बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ? | Khabarhub Khabarhub

बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ?


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू किन एक ठाउँमा आउने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लामो भनाइ राख्दै उनले सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुनुपर्ने कारणबारे प्रचण्डसँग प्रश्न गरेका हुन् ।

उनले माओवादी एकताबारे प्रश्न गर्दै भनेका छन्, ‘अर्को जनयुद्ध गर्न या भोजभतेर खान या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन भन्दै यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो ?’

के भने बाबुरामले, उनकै शब्दमा

प्रचण्डनिकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।

यसबारे केही प्रष्ट्याउनु जरूरी भएको छ :

पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो?

स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौँ- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरीसहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुँजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौँ। अनि किनारा पुँजीवादको रूपमा असमान र परनिर्भर सम्बन्धमा बाँधिन पुगेका छौं।

यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्था निम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा गर्न सक्दैनौँ। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधारवीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाँ युगको नयाँ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाँ विकास गर्नु परेको छ। तसर्थ हामीले समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद भनेका छौँ, विकास गर्नुपर्ने आवश्यकता देखेका छौँ ।

हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका होइनौँ ? तर अहिले समय र परिस्थिति अनुकुल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आऊँ’ भन्नुको के अर्थ रहन्छ?

माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो ‘कम्युनिष्ट’ सत्ताहरू सबैतिर तासको घरझैँ ढल्दै गैरहेको, भूमण्डलीकृत नव-उदारवादी पुँजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, एआईको अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटिल भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन?

यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्व माओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा उर्जावान नयाँ पुस्ताका युवाहरू वीच बृहत् बहस चलाएर नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता होइन र?

दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ र ‘सुशाशनका निम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो । हिन्दी-उर्दू उखान- ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो । जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुँदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणीबीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक कुकुल्यान्ड : हाऊ द रिच वन द ट्रुथ पढ्ने जो कोही प्रचण्डको असली रूपबाट बेखबर रहन सक्दैन। यदि त्यो सबै ‘क्रान्तिनायकविरूद्ध साम्राज्यवादी षड्यन्त्रश’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवाञ्छित गतिविधिबारे पनि पुस्तकले किन र कसरी खोतलेको होला ? ती सबै महापुरूषहरूको चरित्रहत्या पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखकविरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला ?

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ११ बजे

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं– सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ

काठमाडौं– सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक

दैनिक जीवनसँग जोड्ने प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ : मन्त्री भट्टराई

पाटन– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग

बाढीपीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा राहत वितरण 

काठमाडौं– सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिकाको  काभ्रेपलाञ्चोकमा

सरकारले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।