्थान जुन मुरिङ्ला खारिङ्लाको फेदी तमोरको किनारमा अवस्थित छ), पिप्पुधाप (निल गाईहरु देखिने ठाउँ। माथिमाथि डाँडासम्म आगो लागेर गएको ठाउँ। यही क्षेत्रमा निल गाईहरुको सिङ एकापसमा जुधाउँदा आगोको उत्पत्ति भएको कथा मुन्धुममा आउँछ), सावा येहाङ पाङभे (याक्थुङ लिम्बूका पुर्खा बसेको गाउँ), लोक्फादेन हाङफादेन (प्राचीनकालमा लोकफादेम्बा र उनका भाइ हाङ्फादेम्बाले चेली साक्परी पेम्बरी हाङमा (खाप्पुना मेल्लहाङमाको सल्लाहअनुसार पहिलो पटक घर निर्माण गरेको स्थान), थोक्पुङ्देन (प्रथम आदिम स्त्री मुजिङ्ना मयङ्ना/खेयङ्नाको छोरा सुसुवेङ लालावेङले योसुलुङमा मुगुप्लुङ्मा/मुक्कुमलुङ्मा, थोसुलुङमा फियामलुङ्मा र उनीहरुका संगीसंग प्रेमालाप गरी यौनसम्पर्क पछि सन्तान जन्माए पनि चारै जना सहयात्रीले इर्ष्या र आँखी डाहीवस सातुसामल नदिएपछि भोकैले देहत्याग गरेको ठाउँ) ताप्लेजुङको लेलेप, तापेथोक, युखाबु क्षेत्रहरुमा छँदैछ।

सुहाम्फेवा र लाहादङ्नाले यौन सम्पर्कका लागि विस्तराका रुपमा प्रयोग गरेको ताप्लेजुङ लेलेपको काइलुङ

यतिमात्र नभएर चेजिङ फुक्कु (पाजाइबा तेन्धुम्याङ्बाले फूलले हान्दा स्तनमा लागेर माङ्गेना ढलेर अर्थात शीर ढलेर चेली तेत्लारा लाभियङ्माको मृत्यु भएपछि छोरा लाकेरेक र नामकेरेकले आमाको शव राखेको गुफा), काइलुङधुङ (सुच्छुरु सुहाम्फेवा र तेत्लारा लाहादङ्ना बीच पहिलो पटक यौन सम्पर्क भएको विस्तरा जस्तै हल्लिने ढुङ्गा), शसी फुक्कु (सुसुवेङ लालावेङको मृत्यु भएको खवर पाएपछि आमा मुजिङ्जना मयङ्ना भावविह्वल भएर रुँदै बसेको गुफा), खाओलुङजङ (लाकेरेक र नामकेरेक अर्थात सिङ्जेकहाङ र लुङजेक हाङका आमा तेत्लारा लाभियङ्माको मृत्युपछि फराक्लो गरेको ठाउँ), अमलुङजङ (सुच्छुरु सुहाम्फेवाले साङगुयक कोपियकको अग्लो थुम्की डाँडाबाट तल तमोर किनारको बस्तीमा रमिता हेर्ने गरेको ठाउँ), पित्थोसा वरक (गाई जुध्दा सिङ रगडिएर आगो उत्पति भएको ठाउँ), सावानतेम्बे (सुसुवेङ लालावेङले आफ्ना कुकुर अगाडि लगाएर सिकार गरेपछि प्रकृतिलाई चढाउदै पोलेर खाएको ठाउँ), केघिङ्देन (गोरुको छालाको च्याब्रुङ बनाउन गोरुकै छालाको मोटो धागो बनाई तन्काएको ठाउँ) लगायत धेरै स्थान नाम हालको फक्ताङ्लुङ गाउँपालिका भित्र पर्छन्।

याक्थुङ मुन्धुमले आदिम कृषियुगमा घटित याक्थुङ लिम्बू समुदायको प्राचीन जीवनशैली, रहनसहन, प्रकृतिसँगको समन्वय र सहअस्तित्वको सौन्दर्यलाई आलङ्कारिक रुपमा वर्णन गर्दै समाज निर्माणको प्रारम्भिक चरणका बारेमा जानकारी दिन्छ।

यी स्थानका नाम मुन्धुममै उल्लेख भएकाले यी शब्दहरुसँग याक्थुङ सभ्यताको प्रारम्भिक समयको भनौं वा आद्य इतिहास कथाहरु जोडिएका छन्। ती आद्य इतिहास कथाहरुले याक्थुङ सभ्यताको विकाससँगै कृषियुगको वर्णन गर्छन्। निर्माण हुँदै गर्दा विवाह संस्कार, साइनो सम्बन्ध छुट्याउने चलन, घर र परिवार बसाउने प्रारम्भिक अवधारणासँगै खेतीपाती, बीउविजन छर्ने, खाद्य र पेय पदार्थ बनाउने कलाको पनि प्रारम्भिक विकास भएको संकेत पाइन्छ। यसर्थ याक्थुङ मुन्धुमले आदिम कृषियुगमा घटित याक्थुङ लिम्बू समुदायको प्राचीन जीवनशैली, रहनसहन, प्रकृतिसँगको समन्वय र सहअस्तित्वको सौन्दर्यलाई आलङ्कारिक रुपमा वर्णन गर्दै समाज निर्माणको प्रारम्भिक चरणका बारेमा जानकारी दिन्छ।

शिकारी वा जंगली युग पार गरेर सभ्यता, संस्कार र संस्कृतिको विकासको चरण पशुपालन र कृषियुगले याक्थुङ सभ्यतालाई उचाईमा पुर्याएको संकेत पनि मुन्धुममै पाइन्छ। डी वी आङ्बुङद्वारा सम्पादित ‘याक्थुङ साम्जिक मुन्धुम’ अन्तर्गत ‘मेन्छाम् याप्मी पोङ्मा मुन्धम’ (मानिसको सृष्टि मुन्धुम) मा प्रथम आदि स्त्री मुजिङ्ना मयङ्ना गर्भवती भएपछि जिज्ञासा राख्न तागेरा निङ्वाफुमाङ बसेको स्थानमा पुग्छिन्। तागेरा निङ्वाफुमाङले मुजिङ्ना मयङ्नालाई गर्भको बच्चा जन्माउने तरिका बारेमा जानकारी दिन्छन्। सो जानकारीसँगै फर्कंदा चार प्रकारका धानका बीउ, जुनेलो, रातो लट्टे, पाङ्दुरे कोदो र अरु जातका केही अन्नका बीउ पनि दिएर पठाएको सन्दर्भले याक्थुङ सभ्यतामा कृषि युगको सुरुवाती समयको संकेत दिन्छ।

उक्त मुन्धुममा मिनु या ? मेहा ? चेम्भु या ? मेहा ? (चेम्भू जातको धान), मिनु नामेहा ? हक्कि या ? मेहा ? (हक्कि जातको धान), मिनु नामेहा ? प्या ? यामेहा ? (प्या जातको धान), चङ्मुक्लामेहा ? (चङ्मुक्ला अन्न), तुम्बेहा ? तुम्ब्री तुम्बेहा ? (जेठो अन्न जुनेलो), माङ्ग्रा चिहेत्लामेहा ? (रातो लट्टे), ताक्मारो या ? हा ? (घैया धान), पारामे पेनाहा ? (पाङ्दुरे कोदो) को बीउलाई झोडजंगल, भस्मे फाँडिएको भूमिमा छरपोख गरेर उमार्नु, फलाउनु, भात र जाँड बनाएर खानु भनिएको छ। सोही मुन्धुममा मुजिङ्ना मयङ्ना सुत्केरी भएर सुसुवेङ लालावेङ जन्माएपछि के ? यना फेत्लाहा ? (वन बेसारका पात संकलन गरेर त्यसैको थाङ्ना र बिस्तारा बनाएर सुताउनु पनि भनिएको छ।

मुन्धुमले बेसार, त्यसको बोट र पातको प्रयोग गरेको बारे वर्णन गरेकाले के भन्न सकिन्छ भने याक्थुङ सभ्यताको प्रारम्भिक चरणमै लिम्बूले औषधीय गुण भएको बेसारलाई पहिचान गरिसकेका थिए।

यहाँ मुन्धुमले बेसार, त्यसको बोट र पातको प्रयोग गरेको बारे वर्णन गरेकाले के भन्न सकिन्छ भने याक्थुङ सभ्यताको प्रारम्भिक चरणमै लिम्बूले औषधीय गुण भएको बेसारलाई पहिचान गरिसकेका थिए। बेसारको बोट कुनै पनि जीव जन्तु र किरा फट्याङ्राले मात्र नखाएर जीवाणुले समेत आक्रमण गर्न सक्दैन। त्यसैले बेसारलाई अहिले पनि औषधीय गुणले सम्पन्न खाद्य पदार्थ मानिन्छ। र यसको प्रयोग गरेर विभिन्न औषधी पनि बनाइन्छ।

नवजात शिशुका लागि लत्ता कपडाको विकास नभएको बेला कुनै पनि किटपतङ्ग, जीवाणुले आक्रमण नगरोस, रोगव्याधी नलागोस भनेर त्यही बेसारको पातको विस्तारा बनाएर प्रयोग गर्न सिकेका थिए। रोग प्रतिरोधात्मक शक्ति भएकाले उनीहरुले भस्मे फाँडेर बेसार खेती सुरु गरेको संकेत पनि पाइन्छ। त्यसो त धान र कोदोको खेती सुरु भएपछि तिनै अन्नबालीको जाँड बनाउन पनि सिके। जाँडमा प्रयोग हुने मर्चा विभिन्न औषधीय वनस्पतिको संयोगबाट बन्छ। मर्चा एकप्रकारको यिस्ट (ढुसी) हो। मर्चाले अन्नलाई अर्को खाद्य र पेय पदार्थमा परिवर्तन गरिदिन्छ। मर्चामा उत्पन्न हुने यिस्ट भनेको मानव शरीरका लागि चाहिने जीवाणु हो। जसलाई आधुनिक चिकित्सकले मित्रशक्ति भन्ने गरेका छन्। अरु ढुसीले मानव शरीरलाई हानी गर्छ भने मर्चाको ढुसीले हानी नगरेर शरीरमा भएको रोगका जीवाणुलाई मार्ने काम गर्छ।

याक्थुङ लिम्बू समुदायले धान पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाएर मात्र आफूले सेवन गर्ने गर्छन् जसलाई न्वागी पुजा अर्थात चासोक् वा तःक्सोःक् तङ्नाम र कोदो पाकेपछि त्यसरी नै गर्ने न्वागी वा थिःसोःक् गर्ने संस्कृति छ। चासोक र थिसोक् संस्कृति याक्थुङ् सभ्यता निर्माण कालको कृषियुगको अवशेष हो। कृषियुग आजभन्दा १० वर्षदेखि १५ हजार वर्षअघि सुरु भएको वैज्ञानिक मानवशास्त्रीले बताइसकेका छन्। यसअघि हिमयुग थियो। हिमयुगको अन्त्यसँगै पग्लिएको हिउँबाट खोला नदी बने। जमिनमा पानीको सिंचाई पुगेर घाँसे मैदान बने।

वनजंगल हराभरा भएपछि कृषि युग सुरु भएको मानिन्छ। यसै समयको वर्णन याक्थुङ मुन्धुमले गर्दै आएको छ। वनस्पतिविद् कमल मादेनकाअनुसार मुन्धुमको सुरुवाती सन्दर्भमै विभिन्न प्रजातिका धानका नाम आएकाले उनको दाबी छ- याक्थुङ लिम्बूका आदिम पुर्खाले जंगलबाट धानको बीउ ल्याएर खेती सुरु गरेका हुन्। उनकाअनुसार धान त प्राकृतिक रूपमा चीनको सिचुवानमा मात्र थियो। धान उत्पतिको कथाबारे मुन्धुममा उल्लेख भएको कथा र सिचुआनमा भनिने कथा उस्तै रहेकाले पूर्वी नेपालमा धान याक्थुङ लिम्बूले आदिम कालमै ल्याएका हुन्।

वनस्पतिविद् मादेन थप्छन्, ‘इरानको जाग्रोस पहाडको फेदीमा करिब १२ हजार वर्ष पहिले जौ, मटर र दालको खेतीपाती गरिएको जीवाष्म सन् २००९ मा फेला परेको थियो। तमोर उपत्यका (इम्बिरी याङ्धाङ्वा) मा निर्माण भएको याक्थुङ मुन्धुममा धानको बारे वर्णन भइरहेको बेला गहुँ अफ्रिका र एसिया जोडिएका भूभागसहित मध्य युरोपमा करिब १० हजार वर्ष पहिले खेती गर्ने गरिएको वैज्ञानिक तथ्यले भन्छ।’

उनकाअनुसार नौ हजार वर्ष अघि दक्षिण तथा मध्य अमेरिकामा उत्पति भएर खेतीपाती सुरु गरिएको मकै युरोप र दक्षिण एसियामा १६ औँ शताब्दी अर्थात करिब चार सय वर्ष अघिमात्र आइपुगेको हो। धान भने ‘ओरिजा’ जातिको वनस्पति हो। संसारभर धानको जम्मा १९ प्रजाति छन्। खानका लागि रोपिने ‘ओरिजा सेटिवा’ प्रजातिको धान हो। ‘ओरिजा सेटिवा’ प्रजाति पूर्वी-दक्षिण चीनमा उद्विकास भएको हो। उनी थप्छन्, ‘पूर्वी-दक्षिण चीनको याङ्जे उपत्यका (सिचुवान)मा उद्विकास भएको धान करिब १० हजार वर्ष पहिले खेती गरिन्थ्यो।

याक्थुङ सभ्यताले कुषि युगलाई हजारौं वर्षसम्म अंगालेको देखिन्छ । याक्थुङ लिम्बूले धानलाई मुन्धुमकालकै भाषा र शब्द प्रयोग गरेर ‘या ?’  भन्दै आएका छन्।

मुन्धुमअनुसार धानसँग याक्थुङ लिम्बूको अनेक संस्कार र संस्कृति जोडिएका छन्। विवाह लगन होस वा मृत्यु अथवा शीर उठाउनी मांगेना गर्दा धान अनिवार्य चाहिन्छ। यसबाट पनि याक्थुङ सभ्यताले कुषि युगलाई हजारौं वर्षसम्म अंगालेको देखिन्छ । याक्थुङ लिम्बूले धानलाई मुन्धुमकालकै भाषा र शब्द प्रयोग गरेर ‘या ?’  भन्दै आएका छन्।

धान अर्थात् या ? बाटै धाननाच अर्थात् यालाङ् संस्कृति पनि आरम्भ भएको हो। धानको दाइँ गर्नुलाई ‘या?लाःक’ भनिन्छ। यहीँबाट या?लाङ शब्द बनेको हो। या ? लाङ अर्थात् धान नाच्दा साइनो नलाग्ने तरुनी तन्नेरीहरु एकापसमा हात समाएर पालाम गाउँछन्। धानसंग जोडिएको पालाम पनि कृषियुगकै निशानी संस्कृति हो।

अफ्रिकामा उद्विकास भएको कोदो (फिंगर मिलेट) इथियोपिया र सुडानमा करिब पाँच हजार वर्ष पहिले उब्जाउ गरिन्थ्यो। विभिन्न जातको कोदोको बारेमा पनि मुन्धुममा वर्णन छ। मर्चा प्रयोग गरेर कोदोबाटै जाँडरक्सी जस्ता पेय पदार्थ बनाउने तरिका मुन्धुममा वर्णन गरिएकाले याक्थुङ समुदायले सम्भवत धान र जुनेलो संगै कोदोको खेती सुरु गरेको मान्न सकिन्छ।

यो पनि पढ्नुहोस्

तमोर र काबेलीको कथा : मुन्धुमभित्र यौन
याक्थुङ मुन्धुमी स्थल : किताबमा मोटाए, सम्पदामा हराए

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : २४ बजे

घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का

नयाँदिल्ली – विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पोखरा – पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक

चिलिमेका तीन जलविद्युतको १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

पाकिस्तानमा साम्प्रदायिक हिंसा : ३२ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ३२ जनाको