इटहरी उपमहानगरका महँगा बस- सडकमा होइन, अख्तियारतिर ! | Khabarhub Khabarhub

इटहरी उपमहानगरका महँगा बस- सडकमा होइन, अख्तियारतिर !

सप्लायरका रूपमा तेस्रो कम्पनी खडा, डेढ करोड मुनाफामा खेलोफड्को


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इटहरी उपमहानगरले चार थान विद्युतीय बस खरिद गरेको छ । नगरबस सञ्चालन गरी सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस खरिद गरिएको उपमहानगरपालिकाको दाबी छ ।

उपमहानगरपालिकाले नगर बस चलाएर उपमहानगर भरका स्थानीय सर्वसाधारणलाई सवारी सुविधा दिने लक्ष्य राखेको छ । चार थान विद्युतीय बसको मूल्य भने पत्याइ नसक्नु महँगो देखिएको छ । एउटै बसको खरिद मूल्य १ करोड ५९ लाख २१ हजार ७ सय रुपैयाँ परेको छ । त्यति महँगा बस २५ सिट क्षमताका मात्र हुन् ।

उपमहानगरले २०८० कात्तिक ३ गते चार वटा २५ सिट क्षमताको विद्युतीय बस खरिद गर्न भ्याटबाहेक ६ करोड ८ लाख ८४ हजार ९५५ रुपैयाँको टेण्डर आह्वान गरेको थियो । टेण्डरमा तोकिएको मूल्य अनुसार एउटा बसको मूल्य १ करोड ५२ लाख २१ हजार २३८ रुपैयाँ पर्न आउँछ । भ्याटसहित चार वटा विद्युतीय बसको मूल्य ६ करोड ३६ लाख ८६ हजार ८०० रुपैयाँ परेको छ ।

अटोमोबाइल व्यवसायमा नेसनल फायर सेफले यसअघि कतै सहभागिता जनाएको नदेखिएकाले स्पेसिफिकेसन बनाउँदादेखि नै इटहरी उपमहानगर र उक्त कम्पनीबीच सेटिङ रहेको आरोप लागेको छ ।

नेसनल फायर सेफले टेण्डर पारे पनि ती विद्युतीय बसका आधिकारिक आपूर्तिकर्ता (सप्लायर कम्पनी) भने स्पार्क अटोमोटिभ्स प्रालि रहेको भन्सारमा पेश गरेको कागजातमा उल्लेख रहेको बताइको छ ।

यसबाट स्पार्क अटोमोटिभ्सले विद्युतीय बसको टेण्डरमा सहभागी नभएर तेस्रो कम्पनीको रूपमा नेसनल फायर सेफलाई खडा गरेको देखिएपछि इटहरी उपमहानगरका पदाधिकारी जनप्रतिनिधि र विद्युतीय बस आपूर्तिकर्ताबीच सुरुदेखि नै मिलेमतो भएको आशङ्का छ ।

स्रोतका अनुसार चिनियाँ कम्पनीबाट विद्युतीय बस आपूर्ति गर्ने स्पार्क अटोमोटिभ्सले २५ सिट क्षमताको ती विद्युतीय बस ल्याउँदा प्रतिबस ५ लाख ५० हजार ३८० चिनियाँ युआन अर्थात् १ करोड १ लाख ८२ हजार ३० रुपैयाँमा खरिद गरेको देखाएको छ । उक्त विद्युतीय बस इटहरी उपमहानगरपालिकालाई नेसनल फायर सेफ कम्पनीमार्फत १ करोड ५९ लाख २१ हजार ७०० रुपैयाँमा बिक्री गरिएको हो ।

जब कि उक्त विद्युतीय बसको भन्सार चाँजपास अघिको मूल्य (सीआईएफ भ्याल्यू) ५ लाख ५० हजार ३८० चिनियाँ युआन अर्थात् १ करोड १ लाख ८२ हजार ३० रुपैयाँ मात्र रहेको छ ।

उक्त मूल्यमा १३ प्रतिशत भ्याट, सडक मर्मत दस्तुर, लगायत सबै कर समावेश गर्दा एउटा विद्युतीय बसको मूल्य १ करोड २२ लाख १ हजार ८०७ रुपैयाँ मात्र हुन आउँछ । यो हिसाबले विद्युतीय बस आपूर्ति गर्ने एजेन्ट कम्पनीहरूले इटहरी उपमहानगरलाई बिक्री गरेका चारवटा विद्युतीय बसबाट करिब डेढ करोड रुपैयाँ बढी मुनाफा राखेको स्रोतले बतायो ।

इटहरी उपमहानगरले २०८० कात्तिक ३ मा टेण्डर आह्वान गरेपछि सोही वर्षको माघ १० मा नेसनल फायर सेफ प्रालिले टेण्डर पारेको थियो । कम्पनी र उपमहानगरपालिकाबीच फागुन ८ गते सम्झौता भएको आधारमा ती विद्युतीय बस ल्याइएको हो ।

कमिसनका लागि महँगो विद्युतीय बस ल्याएको आरोप

साविक खनार, पकली, एकम्बा र हासपोसा गाविस मिलाएर इटहरी उपमहानगरपालिका बनेको हो । ०७८ को जनगणनाअनुसार इटहरीको कुल जनसंख्या १ लाख ९७ हजार २४१ रहेको छ ।

२० वटा वडाहरू रहेको इटहरीमा हाल २७ सय बढी त सिटी सफारी चलिरहेका छन् । अधिकांश नगरबासीले नगरभित्र निजी मोटरसाइकल प्रयोग गर्ने गरेका छन् । कालो नम्बर प्लेटको साना सवारीसाधन पनि उत्तिकै छ । दूरीको हिसाबले महानगर एक छेउदेखि अर्को छेउ पुग्दा करिब १५ किलोमिटर मात्र छ । इटहरीको कुल क्षेत्रफल ९३.७८ वर्ग किमी हो ।

एमाले इटहरीका स्थानीय नेता रूपेश बस्नेतले उपमहानगरपालिको महँगा विद्युतीय बस ल्याउने अव्यवहारिक निर्णय गरेको आरोप लगाए । उनले भने, ‘हरेक वडाका सडकहरूमा सिटी सफारी कुदिरहेका छन् । प्रायःको मोटरसाइकल छ । सर्वसाधारणलाई यातायातको सुविधा दिने बहानामा उपमहानगरपालिकाले किन यति महँगा विद्युतीय बस खरिद गरेको हो, बुझ्न सकिएको छैन । ६ करोड ८ लाखमा ४ वटा विद्युतीय बस ल्याउनुको सट्टा त्यो बजेट शिक्षा, स्वास्थ्य, सामाजिक विकास र सडक, ढल निर्माणमा लगाउनुपर्थ्यो ।’

उनले महँगा विद्युतीय बस ल्याएर उपमहानगरपालिकाले इटहरीका जनताले तिरेको करको दुरुपयोग गरेको आरोप लगाए । विद्युतीय बस होचा भएकाले ती बस चल्ने गरी नगरका भित्री सडकहरू तयार नभएको पनि बताए । उनले भने, ‘बस त ल्याए, तर चार्जिङ स्टेशन र रुट अझै तय भएको छैन । नगर बस कुद्न थालेपछि सिटी सफारी र ट्याम्पो चालकहरूको रोजीरोटी समेत खोसिने उतिकै सम्भावना छ ।’

रास्वपाका स्थानीय नेता कमलबाबु मैनालीले त्यति महँगो विद्युतीय बस इटहरी उपमहानगरपालिकाले खरिद गर्न आवश्यकता नै नभएको बताए । उनले भने, ‘हाम्रो बुझाइमा नगर बसको लागत अति महँगो भयो । किन त्यति महँगो बस खरिद गरिएको हो यसको जवाफ करदाता जनताले माग्नेछन् ।’

उपमहानगरका मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले खरिद गरिएको विद्युतीय बसमा जीपीएस, सीसी क्यामेरा र एसी लगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएको बताए । उनले विद्युतीय नगर बस सञ्चालन गर्ने रुट समेत तयार भएकाले असोज १ गतेदेखि नगर बसको रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

६ करोड ८ लाख रुपैयाँको २५ सिट क्षमताको चार वटा विद्युतीय बस सञ्चालन गरेर खरिद गर्दा लागको लागत खर्च कहिले सम्ममा उठाउने हो त्यो समेत अध्ययन नगरी एकाएक ल्याइनुमा कमिसनको चलखेल भएको आशङ्का गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ४५ बजे

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौं – नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक