रुसी गस्ती विमानद्वारा हवाई क्षेत्र उल्लङ्घनको जापानले गर्‍यो विरोध « Khabarhub

रुसी गस्ती विमानद्वारा हवाई क्षेत्र उल्लङ्घनको जापानले गर्‍यो विरोध


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एउटा रुसी गस्ती विमानले तीन पटक जापानको हवाई क्षेत्रमा प्रवेश गरेपछि जापानले मस्कोसँग ‘अत्यन्त गम्भीर विरोध’ दर्ता गरेको रक्षामन्त्रीले सोमबार बताएका छन् । उनले यसलाई सन् २०१९ यताको पहिलो पुष्टि गरिएको अतिक्रमण भने ।

सेनाले लडाकू विमानहरू उडाएर र रेडियो तथा फ्लेयर चेतावनीहरू जारी गरेर प्रतित्रिया दिएको रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूलाई बताए ।

‘एउटा रुसी आइएल–३८ गस्ती विमानले होक्काइडोको रेबुन द्वीपको उत्तरमा हाम्रो क्षेत्रीय पानीमाथिको हाम्रो हवाई क्षेत्रलाई तीन पटक उल्लङ्घन गरेको हामीले आज पुष्टि गर्यौँ’, उनले भने, ‘हवाई क्षेत्रको उल्लङ्घन अत्यन्त दुःखद छ, आज हामीले कूटनीतिक च्यानलमार्फत रुसी सरकारसँग अत्यन्त गम्भीर विरोध दर्ता गर्यौँ र पुनरावृत्तिलाई रोक्न दृढतापूर्वक आग्रह गर्यौँ ।’

जापानले युक्रेनमा पश्चिमी दृष्टिकोणलाई समर्थन गरेको छ, किएभलाई वित्तीय र भौतिक सहयोग प्रदान गरेको छ र युक्रेनमाथि मस्कोले आक्रमण गरेपछि रुसी व्यक्ति र सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएको छ ।

रक्षामन्त्री किहाराले सन् २०१९ जुनमा टियु–९५ बमवर्षकले दक्षिणी ओकिनावा र टोक्योको दक्षिणमा रहेको इजु द्वीप समूह वरपर जापानी हवाई क्षेत्रमा प्रवेश गरेयता कुनै पनि रुसी विमानद्वारा सार्वजनिक रूपमा घोषित पहिलो हवाई क्षेत्र अतिक्रमण भएको बताए । 

रक्षा मन्त्रालयका अनुसार सन् २०२३ मा रुसी भनेर विश्वास गरिएको तर पुष्टि नभएको एउटा विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेको थियो । 

सरकारका वरिष्ठ प्रवक्ता योशिमासा हयाशीले पनि सोमबार भने, “हामी यस कार्यको उद्देश्य र प्रयोजनबारे कुनै निश्चित जानकारी दिनबाट बच्नेछौँ तर युक्रेन आक्रमणपछि रुसी सेना हाम्रो मुलुक वरपर सक्रिय रहेको छ ।”

रुसी विमानहरूले सन् २०१९ पछि पहिलो पटक मुलुक वरपर उडान भरेपछि प्रतिक्रिया दिएजस्तै जापानले यस महिना पनि लडाकू विमानहरू उडाएको थियो । 

टोक्योका अनुसार टियु–१४२ विमानहरूले जापानी हवाई क्षेत्र प्रवेश गरेनन् तर जापान र रुसबीच क्षेत्रीय विवाद रहेको क्षेत्रमाथि उडान भरे । 

रुसी र चिनियाँ युद्धपोतहरूले हालै जापान सागरमा संयुक्त अभ्यास गरेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दशकयताकै सबैभन्दा ठूलो नौसैनिक अभ्यास भनेका थिए ।

जापानले अगस्टमा चिनियाँ सैन्य विमानद्वारा आफ्नो हवाई क्षेत्रमा पहिलो पुष्टि गरिएको अतिक्रमणपछि लडाकु विमानहरू उडाएको थियो । उक्त अतिक्रमणलाई टोक्योले आफ्नो सार्वभौमसत्ताको ‘गम्भीर उल्लङ्घन’ भनेको थियो । 

त्यसपछि गत साता एउटा चिनियाँ विमानवाहक पोत पहिलोपटक ताइवान नजिकका दुई जापानी टापूबीच पार भयो । उक्त घटनालाई जापानले ‘जापान र क्षेत्रको सुरक्षा वातावरणको दृष्टिकोणबाट पूर्णतया अस्वीकार्य’ भनेको थियो ।

चीनले भने उक्त मार्ग अन्तर्राष्ट्रिय कानूनअनुरूप भएको बताएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०८ बजे

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले