काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभाको बैठकमा बोल्दै नोटबन्दीको विषय उठाएका हुन् ।
बुधबारको बैठकमा बोल्दै न्यौपानेले विगतका भ्रष्टाचारबाट आर्जित तथा लुकाइएको भनिएको रकम बैंकिङ प्रणालीमा ल्याउन सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।
उनले भने, ‘३५ वर्षदेखि यो देश लुटेकाहरूले लुकाएको धनका कारण आज शक्ति प्राप्त भयो भन्दै उनीहरू देशको विरुद्धमा प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर सुनिँदै छ । हामीलाई थाहा छ यो पैसा कालो धन र देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले यो पैसा सरकारले नोट बन्द गर्नु पर्यो ।’
‘सरकारले नोट बन्द गरेर तत्काल ती नोटलाई बैंकिङ प्रणालीमा ल्याउनुपर्यो र आवश्यक परे स्वरूप परिवर्तन गरेर नयाँ नोट जारी गर्नुपर्यो,’ उनले भने ।
न्यौपानेले भ्रष्टाचारबाट लुकाइएको भनिएको रकमलाई निष्क्रिय बनाउन तथा सुशासन कायम गर्न सरकारले कडा कदम चाल्नुपर्ने बताए । यसका लागि भारतमा नोटबन्दी गरिएको उदाहरणबाट सिक्नुपर्ने उनको भनाइ थियो ।
त्यसपछि यसै विषयमा नेकपा प्रमुख सचेतक युवराज दुलालले रास्वपा सांसद न्यौपानेको प्रस्तावमा समर्थन जनाए ।
‘म सरकार पक्षमा पूर्ववक्ता माननीयज्यूले राखेको विषयमा पूर्ण समर्थन, शतप्रतिशत समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई एक हजार र पाँच सय रुपैयाँको नोटहरूलाई नोटबन्दी गर्नका लागि आह्वान गर्दछु ।’
यस्तो प्रस्तावमा आफ्ना पार्टीका सबै सांसद हस्ताक्षर गरेर दिन समेत तयार रहेको बताए ।
प्रश्न गरे, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ?’














प्रतिक्रिया