‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’

डीपीलाई ५ वर्षका लागि सभापति बनाएको होइन : मनिष झा



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भाइ समानुपातिक सांसदमध्ये मनिष झा एक हुन् । गत चुनावमा रास्वपाले १२ समानुपातिक र ८ प्रक्ष्यक्षतर्फ सांसद जितेको थियो । यीमध्ये मनिष झा प्रतिनिधिसभामा प्रखर रुपमा प्रस्तुत हुने सांसदभित्र पर्छन् ।

पार्टीभित्र पनि झा प्रभावशाली नेता मानिन्छन् । हाल उनी पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा छन् ।

पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीपछि पार्टीमा उत्पन्न संकट समाधानका लागि अहिले रास्वपाका नेताहरु के गरिरहेका छन् ? आगामी बैशाखमा हुने भनिएको महाधिवेशन रोकिन्छ कि तोकिएको समयमै हुन्छ ? गत चुनावमा ११ लाख भन्दा बढी जनताको विश्वास पाएको रास्वपाले अब ती मतदाताको भावनालाई कसरी समेट्छ ? अब पार्टीले जनतालाई कसरी सम्वोधन गर्छ ? यस्ता विविध प्रश्नहरु अहिले रास्वपाको आन्तरिक जीवनमा खडा भएका छन् ।

रास्वपामा देखिएको यही संकट र पार्टीको भावी योजनाबारे केन्द्रित रहेर खबरहबले रास्वपा सांसद झासँग छोटो कुराकानी गरेको छ ।

रास्वपा सभापति गत कात्तिक २ गतेबाट निरन्तर हिरासतमै हुनुहुन्छ ? पार्टी अगाडि बढाउन कत्तिको गाह्रो परिरहेको छ ?

गाह्रो छैन । हाम्रो बारेमा हामी भन्दा धेरै बाहिरका प्रियजनहरू चिन्तित हुनुहुन्छ । कसैले त चिन्ता बेगर पनि अनेक कुराहरू गरिरहनुभएको छ । लौ, के होला नि भनेर चिन्ता छ । वैकल्पिक एउटा राजनीतिक दल आयो । नयाँ पुस्ता आयो । तर, उनीहरू कतै अनिश्चिततातिर त गएका छैनन् भन्ने आम मानिसको सरोकार छ । यसलाई हामीले सकारात्मक लिएका छौँ । अरू पार्टी विशेषतः कांग्रेस र एमालेका धेरैजना खुच्चिङ भन्ने अवस्थामा हुनुहुन्छ । अरू त हाम्रा सुभेच्छुक हुनुहुन्छ ।

पार्टीको एकजनालाई अभियोग लागेको छ र निलम्बन भयो भन्दैमा अभियान नै रोकिन्छ वा अगाडि नै बढ्दैन भन्ने होइन । अरू पार्टीभन्दा रास्वपामा के फरक छ भने दोस्रो पुस्ता वा नेतृत्वको जिम्मेवारी लिएर अगाडि बढ्न सक्ने क्षमता, सम्भावना र स्वीकार्यता भएका नयाँ अनुहार छन् ।

सभापति रवि लामिछाने कहिल्यै फर्कनु नै हुन्न र उहाँको राजनीतिक यात्रा यहाँ नै टुङ्गियो भनेको पनि होइन । मुद्दा एउटा किनारा लागेपछि उहाँ जिम्मेवारीमा फर्कन सक्ने सम्भावना त छ नि । त्यो अवस्थासम्मका लागि सम्हाल्नका लागि कसरी अगाडि बढ्ने र के गर्ने भन्ने हाम्रो बैठक नै तय भइसकेको छ । अब कसरी अगाडि बढ्ने भनेर बैठक बोलाइएको छ ।

अदालतमा मुद्दा दर्ता भएपछि पनि चार–पाँचवटा जिल्ला भेला भइसकेका थिए । पछिल्लोपटक कञ्चनपुको भेला भएको छ । अभियान रोकिएको छैन । हामी नियमित प्रकियामा छौँ ।

यहाँहरूले डीपी अर्याललाई कार्यवाहक सभापति त तोक्नुभयो तर जनतामा भिजेको नेता भएन भनेर टिप्पणी आइराखेका छन् । पार्टी परिचालित हुन गाह्रो होला कि भन्ने चिन्ता छैन ?

हैन । कार्यवाहक उपसभापति डीपी अर्यालजीलाई जनताले चिन्नु– नचिन्नु अलग कुरा हो । उहाँ संस्थापक उपसभापति हो । पार्टीलाई राम्रोसँग बुझ्नु भएको छ । अहिले कांग्रेस–एमालेले चिन्ने नेता चाहियो कि कार्यकर्ताले चिन्ने नेता चाहियो ? यो प्रश्न छ । अहिले पार्टी सम्हाल्नका लागि हामीलाई चाहिने नेता बनाएको हो । उहाँले स्थापनाकालदेखि व्यक्ति, पार्टी, जनता सबैलाई नजिकबाट नियाल्नु भएको छ ।

सबै प्रश्नको जवाफ समयले दिन्छ । संगठन, पार्टीको भविष्य र अभियोगका बारेमा निष्कर्षमा पुग्नुपर्ने बेला भइसकेको छैन । केही समय पर्खनुपर्छ । किन हतार गर्ने ? केही समय भनेको केही वर्ष होइन । केही हप्ता, केही महिना, केही दिन हो  

अर्को उपसभापति डा. स्वर्णिम वाग्लेले पनि उहाँलाई समर्थन गर्नुभएको हो । फेरि, हामी त महाधिवेशनको सँघारमा छौँ । हामीले ५ वर्षका लागि नै उहाँलाई बनाएको होइन । हामी सबैले महाधिवेशनको तयारीका लागि जिल्ला भेलाहरू गरिरहेका छौँ । प्रकृया नियमितरूपमा अगाडि बढिरहेको छ । यस्तो बेलामा लामो समय तोकिएको हैन । तर, उहाँ फेरि महाधिवेशनबाट तोकिएर अथवा चुनिएर आउँनुहुन्छ भने त्यो त उहाँको क्षमता हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।

यहाँहरूले महाधिवेशन बैशाखमा गर्ने भन्नुभएको छ । सभापति कारागार नै चलान हुने अवस्था भए पनि यहाँहरूले महाधिवेशन गर्नुहुन्छ ?

दलको प्रकृया लगातार भइरहेको छ । जुन दिन उहाँको मुद्दा दर्ता भइरहेको थियो, त्यो दिन जिल्लाका तीन–चारवटा भेला थिए । त्यो कुराले नै हामी के गर्छौं भन्ने जवाफ दिइसकेको छ । रास्वपा आफ्नो नियमित प्रकृयाहरुमा अगाडि बढिरहेको छ र निरन्तर अगाडि बढ्छ भन्ने जवाफ त त्यही कुराले दिएको छ । शोकमग्न भएको छैन ।

र, अर्को कुरा हामीले न्याय पाउँछौँ भन्ने विश्वास छ । रास्वपाले आफ्नो राजनीतिक प्रकृया अगाडि बढाएर जान्छ । सभापति जहाँ भए पनि हामी पार्टी बलियो बनाएर जान्छौँ ।

यहाँहरूलाई अझ पनि लाग्छ, सभापति निर्दोष हुनुहुन्छ ?

लाग्छ । केही हदसम्म जानी–नजानी उहाँका गल्ती कमजोरी भए होलान् तर पूरै उहाँ दोषी भएको हैन । सहकारीको रकम मिडियामा लगानी गरेर जनता फसाउन खोजेको भने हैन । उहाँहरूलाई पनि फसाइयो होला कुनै ग्रुपबाट । जीबी राईलाई पनि त सरकारले समात्न सक्नुपर्थ्यो नि । यत्रो दुई तिहाइको सरकार, उनलाई नसमातेर सभापतिमाथि मात्र खनिने ? हामीलाई सभापतिमाथि पूरा विश्वास छ ।

अदालतले कस्तो किसिमको निर्णय गर्ला भन्ने कुराको आकलन राज्य, राजनीतिक दल वा सत्ता गठबन्धनले कुनै व्यक्तिप्रति राखेको अवधारणाका आधारमा आकलन गरिन्छ भने यो निष्पक्षता हैन । सत्तापक्षले प्रतिपक्षी र व्यक्तिहरुप्रति कस्तो व्यवहार गरेको छ भन्ने आधारमा अदालतबाट कस्तो निर्णय गरिन्छ र हामी कति निष्पक्ष अभ्यासमा छौँ भन्ने त्यही अदालतले जवाफ दिन्छ । न्यायालयले क्षमता, अभ्यास, विवेक हेरेर निर्णय देला भन्ने आश पनि छ हाम्रो ।

एमाले नेता तथा लेखा समिति सभापति ऋषिकेश पोख्रेलले सहकारीको रकम हिनामिना गरेर फरार श्रीमतीको बिदा थप्न पत्र लेख्नुभएको पढेको थिएँ । उहाँहरूमाथि चाहिँ अनुसन्धान हुनुपर्दैन ? कांग्रेस उपसभापति धनराज गुरुङ र उहाँको श्रीमती ज्योति गुरुङको केस कहाँ पुग्यो ? सत्तापक्षका नेताहरूमाथि चाहिँ जति आरोप, अभियोग भए पनि सत्य हुने अनि प्रतिपक्षी नेतामाथि चाहिँ प्रहार हुने ?  

यो पनि पढ्नुहोस् : 

रविबिना कसरी अघि बढ्ला रास्वपा ?

रास्वपाले सडक आन्दोलन छाड्नुका ६ कारण

रविको पक्षमा किन उठेन आन्दोलन ?

रास्वपाका ११ लाख ३० हजार मतदाताले रवि लामिछाने र रास्वपामाथि जुन विशवास गरेर मत दिएका थिए, विभिन्न काण्डले गर्दा जनताको यो विश्वास गुम्दै त गएको छैन ? कसरी मूल्याकन गर्नुभएको छ ?

अहिले यो कुरा बुझाउनका लागि हतार गरिहाल्नुपर्ने अवस्था छैन । अहिले नबुझाए दुर्घटना भइहाल्ने अवस्था पनि छैन । सामान्य प्रकृर्यामा रहेकाले केही समयसम्म कुर्न सकिन्छ जस्तो लाग्छ । अर्को कुरा, यो अरूले लगाइदिएको अभियोग हो । प्रमाणित हुन त बाँकी छ ।

तर, एउटा अभ्यास के भयो भने यहाँकै मिडियामा एमाले नेता तथा लेखा समिति सभापति ऋषिकेश पोख्रेलले सहकारीको रकम हिनामिना गरेर फरार श्रीमतीको बिदा थप्न पत्र लेख्नुभएको पढेको थिएँ । उहाँहरूमाथि चाहिँ अनुसन्धान हुनुपर्दैन ? कांग्रेस उपसभापति धनराज गुरुङ र उहाँको श्रीमती ज्योति गुरुङको केस कहाँ पुग्यो ? सत्तापक्षका नेताहरूमाथि चाहिँ जति आरोप, अभियोग भए पनि सत्य हुने अनि प्रतिपक्षी नेतामाथि चाहिँ प्रहार हुने ? यो त भएन ।

हाम्रो सभापतिले त अनुसन्धानलाई सघाउनुभएको छ । सत्ता पक्षमा किन देखिएन यो अभ्यास ? यो कुराले नै कति पक्ष छ र कति निष्पक्ष छ भनेर देखाउँछ ।

सार्वभौम समितिको सभापतिले पक्राउ पुर्जी जारी भएको मान्छेको बिदा माग्छ, अनि सरकार केही देख्दैन भने त यो सबै कुरामा प्रतिशोध र निष्पक्षता कति छ भनेर त आँखै अगाडि मान्छेले बुझ्न सकिहाल्छ नि ।

सभापतिलाई लागेको अभियोग हो । प्रमाण भए त हामी अदालतको निर्णय मान्छौँ भनेकै छ । अर्को कुरा, जुन किसिमले सुरुमा सहकारीको मुद्दा लगाइयो, त्यसपछि सम्पत्ति शुद्धीकरण, त्यसपछि संगठित अपराध भन्दै मुद्दा थप्दै लगियो । यो कुराले ‘मसँग डाडु पन्यु सबै छ भने म तँलाई जुनसुकै बेला सिद्ध्याउँछु’ भनेको जस्तो भयो ।

नेपाली कांग्रेसमा शेखर कोइरालाले हल्ला गर्छन् भने नगर है म मुद्दा लगाएर फसाउँछु भन्न पनि सक्छन् नि । एमालेमा पनि कसैले नेतृत्वविरुद्ध कुरा गर्‍यो भने उसलाई पनि ठोकेर भित्तामा पुर्‍याउने अभ्यास भयो । यो कुराले त कुनै एउटा कुरामा फसाएर गलत तरिकाले मुद्दा लगाउने गलत राजनीतिक अभ्यास भयो । यो आभासचाहिँ भएको छ ।

सभापतिज्यूले पनि पार्टी गतिशील हुनुपर्छ भनेर भनिरहनु भएको छ । सभापतिले पुराना पार्टीले सिध्याउन गरेको चाललाई बुझेर पार्टी नयाँ शिराबाट अगाडि बढ्नुपर्छ, म जहाँ भए पनि पार्टी गतिशील भएर जानुपर्छ भनेर भनिरहनुभएको छ  

उहाँहरूलाई व्यक्तिगत रूपमा र तत्कालीन रूपमा फाइदा होला तर यसले देश, राजनीति र समाजलाई चाहिँ फाइदा हुँदैन । अहिले सत्तापक्षले जुन तरिकाहरू अपनाएको छ, त्यो सबै ठिक हो भन्ने स्थिति छैन । खै त सम्पत्ति शुद्धीकरणमा उहाँको यति खातामा यति–यति पैसा छ भनेर लेखिएको छ नि, तर त्यो पैसाको स्रोत के हो भनेर सोधियो र ? के थाहा, उहाँको आर्थिक हैसियत नै त्यति थियो कि ? मैले कुनै साथीलाई मागेर राखें कि ? सोधेर पो लेख्ने हो त । मिडियाले पनि यस्तो प्राक्टिस गरिरहेको छ ।

यो सबै प्रश्नको जवाफ समयले दिन्छ । संगठन, पार्टीको भविष्य र अभियोगका बारेमा निष्कर्षमा पुग्नुपर्ने बेला भइसकेको छैन । केही समय पर्खनुपर्छ । किन हतार गर्ने ? केही समय भनेको केही वर्ष होइन । केही हप्ता, केही महिना, केही दिन हो । अहिले अदालतमा बयान नै सकिएको छैन । बहस र निर्णय बाँकी छ । जनताले पनि पर्खनुहुन्छ ।

तर, अनुसन्धान नै बाँकी रहँदा रविको सांसद पद निलम्बन भइसक्यो र संसदीय समितिबाट पनि हटाइसकियो…

यसले त हामीलाई सहयोग पुगेको छ भन्नुपर्छ अहिले । कसले के गर्‍यो, के भन्यो र कसरी निर्णय गर्‍यो भनेर सबैको चरित्र देखिएको छ । राजनीतिक दलले सबै प्रक्रिया नपुगेकै अवस्थामा उनीहरूले जुन निर्णय गरिरहेका छन्, यो निर्णयबाट उनीहरू के चाहन्छन् भन्ने स्पष्ट भएको छ र उनीहरू नै नाङ्गिइरहेका छन् ।

सांसद टेकनारायण गुरुङका बारेमा सर्वोच्चले कस्तो निर्णय गर्‍यो ? समितिले के गर्‍यो ? थमन विकको हत्या आरोपमा फरार महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी कोइरी निलम्बन हुँदैमा समितिबाट निकालेको थियो त ? समिति सभापतिहरूले पनि टेकबहादुर गुरुङ र कोइरीलाई ननिकाल्ने अनि रवि लामिछानेको चाहिँ रिट दर्ता हुँदैखेर निकाल्ने ? यसको जवाफ त दिनुपर्छ नि ।

रास्वपा स्थापना भएको दुई वर्ष नबित्दै काण्डै काण्ड आएर जनता सशंकित भएका छैनन् ?

यो परिस्थितिको उपज हो भनेर बुझ्नुपर्छ । अब अन्य मिटिङ र बैठकमा केही निर्णय गर्ला । अहिले रहेको कार्यवाहक हटाएर केही नयाँ जिम्मेवारी पनि दिइएला । संसदीय दलको नेताबाट हटेपछि एउटा बैठक पनि बस्न सकेको छैन । सभापतिको बयान नै बाँकी छ । उहाँको बयानका बेला हामीले हत्त न पत्त यो अर्को तोकिहाल्नुपर्ने अवस्था छैन । केही दिन समय लिन सकिन्छ ।

सभापतिज्यूले पनि पार्टी गतिशील हुनुपर्छ भनेर भनिरहनु भएको छ । सभापतिले पुराना पार्टीले सिध्याउन गरेको चाललाई बुझेर पार्टी नयाँ शिराबाट अगाडि बढ्नुपर्छ, म जहाँ भए पनि पार्टी गतिशील भएर जानुपर्छ भनेर भनिरहनुभएको छ । सभापति त अझ पार्टी विस्तार भएर जानुपर्छ भनेर चिन्तित हुनुहुन्छ नि ।

यो पनि पढ्नुहोस् : 

सहरमा छैन घण्टीप्रति चासो : रवि हिरासतमा हुँदा उम्मेदवार छान्नै नसक्ने अवस्थामा किन पुग्यो रास्वपा ?

अब रास्वपा ‘रिकभर’ हुँदैछ : विराजभक्त श्रेष्ठ

उसोभए यहाँहरू जनतालाई के भन्नुहुन्छ ?

यो अलि अप्ठ्यारो समय हो । यो नियमित हैन । पार्टीको घोषणा कार्यक्रममै पार्टीको संस्थापक सभापति रवि लामिछानेले काठमाडौंमा ०७९ साल असार ७ गते भन्नुभएको थियो, हामीले अरूको हिलो सफा गर्दै गर्दा त्यो हिलो हामीमा पनि छ्यापिन सक्छ र यहाँहरू कन्फ्युज्ड हुन सक्नुहुन्छ ।

अहिले उनीहरूको हिलो सफा गर्दै गर्दा हामीमा हिलो छ्यापिएको छ । उनीहरूको हिलो सफा गर्दा हामीमा हिलो लागेको हो । त्यसकारण यो निष्कर्षमा नपुग्नुहोस्, हामी अप्ठ्यारोमा छौँ । तर, यसको समाधान हुन्छ ।

अकवरले वीरबललाई सोधेछ– मलाई यस्तो कुरा भन, जुन कुराले नआतिउँ, नमात्तिउँ । वीरबलले भन्यो– जुनसुकै परिस्थितिमा तिमी यो सोच्नु कि यो समय बितेर जाने छ ।

यसरी नै यो समय बितेर जाने छ । अहिले हामी आत्तिएका छैनौं । यो समय यत्तिकै रोकिँदैन । यो त अगाडि बढ्छ । परिस्थिति परिवर्तन हुन्छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०९ बजे

पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव

कास्की – पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु

भारतसँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन

काठमाडौं – भारतसँग मिलेर अघि बढ्न तयार रहेको चीनले जनाएको

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने

काठमाडौं – तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

सुनसरी – जिल्लास्थित बराहक्षेत्र नगरपालिका–१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका