काठमाडौं– सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसहित तीनवटा मुद्दा आइतबार दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी तरङ्गित भएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध आइतबार सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अदालत पुगेको छ ।
रविलाई संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी गरी तीनवटा मुद्दा दायर भएपछि जिल्ला प्रहरी कार्यालयले पठाएको सांसद पद निलम्बनको पत्रसमेत संसद् सचिवालयमा पुगिसकेको छ । अहिले उक्त पत्रबारे सभामुख देवराज घिमिरे परामर्शमा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार ईमेलमार्फत् पठाएको निलम्बनसम्बन्धी पत्र आइपुगेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले खबरहबलाई बताए । उनका अनुसार त्यसलाई कानुनबमोजिम प्रक्रियामा लग्न परामर्श भइरहेको छ ।
यससँगै रविको सांसद पद दोस्रो पटक निलम्बन हुने अवस्था छ । तर, रास्वपा नेताहरू प्रतिशोधका आधारमा संसद् सचिवालयलाई पत्र लेखेको भन्दै विरोधमा उत्रिएका छन् । सोविता गौतमसहितका सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न सोमबार उनको कार्यकक्षमै पुगे ।
गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेयता रास्वपाले कसैलाई पनि पार्टीको कार्यवाहक सभापति तोकेको थिएनन् । तर आइतबार मुद्दा कास्की अदालतमा पुगेसँगै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाइएको छ ।
लामिछानेले पक्राउ परेपछि उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसँग हिरासतमै कुराकानी गरेका थिए । त्यसबेला कार्यवाहकबारे केही कुराकानी भएको थियो ।
तर, दुई उपसभापतिले मुद्दाको एक किनारा नलागेसम्म केही नगर्न भनेर रोकेको अर्यालले बताएका थिए । यस्तै शनिबार स्वर्णिमसँग संवाद गरेका लामिछानेले आइतबार डीपी र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसँग संवाद गरे । यिनै दुई संवादपछि अर्यालले कार्यवाहकको जिम्मा पाएका हुन् ।
सभापति लामिछानेले सचिवालय बैठक बसेर निर्णय गर्न भनेअनुसार नै सोमबार डीपीको काँधमा पार्टीको नेतृत्व आएको हो । ज्येष्ठताका आधारमा स्वर्णिमले कार्यवाहक लिन पाउने विधानको व्यवस्था छ । तर सुरुबाटै पार्टीमा जोडिएकाले डीपीलाई अघि सार्नुपर्ने रविको तर्कअनुसार नै निर्णय आएको छ ।
रविको मुद्दा अदालतमा गइसकेकाले पुपक्र्षबारे आउने निर्णयपछि मात्रै कार्यवाहक सभापति तोक्ने चर्चा थियो । तर उनले अदालतमा बयान सुरु नगर्दै कार्यवाहक दिएका हुन् । थुनछेकका क्रममा रवि छुटेमा उनैले नेतृत्व सम्हाल्नेछन् । तर जेल गएमा भने पार्टीको जिम्मा कार्यवाहक सभापतिको काँधमा आइपुगेको छ ।
डीपी नै किन ?
उमेरअनुसार डिपीभन्दा स्वर्णिम जेठा थिए । रास्वपाको विधानअनुसार स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुपर्थ्यो । रास्वपाका धेरै नेताले पनि उनलाई कार्यवाहक सभापति बन्न साथ दिएका थिए । तर, स्वर्णिमले पनि यसबारे रुचि नराखेको नेताहरू बताउँछन् ।
‘यदि रवि जेल जानुपर्ने आदेश अदालतबाट भएमा महाधिवेशनपछि मात्रै स्वर्णिमको काँधमा पार्टीको जिम्मेवारी पुग्न सक्छ, उहाँको मुड पनि त्यस्तै छ’, उनीनिकट एक नेताले भने, ‘उहाँ तातै खाऊँ भन्ने मनसायमा हुनुहुन्न । डीपीजीले इच्छा देखाएअनुसार जिम्मेवारी पाउनु भएको छ। रविले पनि डीपी नै चाहेकाले त्यहीअनुसार पार्टीमा छलफल भएर निर्णय आएको छ ।’
स्वर्णिम भने रविसँग कास्कीमा छलफल वीरगञ्ज पुगेका छन् । आइतबार उपसभापति अर्याल र सभापति लामिछानेबीच लामो छलफल भएको थियो । तर रवि र डीपीबीच पार्टी बचाउने विकल्पमा छलफल भएको बुझिएको छ ।
रवि कात्तिक २ गते पक्राउ परेपछिको ७ दिनपछि कात्तिक ९ मा रास्वपा बैठक बसेको थियो । त्यहाँ स्वर्णिमले डीपीलाई नै कार्यवाहक सभापति दिन प्रस्ताव गरेका थिए । तर रविको मुद्दा किनारा नलागेसम्म निर्णय नगर्ने भन्दै रास्वपा सचिवालय नेताहरू पन्छिएका थिए । उनीहरूले सभापति पक्राउ परेकै दिन कार्यवाहक तोकेको ठिक हुने तर्क गरेका थिए । पक्राउ परेको ९ दिनपछि कार्यवाहक तोक्नु उचित नभएको कुरा नेताहरू गणेश पराजुली, शिशिर खनाल, सुमना श्रेष्ठ र सविता गौतम लगायतले राखे ।
सोमबार सचिवालय बैठक उपसभापति वाग्ले वीरगञ्जमै थिए । उनलाई नेताहरूले आउनु भने पनि उनी वीरगञ्जबाटै भर्चुअल्ली सहभागी भए । रास्वपाका एक नेताले खबरहबलाई भने, ‘सांसद पद निलम्बन भएपछि पार्टी भ्याक्युम बस्नु भएन । त्यहीकारण कार्यवाहकबारे निर्णय भएको हो ।’
सभापति लामिछाने पक्राउ परेयता तीनपटक रास्वपा केन्द्रीय समिति बैठक बसेको छ । बैठकको अध्यक्षता उपसभापति डीपी अर्यालले गर्दै आएका थिए । त्यहीअनुसार उनकै काँधमा पार्टीको जिम्मा पुगेको हो ।
पूर्वमन्त्रीसमेत रहेका उपसभापति अर्याल रास्वपा उपसभापति हुनुअघि व्यवसायी थिए । उनलाई रविले नै पार्टीमा जोडेर उपसभापति बनाएका थिए । उनी पार्टीको पहिलो उपसभापति भएकाले कार्यवाहक सभापति बनाइएको हो । तर अर्यालमाथि केही प्रश्न उठ्ने गरेका छन् । जस्तो– उनी म्यानपावर व्यवसायमा हुँदा विवादमा फसेको, श्रममन्त्री रहँदा म्यानपावर व्यवसायीको स्वार्थका गरेको आरोप पनि छ ।
कांग्रेस सांसद रामकृष्ण यादवले प्रतिनिधिसभामा अर्याल ‘हाम्रो नयाँ कृषि नयाँ सहकारी संस्था’ को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी रकम फिर्ता नपाएको कुरा उठाएका थिए ।
यति हुँदाहुँदै पनि संस्थापन पक्षको नेता भएकाले रास्वपाभित्र डीपी अर्यालको सांगठनिक पकड बलियो छ ।
‘उहाँमाथि प्रश्न उठेका छन् । रवि दाइनिकट भएकाले कार उपहार दिएको, खर्च सहयोग गरेको कुरा पनि आएका थिए’, रास्वपा एक नेताले खबरहबलाई भने, ‘अब पार्टीले विवादरहित व्यक्तिलाई ल्याउनुपर्छ भनेर पनि छलफल भएको थियो, तर पार्टीका पुराना उपाध्यक्षका रुपमा उहाँले नयाँ भूमिका पाउनु भयो ।’
गत कात्तिक २५ गते अर्यालले जिउँदो रहँदासम्म रवि नै सभापति हुने भनेर दिएको अभिव्यक्ति विवादमा परेको थियो । नयाँ दल पनि पुरानाभन्दा खराब भएको आरोप पनि त्यसबेला लाग्यो ।
वैचारिक नेताको खोजी
यसअघि वैचारिक र सैद्धान्तिक रुपमा बलियो तथा लोकप्रिय अनुहार वाग्लेलाई कार्यवाहक दिए रास्वपाले ‘जान्नेलाई छान्ने’ नीति लिएको सन्देश जाने कुरा पनि उठेको थियो ।
नेपाली कांग्रेसमै रहँदा अर्थविज्ञको अन्तर्राष्ट्रिय छवि बनाएका वाग्ले ०७९ चैत १६ गते रास्वपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दासाथ तनहुँ २ मा तनहुँबाट ०८० वैशाख १० गते भएको उपनिर्वाचबाट फराकिलो मतसहित प्रतिनिधिसभामा पुगेका वाग्ले बौद्धिक नेताका रूपमा परिचित छन् ।
वाग्लेले पछिल्लो समय रास्वपामा प्रभाव बढाउँदै लगेका छन् । ०८० मंसिर १३ गते महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट विधान संशोधन गरियो । त्यसबाट दुईजना उपसभापति राख्ने प्रावधान थपियो । त्यहीँ वाग्ले उपसभापति बने ।
दलको नेता बिराज
रास्वपाले संसदीय दलको नेता विराजभक्त श्रेष्ठलाई बनाउन चाहेको छ । उनलाई दलको नेता बनाउन रविले पनि साथ दिएका छन् । अहिले बिराज संसदीय दलको उपनेता छन् । रास्वपा सांसदहरूले पनि बिराजलाई दलको नेताको जिम्मेवारी दिएर फरक ढंगले आवाज उठाउनुपर्ने सल्लाह दिएका थिए ।
‘अहिले जनतामाझ जाने थलो संसद् नै हो । त्यहाँबाट सरकारसम्म जनताका मुद्दामा लानुपर्छ । यसको नेतृत्व बिराजले गर्नुपर्छ भन्दै आएका छौँ’, एक नेताले भने, ‘बिराज प्रदेशको पनि अनुभव भएका र सबैले मानेका नेता हुन् । उहाँ वैचारिक र सैद्धान्तिक हिसाबले पनि अब्बल हुनुहुन्छ ।’
अदालतले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा नपठाए उनै नेतृत्वमा फर्किनेछन् । रास्वपामा नेतृत्व संकट स्वतः टर्नेछ । तर, रविलाई अदालतले कारागारमा पठाए कानुनतः रास्वपाले सभापतिको विकल्प खोज्नै पर्ने थियो ।
रविलाई कारागार नै नपठाए पनि मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभापति पदमा रहने नरहने नैतिक प्रश्न उठेका बेला डीपीले कार्यवाहक पाएका छन् ।
रास्वपा जाग्नुपर्ने माग
नयाँ दलप्रति आशा पनि छ । नयाँ दलले बढ्दो बेरोजगारी कम गर्ने, स्वरोजगारको वातावरण बनाउने शिक्षा, स्वास्थ्यमा सुधार गर्ने आशा जनताले राखेका छन् । यस्तोमा रास्वपाले रविलाई देवत्वकरण नगरी पार्टीलाई नयाँ शिराबाट लानुपर्ने आवश्यक रहेको राजनीतिक विश्लेषक सुरेन्द्र लाभले बताएका छन् ।
‘रविलाई अनुसन्धानमा तान्दा पनि रास्वापा सम्हाल्ने आँट भएका देखिएनन्’, उनले भने, ‘यतिका समय पार्टीमा रवि नभए हामी छौँ भन्ने आवाज उठेन । सबै नेताहरू निराश देखिए । योबेला हामी पार्टी हाँक्छौ भनेर जनतालाई जगाउन रास्वपाबाट गतिलो नेता निस्कनुपर्छ ।’
अर्का विश्लेषक इन्द्र अधिकारी पनि रविले आफ्नो मात्रै नभएर नयाँ शक्तिका धेरै ऊर्जावान् मान्छेको जोश निमोठेको बताउँछिन् । उनी नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले रविलाई अनुसन्धान गर्न दिएर पार्टी गतिशील बनाउन जनतामाझ जानुपर्ने तर्क गर्छिन् ।
‘रवीन्द मिश्रले पनि नयाँ शक्तिका नाममा जनतालाई ढाँटिसक्नु भएको छ । रविजीले पनि जनतालाई ढाँटेको देखियो’, अधिकारीले खबरहबलाई भनिन्, ‘रविजीले मात्रै पार्टीलाई पेवा बनाइरहेको देखियो । सभापति विवादमा मुछिँदा नेतृत्व गरेर जान सक्ने अरु हुनुपर्छ । अरु नेताले वैचारिक दिशा दिएर अन्य पार्टी हाँक्नुपर्छ ।’
रविलाई रास्वपा नेताले देवात्वकरण गरेर जानु राम्रो नभएको मत पनि छ । रास्वपाका एक सांसदले खबरहबलाई भने, ‘नयाँ दलप्रति जनताको भरोसा तुहिन दिने छैन । हामी जसरी पनि पार्टी रिकभर गरेर जाने पक्षमा छौँ । सबैलाई समेटेर सल्लाहमा पार्टी चल्छ ।’
रास्वपाको स्थापना ०७९ असार ७ गते काठमाडौंमा भएको हो । अहिले पनि यसले संगठन विस्तार गरिरहेको छ । तर, महाधिवेशन गर्न सकेको छैन । वैशाख तेस्रो साता केन्द्रीय महाधिवेशन गर्ने तयारी थियो। तर, रवि पक्राउ परेपछि अनिश्चित भएको छ । अब रवि थुनिएमा रास्वपाको महाधिवेशन पनि संकटमा पर्नेछ ।
प्रतिक्रिया