सुदूरपश्चिममा शेखरको हाई–हाई ! | Khabarhub Khabarhub

सुदूरपश्चिममा शेखरको हाई–हाई !

देउवाको गृहप्रदेशमा पाएको स्वागतले कोइराला उत्साहित


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– गत मंसिर २२ मा आफ्नै गृहनगर विराटनगरमा पार्टीको कोशी प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश भेला बहिष्कार गरेका नेपाली कांग्रेसमा नेता शेखर कोइराला गत शुक्रबार आफूनिकट केही नेताहरूका साथ सुदूरपश्चिमको धनगढी पुगे ।

कांग्रेसको संस्थापन इतर समूहका सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा पुग्दा कोइरालालाई सुदूरपश्चिमका नेता–कार्यकर्ताले आत्मीयता देखाएका थिए । यो आत्मीयताबाट नेता कोइराला उत्साही देखिएका छन् ।

शुक्रबार कैलालीको धनगढी विमानस्थलमा गरिएको बाजागाजा र झाँकीसहितको स्वागतदेखि धनगढी बस्दासम्म आयोजना गरिएका कार्यक्रमहरुमा देखिएको सुदूरपश्चिमेली नेता–कार्यकर्ताको सहभागिताले कोइराला उत्साही देखिएका हुन् ।
कोशी प्रदेशअन्तगर्तका पालिका सभापतिहरूको भेला राखेर विराटनगरमा गरिएको ‘बागी’हरुको शक्ति प्रदर्शनपछि कोइराला सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरेर धनगढी पुगेका थिए ।

उनलाई धनगढी विमानस्थलमा कांग्रेस कार्यकर्ताहरूले बाजागाजासहित लामो लाइन लागेर भव्य स्वागत गरेका थिए । कार्यकर्ताहरूले १५ किलोको माला लगाइदिँदै कोइरालालाई १५ औं महाधिवेशनका लागि शुभकामनासमेत दिए ।

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका कार्यकर्ताहरूले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद’, ‘सुदूरपश्चिमले के भन्छ, १५ औँ महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ जस्ता नारासमेत लगाएका थिए ।

नेता कोइरालाको स्वागतका लागि विमानस्थलमा थारु संस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । उनको स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो ।

धनगढी विमानस्थलमा कांग्रेसका नेता–कार्यकर्ताहरूले अपेक्षाभन्दा फरक ढंगले भव्य स्वागत गरेपछि आशन्न महाधिवेशनमा सभापतिमा फेरि उम्मेदवारीको तयारीमा जुटेका कोइरालानिकट नेताहरू पनि उत्साही बनेका छन् ।

सुदूरपश्चिममा कोइरालाप्रति देखिएको पछिल्लो ‘क्रेज’ बारे धनगढी पुगेका उनीनिकट एक नेता भन्छन्, ‘शेरबहादुर दाइले सभापतिमा नउठ्ने भनिसकेपछि सुदूरपश्चिमका कार्यकर्ताले परिवर्तन खोजेका छन् । परिवर्तन खोज्दा शेखर सरल पनि छन् र कोइराला परिवारका मान्छे पनि हुन्, उनी सबैसँग घुलमिल गर्ने सजिला मान्छे पनि हुन् भन्ने युवा पनि आए । पुराना कोइराला समूहका नेता कार्यकर्ता पनि आए । सबै कुराको जोड–जम्मा गर्दाको नतिजा हो ।’

‘सुदूरपश्चिममा एक प्रकारले भविष्यका सभापति शेखर कोइराला हुन् र उनीबाट केही न्याय हुन्छ भन्ने हिसाबले देखियो,’ नेता कोइरालासँगै धनगढी पुगेका कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल खबरहबसँग भने, ‘नौवटै जिल्लाका मान्छे धनगढी आएका थिए । अछाम जिल्लामा गएर कार्यक्रम गर्ने जति मान्छेहरू त अछामबाटै धनगढी आए । सबै जिल्लाका मान्छेको लहर थियो ।’

केन्द्रीय सदस्य पोखरेलले सुदूरपश्चिमका नौवटै जिल्लाका कार्यकर्ताले धनगढी पुगेर देखाएको आफूप्रतिको भरोसाबाट नेता कोइरालासमेत उत्साही देखिएको बताए ।

‘शेखर कोइराला उत्साही नै हुनुहुन्छ । काठमाडौंबाट जानुअघि उहाँले सबै पक्षका मान्छे बोलाउन भन्नुभयो । तँ मेरो होस्, तँ मेरो होइनस् भन्नुभएन,’ पोखरेलले भने, ‘भेट्न आएकाहरूलाई जिल्लामा धेरै विवाद नगर्नुस्, मिलेर जानुस् भन्नुभयो । प्रक्रियागतरुपमा न्याय गरेर मिलेर जानुस् भन्ने सन्देश सबैलाई दिएको देखियो ।’

धनगढीमा सुदूरपश्चिमका कार्यकर्ताहरूसँग भेटघाटको अवसर जुराइदिएको कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य यज्ञनिधि कोइराला महाधिवेशनको तयारीमा जुटिसकेका नेता कोइरालाबाट अझै नयाँ उत्साह, उमंगकासाथ पार्टीमा लहर आउनेमा आफू विश्वस्त रहेको बताउँछन् ।

‘सभापतिको तयारी गरिरहनुभएका शेखर डाक्टर साहेबसँगै हामी एकदमै उत्साहित छौँ । विधानबमोजिम म सभापतिमा उठ्छु भन्नुभएको छ,’ उनले भने, ‘अन्यथा कुरै होइन । शेखर कोइरालाले पार्टीमा अझै नयाँ उत्साह, उमंग ल्याउँछन्, कांग्रेसमा लहर आउँछ भनेर हामी पनि विश्वस्त छौँ ।’

नेता कोइरालाले आफू धनगढी पुगेकै दिन सुदूरपश्चिमका नौवटै जिल्लाका सभापतिहरू र उनीहरूको नेतृत्वमा जिल्लाबाट आएका नेता–कार्यकर्ताहरूसँग धनगढीको होटल रुबसमा जिल्लागत रुपमा छुट्टाछुट्टै छलफल गरेका थिए ।

भेटघाटका लागि क्रमशः कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका नेता–कार्यकर्ताका लागि समय तालिका मिलाइएको थियो । शुक्रबार दिउँसो १ बजे कञ्चनपुरबाट सुरु गरेर बेलुकी बाजुराका नेता–कार्यकर्तासँगको छलफलपछि शुक्रबारको भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

नेता कोइरालाले शनिबार बिहान पार्टीका भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । भ्रातृ संस्थाहरूसँग शनिबार बिहान ८ बजे र शुभेच्छुक संघ–संस्थासँग बिहान साढे ८ बजेका लागि समय निर्धारण गरिएको थियो ।

नेता कोइरालालाई गत शनिबार धनगढीमा आयोजित नेपाल प्रजातान्त्र सेनानी संघ सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । सेनानी संघका केन्द्रीय सदस्य यज्ञनिधि कोइरालाका अनुसार सभापति शेरबहादुर देउवाको समय नमिलेपछि नेता कोइरालालाई बोलाइएको थियो ।

‘मुख्य आयोजक हामी नै हो, देउवाको विरुद्धमा हामीले कार्यक्रम गरेको होइन । दुई महिनाअघि नै हामीले सभापतिज्यूलाई कार्यक्रमको उद्घाटनका लागि आइदिनुपर्छ भनेको हो,’ उनले भने, ‘प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’ले पनि सभापति देउवाको समय नमिलेपछि मात्रै शेखर दाइलाई बोलाउने हो भन्नुभएको थियो । यसरी नै कार्यक्रमको योजना बनाएका हौँ । यहाँ कसैलाई च्यालेन्ज दिन, पार्टी भताभुङ्ग पार्न शेखर कोइराला सुदूरपश्चिम आउनुभएको होइन ।’

कैलालीमा रहेका एक इतर समूहका नेताले कोइरालालाई भावी सभापतिमा सघाउन अघिल्लो महाधिवेशनमा देउवाको ‘लाइन’मा उभिएका नेताहरू समेत तयार रहेको दाबी गरे । ती नेताले उनीहरू एक्ला–एक्लै र दुई–तीनजनाको समूह बनाएर कोइरालासँग भेट गर्न आएको पनि सुनाए ।

‘यहाँ सबै मान्छेहरू थिए, कोही त्यहाँ कार्यक्रममा देखिए, कोही देखिएनन् । पदमा भएका मुख्यमन्त्री, मन्त्रीहरू त आएनन्,’ इतर समूहमा रहेका ती नेताले खबरहबसँग भने, ‘तर, प्रदेश सांसद, अहिल्लो महाधिवेशनमा शेरबहादुर दाइसँग देखिएका मान्छेहरू एक्ला–एक्लै, दुई–तीन जना गरेर बिहान, बेलुका होटलमा भेट्न आएका देखियो ।’

इतर समूहमा रहेका केन्द्रीय सदस्य पोखरेल धनगढी पुगेका सुदूरपश्चिमका कार्यकर्ताहरूमा पार्टीको भावी सभापति कोइराला नै हुन् भन्ने मानसिकता देखिएको बताउँछन् ।

‘त्यहाँ अबको सभापति शेखर कोइराला नै हो भन्ने मानसिकता कार्यकर्ताहरूमा देखियो । पछिल्लो समयमा पार्टीभित्र इतर समूहलाई व्यापक रुपमा दबाएर जाने, निषेधै गर्ने काम अलि बढी भएको रहेछ,’ पोखरेलको भनाइ छ, ‘त्यसले सुदूरपश्चिमका मान्छेहरूमा उकुस–मुकुस नै रहेछ । पुराना त्याग गरेका मान्छेहरू भन्दा पनि सत्ताको नजिक पहुँच पु¥याएर फाइदा लिने धेरै रहेछन् । त्यसो भएको कारणले गर्दा पनि विधानअनुसार न्याय हुन्छ कि भन्ने मान्छे पनि देखियो ।’

केन्द्रीय सदस्य पोखरेलको दाबीसँग गत जिल्ला अधिवेशनमा संस्थापन समूहबाट कांग्रेस कैलालीको सदस्यमा निर्वाचित एक नेता पनि सहमत देखिन्छन् । ती नेताले पनि अधिकांश नेता–कार्यकर्तामा कोइरालाप्रति सद्भाव र अपेक्षाभाव आफूले पाएको प्रतिक्रिया दिए ।

सेनानी संघका केन्द्रीय सदस्य कोइराला पार्टीका नेता कोइरालाका प्रति पार्टीभित्रैबाट थिचोमिचोमा परेकाहरू आशावादी बनेकै कारण धनगढीमा उत्साहजनक उपस्थिति देखिएको बताउँछन् ।

‘म संस्थानपन इतर, संस्थापन भितर केही पनि जान्दँैन । प्रजातन्त्रका लागि योगदान दिएर बसेका कांग्रेसीहरू जो गाउँमा हेपिएर, च्यापिएर बसेका थिए, उनीहरू सबै जागेका हुन्,’ उनले भने, ‘केही हुन्छ कि भनेर मान्छेहरू आशावादी बनेका हुन् ।’

कांग्रेस बझाङका सदस्य महेशबहादुर मल्ल नेतृत्वको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिमका नेता–कार्यकर्तामा कोइरालाले फेरि सभापतिमा उठ्ने भनेपछि निकै खुशीयाली छाएको बताउँछन् ।

केन्द्रीय सदस्य पोखरेल सुदूरपश्चिममा मात्रै नभएर अरु प्रदेशहरूमा नेता कोइरालालाई आगामी सभापतिका रुपमा हेरिएको दाबी गर्छन् । ‘म अरु–अरु ठाउँमा गएँ, हेरेँ । अहिलेको सत्ताको नजिक रहेका र सत्ताका शक्तिशाली मान्छेहरूसँग नजिक भएर सत्ताको स्वाद चाख्नेबाहेक आम कांग्रेसमा अबको सभापति शेखर कोइराला नै हो भन्ने बुझाइ सुदूरपश्चिममात्रै नभएर अरु प्रदेशमा पनि छ,’ उनले भने ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ०४ बजे

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा

अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

आजका समाचार : एमालेबाट निकालिए भीम रावल, सरकारसँग सभामुखको गुनासो र कजाकस्तानमा खस्यो जहाज

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित नेकपा एमालेले पूर्वउपाध्यक्ष

एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्

काठमाडौं- मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन