प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेँछु | Khabarhub Khabarhub

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेँछु


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ छाडिदिनु गम्भीर गल्ती भएको बताएका छन् ।

श्रीमती एवम् नेतृ हिसिला यमीसहित हाल गृहजिल्ला गोरखामै रहेका पूर्वप्रधानमन्त्री भट्टराईले २०७९ मंसिरको चुनावमा गोरखा क्षेत्र नम्बर २ प्रचण्डलाई छाडिदिएर आफूले पछुतो मान्ने अवस्था आएको बताएका हुन् ।

यसअघि जित्दै आएको उक्त क्षेत्रमा २०७९ मंसिरको प्रतिनिधि सभा चुनावमा भट्टराईले प्रचण्डलाई छाडिदिएका थिए ।

चितवनमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलेसमेत घेराबन्दी गर्ने अवस्था आएपछि बाबुरामले नै प्रचण्डलाई आफू उठ्दै आएको गोरखा २ खाली गरिदिएर जिताउन होमिएका थिए ।

बाबुरामले आफ्नो क्षेत्र छाडिदिएपछि प्रचण्डले तत्कालीन नेपाली कांग्रेससहितको सत्ता गठबन्धनबाट ठूलो मतान्तरसहित चुनाव जितेका थिए । दाहाललाई चुनाव जिताउन भट्टराईले होस्टेमा हैँसे पनि गरे ।

तर चुनाव जितिसकेपछि बाबुरामसँग प्रचण्डको सम्बन्ध बिग्रिँदै गयो । आफैंले परिकल्पना गरेको समाजवादी मोर्चामासमेत उनी अटाउन सकेनन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा पनि रहन नसक्ने भएपछि उनले नेपाल समाजवादी पार्टी खोलेका थिए । तर उक्त पार्टीलाई पनि प्रचण्डले नै छिन्नभिन्न बनाइदिएकोमा उनको चित्त दुखेको छ ।

प्रचण्डले समाजवादीका अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र बाबुरामसँगै लामो समय काम गरेका विश्वदीप पाण्डेसहितलाई आफूतिर तानि सकेका छन् ।

आफैंले चुनाव जिताएपछि प्रचण्डले नेपाल समाजवादीलाई छिन्नभिन्न पारिदिएको आक्रोश अहिले उनी सामाजिक सञ्जालमा पोखिरहेका छन् । माओवादी छाडेर पटक पटक पार्टी गठन र फेरबदल गर्दै आएका उनी प्रचण्डकै कारण राजनीतिक संकटमा परेको निष्कर्षसहित २०७९ मा गोरखा दुई छाडेर पछुतो मान्ने अवस्थामा पुगेका हुन् ।

प्रचण्डले जितेको गोरखा २ बाट बाबुराम वि.सं. २०६४ र २०७४ मा विजयी भएका थिए । बाबुरामले २०७० को चुनाव गोरखा क्षेत्र नम्बर १ बाट जिते ।

भट्टराईले अब २०८४ सालको चुनाव गोरखा २ बाट आफैं लड्ने गरी गृहजिल्लामा खटिइरहेका छन् । गोरखास्थित जीर्ण घर पनि मर्मतसम्भार गरेर उनी अहिले उतै धेरै बस्न थालेका छन् ।

‘जिल्ला भ्रमणका क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत निर्वाचनमा गोरखा २ मा उम्मेदवार नबनेर प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनुभएको छ,’ भट्टराईले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भन्दै मतदाताहरूले मेरो आलोचना गरिरहनु भएको छ।’

उनले देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति फेरि सत्तादेखि सत्तासम्मको दुष्चक्रमा फस्दै गएको बताएका छन्।

‘हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीब्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकांक्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै त्यो निर्णयमा पुगेको थिएँ’, उनले भनेका छन् ।

उनले निर्वाचनयता प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित भएको जिकिर पनि उनले गरेका छन् ।

‘उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गैरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र वेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेको लगायतका घटनाक्रमले गोरखाली मतदाताहरूकोअसन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन’, बाबुरामको टिप्पणी छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  २ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर