काठमाडौं – देशभरका सहकारीपीडित यस बेला काठमाडौंमा आन्दोलनरत छन् । पीडितहरूको एक समूहले शुक्रबार माइतीघर मण्डलामा आफ्नो बचत फिर्ता गरिदिन माग राख्दै प्रदर्शन गर्यो ।
सयौं संख्यामा रहेका पीडितहरू बचत हिनामिना गरेका सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै नाराबाजीमा उत्रिए । त्यही भीडमा काखे छोरो च्यापेर आन्दोलनमा आएकी गोमा मगर भेटिइन् । विभिन्न चरणका आन्दोलनमा चर्को स्वरले नारा लगाउँदा-लगाउँदै उनी गलिसकिन्, तर उनले बचत भने माया मार्न सकेकी छैनन् ।
कुलेश्वरमा चिया पसल गर्दै जीविका चलाएकी गोमा गौतमश्री बहुउद्धेश्यीय सहकारी संस्थाबाट पीडित हुन् । आफूले गाँस काटेर जम्मा गरेको बचत हिनामिना भएपछि उनी छोरो च्यापेरै प्रदर्शनमा आउन बाध्य भएकी हुन् ।
सरकारलाई दबाब दिए सानो पसलको आम्दानीबाट वर्षौं लगाएर जम्मा गरेको तीन लाख फिर्ता हुने आशले उनलाई घरमा बस्न मन लागेन । त्यसैले आन्दोलनमा सहभागी भइन् ।
गोमा भन्छिन्, ‘सहकारीमा ताल्चा लागेको एक वर्ष भयो । खाइ/नखाइ जम्मा गरेको बचत माया मार्न सकिन्न रहेछ । पसिनाको कमाइको महत्त्व बुझेका नेता हाम्रो देशमा भइदिए यस्तो पीडा त सहनुपर्ने थिएन होला ।’
देवी तण्डुकार
अर्की पीडित हुन् – देवी तण्डुकार । उत्तम सहकारीले १० लाख रुपैयाँ हिनामिना गरिदिएपछि उनलाई अहिले बचतको भन्दा बढी अपाङ्ग छोराको चिन्ता लागेको छ ।
आफ्नो शेषपछि पनि अपाङ्ग छोराको स्याहार व्यवस्था होस् भनी उनले सो रकम सहकारीमा जम्मा गरेकी थिइन् । सोलुखुम्बुबाट आएर कपनमा चिया पसल चलाएकी देवीलाई बचत फसेपछि अहिले छोराको चिन्ताले सताइरहन्छ ।
उनी भन्छिन्, ‘छोरोको अपाङ्ग भत्ता र आफ्नो बचत सहकारीमा राखेकी थिएँ । बुढेसकालमा छोरालाई सहज होस् भनेर राखेको, यस्तो भएपछि मेरो शेखपछि छोरालाई कसले हेर्ने ?’
छोरालाई कसैले हातमा राखिदिएको पैसासमेत बचत गरेकी उनले सहकारी सञ्चालक निक्षेप कुम्ल्याएर फरार भएपछि चैनको स्वास फेर्न पाएकी छैनन् । उनको बिलौना सुन्ने जो कोही ‘विचरा !’ भन्छन् । तर बचत फिर्ताबारे सरकार मौन बसेपछि उनी दैनिक कामकाज छोडेर माइतीघर आउन बाध्य भएकी हुन् ।
फुर्वा शेर्पा
फुर्वा शेर्पा उमेरले ७० नाघिन् । ३३ वर्षको उमेर मजदूरी गर्न भारतमा रहँदा श्रीमान् बिते, तर उनी विचलित भइनन् । तीन सन्तानलाई काठमाडौं ल्याएर पालिन् ।
तीन टुहरा सन्तान हुर्काउन उनी शरीरमा तागत होउञ्जेल कसैको भर परिनन् । झोलामा फाटफुटे व्यापार गरेर सन्तान हुर्काइन् ।
तर, जीवनभर पसिना बगाएर बुढेसकालको लागि बचत गरेको रकम कुलेश्वरको गौतमश्री सहकारीले अपचलन गरेपछि उनी सरकार गुहार्दै सडकमा आउन बाध्य भएकी हुन् ।
उनलाई सुरुमा सहकारीमा पैसा राख्न मन थिएन । तर बहिनीले ‘धेरै ब्याज आउँछ’ भनी आश देखाएपछि गौतमश्री सहकारीमा पैसा राख्न थालिन् ।
उनी भन्छिन्, ‘माइली बहिनीले आफ्नै घरमा सहकारी राखेको हो, भाग्दैन भनेपछि बचत जम्मा गरेँ । आएको ब्याज पनि हातपाउ बसेपछि झिकौंला भनेर त्यहीँ राखेको थिएँ ।’
आफू जीवितै हुँदा बचत फिर्ता हुने आशा उनलाई झिनो मात्रै छ । किनकी सरकारले सहकारी पीडितको बचत फिर्ता गराउनेतर्फ ठोस तदारुकता देखाएको छैन ।
फुर्वाले सहकारीमा राखेको रकम बचतमात्र होइन, त्यो त एक विधवाको जीवनभरको पसिनाको मूल्य पनि हो । उनी हामीसँगै जिज्ञासा राख्छिन्, ‘जीवनभरिको पसिना सन्तानले उपभोग गर्न वातावरण मिले मात्रै पनि हुन्थ्यो । म मरेँ भने छोराछोरीले पैसा पाउँछन् त बाबु ?’
महालक्ष्मी मैनाली
पहेँलो पहिनरमा माइतीघरको सडकमा बिसिरहेकी थिइन् – विधवा वृद्ध लक्ष्मी मैनाली । सहकारीबाट ठगिएपछि सम्पत्तिको नाममा अब एक थान शरीरमात्रै भएको उनी बताउँदै थिइन् ।
उनका न श्रीमान् छन्, न त सन्तान् ! न गाउँ काभ्रेमा चल-अचल सम्पत्ति नै छ । उनी आफन्तहरू नजिक भएको स्थान लोकन्थलीमा डेरा गरेर बसेकी छिन् ।
शरीरमा बल हुँदासम्म उनी ज्यामी काम गर्थिन् । अहिले त्यो पनि गर्न सक्दिनन् । उमेरभर परिश्रम गरी जसोतसो जम्मा गरेको रकम कोटेश्वरको परस्पर सहकारीले अपचलन गरेपछि उनी बुढेसकालमा झन् पीडा भोगिरहेकी छिन् । सो सहकारीले उनको दुई लाख रुपैयाँ बचत हिनामिना गरिदिएको छ ।
‘दुई लाख रुपैयाँ जम्मा गर्न मलाई २० वर्ष लाग्यो । कसरी त्यति पैसा पुर्याएँ, त्यो दुःख मलाई मात्रै थाहा छ,’ मैनाली भन्छिन् ।
अब लक्ष्मी कमाउन सक्दिनन्, न कमाइ नै छ । काम गर्न शरीरमा तागत पनि छैन । उनी सरकारले दिने भत्ताकै भरमा सकसले दैनिकी चलाइरहेको बताउँछिन् ।
यो पनिः
सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू)
सहकारी पीडितको चेतावनी – न्याय नपाए आगामी चुनाव हुँदैन !
सहकारी पीडितको आन्दोलन – माग पूरा नभए देशव्यापी संघर्ष गर्ने
प्रतिक्रिया