बेलायतमा किन बढ्दैछ राजनीति छोड्नेहरूको लहर ? | Khabarhub Khabarhub

बेलायतमा किन बढ्दैछ राजनीति छोड्नेहरूको लहर ?


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा आमचुनावको घोषणासँगै प्रधानमन्त्री ऋषि सुनक नयाँ समस्यामा परेका छन् । उनले आगामी जुलाई ४ मा आम निर्वाचनको घोषणा गरेपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा धेरै सांसदहरुले चुनाव नलड्ने घोषणा गरिरहेका छन् ।

हालै टोरी पार्टीका पुराना नेता माइकल गोभ र आन्द्रे लिडसमले राजनीतिलाई अलबिदा गरेका छन् । योसँगै सुनकको पार्टीमा राजनीतिबाट सन्यास लिने सांसदको संख्या ७८ पुगेको छ ।

माइकल गोभ अघिका रक्षामन्त्री बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे, साजिद जाविद, डोमिनिक राब, म्याट ह्यान्कक, नदिम जाहावी जस्ता दिग्गजहरूले पनि अर्को आम निर्वाचनमा लड्न अस्वीकार गरेका छन् ।

२०१० को आम चुनाव पछि यति ठूलो सङ्ख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकार गरेको यो सबैभन्दा ठूलो संख्या हो ।

बेलायती संसदको हाउस अफ कमन्समा जम्मा ६५० सांसद छन् । हालसम्म कुल १२२ बेलायती सांसदले अर्को चुनाव लड्न अस्वीकार गरेका छन् ।

त्यसैले टोरी सांसदहरू मात्रै अर्को चुनाव लड्न इच्छुक छन् भन्न मिल्दैन । एलन ह्वाइटहेड र ह्यारिएट हरमन लगायत विपक्षी लेबर पार्टीका कुल २२ सांसदले पनि चुनाव लड्न अस्वीकार गरेका छन् ।

यसअघि सन् २०१९ मा यो संख्या ७४ थियो । सन् २०१७ को आमनिर्वाचन अघि ३१ सांसद मात्रै र २०१५ को निर्वाचनअघि ९० सांसदले चुनाव नलड्ने घोषणा गरेका थिए ।

बेलायती सांसदहरुको राजीनामाका धेरै कारण छन् । पहिलो ठूलो कारण भनेको देशमा कन्जरभेटिभ पार्टीको कमजोर अवस्था हो । धेरै टोरी सांसदहरू उनीहरूले अर्को चुनाव लडे भने हार्ने सोचेर अहिले नै चुनाव नलड्ने घोषणा गरिरहेका छन् ।

यसबाहेक धेरै सांसदको बढ्दो उमेर पनि एउटा महत्त्वपूर्ण कारण हो । बढ्दो उमेरका कारण धेरै सांसदले फेरि चुनाव नलड्ने निर्णय गरेका छन् । तर, कतिपय सांसद यस्ता छन् जसको उमेर ३० वर्षभन्दा कम छ तर फेरि चुनाव लड्न चाहँदैनन् ।

डायना एन्डरसन (३०), निकोला रिचर्ड्स (२९), माइरी ब्ल्याक (२९) कम उमेरका सांसदहरु हुन् जसले फेरी निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । कतिपय सांसद राजनीति छाडेर अरु पेसामा लागेका छन् भने कतिपय सांसदले तनावपूर्ण राजनीतिबाट टाढै रहन आगामी निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।

कन्जरभेटिभ सांसद स्टुअर्ट एन्डरसनले दैनिक रूपमा प्राप्त हुने हिंसात्मक धम्कीका कारण राजनीति छोडेको बताएका थिए । उनले सांसद हुनु राम्रो काम भए पनि यसमा धेरै तनाव बेहोर्नु पर्ने बताए ।

यसअघि सन् २०१० मा सबैभन्दा बढी १४९ सांसदले राजीनामा दिएका थिए । यति ठूलो सङ्ख्यामा बेलायती सांसदको राजीनामाको मुख्य कारण संसद खर्च घोटाला थियो । यस घोटालामा धेरै सांसदले आफ्नो भत्ता र खर्चको झुटो दाबी गरेको खुलासा भएको थियो ।

त्यसअघि सन् १९९७ मा ११७ सांसदले पदबाट राजीनामा दिएका थिए । जसमा सत्तारुढ लेबर पार्टीका सबैभन्दा बढी ७५ जना सांसदले पदबाट राजीनामा दिएका छन् । वास्तवमा उनीहरुले स्कटल्याण्डको संसदको चुनावमा भाग लिनका लागि यस्तो गरेका हुन् ।

यो कदम तत्कालीन टोनी ब्लेयरको लेबर सरकारले पारित गरेको विकेन्द्रीकरण कानून अन्तर्गत गरिएको थियो, जसले स्कटल्याण्डमा लेबर पार्टीको राजनीतिक उपस्थितिलाई बलियो बनाउने उद्देश्य राखेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : ५९ बजे

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छ : मुख्यमन्त्री आचार्य

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  नवप्रवर्तन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा

भक्तपुरमा मनाइँदै पञ्चदान पर्व (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीमा भक्तपुरका