मधेसमा किन परिरहन्छ उपेन्द्र र सिकेबीच झगडा ? | Khabarhub Khabarhub

मधेसमा किन परिरहन्छ उपेन्द्र र सिकेबीच झगडा ?

विश्लेषक भन्छन्– यो राजनीतिक बर्चस्वको लडाइँ हो 



काठमाडौं – हाल सरकारमा साझेदारी गरिरहेका सात दलमध्ये जनता समाजवादी पार्टी र जनमत पार्टीबीचको सम्बन्धमा ज्यादै चिसोपन आएको छ । 

मधेसी दल रहेका दुई पार्टीबीच असमझदारी तथा एक अर्काले अस्तित्व स्वीकार गर्न नसक्दा मंगलबार जनमत पार्टीले मधेस सकारबाट बिदा हुनुपरेको छ । 

मधेस कृषि विश्वविद्यालयको उद्घाटन समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएका मुख्यमन्त्री सरोजकुमार यादवले जनमतका अध्यक्ष सिके राउतलाई थाहै दिएनन् ।

मधेसमा किसान आन्दोलन गर्दै आएका सिके राउतले यहाँको कृषि क्षेत्रका समस्याबारे आफूले अगुवाइ गरेको  बताउँदै आएका बेला उपेन्द्र यादवले कृषि विश्वविद्यालयको उद्‌घाटन गरेका हुन् ।

प्रदेशको विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति र शिक्षामन्त्री उपकुलपति हुने संवैधानिक व्यवस्था छ । तर, उपकुलपति रहेका  शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवलाई थाहा नदिइकन एकलौटी रूपमा यादवले आफ्ना पार्टीका अध्यक्षलाई बोलाएर विश्वविद्यालयको उद्घाटन गरेको जनमत पार्टीका नेताहरूको आरोप छ ।

त्यसलगत्तै मंगलबार जनमत पार्टीले मधेस सरकारमा रहेका शिक्षामन्त्री यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहलाई फिर्ता बोलाएको हो । दुवै मन्त्रीले पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

खबरहबसँगको कुराकानीमा जनमतका अध्यक्ष सिके राउतले आफ्नो पार्टी र मन्त्रीहरूलाई जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले चरम दमन गरेको र सहन नसकेर फिर्ता बोलाएको बताए ।

उनले भने, ‘भ्रष्टाचारले सीमा नाघेको छ । हामीले आवाज उठाउँदा दमन गरिन्छ । यस्तो सरकारमा बसेर के फाइदा ? हामीलाई बिना जानकारी जे मन लाग्छ त्यही गरेपछि सरकारमा साझेदारी किन गर्नुपर्‍यो र ?’ 

उता जसपा अध्यक्ष यादवले भने जनमत पार्टीले सत्ता सहकार्य गर्ने आचरण नदेखाएका कारण सहकार्य हुन नसकेको बताए । उनले खबरहबसँग भने, ‘सत्ता साझेदार भएपछि केही आचरणको पालना गर्नुपर्ने हुन्छ, त्यो उहाँहरूले राख्न सक्नुभएन । उच्छृङ्खलता र उद्दण्डता देखियो । यसरी त कसरी सहकार्य गर्ने ?’

यादव भन्छन्, ‘गठबन्धनमा बस्ने तर विरोध गर्ने आचरण छ । यो गैरराजनीतिक हो । हामीलाई यस्ताको वास्ता छैन । अब सहकार्य हुँदैन ।’
जनमत अध्यक्ष राउत भने आफूहरूले सरकारले गरेको राम्रा कामलाई मात्र समर्थन गरेको तर नराम्रा कामलाई आफ्नो पार्टीले कहिल्यै समर्थन नगर्ने बताउँछन् । 

उनी भन्छन्, ‘सरकारबाट प्रधानमन्त्रीले फिर्ता बोलाए जान तयार छौँ तर भ्रष्टाचार, अपराध जस्ता कामको समर्थन हुँदैन । हामी जनताको पक्षमा काम गर्ने हो ।’

पुरानै झगडा

जनमत पार्टीका अध्यक्ष सिके र जसपा अध्यक्ष उपेन्द्रबीच मनमुटाब सुरु भएको लामो समय भइसकेको छ ।

सन् २०११ मा अमेरिकाबाट राउत नेपाल फर्केर मधेसलाई छुट्टै देश बनाउनुपर्छ भन्दै आन्दोलन गरेका थिए । त्यसपछि नै यादव र राउतको मनमुटाब सुरु भएको थियो । राउतले मधेस टुक्र्याउन चाहेका थिए तर त्यसको विरोधमा जसपा अध्यक्ष यादवले राष्ट्रियताको पक्षमा अडान लिएका थिए । यादव भन्छन्, ‘उहाँहरूको अराजकता पहिलेबाट नै थियो, मैले त  सम्झाउँदै ल्याएको थिएँ ।’ 

उता, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव भन्छन्, ‘०६२–६३ सालदेखि नै जसपाले मधेसलाई एउटा राजनीतिक बिर्ताका रूपमा लिँदै आएको थियो । जनमत र सिके राउतको उदय भएपछि उहाँले हामीलाई अत्याचार गर्न थाल्नुभयो ।’ 

२०७९ सालको निर्वाचनमा भाग लिएपछि जनमत पार्टी पनि सरकारमा सहभागी हुने निर्णयमा पुग्यो । त्यसपछि जनमत अध्यक्ष राउत र जसपा अध्यक्ष यादवले छलफल समेत गरेको शरदको भनाइ छ । 

स्रोतका अनुसार त्यसबेला उपेन्द्र र सिकेबीच एउटै निर्वाचन क्षेत्रबाट नलड्ने सहमति भएको थियो । यो भद्र सहमति यादवले नै तोडेको राउत पक्षको आरोप छ । यादव र राउत सप्तरी –२ मा एउटै निर्वाचन क्षेत्रबाट उठे तर जित भने सिके राउतको भयो । उनले १८ हजारभन्दा बढी मतान्तरले यादवलाई पराजित गरे । सिके राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मत ल्याए ।

यहीँबाट यादव र राउतको सम्बन्ध चिसियो । कार्यक्रम बहिस्कार गर्नेदेखि लिएर देखाभेट गर्नसमेत दुई नेताले नचाहने अवस्था आयो ।

उपराष्ट्रपतिको निर्वाचन 
जसपा र जनमत पार्टी दुवै सरकारमा साझेदार गरिरहेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा दुवै पार्टी सरिक थिए । २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो । सो निर्वाचनमा गठबन्धन भर्सेस एमाले हुने भनिएको थियो तर त्यसो भएन ।

उपराष्ट्रपतिको चुनावमा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवलाई नसघाएर जनमतले ममता झालाई बेग्लै उम्मेदवार उठाएको थियो । तर, जसपाका उम्मेदवार रामसहायप्रसाद यादव सत्ता गठबन्धनको बलमा निर्वाचित भएका थिए । 

जनमतले उपराष्ट्रपतिमा बेग्लै उम्मेदवार खडा गरे पनि राष्ट्रपतिमा भने कांग्रेसका रामचन्द्र पौललेलाई नै मतदान गरेको थियो । यसले सो दलको असहमति जसपाप्रति मात्र रहेको देखिन्छ । 

उपनिर्वाचन २०८०
यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको बाराको २ नम्बर निर्वाचन क्षेत्रमा ०८० वैशाख १० मा उपनिर्वाचन भयो । त्योबेला पनि गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई हराउन सिकेराउतले बारामै बसेर सक्रियता देखाएको जसपा नेताहरूको आरोप छ । तर, उपेन्द्रले जितिछाडे । जसपाका तर्फबाट अध्यक्ष यादव र जनमतका तर्फबाट माओवादी छाडेका शिवचन्द्र कुशवाहाबीच प्रतिस्पर्धा भएको थियो । तर, यादव  विजयी भए । 

यादवले २८ हजार ४१५  मत  ल्याएका थिए भने  जनमत पार्टीका उम्मेदवार कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका थिए ।  यादव पाँच हजार ८१ मतको अन्तरमा विजयी भए । यहाँ कांग्रेस–माओवादी र एकीकृत समाजवादीले यादवलाई मतदान गरेका थिए । 

राष्ट्रियसभा निर्वाचनमा पनि जसपा र जनमतको लडाईंले निरन्तरता पाएको थियो । जसको प्रभावले मधेश प्रदेशमा गठबन्धनको निर्णय भन्दा बाहिर गएर राष्ट्रियसभा निर्वाचनका लागि जनमतले पनि उम्मेदवार खडा गरेको थियो । तर, गठबन्धन दलमा भने जसपा र कांग्रेसलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

यी सबै घटनाक्रम हेर्दा जसपा र जनमतको यो झगडा विश्वविद्यालयको शिलान्याससँग मात्र नजोडिएको स्पष्ट हुन्छ ।

राजनीतिक विश्लेषक भन्छन्– यो बर्चश्वको लडाइँ हो

साहले खबरहबसँग भने, ‘मधेसमा जसपाको हालीमुहाली भएपछि जनमतका मन्त्रीलाई केही गर्न नदिने अवस्था बनाएको देखियो । त्यो कारण जनमतले सरकार छाडेको छ । जनमत अब जसपाको विरोधमा जाने अवस्था देखियो ।’

राजनीतिक विश्लेषक तुलानारायण साह जनमत पार्टी अध्यक्ष सिके राउत र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको अन्तरविरोधलाई मधेसमा पार्टीहरूको ‘राजनीतिक बर्चस्वको लडाइँ’ को संज्ञा दिन्छन् ।

साहले खबरहबसँग भने, ‘मधेसमा जसपाको हालीमुहाली भएपछि जनमतका मन्त्रीलाई केही गर्न नदिने अवस्था बनाएको देखियो । त्यो कारण जनमतले सरकार छाडेको छ । जनमत अब जसपाको विरोधमा जाने अवस्था देखियो ।’ 

विश्लेषक साह भन्छन्, ‘सिके राउतको उदयमा यादव खुसी नभएको देखिएकै छ । यसमा कुनै मतभेद छैन । कांग्रेस र एमालेको बीचमा जुन किसिमको प्रतिस्पर्धा छ, मधेसमा जनमत र जसपाबीच पनि त्यही भएको हो । राजनीतिमा एकले अर्काको बाटो छेक्ने र अवरोध गर्ने काम त गर्ने नै हो नि, त्यही भइरहेको छ ।’ 

विगत १५ वर्षदेखि जसपाले मधेस प्रदेशमा बलियो पार्टी भएर यात्रा बढाइरहेको छ । पछिल्लो समय जनमत पार्टी आएर निर्वाचनमा पनि सफलता हासिल गरेपछि जसपालाई आफ्नो पार्टीको आकार घट्ने चिन्ता छ । 

मधेसको पुरानो दल लोसपा खुम्चँदै गएपछि जसपालाई पनि आफ्नो पार्टीको आकार जनमतले घटाउने हो कि भन्ने तनाव थपिएको विश्लेषक साह बताउँछन् । 

अहिले राष्ट्रिय राजनीतिका कांग्रेस भर्सेस एमाले भएजस्तै मधेसको राजनीतिमा जसपा भर्सेस जनमत छ । तर, मधेस सरकारबाट जनमत बाहिर निस्किए पनि मुख्यमन्त्रीलाई अंकगणितले कुनै असर नपार्ने विश्लेषक साहको विश्लेषण छ । 

उनले खबरहबसँग भने, ‘यसले प्रदेश सरकारलाई असर गर्दैन । बहुमत जुट्छ ।’

काठमाडौँको समीकरण र प्रदेशको समीकरण राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा फरक रहेको साहले बताए ।

याे पनि…

जनमत पार्टी सत्ता सहकार्य गर्ने आचरण नभएर भाग्यो : उपेन्द्र यादव

मधेश सरकारबाट बाहिरियो जनमत, केन्द्रबाट पनि बिदा हुने तयारी !

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : १९ बजे

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी