काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छन्। कतिसम्म भने कार्यदलमै नभएका नेता प्रदीप ज्ञवालीलाई समेत उनले अलग्गै प्रतिवेदन लेखाएका छन् । जुन प्रतिवेदनमा उनको गुनगानबाहेक केही छेन।
यता नेतृत्व परिवर्तनको बहस उठाइरहेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितलाई रोक्न कार्यदलको प्रतिवेदनमा उल्लिखित नेतृत्व परिवर्तनको कुरा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नसमेट्ने भएका छन्।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई मर्ज गर्दै नेतृत्व परिवर्तनको विषय हटाएका छन्। आइतबार बसेको कार्यदलको बैठकमा पोखरेलको प्रतिवेदनबाट नेतृत्व परिवर्तनको विषय हटाएर अनुसूचीमा सुझावका रूपमा मात्रै राख्ने निर्णय भएको छ।
केपी शर्मा ओलीको निर्देशनमा बादलसहितका नेताहरूले उक्त प्रतिवेदन छुट्टै प्रस्तुत नगर्ने र मर्ज गरेर नेतृत्व परिवर्तनको विषयलाई कार्यसूचीमा मात्रै राख्ने तयारी गरेको बताइएको छ।
शंकरको प्रतिवेदनमा वर्तमान परिस्थितिलाई नियाल्दै एमाले अध्यक्ष ओलीले नेतृत्वबाट बिदा हुनुपर्ने मागसहितका सुझाव समेटिएका थिए। तर बादलको प्रतिवेदनमा अहिले नेतृत्व परिवर्तन गर्नुपर्ने विषयको औचित्य नरहेको भन्दै त्यस्ता विषय समेट्न नहुने उल्लेख गरिएको थियो।
सातै प्रदेशबाट आएको नेतृत्व परिवर्तनसम्बन्धी सुझावलाई प्रतिवेदनमा उल्लेख नगरी अनुसूचीमा मात्रै राख्ने निर्णय भएको छ। यता एमाले नेतृ पदमा अर्यालले पनि तत्काल नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा नआउने बताएकी छन्। सबैतिरबाट आएका सुझावलाई अनुसूचीमा समावेश गर्ने निर्णय भएको उनको भनाइ छ।
‘अहिले नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा आउँदैन। यो आउनुपर्ने महत्वपूर्ण विषय नै होइन। त्यसकारण अहिले एउटै प्रतिवेदन तयार भएको छ, त्यही नै आधिकारिक प्रतिवेदन हो,’ अर्यालले भनिन्, ‘प्रदेश र जिल्लाबाट आएका सुझावलाई अनुसूचीमा राखिन्छ। नेतृत्व परिवर्तनको विषय विवादित भएकाले कुनै पनि प्रतिवेदनमा आउँदैन।’
ओलीको दबाब
आफू नेतृत्वबाट हट्नुपर्ने मागसहितको प्रतिवेदन रोक्न ओलीले आफ्ना नेताहरूलाई सक्रिय बनाएको बताइएको छ। ओली पक्षबाट उक्त प्रतिवेदनलाई पारित हुन नदिन बादल, महेश बस्नेत, पदमा अर्याललगायतका नेताहरू सक्रिय रहेको स्रोतको दाबी छ।
सचिव शेरधन राईसहितका नेताहरूले पनि सो प्रतिवेदनलाई अहिले सुझावका रूपमा मात्रै लैजान आग्रह गरेपछि संयोजक थापाले मात्रै प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका हुन्।
शंकरले लामो समयसम्म सुझाव संकलन गरेर तयार पारेको प्रतिवेदनलाई छुट्टै प्रस्तुत गर्न नदिने तयारी भएको छ। शंकरको प्रतिवेदनमा देशभर एमालेमा असन्तुष्ट पक्ष बढ्दै गएकाले अध्यक्ष ओलीले नेतृत्वका विषयमा सोच्नुपर्ने माग गरिएको थियो।
ओलीसहित पार्टीका पहिलो पुस्ताका नेताहरूलाई सम्मानपूर्वक बिदाइको व्यवस्था गर्नुपर्ने आवाज पनि प्रतिवेदनमा समावेश थियो। निर्वाचनमा धक्का बेहोर्नुको प्रमुख कारण नेतृत्व नै रहेको विषयसमेत शंकरको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
प्रतिवेदन विवादले बैठक स्थगित
प्रतिवेदनकै विवादका कारण आइतबार एमाले सचिवालय बैठकसमेत स्थगित भएको छ। दुई प्रतिवेदनलाई एक ठाउँमा मर्ज गरेर एउटै प्रतिवेदनका रूपमा बाहिर ल्याउने विषयमा नेताहरूले धारणा राखेपछि बैठक स्थगित भएको हो।
दुई प्रतिवेदनलाई एउटै बनाउन समय लाग्ने भएकाले बैठक स्थगित भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार संयोजक थापाले प्रतिवेदन मर्ज गरेर एउटै बनाएपछि चाँडै सचिवालय बैठक बस्नेछ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित अन्य नेताहरूले प्रतिवेदनमा पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव राख्नुपर्ने मत राखेका छन्। तर ओली समूहले उक्त विषय बादलको प्रतिवेदनमा नसमेट्ने अडान लिएपछि एमालेभित्र विवाद देखिएको हो।
शंकरसँगै विष्णुलगायत अन्य नेताले पनि बादलको प्रतिवेदनलाई पूर्ण रूपमा स्वीकार नगरेको विषय बाहिर आइरहेको छ। उनीहरूसँग तत्काल सम्पर्क हुन नसकेको बताइएको छ।
पार्टी बैठकमा सहभागी एक नेताका अनुसार असहमति हुँदाहुँदै पनि बादललगायतका नेताहरूले एउटै प्रतिवेदन बनाउने निर्णय गरेका छन्। त्यसमा नेतृत्व पुनर्गठनको विषय समावेश नगर्ने भनिएको छ। तर अनुसूचीमा भने उक्त विषय समावेश भएकाले केन्द्रीय कमिटी तथा सचिवालय बैठकमा त्यसबारे छलफल हुनुपर्ने धारणा केही नेताहरूले राखेका छन्।
पार्टीलाई चौतर्फी प्रहार भइरहेका बेला नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा राख्न नहुने बादलको अडान छ। कार्यदलका संयोजक बादल र महासचिव पोखरेलबीच प्रतिवेदनमा राख्ने-नराख्ने विषयमा निकै मतान्तर देखिएको थियो।
उपाध्यक्ष विष्णु पौडेलले पनि तल्लो तहबाट आएका सुझावलाई जस्ताको तस्तै प्रतिवेदनमा समेट्नुपर्ने माग राखेका छन्।
आइतबारको बैठकमा विष्णु र शंकरबीच छुट्टाछुट्टै प्रतिवेदन लैजाने विषयमा लामो समय छलफल भएको थियो। बादलले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेश गर्न नमानेपछि शंकरले विभिन्न सुझावसहित आफ्ना धारणा राखेका थिए। तर बादलले कुनै पनि हालतमा कार्यदलले दुईवटा प्रतिवेदन पेश नगर्ने अडान लिएको बताइएको छ।
शंकरसहितले भने आफ्नो प्रतिवेदनलाई मर्जका नाममा निष्प्रभावी बनाउने प्रयास भएको भन्दै त्यसलाई स्वीकार नगर्ने जवाफ दिएको छ। पार्टीमा यस विषयमा छलफल भइरहेकाले केही समय अझै छलफलमै व्यतीत हुने एक नेताले जानकारी दिए।













प्रतिक्रिया