जंगली जनावरबाट किसानलाई बाली जोगाउन सकस « Khabarhub

जंगली जनावरबाट किसानलाई बाली जोगाउन सकस


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।

बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भए पनि जंगली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ’, उनले भने, ‘खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।’

गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।

‘काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ’, नन्दाले भने, ‘यसले केही हदसम्म जनावर भाग्छन् ।’

राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका नन्दा जनावरबाट जोगाउन सके वार्षिक चार लाखसम्मको कारोबार हुने गरेको बताउँछन् ।

निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताए । ‘यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन’, उनले भने, ‘रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।’

राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जंगली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । ‘राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो’, बेलडाँडी–५ कै श्यामलाल रानाले भने, ‘तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।’

उनले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका छन् । राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ०४ बजे

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा