सांकेतिक तस्बिर

समाचार

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बाबु घाइते

By खबरहब

September 26, 2024

सर्लाही– सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।

गएराति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका हुन । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

उनले आफ्नै ५४ वर्षीय बुबा रामदिनेश यादवलाई पनि गोली हानेका थिए । गोली लागेका यादव घाइते छन् । उनकाे प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

श्रीमती र बाबुलाई गोली हानी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली हान्ने व्यक्तिको परिचय खुलाएको छैन ।