काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेकी अर्धाङ्गिनी महाकाली ९० वर्ष लागिन् । चार वर्षअघि राष्ट्रकविको देहान्तपछि उनी एकल छिन् । आठ छोराछोरीकी आमा उनी २०१९ सालमा आफैंले बनाएको लैनचौरस्थित पुरानो घरमा जेठो छोरासँग बस्दैछिन् ।
सुगर र प्रेसरले थला परेकी उनी घरबाहिर सजिलै निस्कन सक्दिनन् । बोली भने निकै टाठो छ । राष्ट्रकवि जीवित रहँदा विभिन्न कार्यक्रममा हिँडिरहने उनी आजकल कसैले नबोलाएको भन्दै गुनासो गर्छिन् । भन्छिन्, ‘उहाँलाई लेखक बनाउन मैले मेरो पूरै जीवन समर्पण गरें ।’ माधवको देहान्तपछि राज्यले पनि वास्ता नगरेको महाकालीको गुनासो छ ।
‘छोराछोरी र बुहारीले राम्रोसँग हेरेका छन् । तर राज्यले मलाई बुवाको देहान्तपछि बिर्सियो,’ उनले खबरहबसँग आफ्नो बाल्यकाल, बिहे, राष्ट्रकवि माधवसँगको यात्रा र हालको एकल जीवनबारे आफूलाई यसरी व्यक्त गरिन्ः
बुवा चिरञ्जीवी र आमा देवकाको म माइली छोरी हुँ । लमजुङको पहाडमा त्यतिबेला छोरीले पढ्ने चलन थिएन । विद्यालय गएर पढ्न नपाए पनि घरमै अक्षर चिनें । नाम लेख्न चाहिँ सक्दिनँ । तर पत्रपत्रिका र पुस्तक पढ्न सक्छु । घरमा हामी चार दाजुभाइ र तीन दिदीबहिनी थियौं ।
१३ वर्षकै उमेरमा उहाँ (माधव) सँग बिहे भयो । हाम्रो मागी विवाह भएको हो । घरमा सरसल्लाह गरेर बुवाआमाले नै विवाह गरिदिनुभएको हो । हामीबीच १४ वर्षको उमेर अन्तर थियो ।
दोस्रो विवाह भएकाले उहाँहरूले सटाकसुटुक गर्ने भन्नुभयो । त्यसै अनुसार दुई परिवार र केही आफन्तको जमघटमा बिहे भयो । मेरो पहिलो भएपनि बुवाको दोस्रो बिहे थियो । पहिलो बिहे जस्तो दोस्रो बिहेमा रौनक नहुने रहेछ । बाध्यताले गर्नुपरेको बिहे थियो नि त !
शान्ता र कान्तासँगै हुर्किएँ
उहाँले श्रीमतीलाई धोका दिएर सौता हालेको होइन । साना टुहुरा सन्तानहरूको लागि आमा खोजिएको थियो । बिहे गर्नुभन्दा अघि नै बुवा (माधव)को बारेमा सबै थाहा थियो । घरमा दुई बच्चाहरू छन् भन्ने पनि थाहा थियो ।
बच्चा त बच्चा भइगए, बिहे गरेर आउँदा म आफैँ केटाकेटी थिएँ । जीवनसाथी यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ वा कस्तो हुनुपर्छ– केही यादै भएन । बिहे गरेर आउँदा बुवाले स्कुलमा पढाउनुहुन्थ्यो । उहाँ स्कुल गएपछि खेल्न जान्थेँ । पहाडको ठाउँ, घरबाहिर निस्किएर ढुङ्गामाटो बटुल्दै खेल्थ्यौँ ।
पहिलेकी श्रीमतीसँग कति प्रेम थियो भन्ने कुरामा उहाँले किताबै लेख्नुभयो । तर मसँग जेठी श्रीमतीबारे कहिल्यै कुरा गर्नुभएन । जेठीलाई सम्झिएर मेरो अगाडि रुनु भएन । किताबमा लेखेको कुरा पढ्दा चाहिँ जेठीलाई धेरै सम्झिनुहुँदो रहेछ भन्ने मलाई लाग्थ्यो ।
त्यो स्वाभाविक पनि हो । दुई सन्तानकी आमा हुनुहुन्थ्यो, कति सपना थियो होला ? कति प्रेम थियो होला ? जेठी अब रहिनन् भन्ने सुन्दा कस्तो भएको थियो होला ? तर जेठी यस्ती थिइन्, उस्ती थिइन्, तिमी जेठी जस्ती छैनौ वा उनी भन्दा राम्री छौ भनेर तुलना गर्नुभएन ।
बिहे गरे आउँदा एक छोरी सात महिनाकी र अर्की ६ वर्षकी थिइन् । सानीलाई मामाघरकी हजुरआमाले हुर्काउनुभयो । अर्की ठुली घरमै बुवासँग थिइन् । म आफै बच्चै ! कसरी त्यो सात महिनाको बच्चा हुर्काउनु ?
बच्चाहरूसँगै म आफैं हुर्किएँ । उनीहरूसँगै खेल्दै ठूली भएँ । आफूले १७ वर्षको हुँदा पहिलो सन्तान जन्माएँ । जेठो सन्तान जन्मिएको दुई वर्षपछि अर्को जन्माएँ । म पट्टिका ६ मध्ये जेठी छोरी मञ्जु, माइली उषा, काँइली किरण र कान्छी ज्योति छन् । दुई छोरामध्ये जेठो इन्दिवर र कान्छो राजु छन् ।
ठूलो छोरा हाइड्रोपावरमा र सानो छोरा खानेपानीमा काम गर्थे । दुई छोरी स्कुलमा पढाउँथे । अर्की छोरी पुल्चोक क्याम्पस पढाउँथिन् । कान्छी डाक्टर थिइन् । अहिले सबै छोराछोरी पनि रिटायर्ड भैसके । अहिले आफ्नै छोराछोरीसँग अमेरिका, क्यानडा र अष्ट्रेलियामा छन् । कोही यतै छन् । जताततै ढाकेका छन् । सन्तानले डाँडाकाँडा ढाकुन भनेर पहिले पहिले आशीर्वाद दिन्थेँ । त्यो आर्शिर्वाद आफैँलाई लागेको जस्तो लाग्छ ।
नाति, पनातिको संख्या थाहा छैन !
आशीर्वाद लागेको छ । नातिनातिना कति छन्, थाहा छैन । पनाति पनातिना पनि भए । तर कति छन्, थाहा छैन । छोरापट्टिका ३ जनाजति छन् । छोरीपट्टिका नातिनातिना धेरै छन्, यति नै छन् भनेर संख्यामा भन्न सक्दिनँ ।
तर दुई आमाका छोराछोरीबीच हिजो पनि मनमुटाव थिएन । हुर्कने क्रममा पनि थिएन । आज आ–आफ्नो गरेर बसेका छन्, मनमुटाव छैन । मैले जन्माएका छोराछोरीले जति मलाई हेरचाह गरेका छन्, माया गरेका छन्, आमा मानेका छन्, जेठीकाले पनि उत्तिकै गर्छन् ।
मेरा छोरीहरू जसरी माइती आउँछन्, जेठी दिदीका छोरीहरू पनि उसरी नै आउँछन् । मैले कहिले भेदभाव गरिनँ, उनीहरूले पनि आजका दिनसम्म गरेका छैनन् । आफ्नो कोखबाट नजन्मिँदैमा फरक हुन्छ भन्ने हुँदैन । नाता भनेको रगतभन्दा धेरै भावनात्मक हो ।
भावनाले मेरो बच्चा भनेर मान्यो भने सडकमा भेटिएको बच्चा पनि आफ्नो हुन्छ । त्यसमाथि उनीहरू मेरो श्रीमान्का रगत हुन् । आमाको कोख मात्रै अर्को थियो । मलाई कहिले उनीहरू अर्को हुन् भन्ने भावना नै आएन । यिनीहरू मेरै हुन् भन्ने भावले हेरेँ । उनीहरूले पनि कान्छी आमाको भावले हेरेनन् ।
उहाँ पढेलेखेको मान्छे, शिक्षक र लेखक ! म अनपढ थिएँ । तर उहाँले सबै बुझेर बिहे गरेको कारणले अनपढ भनेर कहिले बोल्नुभएन । हाम्रो समयमा प्रायः महिलाहरू अनपढ नै हुन्थे । छोराहरूले मात्रै पढ्ने चलन थियो । जति नै पढेको केटाले पनि अनपढ केटी नै बिहे गर्थे ।
शहरबजारमा मात्रै केही केटीहरूले पढ्न पाए त्यतिबेला । पढेको र नपढेको भनेर असमझदारी भएन । जीवनसाथीको रूपमा उहाँ असाध्यै मिलनसार मान्छे हुनुहुन्थ्यो । कसैलाई बिझाएर नबोल्ने ! वैवाहिक जीवनमा खासै धेरै झैझगडा भएन । १०२ वर्ष बाँच्नुभयो । उहाँ लामो आयु बाँच्नु पनि सकारात्मक ऊर्जाले नै हो ।
मलाई जहिले पनि केटाकेटी सम्झिनुभयो, उमेरले धेरै फरक भएर होला । म हुर्कें, बढें, आमा भएँ, तर उहाँको नजरमा केटाकेटी । ‘यो केटाकेटी हो, थाहा पाउँदिन, बुझ्दिनँ’ भन्नुहुन्थ्यो ।
बुवा स्वर्गे भएपछि मान्छेहरू त्यति आउन छोडे । अहिले आफ्नै हल्का कामहरू मात्रै गर्न सक्छु । अलि दिन अगाडिसम्म बिहान पूजा गर्थेँ । अहिले पाखुरा दुखेर पूजा गर्न सकेको छैन । हाल म जेठो छोरोसँग बस्छु । कान्छा छोराको पनि यहीँ नजिकै घर छ ।
दिउँसो पत्रिकाहरू हेर्छु, दिन त्यसै जान्छ । मेरो ६ र दिदीका २ जना गरी ८ जना बच्चाहरू हुर्काएँ, पढाएँ, बढाएँ र बिहेदान गरिदिएँ । अरू काम गर्ने फुर्सद नै भएन । त्यत्तिका सन्तान हुर्काउनु बढाउनु कुनै जागिर भन्दा कम हो र ? सबैलाई राम्रोसँग शिक्षा दिएँ, जागिर खान सक्ने बनाएँ ।
लेखकको घर शान्त हुनुपर्छ
आज छोराछोरी रिटायर्ड भएर बसेका छन् । पेन्सन खाएर बसेका छन् । त्यो त्यसै कहाँ हुन्छ र ? आमाको समर्पण र त्यागले घरपरिवार राम्रो बन्ने हो । मैले मेरो पूरै ऊर्जाशील समय सन्तानलाई दिएँ । बुवा लेख्न बस्ने, केटाकेटी मैले नसम्हाल्दिए त कसरी लेख्न सकिन्थ्यो ?
मैले र छोराछोरीले समय दिएर नै उहाँ लेखक बन्नुभयो । दुनियाँदारीको जिम्मेवारी बोक्न परेको भए, लेखक बन्न सकिदैनथ्यो । लेख्ने भन्ने कुरा हल्ला, खलबलमा हुँदैन । ढोका थुनेर कोठामा बस्नुहुन्थ्यो । हामीले ढोका पनि ढकढकाएनौँ, पढ्न र लेख्न नै दियौँ ।
पेन्सन नपाक्दै पढाउन छोड्नुभएको हो । एकेडेमीमा पछि काम गरेको हो । कुलपति पनि पछि भएको हो । छोराछोरीलाई कहिले गाली नगर्ने, तह लगाउन भनेर पिटेको थाहा पाइन । एक बुवाको रूपमा पनि उहाँ दयालु हुनुहुन्थ्यो । केटाकेटीलाई पढाउने काम भने गर्नुभएन । ‘आऊ ! तिमीहरूलाई पढाउँछु, होमवर्क गराउँछु’ भन्नुभएन । आफ्नो अध्ययन र लेखन भन्दाबाहेक अरूमा ध्यान थिएन । मैले क, ख आफैँ पढेको हो । केटाकेटीले पनि आफैं पढे । बुवाले पढाउनुभएन । पार्टी विवाहमा भन्दा धेरै कवि गोष्ठी सम्मेलनमा जानुहुन्थ्यो ।
लेखकको घर शान्त हुनुपर्छ । परिवारमा मेलमिलाप र प्रेम हुनुपर्छ । लेखकलाई बुझेर समय दिनुपर्छ । तब मात्रै एक घरमा लेखक जन्मिन सक्छ । बच्चालाई अभिभावकले जसरी हेरचाह र परवाह गर्छन्, लेखकलाई परिवारका सदस्यले त्यस्तै गर्नुपर्छ । उसले खायो वा खाएन ? सुत्यो वा सुतेन ? भनेर रुँगेर बस्नुपर्छ ।
लेख्ने मान्छे खान र सुत्न पनि बिर्सन्छ । अब सुत्नु भन्नुपर्छ । उहाँले लेखनमा दिएको समय कहिले मलाई आफूले समय पाइन भन्ने लागेन । कति श्रीमान्ले समय दिएन भनेर गुनासो गर्छन्, मैले गरिनँ । कामै त्यही हो भनेर स्वीकार गरें । उहाँले आफ्नो लेख्ने कोठामा पसेर ढोका थुन्दा मलाई सधैं आनन्द लाग्यो ।
उहाँभित्र छिरेपछि म छोराछोरीसँग रमाएँ । गीत लेखेर सुनाउनुहुन्थ्यो, उहाँ निकै राम्रो गाउनु हुन्थ्यो । गायक बनेपनि हुन्थ्यो भन्ने मलाई लाग्थ्यो, तर उहाँले गीत रेकर्ड भने गर्नुभएन । लेखकको कमाइ अहिले पनि छैन । त्यतिबेला झनै थिएन । पैसा कमाउने काम वा जागिर गरे हुन्थ्यो भन्ने धेरैपटक लाग्यो । तर मुखै खोलेर भनिनँ ।
लेखकका लागि सञ्चयकोष आवश्यक
उहाँले पहाडमा स्कुल पढाउनुभयो, काठमाडौं आएर कलेज पढाउनुभयो । पूरा पढाइदिएको भए निरन्तर तलब आउँथ्यो । अहिले पेन्सन आउँथ्यो । उपकुलपति हुँदै कुलपति नै पनि हुनुभयो । २८ वर्ष एकेडेमीमा काम गरे पनि उहाँ बाँचुन्जेल भत्ता पाउनुभयो । अहिले मलाई केही छैन ।
कलेज पढाइदिएको भए, आज म बुढेसकालमा औषधी खान छोराछोरीको भर पर्नुपर्ने थिएन । मान्छे हो, सास रहेसम्म खर्च चाहिन्छ । बुढेसकालमा झनै खर्च चाहिँदो रहेछ । लेखकको सञ्चय भन्ने हुँदैन । त्यत्रा छोराछोरी पढाउँदा र हुर्काउँदा नै ठिक्क भयो । नभएर धेरै चिन्ता छैन, तर भइदिएको भए सहुलियत हुन्थ्यो ।
राष्ट्रकविको जीवनसाथीको रूपमा बाँच्न पाएँ, यो कुनै पेन्सनसँग भने दाँज्न सकिँदैन । चाहेर पनि धेरैले राष्ट्रकवि हुन सक्दैनन् । आजीवन मेहनत, त्याग र लगनशीलताले हासिल गरेको उपाधि हो । उहाँले प्राप्त गर्नुभएको सफलतामा म जोडिन पाएँ, यो मेरो लागि सौभाग्य हो ।
मनले सन्तोष लिने हो भने नपुग्दो केही छैन । छोराछोरीबुहारीले राम्रो मात्रै होइन, धेरै राम्रो गरी राखेका छन् । लेकतिरको चामल ल्याएर खुवाएका छन् । फापर, मुगको रोटी खान्छु । सकभर चामल नखाने भन्नेतिरै छु । प्रेसर र सुगरको औषधी प्रशस्त खानुपरेको छ । अहिलेको शरीर औषधीले नै धानिरहेको छ ।
अहिले साहित्य सम्मेलनमा कसैले बोलाउँदैनन् । मान्छेको स्वभाव हो, खोलो तर्यो लौरो बिर्सियो । बुवा नरहेपछि मेरो के काम ? फेरि साहित्यमा व्यक्तिगत रूपमा मेरो के योगदान ?
म त विशुद्ध राष्ट्रकविको अर्धाङ्गिनी मात्रै हो । त्यसमाथि अब शरीरले धेरै हिँड्न पनि सक्दैन । कुनै कार्यक्रममा गएर बसिरहन पनि सक्दैन । बुवाले भने लगभग सबै कार्यक्रमा लिएर हिँड्नुहुन्थ्यो ।
पहिले र अहिलेको समयमा धेरै फरक छ । अहिले स्वतन्त्रताको नाममा अराजकता धेरै देख्छु । स्वतन्त्रता आवश्यक छ, कसैको पराधिन राम्रो होइन । तर सुहाउँदो हुनुपर्छ । अहिले जे पनि लेखेर लेखन बन्नेको संख्या धेरै छ । समाजलाई मार्गनिर्देश गर्ने, चेतना जगाउने खालका भन्दा पनि आफू अनुकूलको लेखन भइरहेको छ ।
सुन्न र पढ्न नसकिने भद्दा कुराहरू लेखिएका छन् । त्यसकारण पनि लेखकको महत्व घट्दै छ । राज्यले लेखकलाई हेरेको अवस्था छैन । तर लेखनमा इमान्दारलाई हेर्नुपर्छ । सहुलियत दिनुपर्छ । लेखनमै समर्पण भएकाले परिवार पनि हेर्नुपर्ने हुन्छ ।
बुवाको किताब साझा प्रकाशनले छाप्छ । तर उसले घाटा देखाएरै रोयल्टी दिँदैन । साझा गरिब छ । त्यसमाथि अर्को अहिले किताब पढ्ने संस्कृति हरायो । पढ्ने केहीले पनि मोबाइलमा इन्टरनेटबाट किताब पढ्छन् । गीतको पनि कुनै रोयल्टी छैन ।
किताब सबैले पढ्न लायकको लेखिनुपर्छ । परिवार भएका ठाउँमा बसेर सुनाउन सकियोस् । लेख्नेलाई परिवारले सहयोग गर्नुपर्छ । उसले लेखेका कुराहरूलाई राम्रो नराम्रो भन्दिनुपर्छ । बुवाको गीत कति मैले भएन भनेर फेरि लेख्नुभएको छ ।
लेखकको पहिलो परिवार पाठक र स्रोता हुन् । सही सल्लाह दिनुपर्छ । धेरै प्रशंसा र धेरै आलोचना राम्रो होइन । स–सानो कुरामा गुनासो गरेर लेख्ने वातावरण खलबल्याउन हुँदैन । लेखिरहेको मान्छेलाई ‘पैसा खै ?’ भन्न थाल्यो भने लेख्न सक्दैन । उसको दिमागमा आएको सिर्जना हराएर जान्छ । एकपटक दिमागमा आएको सिर्जना अर्को समयमा हुबहु आउँदैन ।
त्यसकारण लेखकलाई खल्बल्याउन हुँदैन । बुवाको गुण कान्छो छोरामा छ । उसले लेख्छ । किताब छापेको पनि छ । अमेरिका भएकी कान्छी छोरीले पनि लेख्छिन्, पाँच वटा किताब छापिन् ।
नातिनातिनामा भने लेख्ने गुण छैन । पैसा भनेको जति कमाए पनि पुग्दैन । बस्ने बास बनाइदिनुभयो । बाँकी छोराछोरीलाई ‘कमाएर खाऊ’ भन्नुभयो । आफ्नो खुट्टामा उभिन सक्ने सबैलाई बनाइदिएका छौं ।
बुवाहरू पनि दुई परिवार हो । जेठी आमाको छोरो हुनुहुन्थ्यो । उहाँले पनि आमा भन्ने थाहा पाउनुभएको होइन । कान्छी सासु थाहा पाएँ ।
उहाँहरूसँग बस्नुपरेन । काठमाडौं २००९ सालमा बुवासँग आएको हो । लामो समय भाडामा बस्नुपर्यो । अहिले यो घर २०१८ सालमा घडेरी किनेर बनाएको घर हो । त्यतिबेला घर बनाउन ७० हजार रुपैयाँ खर्च भएको थियो ।
प्रतिक्रिया