बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे सानातिना अपडेट भइरहन्थ्यो । तर, पछिल्ला वर्षमा संक्रमण प्रवृत्ति विस्तारित छ । सन् २०१० र २०१९ अधिक मात्रामा मानिसहरू संक्रमित भए । ती वर्ष बाहेक डेङ्गी संक्रमणका मामिला प्रायः दशैँतिहारतिर फाट्टफुट्ट भेटिन्थ्यो ।
म त्यति अचम्मित त छैन । त्यसबारे हामीले अगाडि जुन तयारी गर्नुपर्थ्यो – त्यसो नगर्दा समस्या बढेको हो । नियन्त्रण गर्नुपर्छ भन्ने कुरा आउँथ्यो । अलि सुरुमै काम थालेको भए लामखुट्टेलाई समयमै नियन्त्रण गर्न सकिन्थ्यो । अहिले चाहिँ टोकाइबाट बच्नुपर्यो भन्ने स्थिति सिर्जना भयो ।
झण्डै ६ हजार सङ्क्रमित त अहिले काठमाडौँ उपत्यकामै फेला परेको भनिएको छ । यो पनि अस्पतालको सम्पर्कमा पुगेका बिरामीहरूको सङ्ख्या हो । त्यसको चारगुणा मानिसहरू त घरैमा सिटामोलको भरमा उपचाररत छन् । ४/५ जनाको परिवारमा एक जनालाई संक्रमण पुष्टि भएपछि अरूमा पनि त्यस्तै लक्षण देखियो भने ‘अस्पताल किन जाने ?’ भन्ने हुन्छ ।
मैले एक्लै भए पनि पहिलेदेखि नै महामारीजन्य समस्या निराकरण निम्ति आवाज उठाउँदै आएको छु । यसमा राज्य र नागरिक समाजको साझेदारी चाहिन्थ्यो । यसबारे अनेकौँ लेख लेखेँ । मिडियाहरूमा पनि बोलिरहेको छु । तर, दुबै पक्षको ध्यान पुगेको छैन ।
यसको लागि कुनै विज्ञ नै चाहिन्छ भन्ने छैन । कुनै पनि फिजिसियन डाक्टरले यसबारे जानकारी राख्छ । तर, सबैले रोकथामकै चरणमा काम गर्नुपर्छ । डाक्टरका हकमा उहाँहरूले उपचार नै गर्ने हो । तर, म चाहिँ यो विषयमा लामो समयदेखि गम्भीर रूपमा लागि परेकाले अलिक बढी चासो छ ।
सम्बन्धित निकायहरू पनि अब बर्खा सकियो भनेर बसेका होलान् । हामी पनि सङ्ख्या गनेर बस्ने अवस्थामा मात्रै छौँ । लागेपछि हेरौँला भन्ने अवस्थामै छौँ । डेङ्गी चाहिँ सिजनमा बढी देखिएला, तर बाह्रैमास फैलिन सक्छ ।
अहिले त अझै एउटा मात्र जिल्ला हुम्लामा छैन भन्ने सुन्नमा आएको छ । हाम्रो भौगोलिक अवस्था जुन छ – आवतजावत क्रममा एक ठाउँको मान्छे अर्को ठाउँमा पुग्ने भयो । यातायातका साधनमार्फत उच्च पहाडी वा हिमाली भेगसम्म पुग्न सक्छन् । लामखुट्टेले त्यस क्षेत्रलाई आफ्नो बासस्थान बनाई जीवनचक्र पूरा गर्न थाल्छ । यसरी सबै ठाउँमा सङ्क्रमण फैलिन्छ ।
जस्तो कि – कुनै मान्छे कामविशेषले मनाङबाट काठमाडौं आयो र सङ्क्रमित भयो, लक्षण देखिने बेला मनाङ पुग्यो भने त्यो रोग मनाङमा पत्ता लाग्छ । त्यसैले डेङ्गीबाट स्थानीयस्तर या जिल्ला नै प्रभावित हुने सवालमा त्यसलाई सार्ने लामखुट्टे त्यहाँ हुन आवश्यक छ ।
संक्रमित पुग्नु र त्यो ठाउँमा डेङ्गी फैलिनुलाई फरक दृष्ट्रिकोणले हेर्नुपर्छ । लामखुट्टेको हकमा सम्पूर्ण जिल्लामा सङ्क्रमण फैलिनु फरक अवस्था हो । त्यसैले ‘यो सबै जिल्लामा देखियो’ भन्न पाइयो, तर फैलियो नै भन्न अलि मिल्दैन । २०७६ मा डेङ्गी संक्रमण प्रकोपको रूपमा फैलिएको थियो ।
यो सिजनलभन्दा पनि बाह्रै महिना देखिन सक्ने भन्ने छ । तर, लामखुट्टेको सङ्ख्या बढ्यो भने चाहिँ आउटब्रेक हुनसक्ने सम्भावना सधैँ रहन्छ । त्यो अवस्था चाहिँ मनसुन सिजन वा त्यसपछि देखिन्छ, त्यसलाई फरक तरिकाले हेर्नुपर्छ ।
डेङ्गी फैलाउने एडीस जातको लामखुट्टे कालो रंगको हुन्छ । यसले रातिभन्दा बढी दिनमा सक्रिय भएर टोक्छ । हाम्रो ठूलो दुर्भाग्य नै यही हो । त्यसैले; अहिले टोकाइबाट कसरी बच्ने भन्नेमात्रै चिन्ता भयो । पहिले नै रोकथाम गर्नेतर्फ हामी लागिपरेनौँ ।
यो वर्ष पनि सुरुका महिनादेखि नै मैले लामखुट्टे नियन्त्रण गर्न सबै लाग्नुपर्यो भनिरहेँ । तर कसैले गम्भीरताका साथ लिएनन् । अहिले अस्पतालमा बिरामी आइरहने, कोही सघन उपचार कक्ष (आइसीयू) खोज्दै हिँडिरहने भइरहेको छ । अहिले पनि केही हुँदैन भनेर बस्ने हैन, अब लामखुट्टे मास्ने झोल र मल्हम प्रयोग गर्ने र घर वरपर पानी जम्मा हुन दिनु भएन ।
राति भए झुल लगाएर बस्न सकिएला, तर डेङ्गी सार्ने लामखुट्टे दिनमा सक्रिय हुन्छ । यसले कराउँदै आएर टोक्ने पनि हैन । तल खुट्टामा आएर टोक्छ । त्यसैले टोकाइबाट बच्नु नै अहिलेको महत्त्वपूर्ण काम हो ।
अहिले उपचारमा आइराखेका बिरामीहरूको परीक्षण अथवा रिजल्टहरू हेर्दा डेङ्गुका चार प्रकारका सेरोटाइप देखिएको छ । नेपालमा यो सन् २००६ सालमा नै देखिएको हो ।
डेङ्गी नियन्त्रण गर्न अलिकति कोभिड मोडल अपनाउनुपर्छ । त्यो के हो भने पहिला कोभिडमा अक्सिजनको मात्रा घट्यो भन्ने आइरहँदा धेरैलाई ‘घरैमा बस वा आइसलेसनमा बस’ भनेर भन्ने गर्थ्यौं । डेङ्गीका हकमा पनि त्यही खालको सल्लाह दिन्छु । सहनै नसक्नेहरू मात्रै अस्पतालमा आएका छन् । त्यसको चारगुणा मानिस घरैमा सिटामोल खाएर बसेका छन् ।
डेङ्गीको ‘वार्निङ साइन’ भन्ने हुन्छ । त्यो घरैमा बसेर थाहा पाउन सकिन्छ । जसमा तारन्तार वान्ता हुने, गिँजा रातो हुने, पेट दुख्ने, अति आलस्य हुने, कमजोर हुने र हिँड्दा बेहोस होला जस्तो भयो भने घरमा बस्नुहुँदैन, अस्पतालमा आइहाल्नुपर्छ ।
काठमाडाैंमा यतिखेर हैजाको प्रकोप पनि छ । केही दिनअघि हैजा फैलिएको भन्ने सुनिएको छ । नेपालमा यो हटेको नै त छैन, केही कम भने भएको होला । हामी लामखुट्टेको टोकाइबाट बच्नुपर्यो, सफा रहनुपर्यो ।
अब चाडबाड आइसक्यो । मान्छेहरू गाउँघर जाने प्रक्रिया बढ्छ । डेङ्गी एउटा मानिसले अर्को मानिसलाई छोएर सर्ने होइन । एउटा मानिस काठमाडौँमा सङ्क्रमित भयो, उ गाउँमा गयो, त्यो गाउँमा डेङ्गीको लामखुट्टेले जीवनचक्र सहज रूपमा गरिरहेको रहेछ भने, सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्यो भने त्यो ठाउँमा फैलन सक्छ ।
(डा. पुनसँग गरिएको कुराकानीमा आधारित ।)
प्रतिक्रिया