स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल « Khabarhub

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताएका छन् । 

महिला, कानुन र विकास मञ्चले आइतबार आयोजना छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा ३८ को उपधारा (२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनी स्पष्ट रूपमा मौलिक हकका रूपमा व्यवस्था गरिएको र यसबाट भविष्यका नागरिकको स्वास्थ्य पनि सबल हुने भएकाले प्रस्ताव दर्ता गरिएको जानकारी गराए ।

कार्यक्रममा प्रस्तावका प्रस्तावक सांसद सीता थपलियाले संसद्मा धारणा राख्नका लागि तयारी गरिरहँदा विषयको गम्भीरता अनुसार बोलेर मात्र तत्काल केही नहुने देखेपछि प्रस्ताव बनाएर दर्ता गराएको बताइन् । 

प्रस्तावका विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा तोसिमा कार्की पनि सकारात्मक रहेकाले यो पारित भएर कानुन संशोधनको प्रक्रिया अघि बढ्ने उनले विश्वास व्यक्त गरिन्। 

प्रस्तावमा ‘बच्चा जन्माउने र हुर्काउने महिलाको काम हो’ भन्ने सोच अहिलेको समाज पनि रहिरहँदा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हटे‍काले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको अधिकारको कार्यान्वयनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख छ । सुत्केरी बिदा छ महिना पुर्‍याउनुपर्नेमा पनि प्रस्तावले जोड दिएको छ । 

प्रस्ताव कानुन बनेमा गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने सांसद थपलियाको भनाइ छ । यो प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पुर्‍याउने उद्देश्यले ल्याइएको पनि उनले बताइन् ।

संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावलाई स्वास्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न सकिनेमा अधिकारकर्मीहरूले जोड दिएका छन्।

प्रस्तावका समर्थक सांसद सरस्वती लामाले छ महिनाको प्रयासपछि प्रस्ताव संसद्मा दर्ता भएको जानकारी दिइन् । उक्त प्रस्तावको पक्षमा सबै सांसद रहेका भन्दै यसले छिट्टै कानुनको रूप लिने उनले विश्वास व्यक्त गरिन्  । 

यो प्रस्तावलाई अझ परिष्कृत र सान्दर्भिक बनाउन यस्ता छलफल उपयोगी हुनेमा सांसदहरूले जोड दिइन् । उनले केही पुरुषले महिलाका समस्या नबुझ्ने गरेकाले सम्झाउनुपर्ने आवश्यकता औँल्याइन् ।
 
नेपालको जनसङ्ख्याको ५१ दशमलव दुई प्रतिशत महिला छन् । पन्ध्रदेखि ५९ वर्षका ८७ लाख र २०-४० वर्षका करिब ५० लाख महिला प्रजनन उमेर समूहका छन् । 

निजामतीमा ३०, शिक्षकमा २७, स्वास्थ्यमा ५५, बैंकिङमा २५-३० र गार्मेन्टमा १८ प्रतिशत महिला पुगिसक्दा पनि ‘बच्चा जन्माउने र हुर्काउने आमाकै काम हो’ भन्ने सोचले गर्दा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्ने गरेको तथ्य पनि कार्यक्रममा जानकारी गराइएको थियो ।  

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, परिवार कल्याण महाशाखाकी डा गौरी प्रधानले सुत्केरी बिदा छ महिना पुर्‍याउनुपर्नेमा जोड दिइन् । वैज्ञानिक कारण प्रस्तुत गर्दै आमा र शिशु स्वस्थ राख्नलाई छ महिना सुत्केरी बिदा बनाइनुपर्ने उनको भनाइ छ । 

‘विश्व स्वास्थ्य सङ्गठनले पनि सुत्केरी बिदा छ महिना बनाउन सिफारिस गरेको छ । आमाको पौष्टिक दूध शिशुले छ महिनासम्म सेवन गर्दा नसर्ने रोग लाग्न नियन्त्रण हुने पुष्टि भएको छ । सुत्केरीलाई मानसिक रूपमा बलियो बनाउन पुरुषलाई पनि ४२ दिन सुत्केरी स्याहार बिदा आवश्यक छ’, महाशाखा प्रमुख प्रधानले भनिन् ।

सिंहदरबारमा खुलेको शिशु स्याहार केन्द्रमा हाल ९५ जनाले सेवा लिइरहेका व्यवस्थापक सङ्गीता घिमिरेले जानकारी दिइन् । हालसम्म ६६५ जनाले सेवा लिइसकेका भन्दै उनले चार महिनादेखि तीन वर्ष उमेर समूहका शिशुले सेवा लिइरहेको बताइन् ।

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले हाल कानुनमा भएको ९८ दिनको सुत्केरी बिदासमेत कतिपय क्षेत्रमा कार्यान्वयनमा नरहेकाले अदालतसम्म जानुपरेको घटना स्मरण गरिन् । 

गत वैशाख ४ गते संवैधानिक इजलासले गरेको फैसलाले ९८ दिनको सुत्केरी बिदाबाट बञ्चितलाई सहयोग पुगेको उनले जानकारी गराइन् । ‘मानसिक तथा समग्र स्वास्थ्यका लागि पनि सुत्केरीलाई ९८ दिनको बिदाले पुग्दैन, कम्तीमा छ महिना तलबी बिदा आवश्यक छ’, उनले भनिन् ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले ऐन र प्रस्तावलाई छुट्टाएर हेर्नुपर्नेमा जोड दिए । कानुन कार्यान्वयनमा सरकार उत्तरदायी हुनुपर्ने भन्दै उनले कानुन बनेपछि मात्रै अधिकारका लागि लड्न सकिने बताए । नागरिकको अधिकारका लागि कानुन निर्माणमा मञ्च सधैँ सहकार्य गर्न तयार रहेको अधिवक्ता श्रेष्ठले उल्लेख गरे । 

कार्यक्रममा अधिवक्ताहरू सीमा धामी, विमला खड्का, विष्णु बस्याल, नेपाल बारकी हसिना प्रधान, मञ्चका अध्यक्ष गीता अर्याल र अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले प्रस्तावलाई थप सरल र सहज बनाउनुपर्नेमा जोड दिए । यसका लागि सरोकार भएका निकायसँग सहकार्य गर्नुपर्नेमा उनीहरूले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ४ : ०८ बजे

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई