कालीगण्डकी करिडोरमा धमाधम काम | Khabarhub Khabarhub

कालीगण्डकी करिडोरमा धमाधम काम


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

गलकोट – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट, ग्याबिन जालीलगायत पूर्वाधार निर्माण भइरहेको छ । दुईवटा खण्डमध्ये बलेवा हर्मिचौर खण्डमा तीव्र गतिमा काम भइरहेको छ भने बलेवा मालढुङ्गा खण्डमा सुस्त गतिमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तो गरी काममा तीव्रता दिन नसकेको उनको भनाइ छ । “दुवै खण्डमा धमाधम काम भइरहेको थियो, बजेट अभावले वलेवाबाट मालढुङ्गासम्मको १० किमी सडकमा काम सुस्त छ तर हर्मिचौरदेखि बलेवासम्मको ४४ किमी सडकमा कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको छ,” शर्माले भने, “बजेट निकासाका लागि पटक–पटक अर्थ मन्त्रालयमा म आफैँ पुगेको छु, बजेट निकासा गर्न सकेमा एक वर्षमा करिडोर कालोपत्र भइसक्ने देखिएको छ ।”

बलेवाबाट हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायत आधुनिक औजार प्रयोग गरिएको छ । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य गरिएको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।

मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु ५५ करोड निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरी सक्नुपर्नेछ ।

बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । रु तीन अर्ब ३० करोड लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । कालिका कन्स्ट्रक्सनलाई काम गरिसकेको मात्रै दायित्व रु ३० करोड भुक्तानी गर्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका प्रमुख शङ्कर पौडेलले जानकारी दिए ।

उनले दायित्व भुक्तानी गर्न नसक्दा मालढुङ्गादेखि बलेवासम्मको पूर्वाधारको काम सुस्त भएको पौडेलले बताए । रु ५५ करोडको ठेक्कामा सवा दुई करोड दायित्व भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी, हर्मिचौरबाट बलेवा विमानस्थलसम्मको सडक खण्डको दायित्व समयमै भुक्तानी गर्न सकेमा निर्माणले थप गति लिन सक्ने बताए । “अहिले पनि अर्थ मन्त्रालयमै दायित्व भुक्तानीका लागि आएको छु, चालू आवमा रु ३० करोड भुक्तानी गर्न सके ४४ किमी सडक कालोपत्र प्रारम्भ हुने देखिएको छ,” प्रमुख पौडेलले भने, “निर्माण व्यवसायीलाई सम्झौताअनुसार काम गरेपछि दायित्व भुक्तानी गर्नु सरकारको दायित्व हो, हामी आशावादी छौँ ।”

हर्मिचौरबाट बलेवा विमानस्थलसम्मको खण्डमा ४० प्रतिशत आर्थिक प्रगति र ३५ प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी, तल्लो खण्ड मालढुङ्गाबाट बलेवासम्मको १० किमी सडकमा ३२ प्रतिशत भौतिक र २८ प्रतिशत आर्थिक प्रगति भएको छ ।

करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कूल चार सय ३५ किलोमिटर लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ५० बजे

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना