समाचार

घुम्न आएका भारतीयलाई कीर्तिपुर लगेर लुटपाट, समातिए काभ्रेका दुई युवा

By खबरहब

August 28, 2024

काठमाडौं- एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजना युवालाई पक्राउ गरेकोछ ।

नेपाल घुम्न आएका भारतीय नागरिक सुधीर मुहरालाई गत भदौ ४ गते दिउँसो ठमेलबाट कीर्तिपुर लगेर लुटपाट गरेको अभयवऊमा काभ्रेको धुलिखेल नगरपालिका-१० निवासी ३४ वर्षीय विकास बस्नेत र काभ्रेकै नमोबुद्ध नगरपालिका-११ घर भई डल्लु बस्ने ३९ वर्षीय सञ्जीव मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल ढुङ्गेअड्डा बस्ने विकाससहितले ती भारतीय नागरिकलाई कीर्तिपुरको ट्याङ्गलाफाँट घुम्न जाने भनेर ट्याक्सीमा राखेका थिए । त्यसपछि उनलाई कीर्तिपुरस्थित कोठामा पुर्‍याई ती भारतीयको भएको साथमा रहेको नगद र ल्याप्टपसहितका सामान लुटिएको थियो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुको टोलीले दुवैजनालाई मंगलबार कीर्तिपुरबाट पक्राउ गरिएको प्रवक्ता एवम् एसपी काजीकुमार आचार्यले बताए । उनीहरू दुवैलाई थप कारबाहीका लागि कीर्तिपुर बृत्त पठाइएको छ ।