प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की « Khabarhub

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की



काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर शान्त तलाउमा तरंग ल्याउने काम गर्छन । कुनै समय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘भूमिगत गिरोह’को बाक्लै त्रास देखाए । त्यसको रहस्य नखोली उनी यस लोकबाट विदा भए ।

उनैको पदचाप पछ्याएको दाबी गर्ने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले पटक पटक ‘उथलपुथल’को धम्कीपूर्ण वाणी उद्घोष गर्न थालेका छन्  ।

जनताको सहानुभूति बटुल्न नेपाली व्याकरणका सबै रस उपयोग गर्न माहिर दाहालको पछिल्लो शैली काम गर्न नसकेको छट्पटी रहेको कतिपयको बुझाइ छ ।

उनले भनेको उथलपुथलको अर्थ नेपाली शब्दकोषका अनुसार उटलपुटल, हेरफेर, अदलबदल, ठूलो परिवर्तन, ठुलो हलचल तथा चर्को आन्दोलन भन्ने लाग्छ ।

प्रचण्ड सरकारको आयु कति ? २२ सिटमा शर्त, २१ सिट अस्थिर

पटक-पटक आफ्ना भाषण र भनाइमा प्रधानमन्त्रीले प्रयोग गरेको यो शब्दले राजनीतिमा कुनै ठूलै हलचल र आन्दोलन ल्याउँछ कि भन्ने शंका पनि धेरैको दिमागमा छ । तर प्रचण्डको व्यवहार तथा बोलीको कुनै ठूलो क्रान्ति तथा परिवर्तन नभएर प्रचण्डले गठबन्धनमा रहेका अन्य दललाई साईजमा राख्न यो शब्द चयन भएको राजनीतिक विश्लेषक सुरेन्द्र लाभको भनाइ छ ।

लाभले खबरहबलाई भने, ‘मैले पनि प्रधानमन्त्रीले उथलपुथल शब्द उच्चारण भएको सुनेको छु । तर उहाँको बानी व्यवहार जनताले देखिसकेका छन् । उहाँको स्वभाव राजनीतिक दलले बुझेका छन् । तेस्रो पटक गठबन्धन सरकार परिवर्तनपछि उच्चारण गरेको उथलपुथल शब्दलाई घुक्र्याइ र धम्काइ मान्न सकिन्छ । तर को डराउने र डराउने व्यक्ति कोही देखिएन ।’

क्षयीकरण पथमा प्रचण्ड, अघिल्ला कार्यकाल भन्दा कम मत!

तर माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद माधव सापकोटा भने प्रचण्ड डाइनामिक पाराको भएकाले कहिलेकाहीँ आवेगमा आएर यस्तो शब्द बोलेको बताउँछन् ।

उनले भने, ‘उहाँले भन्न खोज्नुभएको उथलपुथलको अर्थ राजनीतिमा सकारात्मक परिवर्तन तथा जनपक्षीय काम गर्ने हिसाबले हेर्न सकिन्छ ।’
सापकोटाको भनाइलाई विश्लेषण गर्ने हो भने प्रधानमन्त्रीले फागुन २१ गते सहिद प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ‘म हुन्जेल राजनीतिमा उथलपुथल गरिरहने बताएका थिए ।’

त्यसदिन कांग्रेससँगको गठबन्धन फुटेर एमाले र रास्वपासँगको गठबन्धन सरकार बनेको थियो । यस्तै, चैत १५ गते बिहीबार पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकमा बोल्दै नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरे ।

उनले भनेका थिए, ‘अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको छु । नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरि पनि उथलपुथल गर्न बेर लाग्दैन ।’

तर यसो भनेको ठीक केही घण्टा अगाडि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । फागुन २१ गतेपछि पहिलो पटक औपचारिक रूपमा देउवा र प्रचण्डको भेट भएको थियो ।

विश्लेषक लाभका अनुसार ‘कुनै ठूलो राजनीतिक परिवर्तन र क्रान्ति गर्नेबारे प्रचण्डको चिन्ता नभएर गठबन्धन फेर्न चिन्ता मात्र थपिएको बताउँछन् । उनले भने, ‘देशको चिन्ता छैन । चिन्ता त कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर गठबन्धन बनाउने हो । यस कारण मैले भनेको मानेन भने गठबन्धन परिवर्तन गर्छु है भनेर प्रधानमन्त्रीले घुर्क्याएको हो ।’

उसो त प्रचण्डको सत्ता मोह प्रवृत्तिबारे पनि नेपाली जनता अनजान भने छैनन् । २०६४ सालबाट यता निरन्तर माओवादी सरकारको नेतृत्वमा रहनु तर निर्वाचनका बेला भने पार्टी क्षयीकरण हुँदै खुम्चिएर जानुले पनि प्रचण्डको शक्ति र सत्ता मोह प्रवृत्तिलाई जनताले राम्रोसँग हिसाब किताब राखेको भने सोझै आंकलन गर्न सकिन्छ ।

किन सहन्छन् प्रचण्डलाई कांग्रेस-एमाले
पछिल्लो समय कांग्रेस एमाले मिल्नुपर्छ भन्ने तीव्र जनदबाब छ । हुन त प्रचण्डले फागुन ३० मा विश्वासको मत लिएको दिन रोस्टमबाट नै कांग्रेस एमाले मिलेर देखाउन चुनौती दिएका थिए । त्यो चुनौतीलाई दुई ठूला दलले भने कार्यान्वयन गर्न सकेका छैनन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखक, नेता शेखर कोइराला खुलेरै कांग्रेस एमालेको गठबन्धन बनेर ०८४ सम्म स्थायी सरकार बन्नुपर्ने बताइरहेका छन् ।

३२ सिटे माओवादीको सत्तामा रजगज, काँध हाल्न कांग्रेस–एमालेको होड

यस्तै नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डे पनि कांग्रेस एमाले मिल्नुपर्ने पक्षमा देखिएका थिए । यता एमालेका नेता पनि कांग्रेस एमाले मिल्नुपर्ने पक्षमा थिए । एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराई, लगायत अन्य शीर्ष नेता पनि कांग्रेस एमाले मिल्नुपर्ने पक्षमा थिए । तर माओवादीसँगको सत्ता गठबन्धन बनेपछि उनीहरू मौन छन् ।

यसबारे एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘पाँच दलको सरकार ०८४ सम्म नै जान्छ । हामीले धेरै सोच विचार गरेर गठबन्धन सरकार बनाएका हौँ ।’

प्रचण्डको चक्रब्यूहमा एमाले सफल, कांग्रेसलाई धोका

पछिल्लो समय नयाँ शक्तिको रूपमा उदाएको रास्वपा पनि कम्युनिस्ट सरकारमा सामेल भएको छ । रास्वपाले आफू सरकारमा काम गर्न अनुकूल मिल्दासम्म मात्र सरकारमा रहने बताइरहेको छ । रास्वपा प्रवक्ता मुकुल ढकालले भने, ‘हामी कसैको पक्षमा छैनौं । काम गर्न सकुन्जेल सरकारमा बस्छौँ । नमिलेको दिन बिदा हुन्छौँ ।’

यसरी हेर्दा यो सरकारको आयुबारे प्रचण्ड र सहयात्री दल पनि ढुक्क नभएको स्पष्ट छ । तर कांग्रेस एमालेको सहकार्यमा केही सैद्धान्तिक र नीतिगत समस्या भएकाले ३२ सिटको माओवादीको रजगज कांग्रेस एमालेले सहिरहेका छन् ।

एमालेका एक शीर्ष नेताले भने, ‘प्रचण्डले यो पटक चलाखी गर्न खोजे आफैँ भुमरीमा फस्छन् ।’ उनी कांग्रेस– एमाले सहकार्यको सम्भावना रहेको बत्ताउँछन् । यता कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि प्रचण्डको शैलीप्रति सबै दल जानकार भएको बताउँछन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : ३५ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा