सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह | Khabarhub Khabarhub

सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्धतिलाई संस्थागत भए सूचनाको हक आफैँ स्थापित हुने बताएका छन् । 

उनले लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्त्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाए । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविरको बुधबार उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले सार्वजनिक जरुरी वा चासोका विषयमा नागरिकलाई सहज ढङ्गले सूचना उपलब्ध गराउन सरकारको कानुनी र नैतिक कर्तव्य भएको उल्लेख गरे । 

उनले पछिल्ला दिनमा सूचनाको हक प्रयोगप्रति नागरिक चेतना वृद्धि भएको औंल्याउँदै सूचनाको हकमार्फत माग गरिएका सूचना प्रवाहका बारेमा व्यवस्थित अभिलेखीकरण हुनुपर्ने बताए ।

 ‘यसले सूचनाको हक कार्यान्वयनका जटिलता र समस्या पहिचान गर्नेछ । जसबाट सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनमा सघाउ पुग्नेछ,’ मुख्यमन्त्री सिंहले भने । 

सूचनाको हकसम्बन्धी कानुनले चिह्‍नित गरेका सूचना प्राप्तिका लागि सरकार र नागरिक दुवैको क्रियाशीलता आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री सिंहले सरकारका कामकाजमा पारदर्शिताका लागि मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णय वेबसाइटमार्फत निरन्तर सार्वजनिक भइरहेको जानकारी दिए । उनले सूचना दिन कठिन हुने खालका काम कसैको लहलहमा लागेर गर्न नहुने जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सुझाए ।    

उनले सूचनाको हकलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न मन्त्रालय तथा मातहतका निकायहरूमा बाँकी रहेका सूचना अधिकारी तोकी तत्काल तस्बिर र फोन नम्बर उल्लेख गरी सार्वजनिक सूचना टाँस गर्न आफूले निर्देशन दिएको बताए । 

उनले मधेश प्रदेशमा १ सय ३६ वटै पालिकालाई सूचना अधिकारी नियुक्त गर्न प्रदेश सरकारले तत्काल पत्राचार गर्ने बताए । उनले प्रदेशमा कर्मचारी अभाव र कार्यबोझका कारण सूचना अधिकारीले पनि समयमा आवश्यक सूचना उपलब्ध गराउन कठिन भइरहेको बाध्यता पनि सुनाए ।

मुख्यमन्त्री सिंहले सूचनाको हकलाई कार्यमूलक र उपलब्धिपरक बनाउन प्रदेशमा प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति विघटन गरी अर्को समिति बनाउनुपर्ने सुझाए । 

उनले भने, ‘कर्मचारीको कमी र कामको चापका कारण दुवै समिति सक्रिय रूपमा काम गर्न सक्ने अवस्था छैन । त्यसैले यस विषयमा पूर्णकालीक काम गर्ने समिति बनाउँदा उचित हुनेछ ।’

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारमाथि सुरुदेखि नै हुँदै आएका टिकाटिप्पणी र आरोपका कारण पँिन सूचनाको हक कार्यान्वयनका सन्दर्भमा मौजुदा सरकारले बढी गम्भीरता देखाएको बताए । उनले राज्यको संरचना र परिवेश फेरिएकाले पनि प्रदेश सरकार आफ्नो भूमिकालाई समयानुकूल बनाउन खोजेको भन्दै सूचनाको हक कार्यान्वयनमा सबै पक्षको सक्रियता आवश्यक भएको ठहर गरे । 

उनले सूचनाको हकसम्बन्धी चेतना पालिका तहसम्म नै प्रसार हुनुपर्ने बताए । मन्त्री लेखीले सञ्चार क्षेत्रमा रूपान्तरण ल्याउन प्रदेश सरकारले गर्नुपर्ने कामकाजका बारेमा सञ्चारसम्बद्ध संस्था र सञ्चारकर्मीको सल्लाह अपेक्षित रहेको बताए ।

 ‘सरकारलाई मात्र दोष दिएर हुँदैन, कामका लागि यथोचित सल्लाह दिएर सञ्चारजगतले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ,’ उनले भने । 

मन्त्री लेखीले सञ्चार क्षेत्रको विकासका लागि गर्नुपर्ने कामकाजका बारेमा सुझाव संकलन गर्न मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको र समितिले काम गरिरहेको पनि जानकारी दिए । 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमा गुरुङले सूचनाको हक प्रयोग गरी प्राप्त भएका सूचनाका आधारमा ठूलठूल्ला अनियमितता र भ्रष्टाचारबारे महत्तवपूर्ण तथ्य सार्वजनिक भएको र विधिप्रक्रिया स्थापित हुनुका साथै बेथितिमा परिवर्तन आएको बताए ।

 ‘सूचनाको हकअन्तर्गत अझै पर्याप्त सूचना माग भएको देखिँदैन । यसका लागि प्रदेश र पालिका स्तरमा चेतना आवश्यक छ,’ उनले भने । 

आयोजक संस्थाका अध्यक्ष उमिद वागचन्दको सभापतित्वमा भएको कार्यक्रममा रोशन झालगायतका वक्ताहरूले सूचनाको हकका महत्त्वका बारेमा आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ०८ बजे

अर्थसंक्षेप : नेपालको वैदेशिक व्यापार घट्यो, १२ वाणिज्य बैंकको नाफा वृद्धि

काठमाडौं–  चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्पापार ३।९६

संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक

सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

विराटनगर – नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा

बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

काठमाडौं – नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख

३.९६ प्रतिशतले घट्यो वैदेशिक व्यापार, युद्धग्रस्त युक्रेनबाट तेस्रो धेरै आयात

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापार