काठमाडौं – रगत प्रवाहमा बाधा हुने अवस्थालाई मस्तिष्कघात भनिन्छ। मस्तिष्कघातलाई अंग्रेजीमा ‘स्ट्रोक’ भनिन्छ। हाल मृत्युको तेस्रो प्रमुख कारण बनेको मस्तिष्कघातलाई अस्पतालको सघन उपचार कक्ष (आइसियु) प्रवेश र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण पनि मानिएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष एक करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन्।
जसमध्ये पचास लाख मानिस यही रोगका कारण मृत्युवरण गर्न बाध्य छन् भने ५० लाख अपाङ्ग हुने गरेका छन्। बाँकी रहेका ५० लाखमध्ये १५ लाख भने उपचार र पुनस्र्थापनापछि सामान्य जीवनमा फर्किन सफल हुने गरेका छन् भने ३५ लाख मानिस सामान्य अपाङ्गताका साथ बाँचिरहेका छन्।
नेपालमा गरिएको एक अध्ययनका अनुसार हरेक वर्ष कुल जनसंख्याको डेढदेखि दुई प्रतिशत मानिसलाई मस्तिष्कघात हुने गरेको छ। जसमध्ये एक तिहाइको मृत्यु हुन्छ। एक तिहाइ अपाङ्गतासहित बाँच्न बाध्य हुन्छन् भने एक तिहाइ समयमा उपचार पाएर सक्रिय जीवनमा फर्कन सक्छन्। सहरी जीवनशैली र शारीरिक व्यायामको कमीले गर्दा पहिले बढ्दो उमेरमा देखिने यो समस्या अहिले बालबालिका तथा युवावस्थामै देखिने गरेको चिकित्सक बताउँछन्। मस्तिष्कघात कस्तो समस्या हो ? मस्तिष्कघात हुनुको कारण के हो ? यसको उपचार विधि के छ ? यसबाट बच्न के गर्ने ? यिनै विषयमा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत न्युरोलोजिष्ट डा. रागेश कर्णसँग गरिएको कुराकानीः
नेपालमा गरिएको एक अध्ययनका अनुसार हरेक वर्ष कुल जनसंख्याको डेढदेखि दुई प्रतिशत मानिसलाई मस्तिष्कघात हुने गरेको छ।
मस्तिष्कघात कस्तो समस्या हो ?
मस्तिष्कको रगत बग्ने नली बन्द भएर अथवा फुटेर मस्तिष्कका कोशिका र तन्तुमा क्षति भएको अवस्थालाई मस्तिष्कघात भनिन्छ। मान्छेले घात भनेपछि देखिने चोटपटक लागेर मात्रै हुन्छ भन्ने बुझेको छ। तर नदेखिने गरी पनि हाम्रो मस्तिष्कमा हुने समस्या मस्तिष्कघात हो।
मस्तिष्कघात हुनुको कारण के हो ?
मस्तिष्कघात दुई तरिकाले हुन्छ, एउटा रक्तनली बन्द भएर हुन्छ भने अर्को रक्तनली फुटेर हुन्छ। यसको कारणमा हाम्रो खानपान र जीवनशैली प्रमुख हुन्छ। वंशाणुगत कारणले पनि मस्तिष्कघात हुनसक्छ। त्यो बाहेक बढ्दो उमेर, मोटोपना, निष्क्रिय जीवनशैली, सुगर, प्रेसर, कोलेष्ट्रोल अनियन्त्रित हुनु, लागु पदार्थको सेवन लगायतलाई यसको कारण मनिन्छ। मस्तिष्कघातको जोखिम वयष्क र दीर्घ रोगीलाई बढी हुन्छ। तर पछिल्लो समय सहरी जीवनशैली, शारीरिक परिश्रमको कमी, फाष्टफुड, जंकफुड धेरै खाने, धुम्रपान र मध्यपानको प्रयोगका कारण युवावस्थामै पनि उत्तिकै देखिन थालेको छ। कसैकसैको जन्मजातै रगत नलीमा समस्या आउने र रगत बाक्लो हुने कारणले पनि मस्तिष्कघात भएको पाइएको छ।
मस्तिष्कघात एउटा रक्तनली बन्द भएर हुन्छ भने अर्को रक्तनली फुटेर हुन्छ। यसको कारणमा हाम्रो खानपान र जीवनशैली प्रमुख हुन्छ।
मस्तिष्कघात भएको कसरी थाहा पाउने लक्षण कस्ता देखिन्छन् ?
यसको लक्षण भनेको प्रायजसो मानिसमा शरीरको एक भाग नचल्ने समस्या देखिन्छ त्यसैले अर्को भाषामा यसलाई पक्षघात भनिन्छ। यसको लक्षण अचानक देखिन्छन्। अचानक शरीरको एक भाग नचल्ने, अनुहार बांगो हुने, आवाजमा परिवर्तन आउने, आँखाको दृष्टिमा समस्या आउने, लगायतका लक्षण देखिएका छन् भने मस्तिष्कघात भएको हुनसक्छ।
यसले कस्तोकस्तो जोखिम निम्त्याउँछ ?
जोखिमको कुरा गर्नुपर्दा मस्तिष्कघातले धेरैको मृत्यु गराउँछ। मस्तिष्कघात भएका २० प्रतिशत मानिस बाँच्दैनन्। बाँचेका पनि ५० प्रतिशत जीवनभर हिँड्न सक्दैनन् भने बाँकी ३० प्रतिशत कुनै न कुनै रुपमा अशक्त हुन्छन्। त्यसैले धेरै मृत्युको कारणमा मस्तिष्कघात तेस्रो नम्बरमा रहेको विभिन्न अध्ययनले देखाएका छन्। त्यस्तै अपाङ्गता गराउने रोगमा यो पहिलो नम्बरमा पर्छ। त्यसैले यो एकदमै घातक रोग हो।
नेपालमा मस्तिष्कघातका बिरामीको अवस्था के छ ?
हाम्रो जीवनशैली सहरीकृत हुँदै गएको छ। त्यस्तै खानामा मैदाको प्रयोग, चिल्लो, पिरो मसलेदार तथा नुनको प्रयोग पनि धेरै मात्रामा हुने गरेको छ। जसका कारण नसर्ने खालका रोगीको सङ्ख्या बढ्दै गएको छ। त्यसमध्येकै एउटा मस्तिष्कघात पनि हो।
मस्तिष्कघात भएका २० प्रतिशत मानिस बाँच्दैनन्। बाँचेका पनि ५० प्रतिशत जीवनभर हिँड्न सक्दैनन् भने बाँकी ३० प्रतिशत कुनै न कुनै रुपमा अशक्त हुन्छन्।
यसको उपचार विधि के छ ?
यसको उपचार दुई प्रकारले गरिन्छ। मस्तिष्कघात हुनेबित्तिकै उपचार भएमा मृत्यु तथा अपाङ्गता हुने दर कम गराउँछ। यसअन्तर्गत थ्रम्बोलाइटिस थेरापी जसमा जमेको रगतको थेग्लोलाई फोडेर रक्तनलीको अवरोध खुलाउने काम गरिन्छ। यो विधि संसारभर प्रयोगमा छ। नेपालमा पनि विभिन्न अस्पतालमा यो उपचार सेवा उपलब्ध छ।
त्यस्तै अर्को हो इण्टरभेन्सन प्रविधि यसमा क्याथेटरबाट जमेको रगतलाई तानेर प्यारालाइसिस हुनबाट बचाउन सकिन्छ। यो प्रविधि सबै ठाउँमा उपलब्ध छैन। काठमाडौंका केही अस्पतालमा गरिन्छ। यी उपचार पद्धतिबाट अचानक मस्तिष्कघात आउँदा मृत्युदर तथा अपाङ्गता हुनबाट केही हदसम्म बचाउन सकिन्छ।
एकपटक मस्तिष्कघात भयो भने फेरि पनि दोहोरिने सम्भावना हुन्छ। यो दोहोरिने सम्भवनालाई कम गर्ने उपचार विधिकोसमेत विकास भएको छ। जसलाई प्रिभेन्सन अफ रिकरेज भनिन्छ। यसमा कसैको रगत बाक्लो छ भने त्यसलाई पातलो बनाउने औषधी दिइन्छ। प्रेसर, मुटुको भल्भमा खरावी आएर पनि समस्या हुने गर्दछ। त्यसैले जुनजुन कारणले मस्तिष्कघात भइरहेको छ ती कारण पत्ता लगाएर औषधी, सर्जरी तथा विभिन्न थेरापीको प्रयोगबाट उपचार हुने गर्दछ।
अन्य रोगजस्तो मस्तिष्कको रोगबारे सचेतनाको अवस्था के छ ?
अरु रोगको बारेमा जति चेतना छ त्यति मस्तिष्कको रोगको बारेमा चेतना छैन। यसको कारण अझै पनि रहस्यमय छ। अरु अङ्गलाई सजिलै हेर्न सकिन्छ। तर मस्तिष्कको काम अति नै जोखिमपूर्ण र जटिल हुन्छ। जति प्रविधिको विकास हुँदै गयो त्यति यसमा सहजता हुने हो।
त्यस्तै विगतको तुलनामा अहिले केही मात्रामा त चेतनाको विकास भइरहेको छ। तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन। त्यसैले यसबारे सचेतना फैलाउनका लागि विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, सरकार लगायत सम्पूर्ण सरोकारवालाको साथको आवश्यक छ।
बच्चा जन्मेदेखि नै उसको व्यवहार, विचार स्वस्थ जीवनशैली हुनुपर्छ। बालबालिकालाई नियमित रुपमा शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ।
म्स्तिष्कघातबाट बच्न के गर्ने ?
बच्चा जन्मेदेखि नै उसको व्यवहार, विचार स्वस्थ जीवनशैली हुनुपर्छ। बालबालिकालाई नियमित रुपमा शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ। जंकफुड, फाक्स्टफुड खान दिनु हुँदैन। जाँड रक्सी तथा कुलत जस्ता कुराबाट समयमै जोगाउनुपर्छ। वयस्क हुँदै गएपछि मस्तिष्कको स्वास्थ्य तथा मुटुको अन्य स्वास्थ्यको बारेमा हामी सचेत हुनु जरुरी छ।
जति नै व्यस्त भएपनि थोरै समय निकालेर शारीरिक व्यायाम अनिवार्य रुपमा गर्नुपर्छ। खानपानमा सकेसम्म घरमै पाकेको खानेकुरा खाने गर्नुपर्छ। चिल्लो तथ नुन चर्को खानु हुँदैन। सुगर र प्रेसर सधै नियन्त्रणमा राख्नुपर्छ। एकपटक मुटु तथा मस्तिष्कघात भइसकेको छ भने समय समयमा चिकित्सकसँग परामर्श लिनुपर्छ। यी कुरामा ध्यान दियौं भने मस्तिष्कघात तथा त्यसबाट हुने अपाङ्गताबाट जोगिन सकिन्छ।
प्रतिक्रिया