आर्यनको फिल्म यात्रा : डेब्यूमा १० हजार, ६० को दशकका महँगा हिरो | Khabarhub Khabarhub

आर्यनको फिल्म यात्रा : डेब्यूमा १० हजार, ६० को दशकका महँगा हिरो


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्रकै पहिलो ‘चकलेटी हिरो’ हुन् – आर्यन सिग्देल । प्रेम कथामा आधारित फिल्म खेल्दाखेल्दै उनको परिचयमा नछुटिने गरी ‘लभर बोइ’को फुर्को जोडिएको छ ।

आर्यनले ‘लभर बोइ’ उपनाम त्यसै पाएका होइनन् । अभिनय, अनुहार र आवाजको मीठो मिश्रणले उनले यो विशेषण हात पारेका हुन् ।समालोचकले पनि उनलाई ‘लभ स्टोरी’ फिल्मकै लागि जन्मेको हिरो भन्ने गर्छन् ।

सडक नाटक, टेलिसिरियल हुँदै ठूलो पर्दासम्म यात्रा तय गरेका आर्यनको पहिलो फिल्म ‘किस्मत’ हो । पहिलो फिल्ममै त्यस बेलाकी ‘लाइमलाइट’ नायिक रेखा थापासँग जोडी बाँधेका आर्यनले पछाडि फर्केर हेर्नु परेन ।

मन नहुँदा-नहुँदै फिल्ममा अभिनय गर्न पुगेका आर्यन ६० को दशकमा सबैभन्दा बढी ‘स्टारडम’ भएका नायक बने । त्यसबेला उनले लिएको पारिश्रमिक समाचारका हेडलाइन बन्थे । उनलाई महँगा हिरोको सूचीमा पहिलो स्थानमा राख्ने गरिन्थ्यो ।

यतिखेर आर्यनको फिल्म ‘पुजार सार्की’ प्रदर्शनरत छ । यसमा उनी ‘लभर बोइ’भन्दा फरक भूमिकामा छन् । यो सामग्रीमा हामी सडक नाटक, आधा दर्जन टेलिसिरियल र तीन दर्जनभन्दा बढी फिल्मका नायक आर्यनको अभिनय यात्राबारे उल्लेख गर्दैछौं ।

जब हरिश बने आर्यन
सरकारी जागिरे बुवा रसुवामा हुँदा ३९ वर्षअघि धुन्चेमा जन्मेका हुन् आर्यन । उनलाई परिवारले दिएको नाम हरिश हो । तर रंगकर्ममा आएपछि उनी ‘आर्यन’ नामले चर्चित छन् ।

आर्थिक रूपमा सबल परिवारमै जन्मेका आर्यन काठमाडौंको दहचोकमा हुर्किए । पढाइमा अब्बल तर परीक्षामा प्रथम नभएकै कारण विद्यालय परिवर्तन गरेको स्मरण उनले सुनाए।

‘स्कुल पढ्दा कि पहिलो, नभए दोस्रो हुन्थेँ । पहिलो भइनँ भने स्कुल फेरिहाल्थेँ । १० सम्म पढ्दा मैले तीन चारवटा स्कुल फेरेँ,’ उनले बाल्यकाल सम्झिए ।

सामान्य बितेको बाल्यकालका यादगार क्षण उनको फिल्मसँगै सम्बन्धित छन् । बुवाको फिल्ममोहले आफ्नो बाल मानसिकतालाई ढोका थुनेर हिरोको नक्कल गर्न बाध्य बनाएको उनी सायदै बिर्सिन्छन् ।

‘ड्याडीले शनिबारको बिदा मनाउन फिल्मलाई नै प्राथमिकतामा राख्नुहुन्थ्यो । उहाँ परिवारलाई लिएर फिल्म हेर्न जानुहुन्थ्यो,’ आर्यनले सुनाए, ‘फिल्म हेरेपछि घरमा ढोका थुनेर हिरोको नक्कल गर्थेँ । तर कलाकार बन्ने सोच थिएन ।’

प्रविणता प्रमाणपत्र तह (आइए) पढ्दै गर्दा चिनेको दाइको लहैलहैमा ‘परिवर्तन नेपाल’ पुगेपछि उनको अभिनय यात्रा सुरु भयो । ‘म राम्रै नाच्थेँ, त्यो दाइले ‘तँ राम्रो छस्, नाच्ने हो, स्टेज कार्यक्रम गर्न जा’ भन्नुभयो र गएँ,’ उनी भन्छन्, ‘त्यहाँ गएपछि नृत्यसँगै अभिनय पनि सिकियो ।’

घुर्कीले फर्कायो अभिनयमा
पहिलो सडक नाटक ‘जनताको प्रजातन्त्र’ गरे पनि आर्यनलाई ‘कति टेलिसिरियलमा अभिनय गरेँ’ भन्ने पत्तो छैन । अभिनय गरेका टेलिसिरियल प्रसारण भएनन् र पारिश्रमिक नपाएपछि सुरुवाती चरणमै अभिनय छाड्ने मनस्थितिमा पुगेको खल्लोपना उनले भोगेका छन् ।

अभिनय गरेका टेलिसिरियल प्रसारण भएनन् र पारिश्रमिक नपाएपछि सुरुवाती चरणमै अभिनय छाड्ने मनस्थितिमा पुगेको खल्लोपना उनले भोगेका छन् ।

‘डमी सिरियलमा काम गर्थेँ । टेलिभिजनले प्रसारण नै गरेन ती सिरियल । प्रायःले सिरियलमा काम गरेको पैसा पनि नदिने । कोहीले प्रसारण भएपछि पैसा दिन्छु भन्थेँ,’ उनी भन्छन्, ‘कोहीले तँलाई अवसर दिएको हुँ भन्ने । अनि मन मर्‍यो, यहाँ काम गरेर पैसा हुँदैन नै भन्ने भयो । बरु पढ्छु भनेर अभिनय छोडेँ ।’

तर, उनको सो निर्णय लामो समय टिकेन । टेलिसिरियल ‘चिताको ज्वाला’का लागि प्रस्ताव आउँदा वितृष्णाले जगाएको पारिश्रमिक सौदा र घुर्की नै अभिनयमा फर्केन तत्व बन्यो ।

‘लेखकले फोन गरेर बोलाउनु भएको थियो । तपाईंहरूले पैसा दिनुहुन्न, काम मात्रै लगाउने ? चलेको कलाकारलाई दिने पैसा दिए आउँछु नभए गर्दिनँ भनेँ,’ उनले सुनाए, ‘प्रतिएपिसोड १२ सय रुपैयाँ दिन्छु भन्नुभयो । त्यसबेला चलेका कलाकारले १८ सय लिन्थे । राम्रै पैसा पाएपछि अभिनयमा फर्किएँ ।’

अरूले छाड्दा चार सिरियल खेले

‘चिताको ज्वाला’ सिरियलमा काम गरेपछि काम नपाएर खाली बस्नुपरेको आर्यनलाई सम्झना छैन । त्यसपछि चयन भएका कलाकारबाट काम निकाल्न नसकेपछि अन्य सिरियलका निर्देशकले विकल्प आफूलाई लिने गरेको उनलाई महसुस हुन्छ ।

फाइनल भएका कलाकारबाट काम निकाल्न सकेकै कारण तीन सिरियलमा काम गरेको उनी बताउँछन् । ती सिरियलहरू हुन् – ‘गंगा जमुना’, ‘मास्टर माइन्ड’ र ‘खुसी पलभरको’ ।

‘गंगा जमुना’का कलाकार विदेश गएकाले उक्त भूमिकामा उनी अनुबन्ध भए । भूमिका र नाम अघिल्लै कलाकारको लिएर काम गरेको त्यो सिरियलको उनलाई सम्झना आइरहन्छ । हाँस्दै भन्छन्, ‘नाम, पात्र, भूमिका पहिलाकै केटाको थियो, म गएँपछि अनुहार मात्रै परिवर्तन भयो ।’

‘त्यसबेलादेखि नै सबैले राम्रो छस् भन्थे । त्यहीमाथि त्यसबेला कलाकार बन्न गोरो अनुहार भएपछि अलिक प्राथमिकतामा परिन्थ्यो ।’

अन्य दुई सिरियल ‘मास्टर माइन्ड’ र ‘खुसी पलभर’मा चयन भएका कलाकारले अभिनय गर्न नसकेकाले निर्देशकको रोजाइमा आर्यन परेका हुन् ।

यसरी उनी निर्देशको नजरमा पर्नुको कारण चकलेटी लुक्स र अभिनय नै थियो । उनी भन्छन्, ‘त्यसबेलादेखि नै सबैले राम्रो छस् भन्थे । त्यहीमाथि त्यसबेला कलाकार बन्न गोरो अनुहार भएपछि अलिक प्राथमिकतामा परिन्थ्यो ।’

उनले अहिलेको अवस्थामा सम्झने अर्को टेलिसिरियल हो ‘हाउसफुल’ । पहिलो पटक पात्र निर्माणका लागि नयाँ प्रयोग गरेकाले उनलाई  त्यो सिरियल विशेष लाग्छ ।

‘सोचेर लेखेको केटाले सिरियलमा काम गर्न भ्याएनछ । अनि अडिसन दिन गएँ, सहरी हुलिया भएको केटा चाहिएको रहेछ,’ उनी भन्छन्, ‘मेरो लामो कपाल थियो । अडिसन पास भएपछि कपाल काटेर र रङ लगाएर उनीहरूले चाहिएको लुक्स निकालेँ ।’

फिल्म खेल्ने निर्णय

आर्यन भनिरहन्छन्‌, ‘मलाई फिल्म खेल्न मन नै थिएन ।’

उनलाई फिल्ममा इच्छा नहुनुको कारण हो, फिल्मको कमजोर भिडियो गुणस्तर ।

‘टेलिसिरियलको क्वालिटी राम्रो हुन्थ्यो, फिल्मको क्वालिटी धमिलो हुन्थ्यो । म यस्ता धमिलो फिल्म पनि को गर्छ भन्दै हिड्थेँ,’ उनी भन्छन्, ‘तर निश्चित समयपछि साथीहरूले अन्तिममा गर्ने भनेको फिल्म नै हो भनेर गाली गर्न थाले ।’

अन्ततः उनी फिल्म खेल्ने निर्णयमा पुगे । त्यसबेला उनको ‘हाउसफुल’ सिरियल प्रसारण भइसकेको थियो । सोही सिरियल हेरेर निर्माता छवि ओझाको नजरमा परेको उनी सम्झन्छन् ।

‘मलाई छवि सरले हिम्मतका लागि प्रस्ताव गर्नुभएको थियो । मैले मेरो कामको डीभीडी र फोटो उहाँलाई बुझाएको पनि थिएँ, तर त्यसमा हाम्रो सहकार्य भएन,’ उनी भन्छन्, ‘मैले पनि के भयो भनेर चासो देखाइनँ, उहाँहरूले पनि फोन गर्नुभएन ।’

छविकै ‘किस्मत’बाट ठूलो पर्दामा

आर्यन अभिनित पहिलो फिल्म ‘किस्मत’ हो, जुन छवि ओझा ब्यानरको फिल्म हो । त्यसबेला चलचित्र क्षेत्रमा छविको एकछत्र राज थियो ।

आर्यनको कुरा सुन्दा चकलेटी लुक्सबाट प्रभावित भएका छविले उनलाई फिल्म खेलाउने निर्णय नै गरेपछि ‘किस्मत’मा सहकार्य भएको हो ।

आर्यनलाई ‘हिरो’ लिन ‘किस्मत’का निर्माता छवि ओझा र निर्देशक उज्जवल घिमिरेको गलफत्ती रोचक छ । ओझा र घिमिरे दुवैले आफूले चाहेका ‘हिरो’ राख्न चाहन्थे, तर दुवैको रोजाइ आर्यन नै हुन् भन्ने उनीहरूलाई थाहा थिएन ।

यो संयोग आर्यनका दुई नामले भएको हो । छवि आर्यन नाम गरेको केटालाई लिन चाहन्थे भने घिमिरे हरिशलाई लिन चाहन्थे । जुन कुरा आर्यन स्वयम्ले पनि पछि थाहा पाए ।

उनी भन्छन्, ‘छवि सरले बोलाएर ‘पहिलो (हिम्मत)मा काम भएन, किस्मतमा काम गरौं तर निर्देशकले पनि एउटा केटा हेरेको छ रे ! मैले पहिला तिमीलाई भेट्टाउन खोजेको, भाग्य रहेछ भने निर्देशकले तिमीलाई मन पराउँछ’ भन्नुभयो ।’

छविसँगै हुँदा निर्देशकसँग उनको भेट भएन । पछि निर्देशक उज्जवलसँग भेट्दा भएको संवादले भने ‘यी दुवैले खोजेको हिरो म नै रहेछु’ भन्ने थाहा पाएको उनी सुनाउँछन् ।

उज्जवले ‘फिल्मको लागि कुरा गर्नुछ, भेटौं’ भने । भेटपछि उनले ‘हरिश ! मलाई चलचित्रमा तिमीलाई लिन मन छ । तिम्रो काम राम्रो छ, मैले हेरेको छु, तर छविले आर्यन भन्ने केटालाई लिन लागेको छ रे !’ भने ।

निर्देशकले आर्यन र हरिश दुवै एक व्यक्ति भएको थाहा पाएपछि रमाइलो माहोल बन्यो । त्यही रमाइलोमै ‘किस्मत’को सुटिङ सकियो । जुन फिल्ममा उनले १० हजार रुपैयाँ पारिश्रमिक लिएका थिए ।

पहिलो फिल्म हिट भएपछि चलचित्र निर्माता (मेकर)बाट फोन आउन थाल्यो । लगातार फोन आउन थालेपछि आफूले फिल्मको महत्त्व बुझेको आर्यन सुनाउँछन्‌ ।

विशेष दुई काम

पहिलो फिल्म प्रदर्शनमा आएको डेढ वर्षपछि मात्रै आर्यनले दास्रो फिल्ममा सम्झौता गरे । यसबीच सार्वजनिक भएको ‘लाजको लाली’ म्युजिक भिडियोले उनलाई ‘चकलेटी स्टार’ बनाउन मलजल गरेको हो ।

उनले सम्झौता गरेको दोस्रो फिल्म ‘मेरो एउटा साथी छ’ भए पनि प्रदर्शनमा आएको दोस्रो फिल्म भने ‘मौसम’ हो । जुन फिल्म पनि बक्स अफिसमा हिट बनेको थियो ।

‘मेरो एउटा साथी छ’को सफलताले सुपरस्टार महसुस गर्ने गरी दर्शकको माया पाएको उनी सम्झन्छन् । ‘लाजको लाली हिट भएर म छ्यापछ्याप्ती भइसकेको थिएँ, मेरो तेस्रो फिल्म पनि हिट भएपछि त हिँड्नै गाह्रो हुन थाल्यो,’ उनी भन्छन्, ‘त्यस बेलासम्म बाइक चढ्थेँ, अनि गाडी किनेँ । मलाई स्टार बनाउने दुई माध्यम म्युजिक भिडियो र फिल्म हुन् ।’

चकलेटी लुक्स र प्रेमिल संवाद सुहाउँदो आवाजको मीठो मिश्रणले उनी तेस्रो फिल्मपछि ‘स्टार लभर बोइ’का रूपमा मात्रै परिचित भएनन्, सर्वाधिक महँगा स्टारका रूपमा चर्चा पाउन लागे ।

उनी भन्छन्, ‘म यति लिन्छु भन्दिनँथें, निर्माता आएर आफैँ यति दिन्छु भन्थे । यसरी नै मेरो पारिश्रमिक निर्माताहरूले नै बढाइदिए ।’

उनले १० लाख रुपैयाँ पारिश्रमिक बुझ्दा अहिलेसम्मकै महँगो हिरो भनेर चलचित्र क्षेत्रमा चर्चा हुन्थ्यो । त्यसपछिका फिल्म हिफाजत, फस्ट लभ, आइएम सरी र नाभेम्बर रेन जस्ता प्रेमकथामा आधारित दर्जनौं फिल्म खेलेपछि मेट्नै नसक्ने गरी उनले ‘लभर बोइ’को ट्याग पाए ।

आत्मालोचनामा आर्यन

सन् २००७ मा प्रदर्शनमा आएको किस्मतदेखि २०१४ मा प्रदर्शनमा आएको ‘नोभेम्बर रेन’सम्म आर्यनको स्टारडम उत्कर्षमा थियो । थोरै फिल्म मात्रै गर्ने भएकाले उनका समर्थकहरू फिल्म कुरेर बस्थे ।

तर नोभेम्बर रेनपछि उनको एकै वर्षको अन्तरालमा ६ फिल्म प्रदर्शनमा आए । ती सबै फिल्ममले राम्रो व्यापार गर्न सकेनन्‌ । त्यसको असर उनको ‘स्टारडम’मा पर्‍यो ।

उक्त कुरा स्वीकार गर्दै आर्यन भन्छन्, ‘आर्थिकदेखि लिएर साथीहरूको सम्बन्धको दबाबले मैले ती फिल्म गर्नुपर्‍यो । ती फिल्मले मेरो करिअरमा केही प्रभाव चाहिँ पारेकै हुन् ।’

सन् २०१७ यता ६ वर्षको अवधिमा आर्यनका ५ फिल्म प्रदर्शनमा आए, ती सफल हुन सकेनन् । यी फिल्महरू असफल हनुको पछाडिको कारणबारे उनको बुझाइ यस्तो छ, ‘प्रेमकथामा आधारित चलचित्रमा मलाई दर्शकले हेर्न नखोज्नु भएको हो जस्तो छ । अहिले बनिरहेकै धारका चलचित्रमा उहाँहरूले मलाई हेर्न खोज्नुभएको हो जस्तो लाग्छ ।’

त्यही बुझाइअनुरूप आर्यन ‘पुजार सार्की’मा देखिएका छन् । उनी ग्रामिण भेगको बाह्रमण युवाको भूमिकामा छन् । उनी भन्छन्, ‘यो नयाँ प्रयोग पनि हो । फिल्ममा मेरो भूमिका देखेर दर्शक उत्साहित भएको पाएको छु । सायद उहाँहरूले खोजेको भूमिका यही हो ।’

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ९ : २२ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को