सञ्जालमा अबोधपनको बिक्री : निर्धालाई किन बनाइन्छ मागी खाने भाँडो ? | Khabarhub Khabarhub

सञ्जालमा अबोधपनको बिक्री : निर्धालाई किन बनाइन्छ मागी खाने भाँडो ?


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै सीप छैन, कुनै क्षमता छैन । उनीहरूको अभिव्यक्तिले समाजलाई सकारात्मक बाटोमा डोर्‍याउन मद्दत गर्छ भन्ने पनि छैन । तर सामाजिक सञ्जालमा यस्ता पात्रहरूलाई उभ्याएर आफ्नो स्वार्थको रोटी सेकाउने होड बढ्दो छ ।

शारीरिक र मानसिक कमजोरीलाई खुलेआम मनोरञ्जनको विषय बनाउनु कति उचित हो ? यस विषयमा कानुन आकर्षित हुन्छ कि हुँदैन ? यस्तो व्यवहारले उनीहरूको मनोविज्ञान र दैनिकीमा कस्तो प्रभाव पर्ला ? यस विषयमा समाजका हरेक पक्ष तैं चुप मै चुपको अवस्थामा छन् । 

फेसबुक, टिकटकदेखि  युट्युबमा केही त्यस्ता व्यक्तिहरूका अन्तर्वार्ता आउँछन् , जसको अन्तर्वार्ता वा अभिव्यक्ति सुनेर एक समुह मनोरञ्जन लिइरहेका छन् । उनीहरूका अभिव्यक्तिमा अज्ञानता देखिन्छ । त्यहीँ अज्ञानतामा पनि उक्त समूह झुमिरहेको छ । अर्को फेरि वर्ग छ, जो आफूलाई बौद्धिक भन्छ । उनीहरु यस्ता पात्र हेर्छन् तर उनीहरूको बारेमा कुनै धारणा बनाउँदैनन् । 

यस्तो अन्तर्वार्तामा प्रयोग भएकाहरू अधिकांशले भिडियोमा आएको प्रतिक्रिया हेर्दैनन् । प्रतिक्रिया कस्तो आएको छ, मतलव छैन । तर भ्यूज राम्रो छ, पैसा आएको यही नै सफलताको मानक मानिएको छ । यस्ता अन्तर्वार्ता दिने र हेर्ने दुवैलाई केही फाइदा छैन । फाइदा छ त केवल भिडियो बनाएर बेच्नेहरुलाई । 

बजारमा सधैँ एकै व्यक्ति बिक्दैन । उनीहरू पनि केही समयमा हराएर जानेछन् । तर उनीहरूलाई भाइरल हुने रोग लागिसकेको हुन्छ । मिडियाफेबर भएको मान्छे क्यामेराबिना बाँच्न नसक्ने हुन्छ । उनीहरूलाई त्यही हातलमा लगेर छोडिन्छ । तर यस स्थितिबाट जोगिन उनीहरूलाई कसैले सल्लाह दिएको छैन । दिए पनि उनीहरू यतिबेला सुन्ने र मनन गर्ने स्थितिमा छैनन् । 

खबरहबले आज यी र यस्तै बौद्धिक वर्गले बहस गर्नलायक नठानेका केही पात्रहरूको चर्चा गरेको छ । 

हीरा गुप्ता ‘चाउमिनवाला’

काले दाइ उर्फ चाउमिनवालाको वास्तविक नाम हीरा गुप्ता हो । उनको ‘एक करोड पाए एक हाफ चाउमिन खान्छु, दुई करोड पाए अन्डा हालेर हाफ चाउमिन खान्छु’ भन्ने डाइलग भाइरल हुन पुग्यो । उनले बोलेको उक्त वाक्य टिकटकमा हिट भयो । 

उनी दाङको घोराही ट्राफिक चोकमा ठेलामा कस्मेटिक सामानको व्यापार गर्थे । केही समय फलफूलसमेत बेचेका उनको बोल्ने शैली ग्राहकहरु पनि निकै मन पराउँथे । उनी सीधा कुरा पनि घुमाएर बोल्न खप्पिस छन् । 

अहिले उनी गायक भइसकेका छन् । भाइरल जतिलाई प्रयोग गर्ने संगीतकार भुवन बडूले गुप्तालाई पनि गायक बनाइदिइसकेका छन् । गीत गाउन सक्ने होस्नहोस् भुवनले थपक्कै उठाएर कलाकार बनाइदिन्छन् । 

भाइरल बिक्छ भन्ने कुरामा उनी ढुक्क छन् । नेपाली गीतसंगीतको जगेर्नामा चुकेको भन्दै संगीतरकार चेतन सापकोटा, गायक विष्णु खत्री लगायतका अन्य कलाकारहरुले उनको आलोचना गर्दै आएका छन् । यद्यपि गुप्तालाई भने अन्तर्वार्तादेखि गायनसम्म समय मिलाउन निकै गाह्रो छ। उनले स्वर्गीय भेलु बाजेसँग पनि गीत गाएका छन् । 

सचिन परियार 

उमेरका हिसाबले उचित वृद्धि विकास नभएका सचिन परियार बालकलाकारका रुपमा चिरपरिचित थिए । उनको अबोधपनको धेरै फाइदा लिएकाहरू अहिले वेपत्ता छन् । आजकाल उनी अभिभावक हुँदा हुँदैपनि बेवारिसे जस्तो भएका छन् । बजारतिर माग्दै हिँडेको देख्न सकिन्छ । 

सानो बालक गीत गाउँदै माग्दै हिँडेको देखेपछि  युट्युबमा उनका अबोधपनलाई भाइरल बनाइएको थियो ।  सचिनको भिडियो बनाएर धेरै  युट्युबरहरुले पैसा कमाए । उनै अभिभावकले पनि रजाइँ गरे । अहिले जन्मदिने बुवाआमा कसैले पनि आफूलाई राख्न नचाहेको भिडियोमार्फत सचिनले बताएका थिए । 

गीतभन्दा उनका केही ‘डाइलग’ हरु निकै भाइरल भए । भाइरलमध्ये सबैभन्दा लोकप्रिय थियो–‘सन्चै हुनुहुन्छ हुजुर ?’ स्वरमा त्यति निखार नभए पनि उनको बालापन र चञ्चलतालाई बेच्ने प्रयास गरियो । 

मिडियाबाट हायलकायल बालक कसैले भिडियो बनाउन थाल्यो भने रुन थाल्छन् । मिडियाले नै जर्बजस्त कलाकार बनाइदिएका उनको जीवन हिजो जहाँ थियो, अहिले त्यहिँ पुगेको छ । 

सचिनका बुवा तेजेन्द्र परियार अर्थात् ‘कलौटे’ छोराले दिलाएको लोप्रियतासँगै अहिले समाजका हरेक विषयमा विज्ञ हुन् । आफ्नो बिरामी छोराको नाममा उठेको पैसाले रक्सी खाने, डान्सबार जाने जस्ता हर्कत गरिरहन्छन् । दुई तीन बिहे गरेका उनी सन्तानप्रतिको जिम्मेवारी एकातिर छोडेर युट्युबमा जथाभावी बोलेकै भरमा पैसा कमाउन सकिनेमा लागेका छन् ।

 मेनबहादुर बुढा ‘भेलुबाजे’

‘बेल्कुल–बेल्कुल’ अर्थात मेनबहादुर बुढा ‘भेलु बाजे’ का नामले उनी चिरपरिचित थिए । मानिसहरू उनको बोल्ने शैली, भाषा र हाउभाउमा यसरी रमाउँथे कि अब उनलाई आफ्नो ढंगले बाँच्ने फुर्सद नै मिल्दैन ।

सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका प्युठानका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदिएको थियो । न अभिनयको ज्ञान, न त गीत संगीतको ज्ञान, तर भाइरल भएकै कारण उनले अभिनय गर्ने र गीत गाउने अवसर पाए । उनलाई भाइरल गराउने तेजेन्द्र परियार र गनबहादुर पेस्तोल हुन् ।


 युट्युबमा उनले प्रचण्डदेखि गगन थापा, केपी ओली कसैलाई पनि बाँकी नराखी गाली गर्थे । महिलाहरुको विषयमा पनि उनी निकै निम्नस्तरको शब्द र हाउभाउ प्रयोग गर्थे । त्यो उनले आफैँले भन्दा पनि भ्यूजको लागि अरुले गर्न र भन्न लगाएको हुन्थ्यो । 

केही पैसा र रक्सी पाएपछि उनी अरुले जे जे भन्छन् त्यहीँ त्यहीँ गर्दै हिँड्थे । न समाज न उमेरको उनलाई ख्याल थियो । प्युठानका स्थायीबासीभेलुको ६१ वर्षको उमेरमा निधन भइसकेको छ । 

शिव पाण्डे ‘शिवु’

बलिउडमा एक पात्र छन् अरहान अवाट्रमनी अर्थात् ‘ओरी’ । सुपरस्टार सलमान खानले एकपटक उनलाई सोधे– ‘तिमी काम के गर्छौ ?’ जवाफमा उनले भनेका थिए– ‘एक सेलिब्रटीसँग सेल्फी खिचेको २५–३० लाख रुपैयाँ चार्ज लिन्छु ।’ खानले फेरि प्रतिप्रश्न गरे– ‘त्यत्रो पैसा खर्च गरेर सेलिब्रेटी किन तिमीसँग सेल्फी खिच्छन् ? उनले भनेका थिए– ‘म लक्की चार्म हु । मसँग सेल्फी लिँदा सेलिब्रेटीले राम्रो प्रोजेक्टको फिल्म हात पार्छन् ।’

बलिउडको ओरी पात्रसँग नेपाली ‘शिवु’ को हाउभाउ लगभग मिल्छ । तर नेपालमा सेलिब्रेटीले उनीसँग नभएर उनले सबै सेलिब्रेटीसँग फोटो खिच्छन् । फिल्मको कुनै पनि प्रिमियरमा उनी पुगेकै हुन्छन् ।

सबै चर्चित कलाकारसँग फोटो खिचाउँछन् । झट्ट हेर्दा कम उचाई भएका उनलाई लिएर मानिसहरु खिसि गरिरहेका हुन्छन् । उनको कालो वर्ण र उचाइ हाँसोको विषय बनिरहेको हुन्छ । 

‘ह्रस्व दीर्घ’ फिल्मका भारतीय कलाकार प्रदीप रावतले उनलाई दुई हातले उचालेर कुर्चीमा राखेर फोटो खिचाए । शिवु लाज मानिरहेका थिए । तर कुर्सी राख्ने र देख्नेहरू उनको उचाइलाई लिएर हाँसिरहेका थिए । 

सामाजिक सञ्जालमा उनले गाएको गीत सुनेर मानिसहरू हाँसिरहेका छन् । शिबुको हाउभाउ र उचाइ मानिसहरूका लागि मनोरञ्जनको साधन बनेको छ । 

नवलपुरका निम्न वर्गीय परिवारमा जन्मिएका एक युवकलाई उसकै कमजोरी देखाएर युट्युबरहरू रमाइरहेका छन् । उनी पनि नयाँ लुगा लगाउन पाएर मख्ख छन् । यसलाई नै उनले अवसर मानेका छन् । 

कलाकार भनेर उनलाई अहिले उचाल्ने काम भइरहेको छ । तर कलाकारको रुपमा उनले गीत गाउन पनि जान्दैनन् । अभिनय पनि थाहा छैन । नाच्न पनि आउँदैन । उनले यो मञ्चलाई सदुपयोग गर्न सके भविष्य राम्रै होला । तर क्षमता नभएकाहरू पाखा लाग्दै जान्छन् । 

सामाजिक सञ्जालले सँधै एकपात्र हेर्न मन पराउँदैन । सञ्जालले नयाँ पात्रलाई ल्याउनेबित्तिकै पुरानाले के गरिरहेका छन् ? कस्तो अवस्थामा छन् ? त्यसको मतलब राख्दैन । उनको सामाजिक सञ्जालमा ४२ हजार फलोअर छन् । 

 चुप्पीडन

जिब्रोले नाक छुन कमैले सक्छन् । तर जिब्रोले निधारसम्म छुन सक्ने क्षमता चुप्पीडनको मात्रै थियो । मोरङ उर्लाबारीका चुप्पीडन अर्थात् यज्ञबहादुर कटुवालले जिब्रो निधारसम्म पुऱ्याएर मुख कच्याककुचुक बनाएर धेरैलाई हँसाए । 

हास्य टेलिसिरियल ‘मेरि बास्सै’ मा चुप्पिडनको रुपमा उदाएका उनले दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । उनी एक कलाकार थिए । तर केही  युट्युबरले उनलाई आफ्नो इसारामा नचाइरहेका थिए । उटपट्याङ हाउभाउ गर्न लगाएर उनको कलाकारिताको मजाक बनाइएको थियो । साथीभाइ अनलाइन टिभीले ‘चुप्पीडन मान्छे हो कि बाँदर हो’ हेडलाइनसमेत बनाएर बेचे । 

चुप्पीको मदिराको लत थियो । त्यसको लागि उनलाई पैसाको आवश्यक थियो । उनको आवश्यकता फाइदा उठाउँदै धेरै युट्युबरहरूले उनलाई अनावश्यक प्रश्नहरू सोधेर बोल्न लगाउने गर्थे । शारीरिक सम्बन्ध बनाएका छौ कि छैनौँ ? रोमान्स गर्न आउँछ ? जस्ता प्रश्न गरेर उनको अभिव्यक्तिले लिइन्थ्यो । 

सडकमा हिँडिरहेको व्यक्तिले पनि उनलाई केही पैसा दिएर वा खाजा खुवाएकै भरमा जिब्रोले निधार छुवाएर देखाउन भन्थे । उनले पनि सहजै मान्थे । क्षयरोगबाट पीडित उनको ४१ वर्षको अल्पायुमै केही समयअघि मृत्यु भएको थियो । 

भीम दाइ

होचो कदका भीम दाइ अर्थात् भीम बिक उमेरले परिपक्व भए पनि उनको हाउभाउ केटाकेटीको जस्तो छ । उनी नवलपुर निवासी हुन् । ५१ वर्षका भीम अविवाहित छन् । घरको आर्थिक अवस्थाको कारण उनले विद्यालय गएर औपचारिक शिक्षा लिन पाएनन् । 

नवलपुरदेखि एक घण्टाको बाटो हिँडेर उनी पवित्र तीर्थस्थल देवघाट धाममा माग्न जान्थे । उनले मागेरै आफ्नो गुजारा गर्दै आएका छन् । बुढा भएका बुबाआमा उनकै आश्रयमा छन् । उनले देवघाटमा माग्न थालेको २६ वर्ष भयो । 

खबरप्रवाह भन्ने एक  युट्युब अन्तर्वार्तामा उनले दैनिक चारदेखि पाँचसयसम्म कमाउने बताएका थिए । उनका हाउभाउ टिकटकमा लोकप्रिय छन् । उनलाई पनि लुगा किन्दिने र घुमाउन लैजाने बहानामा बजारमा बिक्ने हाउभाउ गर्न लगाइन्छ । 

समाजमा के बोल्न हुन्छ ? के बोल्न हुँदैन ? भनेर छुट्ट्याउन नसक्ने भीमलाई युट्युबरहरुले जथाभावी बोल्न लगाएका छन् । गर्लफ्रेन्ड छ कि छैन ? केटीसाथी मन पर्छ कि पर्दैन जस्ता प्रश्न गरिन्छ । उनको मनपर्ने खानेकुरा पाउरोटी र चिया हो । 

उनले आफूले बोलेका कुरा युट्युबमा हेर्न पाएका छैनन् । नत आउने कमेन्टहरूबारेमा ज्ञान छ । उनी केटीहरुलाई मायाले ‘बौलाही’ समेत भन्छन् । त्यो शब्द उनको थेगो जस्तो बनिसकेको छ । उनी आफूनिकट आउने केटीहरूको कपाल मिलाइदिने, लुगा मिलाइदिने र काखैमा लुटुपुटु गर्छन् । त्यसो गर्न हुन्छ वा हुँदैन उनी ती सबै हर्कतबारे अज्ञान छन् । 

उनले आजसम्म चप्पल जुत्ता लगाएका छैनन् । चप्पल लगाएर उनलाई हिँड्न आउँदैन । उनले आफूलाई ‘भोलेबाबा’ पनि भन्छन् । अन्तर्वार्ताको बहानामा महिला पत्रकारदेखि तीर्थयात्रामा आउने महिलाहरूले उनलाई काखैमा लिएर बस्ने गर्दा भिमलाई यी हर्कत स्वाभाविक लाग्न थालेको स्थानीय महिलाहरू बताउँछन् । 

स्थानीयहरू भने अहिलेको भीमसँग जोगिएर हिँड्नुपर्नेसमेत गुनासो गर्छन् । उनीहरूले पहिलेको भिमलाई बिगारेको आरोप लगाउँछन् । युट्युबमा भ्यूज ल्याउन भीमलाई गरिएको प्रयोग गतल भएको स्थानहरूको आरोप छ । 

उनीहरू भन्छन्, ‘देवघाटधाममा देखाउन पर्ने अरु धेरै विषय थिए तर मिडियाले भिमलाई उछृङखल देखाइदिए ।’

उर्मिला घर्ती मगर 

दाङकी २२ वर्षीया उनी युट्युबमा ‘चकलेटी सानी’को रुपमा परिचित छिन् । १४ वर्षको उमेरमा विवाह गरेकी उनका ७ वर्षीय एक बच्चा छन् । ११ कक्षासम्मको अध्ययन गरेको बताउने उनी समाचारमा पनि नाच्न सक्छु भनेर भाइरल भएकी थिइन् । 

उनी गीत गाउँछिन् । चकलेट पाएपछि गीत खाएर सुनाउने भएर उनको नाम ‘चकलेटी सानी’ नाम रहन गएको थियो । गायन र नृत्यमा उनको रुचि छ । तर यटुबरहरूले उनको क्षमताभन्दा बाहिर गएर उनले बुझेकाभन्दा नबुझेका प्रश्नहरू गर्छन् । उनले पनि जाने, नजानेको हरेक प्रश्नको जवाफ दिन्छिन् । 

जस्तै नरेन्द्र मोदी को हुन् ? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘त्यो हिजो हाम्रो घर आउनुभाथ्यो । नरेन्द्र मोदी त्यो धारा बनाइदिने नि ।’

‘रवि लामिछाने गृहमन्त्री भएको थाहा पाउनुभयो ?’ भन्ने प्रश्नमा उनको विचित्र उत्तर थियो–‘केटा मान्छे पनि कहिँ गृहमन्त्री हुन्छन् र ? देशमा पनि गृहमन्त्री हुन्छन्  । घरमा मात्रै हुन्छन् सोच्याथेँ । म घरमा मेरो बड्डाको गृहमन्त्री हो ।’

यसबाहेक विश्वमा दुई प्रकारका राजा हुन्छन् । स्वदेशी राजामा राजेश हमाल, निखिल उप्रेती र भुवन केसी हुन् । दाङ जिल्ला दाङ प्रदेशमा पर्छ । नेपालको राजधानी इन्डिया हो । एक देशमा पाँचवटा प्रधानमन्त्री हुन्छन् । यस्ता कुरा उनको अन्तर्वार्तामा सुन्न पाइन्छ । 

भीम दाइ, कालेदाइ लगायतका भाइरल व्यक्तिसँग राखेर उनका त्यस्तै द्विअर्थी लाग्ने अन्तर्वार्ता लिइन्छ । जे बोल्यो त्यही भाइरल भनिदिँदा उनी खुसी हुन्छिन् । मानौँ भाइरल हुनु नै अन्तिम सत्य हो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ५३ बजे

रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता

काबुल – रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी

हिरासतबाट रविले भने : मेराविरुद्ध सिंगो राज्य र मिडियाले भ्रमपूर्ण प्रचार गर्दैछन्

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता

राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार

काठमाडौं – परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

ललितपुर – जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण