सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा | Khabarhub Khabarhub

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।

भरतपुर–२५ का छविलाल न्यौपानेले उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताए । उनले भने, ‘कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ ।’

भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन थिए । उनी करिब दुई बिघा क्षेत्रफलमा लगाएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै थिए । उनले भने, ‘सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ।’ सिँचाइ भएसँगै यस क्षेत्रमा बिघौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनको भनाइ छ ।

स्थानीय किसान हठन महतोले पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताए । सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उनी अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहेका छन् ।

विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उनले बताए । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारीखेती गर्न थालेको उनले बताए । उनले भने, ‘सिँचाइले गर्दा हाम्रो आयआर्जनमा सहयोग पुगेको छ ।’

स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउँछन् । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको उनले बताए ।

भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलोपटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताइन् । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उनले बताइन् ।

आफू प्रमुख भएर आएपछि सात हजार बिघामा थप सिँचाइ भएको दाहालको दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै उनले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताइन् ।

यकिन तथ्याङ्क नभए पनि नेपालमा छोटो समयमा धेरै क्षेत्रमा भूमिगत सिँचाइ भरतपुरमै भएको महानगरप्रमुख दाहालले बताइन् । हिउँदमा पनि सिँचाइ गर्न नारायणी लिफ्ट आयोजनामा २९ करोडभन्दा बढी खर्च गरेर पम्प थप्ने काम भइरहेको दाहालको भनाइ छ ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा दुई हजार तीन सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरपालिकामा मात्रै एक हजार पाँच सय ८७ हेक्टर क्षेत्रफल सिञ्चित हुने आयोजना सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ३२ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको