काठमाडौं – तस्बिरमा देख्न सकिन्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एउटा किताब पढिरहेका छन् । २०२८ सालको झापा आन्दोलनमा आधारित कुमार भट्टराईको ‘उपन्यास’ हो यो । उपन्यासभित्र एउटा पात्रको नाम छ– केपी ओली । जो, एमाले अध्यक्ष आफैं हुन् ।
उपन्यासको पृष्ठ १३५ मा झापा आन्दोलनकी योद्धा गौरा प्रसाई केपी ओलीमाथि प्रश्न गर्छिन्, ‘हत्याको जिम्मा नलिने हो भने तपाईले आफूलाई आन्दोलनबाट भगुवा हुँ भनेर स्वीकार्नुपर्छ । केपी कमरेड, मैदानबाट भागे पनि आफू अनुकूल व्याख्या गर्न तपाईजति सिपालु कोही छैन राजनीतिमा ।’
झापा विद्रोहका क्रममा केपी ओलीसमेतले अगुवाई गरेको विद्रोही पक्षबाट ८ जनाको हत्या भएको थियो । उक्त ‘एक्सन’ केपी ओलीकै नेतृत्वकालमा भएकाले यसबारे ओलीले जवाफ दिनुपर्ने जिरह उपन्यासभित्र गरिएको पाइन्छ ।
केपी ओलीले सोही हत्याकाण्डको अभियोगमा १४ वर्ष लामो जेल जीवन कटाइसकेका छन् । तर, अहिले प्रकाशित उपन्यासले ओलीमाथि पुरानो प्रश्न ब्युँताएको छ, ८ जनाको ज्यान जाने गरी भएको सो हत्याकाण्डको औचित्य केपी ओलीले कसरी सिद्ध गर्लान् ? के त्यो हत्या ‘जायज’ थियो ? कि ती घटनाको जिम्मेवारी लिएर गल्ती स्वीकार्न ओली तयार छन् ? पुस्तकले केपी ओलीमाथि गम्भीर प्रश्न तेर्स्याइदिएको छ ।
झापामा ०२८/०२९ सालमा भएको व्यक्तिहत्याको राजनीति र त्यसको औचित्यबारे मूलतः दुईवटा पुस्तक एकैसाथ बजारमा आएसँगै बहस सुरु भएको छ ।
झापा विद्रोहका क्रममा केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतका नेताहरुले नेतृत्व गरेको विद्रोही समूहबाट ८ जनाको हत्या भएको थियो । त्यसरी मारिनेहरुमा कर्णबहादुर गौतम, धर्मप्रसाद ढकाल, ज्ञानी ढकाल, ज्ञानबहादुर बस्नेत, बुटन चौधरी, उद्रकान्त राजवंशी, बिष्णुप्रसाद विमली र ईश्वरी चुडाल थिए ।
अब कुमार भट्टराईले लेखेको ‘२८ साल’ पुस्तकमा ८ जनाको हत्याबारे के भनिएको छ, त्यसको चर्चा गरौं–
कर्णबहादुर गौतम
ज्यामिरगढीका कर्णबहादुर गौतमको हत्याबाट झापा विद्रोह सुरु भएको थियो । उनको हत्या २०२८ साल जेठ २ गते भएको थियो । जमिन्दार रघुवीर बूढाथोकीका कारोबारी भएकाले कम्युनिष्ट कार्यकर्ताले जनकारवाही गरेको भनिए पनि ‘२८ साल’ पुस्तकमा कर्णबहादुरका भाइ हेमबहादुर गौतमको भनाइ यस्तो छ–
‘जुनबेला कर्णबहादुरको हत्या भयो, त्योबेला उनी ज्यामिरगढी गाउँ पञ्चायतको ७ नम्बर वडाको वडाध्यक्ष थिए । हामी २०१४ सालमा पहाडबाट झापा झरेका थियौं । दाजुले १५ सालदेखि २६ सालसम्म रघुवीर बूढाथोकीको कारोबारी भएर काम गरेकै हुन् । तर ०२५ सालमा वडाध्यक्ष भएपछि उनले कारोबारीको काम छोडिसकेका थिए ।’
आफ्नो दाजुको हत्याको औचित्यमाथि प्रश्न उठाउँदै हेमबहादुर भन्छन्, ‘रघुवीरलाई उभ्याएर कर्णबहादुरमाथिको हत्या जायज ठहर्दैन । वडाध्यक्षपछि त झन उनको घरको आर्थिक अवस्था पनि साह्रै तल खस्केको थियो ।’
धर्मप्रसाद ढकाल र ज्ञानी ढकाल
झापाको पाराखोपीका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालको हत्या २०२९ पुस १० गते भएको थियो । त्यसबेला झापा कोअर्डिनेशन केन्द्रको प्रमुख (सचिव) केपी ओली थिए । सो घटनाको दुई महिनापछि ओली सम्पर्कविहीन भएको भन्दै सीपी मैनालीले संगठनको जिम्मेवारी सम्हालेका थिए ।
धर्मप्रसाद ढकालको हत्यासम्बन्धी खडानन्द वाग्लेको वयान छ, ‘धर्मप्रसाद ढकालको हत्याकाण्डमा मलाई सुरक्षाका लागि खटाइएको थियो । हत्या गरेर साथीहरु आएपछि उनीहरुलाई लिएर होक्से गएँ । नेत्र घिमिरे, डम्बर बानियाँ, एकजना मगर थरका साथी थिए । साथीहरुले अत्यधिक रक्सी खाएका रहेछन् । विशेष गरेर डम्बरजी अलि मातेका थिए ।’
वाग्ले थप्छन्, ‘मोही हक पाउनुपर्ने जग्गा धर्मप्रसादले क्यानिङ कम्पनीको नाममा राखेपछि रिसाएका किसानहरु थिए अरु, उनीहरु आ–आफ्नो सेल्टरतिर लागे । त्यहाँबाट साधुटार गयौं र बिरिङ गरेर पूर्व फेरि होक्सेको हाम्रै घरमा आइपुग्यौं ।’
उनी भन्छन्, ‘घरपूर्व पैनी थियो । रगताम्ये खुकुरी त्यहीँ धोएका थियौं । तिलचामलजस्तो देखिने खुकुरीको धार फर्लङफर्लङ झरेको थियो । धर्मप्रसादलाई काटेपछि खुकुरीमा लागेको रगत डम्बर बानियाँले जिब्रोले चाटे, यो सामन्तीको रगत हो यसलाई यसरी पिउनुपर्छ भन्दै । रगतको मात चढेका डम्बर बानियाँमा काली चढेजस्तो भएको थियो । विद्रोहको त्यस्तो उग्र रुप मैले पहिला कहिल्यै देखेको थिइनँ ।’
वाग्ले अझ अगाडि बढ्छन्, ‘धर्मप्रसादको घरबाट डम्बरजी एउटा कोट लगाएरै हिँडेछन् । सेतोमा काला पाटा भएको, राम्रो थियो कोट । यो सामन्तको कोट हो, देखिस् केटा हो ? भन्दै सबैलाई सगर्व देखाए– सामन्तीहरु यस्तो लाउँछन् । त्यो कोटको गोजीमा एउटा चारानी बराबरको औंठी पनि थियो । यो पनि लाउनुपर्यो भनेर घुसार्दै थिए औंलामा ।’
पुस्तकमा मनकुमार गौतमले पनि धर्मप्रसाद ढकालको हत्यामा आफ्नो संलग्नता स्वीकार्ने गरी वयान दिएका छन् ।
त्यस्तै, पुस्तकमा अमर कार्कीको वयान छ,‘दुईतिरबाट सिँढी थिए । एकातिरबाट मानकुमार तामाङ चढ्नुपर्ने थियो, तर उहाँभन्दा अघि नै मनकुमार गौतम सिँढी उक्लनुभयो । अर्कोतिरबाट म । माथि चढ्नेवित्तिकै धर्मप्रसादलाई मनकुमारले खुकुरीले हानीहाल्नुभयो । बूढा मान्छेको टाउकोमा लाग्यो, उनी त्यहीँ ढले । छोरालाई मैले हानें । उनी बुरुक्क उफ्रिएर भित्र गैहाले । त्यहीबेला हामीले ज्ञानीलाई काट्यौं ।’
ज्ञानबहादुर बस्नेत
दुवागढीका ज्ञानबहादुर बस्नेतको हत्याबारे उपन्यासमा ठूलो दूर्गा अधिकारीले भनेका छन्, ‘ज्ञानबहादुर कार्कीको एक्शनमा म पनि सहभागी थिएँ । साँझ ७ बजेको थियो होला । भुइँटाँडे सानो घर थियो । त्यही घरमा दुई श्रीमतीसहित ज्ञानबहादुर बस्दारहेछन् ।’
पुस्तकमा ठूलो दूर्गा अधिकारी थप्छन्,‘ हामी पुग्दा बरण्डामा सानो नानीलाई आफ्नो पाखुराको सिरानी बनाएर सुताई आफू पनि ढल्किरहेका थिए । नानी जोगाएर उनीमाथि एक्सन गर्नुपर्ने भयो । म अघि बढेर नानी जोगाएर खुकुरीले आक्रमण गरें । ऊ जुरुक्कै उठेर लड्न तयार भयो । मान्छे हट्टा कट्टा दह्रो थियो । फेरि अर्कोपटक आक्रमण गरियो । मार रोक्ने हुँदा उसको हात काटियो । खुकुरीको पटक–पटकको चोट र वरिपरि हतियार भएका मान्छे भएपछि ऊ घरबाट उत्तरतर्फ भाग्यो । उसलाई खेद्दै पछाडिबाट आक्रमण गरियो । अलि मास्तिर पुगेर लड्यो । त्यहीँनेर उसको प्राण गयो ।’
पुस्तकमा ठूलो दुर्गा अधिकारी थप वयान गर्दै भन्छन्,‘खासमा ज्ञानबहादुर गोरु बेपारी रहेछन् । उनीसँगै सोही ठाउँमा अर्का एकजना गोरु बेपार गर्दारहेछन् । उनीहरुवीच अन्तरविरोध रहेछ । अर्का बेपारी हाम्रो समूहसँग नजिक रहेछन् । ज्ञानबहादुरलाई पाखा लगाउन पाए गोरुको बेपार एकलौटी बनाउने उद्देश्यबाट उनले गलत सूचना सम्प्रेषण गरेछन् । त्यसैले सफायाका लागि त्यस क्षेत्रभन्दा पर बुधबारेका हामीमार्फत् त्यो घटना घटाइएको रहेछ । त्यो बुझेपछि मलाई आत्मग्लानि भयो ।’
ठूलो दूर्गा अधिकारी थप्छन्,‘विद्रोह त कसैको पद प्रतिष्ठा र बेपारका लागि भुइँमान्छे प्रयोग भएर लडिने युद्ध त रहेछ ।’
बुटन चौधरी
शनिश्चरे सालबाडीको जंगल छेउमा बुटन चौधरीको घर थियो । उनका माहिला छोरा रामनारायण चौधरीले पुस्तकमा भनेका छन्, ‘खान पुग्दैनथ्यो परिवारलाई । बुवा काटिएको बेला गर्मी थियो । (०२९ बैशाख २६ गते) बेलुका आठ, साढे आठ बजेको थियो ।’
चौधरीले प्रश्न उठाएका छन्, ‘बुबा मारिएपछि थाहा भयो, उहाँको थाप्लोमा विभिन्न किसिमका ऋण रहेछन् । आम्दानीको स्रोत केही थिएन परिवारको । हामी नावालक थियौं । घरमा खानेकुरा केही थिएन । गरीबको उत्थान गर्न बनेको पार्टी भनेर हिँडेकाहरुले हामीलाई धुलो बनाएपछि कहिल्यै फर्किएर आएनन् ।…हामीले के बिराएका थियौं ? आज सोध्न मन लागेको छ ।’
पुस्तकमा हर्क खड्काको वयान छ,‘ बुटन चौधरीमाथिको एक्शन मेरै नेतृत्वमा भएको हो । बुटन ठूला सामन्त थिएनन् तर सामन्तसँग उनको उठबस निक्कै गहन थियो ।’
बिष्णुप्रसाद विमली र ईश्वरी चुडाल
झापा विद्रोहका बेला २०२९ साल असार २७ गते राति मारिएका ईश्वरी चुडालका फुपूका छोरा नारायण तिवारीको वयान छ, ‘२०२९ साल असार २७ गते गरामनीमा विष्णुप्रसाद विमली र ईश्वरी चुडाललाई मारेछन् । कृष्णप्रसाद संग्रौलासँग विष्णुप्रसाद विमलीको जग्गा विवाद रहेछ । अरु कसैसँग कुनै प्रकारको रिसईवी थिएन ।….त्यो पीडा सम्झँदा कम्युनिष्टको नाम पनि नलिउँ जस्तो लाग्छ ।…झापा काण्ड विद्रोह होइन, त्यो हत्या नै हो ।’
विष्णुप्रसाद र ईश्वरीको हत्याबारे पुस्तकमा हर्क खड्काले भनेका छन् ‘विष्णुप्रसाद विमलीमाथि एक्शन गर्ने भनेरै साथीहरु गएका थिए । तर, त्यसबेला विमलीका साइनोमा काका ससुरा गर्ने ईश्वरी चुडाल पनि सँगै रहेछन् । विमलीलाई काटेपछि साथीहरुबीच दुई लाइनको विवाद भएछ, चुडाललाई छाड्ने कि काट्ने भन्ने विषयमा । भर्खर पहाडबाट आएका । त्यही विवादवीच साथीहरुले हतियार चलाएछन् । ईश्वरी चुडालमाथि आक्रमण गर्नु नेतृत्वको कमजोरी थियो ।’
उद्रकान्त राजवंशी
विद्रोहीबाट मारिएका उद्रकान्त राजबंशी पनि गरामनीकै बासिन्दा थिए । उनको सफायाबारे पुस्तकमा हर्क खड्काले भनेका छन्,‘सूदखोरको आरोप थियो उनलाई । गौरा प्रसाईंलाई भाला लिएर मूल द्वार रुँघ्ने जिम्मा दिइएको थियो ।…उद्रकान्तको घरमा हामी बल्लबल्ल बँचेका थियौं । उनको घरमा दुईवटा बन्दूक थिए । हामी गएपछि उनका नाति दुईनाले बन्दूक लिएर बाहिर फालहाले । उद्रकान्तलाई काटेपछि मैले टिन ठटाएँ ।’
बुटनको हत्या पनि केपी ओली संगठनको प्रमुख जिम्मेवारीमै रहेका बेला भएको थियो । ओली झापा जिल्ला कमिटीको जिम्मेवारीमा ०२९ असोजदेखि फागुनसम्म रहेका थिए । त्यसबीचमा विद्रोहीका तर्फबाट ३ जनाको हत्या भएको थियो । ओली ०३० सालमा रौतहटमा पक्राऊ परे र १४ वर्ष जेल बसे ।
केपी ओलीको स्पष्टीकरण
कुमार भट्टराईद्वारा लिखित ‘२८ साल’ उपन्यासका पात्र केपी ओलीले पुस्तकमा भनेका छन्, ‘कतिपय उग्रवामपन्थी गल्ती गरे पनि त्यस घटनामा हिँड्नेहरुले एउटा इमानचाहिँ बचाएर राखे । पैसा लुटेनन् । गर गहना लुटेनन् । छोरीचेलीमाथि हातपात गरेनन् । नीतिभित्रै बसेर काम गरे । तर कमिटीको वर्गशत्रु खत्तम नीति चाहिँ पटक्कै थिएन । किनकि कमिटीको नेतृत्व मैले गरिरहेको थिएँ । तर, मैले त्यसो गर्न चाहिनँ ।’
ओली नामका पात्रको थप भनाइ छ, ‘राजनीतिमा हिंसा र हतियार सम्पूर्णरुपले निशेधित हुँदैन । अग्राह्य अस्वीकार्य भन्ने हुँदैन । राजनीतिमा जनता मार्न सत्तापक्षले हतियार प्रयोग गर्छ भने त्यसको प्रतिवादमा हतियार जायज हुन्छ । तर शान्तिपूर्ण अवस्थामा अनावश्यक हतियार प्रयोग जायज ठहर्दैन भन्ने हाम्रो त्यतिखेरको तर्क हो ।….त्यो मैले गरेको विषय थिएन । राधाकृष्ण मैनालीजीले जिल्ला छोडेरै हिँडेको भनेर सम्वोधन गरिसक्नुभएको छ ।…त्यस्तो अवस्थाको मान्छेले हत्याका लागि निर्देशन कसरी दिन सक्छ ?’
कुमार भट्टराईको उपन्यासमा केपी ओलीबारे राधाकृष्ण मैनालीले भनेका छन्, ‘झापा विद्रोहको नेतृत्व गरिरहेका बेला मलाई टीबी भयो । संगठनमा समय दिएर खट्न नसक्ने भएँ । मैले सचिवको पद छोड्छु भनें । सीपी मैनाली र हर्क खड्काले केपीलाई सचिव बनाउने प्रस्ताव गरे । केपी अलि गफाडी पनि छन्, कुरा पनि ठुल्ठुला गर्छन्, उनैलाई बनाऔं । सबैको सहमतिले दोस्रो सचिवका रुपमा केपी ओलीलाई जिम्मा दिइयो । पन्ध्र–पन्ध्र दिनमा मिटिङ बोलाउनुपर्ने थियो, तर उनी सचिव भएपछि तीन महिनासम्म मिटिङ बोलाएनन् । जिल्लै छाडेर हिँडेछन् । खोजी गर्दा कहीँ भेटिएन, त्यसपछि त्यहीसालको फागुनतिर सीपीलाई सचिव बनायौं ।’
पुस्तकमा ओलीले भनेका छन्, ‘त्यसबेला भारततर्फ पलायन हुनुभएका मोहनचन्द्र अधिकारीलाई खोज्नपट्टि लागें । पुष्पलालजीसँग भेट गर्न सकिनँ । दरभंगामा नारायणमान बिजुक्छेलाई भेटें । मोहचन्द्र अधिकारीलाई फर्काएर नेपाल ल्याएँ । माधव नेपालले मलाई रौतहट पु¥याउनुभएको थियो, मैले मोहनचन्द्रलाई पनि रौतहट पुर्याएँ, त्यहीक्रममा ०३० साल असोज २३ गते रौतहटमा म र मोहनचन्द्र गिरफ्तार भयौं ।’
पुस्तकका अर्का पात्र मोहनचन्द्रले भनेका छन्, ‘केपीजी गौरमा प्रधानपञ्चको घरमा बस्नुभएको रहेछ, मलाईचाहिँ माधवले एकजना भूमिहीन किसानकोमा राख्नुभएको थियो ।’
यसैवीच झापाका अर्का अध्येता निरोज कट्टेलले ‘२०२८ झापा विद्रोहको अन्तरकथा’ नामक अर्को पुस्तक लेखेका छन् । यो पुस्तक भने उपन्यास नभएर ‘नन फिक्सन’ हो ।
‘रिडर्स झापा’ मा आवद्ध कट्टेल इतिहास, राजनीति र समाजशास्त्रमा रुची राख्छन् । २९० पृष्ठको पुस्तकमा उनले झापा विद्रोहको राजनीतिक पक्षलाई केलाएका छन् ।
कट्टेलको पुस्तक ‘२०२८ झापा विद्रोहको अन्तरकथा’ मा ओलीले ०३० सालमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई दिएको वयानमा आफूले ढकाल हत्याकाण्डको विरोधमा प्रतिक्रिया दिएको र पार्टीले आफूलाई दक्षिणपन्थीको आरोप लगाएर हटाइएको व्यहोरा उल्लेख गरेका छन् ।
हेर्नुहोस् केपी ओलीको वयान–
विद्रोहीतर्फको क्षति र पन्चायतको दमन
पञ्चायती सरकारले झापा जेलबाट इलाम सार्ने बहानामा विद्रोही नेताहरु रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली ठोकेर सामुहिक हत्या गरेको थियो ।
त्यसैगरी, प्रहरीले गरामनीमा लखेटेर चन्द्र डाँगीको हत्या गरेको थियो । लुकेर बसेको अवस्थामा घेराउ गरी प्रहरीले बुधबारेमा रामप्रसाद श्रेष्ठको हत्या गरेको थियो । एकजना विद्रोही पुण्य शर्मा अहिलेसम्म बेपत्ता छन् ।
झापामा व्यक्तिहत्याको राजनीतिसँगै पञ्चायती सरकारले ठूलो दमन गरेको थियो । मंगलमणि सतारजस्ता कैयौं सर्वसाधारणले १७ वर्षसम्म जेल जीवन बिताउनुपरेको थियो ।
सोही विद्रोहको आडमा कैयौं व्यक्तिहरु राज्यको माथिल्लो ओहादामा पुगे पनि उनीहरुले घटनाको जिम्मेवारी नलिने र अरुलाई पन्छाउने गरेका छन् । तर, उनीहरुले आन्दोलनको ब्याज भने आफैंले खाने गरेको गुनासो ठूलो दूर्गा अधिकारी जस्ता विद्रोहीहरुले गर्दै आएका छन् ।
प्रतिक्रिया