धरान – शायद वि.सं. २०५२ मा जस्तो लाग्छ, त्यसबेला धरानमा कवि विमल गुरुङ स्मृति पुस्तकालयले राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्ने सूचना आह्वान गरेको थियो । म पनि आफूलाई खत्रै कवि ठान्थें, अरूले नभने पनि ! प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास साथ चिठीको खाममा टिकट टाँसीवरी हुलाकमार्फत कविता पठाइ दिएँ ।
स्कूले जीवनमा झापाको शान्तिनगरस्थित गढीगाउँ माविमा हुने कविता प्रतियोगिता जहिलै म जित्थेँ । त्यसैले, धरानको विमल गुरुङ स्मृति पुस्तकालयले गरेको राष्ट्रिय युवा कविता महोत्सव पनि जित्नु नै भनेर पठाएको थिएँ । पछिल्लो समय युवा शब्द हटाएर राष्ट्रिय कविता महोत्सव मात्र भन्न थालिएको छ ।
त्यो कविता महोत्सवमा म टप टेनमा परेको जानकारी प्राप्त भयो । सोचेँ, ‘साँच्चै जित्छु कि क्या हो ?’ त्यसबेला देशभरका करिव ३५० भन्दा बढीले कविता पठाएका थिएछन् । ०५२ को कात्तिक १९ गते वाचन गर्न बोलाइयो । देशभरका नयाँ पुराना कवि, साहित्यकारहरूको भीडले हल भरिएको थियो । वाचनपछि त्यसदिन पुरस्कार त जितिएन, तर आफूले चिन्न र भेट्न चाहेका मानिसहरूसँग भेट भयो । त्यहाँ भेट भएकामध्ये राजकुमार दिक्पाल (याक्सो लिम्बु)सँग अहिलेसम्म दाजुभाइको सम्बन्ध बन्यो ।
प्रतियोगितामा गोर्खाका भीम राना ‘जिज्ञासु’ प्रथम, कास्कीका रमेश श्रेष्ठ दोश्रो र सुनसरीका पेशल आचार्य तेश्रो भए । मैले पुरस्कार नजिते पनि त्यस दिनदेखि विमल गुरुङ स्मृति पुस्तकालयप्रति मेरो आकर्षण स्वतः बढ्यो, शायद म कवि मनको भएर होला ।
म धरानको रैथाने होइन । विजयपुर क्षेत्र बाहेक हालको धरानमा रैथाने बासिन्दा त कोही पनि छैन । सबै अन्यत्रबाट बसाइँ सरेर आएका मात्र छन् । किनकी धरान बजार विस्तार भएको सवा सय वर्षमात्र भएको छ । त्यसअघि सखुवाको जङ्गल थियो ।
रैथाने नभए पनि ब्रिटिश गोर्खा लाहुरे काका–काकी (नरेन्द्र मेन्याङ्बो–तौलछी केदेम) ले ०४८ तिर बाँझगराको एभरेष्ट लाइन दन्तकाली चोकमा पक्की घर बनाएर बसेका थिए । म झापादेखि त्यही आइपुगेँ शरण खोज्दै ! महेन्द्र बहुमुखी क्याम्पसमा त्यसबेलाको प्रवीणता प्रमाणपत्र तह (आइए) अध्ययन गर्न !
पहाडको पुख्र्यौली थलो ताप्लेजुङ्को साविक थेचम्बुको आम्बेबुङबाट अर्ध–बसाई‘ सरेर झापाको डाँगीबारी हुँदै साविक शान्तिनगर (हाल बुद्धशान्ति गाउँपालिकाको सट्टाभर्ना बस्तीमा) दुःखजिलो गर्दै आए पनि गाउँमा बस्नेका लागि धरान कता हो कता भव्य जस्तो लाग्थ्यो । काका–काकीले शरण दिएपछि म ढुक्क ! बस्ने कोठा दिएका छन्, बिहान बेलुकी उनीहरूले जे खान्छन् – त्यही खान पाइएकै छ । लुगाजुत्ता फेर्न पनि दिएकै छन् । मेरो काम क्याम्पस पढ्ने अनि साहित्य केन्द्रित कार्यक्रममा कुद्ने भयो ।
सोही क्रममा ०५२ सालदेखि धरानको विमल स्मृति पुस्तकालयसँग मेरो प्रगाढ सम्बन्ध गाँसियो । त्यसबेला विमल स्मृति पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङको उमेर पनि ५२ वर्षकै मात्र थियो । उनकी श्रीमती सरस्वती गुरुङ पनि अधवैंशे नै थिइन् । छोरी शान्ति किशोरावय पार गरिसकेकी थिइन् ।
शोकलाई शक्तिमा बदल्न पुस्तकालय
कवि तथा पत्रकार छोरा विमल गुरुङको १९ वर्षको कलिलो उमेरमा मुत्यु भएपछि गुरुङ परिवार लामो समय शोकाकूल रह्यो ।
०४८ सालको आम निर्वाचनमा धरान क्षेत्रबाट मनमोहन अधिकारी उठेका थिए । पछि प्रधानमन्त्री पनि भए । उनलाई चुनावमा सहयोग गर्न र मतदान गर्न भनेर काठमाडौंँबाट बैशाख २४ गते आमा सरस्वतीसँग धरान आइरहेको बेला धादिङको जुकेपानीमा भएको बस दुर्घटनामा परे ।
दुर्घटनामा विमलको मृत्यु भयो, सरस्वती घाइते बनिन् । त्यसबेला पूर्णबहादुर भने ब्रुनाई जीआरयूमा सुल्तानको दरबारमा कार्यरत थिए । २० वर्षको उमेरदेखि ३६ वर्षको उमेरसम्म अर्थात करिब १६ वर्षसम्म ब्रिटिश गोर्खा सैनिकका रूपमा राइफलसँग खेले ।
एक्लो छोराको अचानक मृत्युको खबरले गुरुङ मुर्छित बने । हतास र निराश हुँदै ब्रुनाइको नौ वर्षे जीआरयूको जागिर समापन गर्दै नेपाल फर्किए ।
अवकास पाएपछि फेरि ब्रुनाईको राजा सुल्तानको दरबार सुरक्षार्थ नौ वर्ष जीआरयूमा तैनाथ रहँदा आर्थिक रूपले केही सबल भए पनि एक्लो छोराको मृत्युले रन्थनिएका पूर्णबहादुर गुरुङ र उनको परिवारले विमलले अध्ययन गर्दै आएका पुस्तकका थाक, लेख्दै आएका कविताका पाण्डुलिपि, मोटामोटा डायरी, दृष्टि साप्ताहिक लगायतमा प्रकाशित भएका समाचारका कटिङहरूले दराज भरिएको देखे ।
खोटाङको रावामा २००० सालमा जन्मेका पूर्णबहादुरको बाल्यकाल र किशोरकाल भेडाबाख्राको गोठाला र आमा बाबुलाई घरायसी काम सघाउँदै बित्यो । २०२० सालमा लक्का जवान भएर, गल्लाको अगाडि उभिएर, छाती नापेर भर्ती हुँदा उनलाई आफ्नो नाम समेत लेख्न आउँदैनथ्यो । शिक्षा दीक्षाको त्यस्तो अवस्था भए पनि पूर्णबहादुरले मृत्युको काखमा पुगिसकेको आफ्नो कवि छोरोको अध्ययनशीलता, लगन र प्रतिभालाई चिनेर अमर बनाउने सोच बनाए ।
२५ वर्षसम्म राइफललाई सिरानी बनाएर गोली, बारुद, मोर्टार, रकेट, आर्टिलरी, मेसिनगन, दुस्मन, आक्रमण, सेल्टर, बंकर जस्ता शब्दसँग नजिकिएका पूर्णबहादुरका लागि छोराले लेख्ने गरेको नेपाली साहित्य, कविता, गीत, कथा, गजल, उपन्यास, नाटक, दर्शन, निबन्ध, पत्रपत्रिका, समाचार भन्ने शब्द उच्चारण गर्न सहज थिएन । महसूस गर्न त झनै मुस्किलै थियो । आफूले नेपाली साहित्यको ‘स’ नबुझे पनि छोराले बुझेको महसुस गरे ।
कवि विमल गुरुङको प्रतिमा ।
विमलले प्रयोग गरेका दराज र पुस्तकलाई आधार बनाएर २०४८ साल कात्तिक १९ गते विमलको जन्मदिन पारेर धरान १८ बुद्धचोकमा ‘स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय’ स्थापना गरे । पछि कवि ‘सर्जकहरू स्वर्गीय हुँदैनन्, अमर हुन्छन्’ भन्ने बहस भएपछि पुस्तकालयको नामको अगाडिको ‘स्व.’ शब्द हटाइएको छ ।
अहिले उक्त पुस्तकालयको भौतिक सम्पत्ति करोडमा गणना हुन्छ । दुईतले भवनमा कार्यक्रम हल र पुस्तकालय कोठाहरू छन् । विभिन्न विधाका १० हजार बढी पुस्तक छन् । यतिबेला ८२ वर्षमा हिँडिरहेका पूर्णबहादुर दिनभर पुस्तकालयमै बस्छन् । त्यहाँ आउनेहरूलाई कफी, चिया र बिस्कुट आफैँ वितरण गर्छन् ।
उनी भन्ने गर्छन्, ‘मलाई प्रशंसा चाहिएको छैन । प्रशंसा बटुल्न मैले छोराको सम्झनामा यो पुस्तकालय स्थापना गरेको पनि होइन । नेपाली साहित्य र भाषाको सेवा गर्न यो पुस्तकालय स्थापना गरेको हुँ । यो पुस्तकालयमा किताब छाम्दा म छोरा विमलसँग बात मारिरहेको, सँगै बसेको जस्तो महसुस गर्छु । त्यसैले रातदिन यही पुस्तकालयको रुँगालु भएर बसेको छु । अरू पनि आउन्, पुस्तकहरू पढून र समाजलाई आँखा देखाउन् भन्छु ।’
०७२ साल कात्तिकमा श्रीमती सरस्वती गुरुङको पनि मृत्यु भएपछि उनी झन् एक्लिए । पुस्तकालयमै समय कटाउनु उनको दैनिकी बनेको छ । छोरी शान्ति, ज्वाइँ गोविन्द गुरुङ, नाति सूर्य, नातिनीहरू प्रिया र प्रतिमाले कहिलेकाहीँ आएर साथ र सहयोग गर्छन् । भतिज पवन गुरुङ र बुहारी अनिषा भने पूर्णबहादुरसँगै छन् ।
उनलाई चिन्ता छ, ‘आफ्नो शेषपछि विमलको सम्झनामा स्थापित पुस्तकालय कसले रुँगला ? राष्ट्रिय कविता महोत्सव र विमल कृति पुरस्कार कसरी सञ्चालन होला ?’ यस विषयमा छोरी, ज्वाइँ र भतिजसँग छलफल गर्दै आएका छन् ।
पुस्तकालयमा दिवङ्गत छोरा (कवि विमल गुरुङ) को तस्बिरअघि पूर्णबहादुर ।
पुस्तकालय सञ्चालन समितिका सदस्यहरू राज माङ्लाक, चन्द्र गुरुङ, गोपाल दाहाल, राजेश विद्रोही, भीम राई र निर्मला गुरुङ लगायतले विमलको नाममा स्थापित र यति ठूलो भौतिक सम्पत्ति भएको संस्थालाई थप व्यवस्थित बनाएर नेपालकै गौरवयोग्य बनाउन काँधमा काँध मिलाइरहेका छन् ।
सूचना प्रविधि विकाससँगै पछिल्लो समय डिजिटल प्रणाली उपलब्ध भएकाले किताब अध्ययन गर्न पुस्तकालय धाउनेको कमी देखेर कहिलेकाहीँ निराशा व्यक्त गर्छन् गुरुङ ।
राज्यबाट पुस्तकालयका लागि भनेर खासै सहयोग पाएका छैनन् । बरु, नवीकरण गर्दा वार्षिक रूपमा राजस्व भने तिर्दै आएका छन् । पुस्तकालयलाई आम पाठकको पहुँचमा पुर्याउन र नयाँ पुस्तामा पठन संस्कृति विकास गर्न पुस्तक र पुस्तकालयलाई सदुपयोगबारे छलफल चलाइरहेका छन् ।
विमल गुरुङ कृति पुरस्कार
सम्भवतः नेपाल प्रज्ञा प्रतिष्ठानपछि मुलुककै सबैभन्दा लामो समय र निरन्तर राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने संस्थाको रूपमा विमल स्मृति पुस्तकालयको नाम आउँछ । गत कात्तिक २४ मा पुस्तकालयले ३३ औं राष्ट्रिय कविता महोत्सव सम्पन्न गर्यो ।
हालसम्ममा करिव १४० बढी कविहरू राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भइसकेका छन् । ४० बढी युवा प्रतिभा सम्मानले सम्मानित भइसकेका छन् भने त्यति नै संख्यामा अग्रजहरू सम्मानित भएका छन् ।
२०२८ साल कात्तिक १९ गते हङकङमा जन्मेका विमल गुरुङको ‘आगो बल्दैछ’ कविता सङ्ग्रह ०४८ सालमा प्रकाशित भइसकेको छ । एक किलो जङ्गल, पहेँला भ्यागुता, मैले दियो जलाइन, सूर्यतिर, नयाँ खबरजस्ता शक्तिशाली कविताहरू उक्त सङ्ग्रहमा समावेश छन् । मोदनाथ प्रश्रितले त विमललाई अंग्रजी कवि जोन किट्ससँग तुलना गर्दै समालोचना गरेका थिए ।
सानै उमेरमा तीक्ष्ण प्रतिभा देखाउँदै दमदार कविता लेखेकाले विमललाई कतिपय समालोचकहरूले परिपक्व विचारका धनी भइसकेको कविका रूपमा चित्रित गर्ने गरेका छन् । समालोचक नरेन्द्र चापागाईंले विमलको कविता अध्ययन गरेपछि भनेका थिए, ‘विमलका कृतिहरू देख्दा उनको असामयिक निधनले हामीले दोश्रो देवकोटा गुमाएछौँ ।’
केवलपुरे किसानले आफूजस्तो वृद्धावस्थामा पुगेको मान्छेले बाँचेर होनहार नवयुवालाई गुमाउनु पर्दा दुःख लागेको प्रतिक्रिया दिएका थिए । यिनै कुराहरूलाई आधार बनाएर विमल गुरुङका परिवारले विगत तीन वर्षदेखि दुई लाख नगद राशी, ताम्रपत्र र दोसल्ला सहितको ‘कवि विमल गुरुङ कृति पुरस्कार’ पनि प्रदान गर्दै आएको छ । यो पुरस्कार स्थापना हुनुको पछाडि एउटा सानो घटनाले काम गरेको छ ।
चार वर्षअघि पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले दीर्घकालसम्मका लागि भनेर अक्षय कोष स्थापना गर्ने बताएका थिए । वार्षिक रूपमा कविता महोत्सव त चलिरहेकै छ । अझै ओजपूर्ण र गौरवलायक बनाउन गुरुङ परिवारले अक्षय कोष राख्ने भएपछि सोही अक्षय कोषबाट आउने ब्याजको रकमलाई गतिलो पुरस्कारको रूपमा राख्न किन पहल नगर्ने भन्ने सोचियो । यसबीच राजकुमार दिक्पाल पनि टुप्लुक्क धरान आइपुग्नुभयो । धरान आउँदा विमल पुस्तकालयमा ननिस्कने कुरै भएन ।
कुरैकुरामा मैले भनेँ, ‘होइन हाउ दिक्पाल दाइ ! पूर्णबहादुर मामा (म मामा भनेर उहिलैदेखि सम्बोधन गर्छु) ले विमलको नाममा एक डेढ करोड रुपैयाँको अक्षयकोष राख्ने भन्दै हुनुहुन्थ्यो । एउटा लाहुरेले कवि साहित्यकार छोराको सम्झनामा यति ठूलो रकम अक्षयकोषमा राख्नु भनेको चानचुने कुरो होइन । यस कोषलाई व्यवस्थित बनाउन तपाईं हामीले मामासँग छलफल गर्नुपर्छ ।’
म त्यतिखेर पुस्तकालयको कुनै आधिकारिक सदस्य या सल्लाहकार केही थिइनँ । सदस्य वा सल्लाहकार नभए पनि यस अघिका कतिपय कार्यक्रमहरू सम्पन्न गर्न आफैँ अघि सर्थें । केही दिनपछि पूर्णबहादुर मामासँग भलाकुसारी भयो ।
सानो छलफलमा एक लाख रुपैयाँसम्मको नगद राशी वर्षभरमा प्रकाशित भएकामध्ये एक उत्कृष्टलाई दिने कुरा निकालियो । छलफलमै मामाले भन्नुभयो, ‘के को एक लाख मात्रै, दुईलाख नै राखौं । त्यो रकमले पुस्तक छाप्न नसकेर बसेका कवि लेखक साहित्यकारलाई किताब छाप्न मद्दत पुग्छ ।’
एक लाख रुपैयाँको ठाउँमा दुईलाख हुँदा झनै राम्रो हुने भयो । यसबीच शशी लुमुम्बुबाट पुरस्कारको नाम जुर्यो, ‘कवि विमल गुरुङ कृति पुरस्कार’ ।
यो पुरस्कार हालसम्ममा काङ्माङ नरेशको कविता सङ्ग्रह तेप्लायु, चन्द्र गुरुङको कविता सङ्ग्रह जब एउटा मान्छे हराउँछ, भारतका विजय कैलाशी राईको उपन्यास मित्याङ्सा र प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमले प्राप्त गरिसकेको छ ।
यस मानेमा पूर्णबहादुर गुरुङको साहित्यिक योगदान अलिक फरक छ । साहित्यको योगदान गर्न साहित्यकार हुनुपर्दैन भन्ने उदाहरण गुरुङले देखाएका कारण धेरै ठाउँमा सम्मान र अभिनन्दनका भागीदार बनेका छन् ।
प्रतिक्रिया