भाइरल भएर मात्र राजनीतिमा टिक्न सकिँदैन : जयन्ती | Khabarhub Khabarhub

भाइरल भएर मात्र राजनीतिमा टिक्न सकिँदैन : जयन्ती

‘लो प्रोफाइल’की जयन्ती : जसले सजिलै हराइन् रामकुमारीलाई


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राजनीति लामो रेसको दौड जस्तै हो । क्षणिक हल्ला र भाइरल भएर मात्रै राजनीतिमा टिक्न सकिँदैन । पार्टी कमान्डको निर्देशन, सिद्धान्त र अनुशासनमा चल्न सक्नु एउटा राजनीतिक कार्यकर्ताको परिचय हो’, एकीकृत समाजवादीको महिला उपाध्यक्षमा विजयी भएपछि जयन्ती राईले दिएको प्रतिक्रिया हो यो ।

जयन्ती राई यस्ती पात्र हुन्, जसले अहिलेसम्म कुनै निर्वाचन हारेको रेकर्ड छैन । करिब चार दशकदेखि राजनीतिमा सक्रिय उनी समाजवादीको शीर्ष नेतृत्वमा पुगेकामध्ये कुनै पनि विवादमा नपरेकी एकजना नेतृ हुन् । वि.सं. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा होमिएकी उनलाई ‘लो प्रोफाइल’मा रहेर काम गर्ने नेतृका रुपमा चिनिन्छ ।

पूर्वी पहाडी जिल्ला भोजपुरबाट पञ्चायतकालमै राजनीतिक संघर्ष अघि बढाएकी जयन्ती राई मंगलबार भएको एकीकृत समाजवादीका १७ पदाधिकारीको निर्वाचनमा महिला उपाध्यक्षतर्फ अर्की चर्चित नेतृ रामकुमारी झाँक्रीलाई हराउँदै उपाध्यक्ष बन्न सफल भएकी छन् ।

जयन्ती न त सामाजिक सञ्जालमा हल्ला गर्छिन् न त सञ्चार माध्यममै उनको बाक्लो चर्चा सुनिन्छ । उनीसँग उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री भने सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा पनि छाइरहने नेतृ हुन् ।

२०७८ साउनमा माधवकुमार नेपालले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी बनाउँदा झाँक्रीसँगै राई पनि साथमै थिइन् । एमालेमा लामो समयदेखि माधवकुमार नेपाल समूहकै सदस्यका रुपमा रहेकी जयन्ती राई एमालेमै हुँदा पनि उच्च नेतृत्वमा पुगिसकेकी थिइन् ।

बुटवलमा २०६५ फागुन ५ गतेदेखि १४ गतेसम्म भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट राई लोकप्रिय मतसहित केन्द्रीय सदस्य भएकी थिइन् । जुनबेला केपी शर्मा ओलीलाई हराउँदै झलनाथ खनाल एमाले अध्यक्ष भएका थिए ।

पहिलो पटक प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा चुनावी प्रतिस्पर्धा हुँदा एमाले केन्द्रीय सदस्य भएकी उनले त्यसपछि राजनीतिक उचाइ लिइरहिन् ।

२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नवौँ महाधिवेशनमा पनि जयन्तीले माधवकुमार नेपालको प्यानलबाट केन्द्रीय सदस्यमा जित निकालिन् । उक्त महाधिवेशनमा नेपाललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भए ।

जयन्ती राई र रामकुमारी झाँक्री।

जिविसदेखि संसद्‍सम्म

एमालेको राजनीतिमा रहँदै जयन्ती २०५४ सालमा जिल्ला विकास समिति भोजपुरकी उपसभापति भएकी थिइन् । जुनबेला एमालेकै शान्तकुमार प्रधान जिविस भोजपुरका सभापति भएका थिए ।

२०४७ सालदेखि एमालेको राजनीतिमा सक्रि उनी युवा उमेरमै जिविस उपसभापति भइन् । जुनबेला उनले भोजपुरको विकासको गतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलिन् ।

२०५४ मै जिविस उपसभापति भएकी उनले संसद्‍को यात्रा तय गर्न भने २०६२/०६३ को जनआन्दोलन कुर्नुपर्‍यो । जनआन्दोलनपछि पुन:स्थापित प्रतिनिधिसभामा उनलाई एमालेले मनोनीत गरेको थियो । त्यसपछि उनी २०७० सालमा संविधानसभाको सदस्यसमेत भइन् । दुई पटक संसद्‍को यात्रा तय गरे पनि उनले मन्त्री हुने अवसर भने पाइनन् ।

महिला आन्दोलनकी अगुवा

संसदीय राजनीतिसँगै उनले कम्युनिष्ट पार्टीमा महिला आन्दोलनको नेतृत्व गरिन् । एमालेमा रहँदा उनी अखिल नेपाल महिला संघको उपाध्यक्ष समेत भइन् ।

एमालेमा रहेर महिला आन्दोलनलाई अघि बढाएकी जयन्तीले माधव नेपालले खोलेको एकीकृत समाजवादीमा हुँदा पनि त्यसलाई निरन्तरता दिइन् । उनी एकीकृत समाजवादीनिकट अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय अध्यक्ष बनेर काम गरिसकेकी छन् ।

संसद्‍मा कमब्याक

एमालेमा ओलीसँग दुई लाइन संघर्ष चर्किँदा २०७८ असार २७ गते भएको १० बुँदे सहमति पक्षधरहरूसँगै रहेकी उनी पार्टी विभाजनपछि समाजवादीतिर लागिन् ।

समाजवादीमा पनि उनी संस्थापक उपाध्यक्ष भएकी थिइन् । मंगलबार भएको पदाधिकारी निर्वाचनबाट उनले उनी पुन: अध्यक्षमा दोहोरिँदा रामकुमारी झाँक्रीले भने अर्को राजनीतिक धक्का ब्यहोर्नुपरेको छ ।

एमालेबाट समाजवादीमा लागेपछि उनले संसद्‍मा कमब्याक गरिन् । यसअघि नै प्रतिनिधिसभामा पुगिसकेकी उनले २०७८ माघ १२ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जित निकालिन् ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी उपाध्यक्ष जयन्ती अहिले राष्ट्रियसभामा संसदीय दलको नेतासमेत छिन् ।

राष्ट्रियसभामा प्रवेशसँगै उनी संसदीय राजनीतिमा फर्किइन् । राई अहिले राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति सभापतिसमेत छिन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका, नागीकी स्थायी बासिन्दा उनी उपाध्यक्षमा पराजित रामकुमारीसँग आफ्नो कुनै वैमनश्य नरहेको बताउँछिन् ।

कसरी हराइन् रामुकमारीलाई ?

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छाइरहेकी रामकुमारीलाई हराउँदै उपाध्यक्षमा जित निकालेपछि जयन्तीले कुनै पनि दल एकजना व्यक्तिले मात्रै नचल्ने भएकाले सामूहिकतामा विश्वास हुनुपर्ने बताउँछिन् ।

‘राजनीतिमा इमान चाहिन्छ, त्यससँगै धैयर्ता पनि ठूलो कुरा हो । हल्लाखल्ला गरेर एक्लै कुद्दा कहीँ पुगिन्न, दलमा रहेपछि नेतृत्वतलाई स्वीकारेर अघि बढ्नुको विकल्प हुँदैन’, उनी भन्छिन्, ‘मैले नेतृत्वप्रतिको निष्ठालाई दायाँबायाँ हुन दिइनँ । पार्टीमा रहेपछि नेतृत्वलाई स्वीकारेर अघि बढ्ने हो । यदि त्यसो गर्न नसके विकल्पहरू छन् । मेरो निरन्तरको निष्ठालाई मतदाताले मूल्यांकन गरिदिनु भयो, खुसी छु ।’

स्रोतका अनुसार बितेका एक वर्षदेखि रामकुमारी र जयन्तीबीच सौहार्द वातावरण थिएन । रामकुमारीले नियतवश आफूलाई प्रहार गरिरहेको महसुस जयन्तीले गरिरहेकी थिइन् । मंगलबारको चुनावमा त्यसलाई पुष्टि गर्ने गरी रामकुमारीले जयन्तीसँग भिड्न उपाध्यक्ष पदमा उम्मेदवारी दिइन् ।

तर, सधैँ चर्चा बाहिर रहने जयन्तीले जित निकाल्न नसक्ने धेरैको आकलन थियो । युवा नेताहरूको साथ पाएकी रामकुमारीले सजिलै जित्ने अपेक्षाविपरीत नतिजा जयन्तीको पक्षमा गयो । त्यो पनि फराकिलो मतान्तरसहित ।

जयन्तीले १८९ मत पाउँदा रामकुमारीले ११२ मत मात्रै ल्याइन् । रामकुमारीसँगको भिडन्तमा जयन्तीले अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहका समर्थकको पनि मत पाइन् ।

आफूलाई योजनावद्ध रुपमा रामकुमारीले प्रहार गरिरहेको महसुस गरेपछि जयन्तीले कुनै हालतमा उपाध्यक्षको चुनावबाट पछि नहट्ने बताएकी थिइन् । समाजवादीभित्रै पनि रामकुमारीको पक्षमा यस पटक माहोल बन्न सकेन । अनौठो चाहिँ के छ भने जयन्तीले आजसम्म भिडेका कुनै पनि चुनाव हारेकी छैनन् । दलदेखि संसद्‍सम्मका चुनावमा उनले जित निकाल्दै आएकी छन् ।

अध्यक्ष नेपालसँगको बिग्रँदो सम्बन्ध र झलनाथ खनालसँग पनि समस्या हुनु रामकुमारीका लागि भारी पर्‍यो । यसअघि रामकुमारीले सामाजिक सञ्जालमै झलनाथबारे तिखो टिप्पणी गरेकी थिइन् । त्यसपछि खनालले रामकुमारीलाई आफूले नेता बनाउन नसकेको गुनासो गरेका थिए ।

यो पनि-
एकीकृत समाजवादीमा झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ४६ बजे

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका

नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले