काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले हिजो शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई), २०८० को नतिजा सार्वजनिक गर्यो । परीक्षामा कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएकामा २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (नन् ग्रेडेड- एनजी) भए ।
यस वर्षको एसईई नतिजा उत्साहजनक होइन । करिब ४७ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भए । झण्डै एक दशकसम्म उत्तीर्णदर सन्तोषजनक रहेकोमा यस पटकको नतिजाले दशकअघि अर्थात् वि.सं. २०७१ सालको नतिजा सम्झाइदिएको छ । सो वर्ष करिब ४७ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।
विद्यालयमा १० वर्षसम्म अध्ययन गरेर परीक्षामा सहभागी हुँदा आधाभन्दा बढी विद्यार्थी ‘फेल’ हुनु शिक्षा प्रणाली असफल भएको शिक्षा विद्हरूको तर्क छ । अर्कोतिर प्रविधिको विकास/विस्तारसँगै विद्यार्थीमा बढ्दो सामाजिक सञ्जाल प्रयोगले नतिजा राम्रो नआएको भन्ने तर्क पनि धेरैको छ ।
एसईईको नतिजालाई लिएर यी विभिन्न तर्कहरू गर्दै गर्दा सफलता प्राप्त गर्न नसकेका बालबालिकाको मनोविज्ञानमा कस्तो असर परिरहेको छ ? भन्ने तर्फ भने कसैको ध्यान गएको पाइँदैन ।
पढाइ नै सबै थोक हो भन्ने भावना रहेको हाम्रो समाजमा सफलता प्राप्त गरेका विद्यार्थीका आफन्तहरूले सामाजिक सञ्जालमा मेरो बच्चाले यति जीपीए ल्यायो भन्दै चाहिने भन्दा बढी महत्त्व दिने गरिरहेका छन् । गाउँ समाजमा ‘फलानोको बच्चाको ए प्लस आयो, फलानोको यस्तो आयो’ भन्दै चर्चा परिचर्चा हुँदा अभिभावकले गर्ने व्यवहारले परीक्षामा अपेक्षित नतिजा ल्याउन नसकेका वा उत्तीर्ण नभएका विद्यार्थीमा ठूलो असर पर्छ ।
एसईईमा असफलतापछि विद्यार्थीको मनोविज्ञान
हाम्रो समाजमा पहिलेदेखि नै एसएलसीलाई फलामे ढोका मान्ने जुन सोचाइ रहेको थियो, त्यो अहिले एसईईमा पनि परिवर्तन हुन सकको छैन ।
पास भएका विद्यार्थीहरूलाई अभिभावक, आफन्त र शिक्षकहरूले सामाजिक सञ्जालमा फोटो राख्दै बधाई दिने क्रम जारी छ । यसले असफल भएका विद्यार्थीहरूमा झन् निराशा पैदा गर्ने गर्दछ; जसको परिणाम विगतका वर्षहरूमा कतिपय विद्यार्थीहरूले तनावमा गएर आत्महत्या समेत गरेका घटनाहरू छन् ।
यस्तो घटना घट्नुमा परिवार, समाज र विद्यालय जिम्मेवार हुन्छ । कुनै अप्रिय घटना हुन नदिन सबैले सहयोगी भूमिका खेल्नुपर्छ । स्कुले जीवन सुरु भएदेखि नै विद्यालयमा या घरमा ‘एसईईमा राम्रो अङ्क ल्याएर पास हुनुपर्छ, यति जीपीए ल्याउनुपर्छ’ लगायत विभिन्न खालका धारणा उनीहरूको मनमा हालिदिएका कारण अनुत्तीर्ण हुँदा त्यसले विद्यार्थीहरूमा ठूलो निराशा उत्पन्न गराउँछ ।
जब विद्यार्थीहरू परीक्षामा फेल हुन्छन्- तब उनीहरू निराश हुने, साथीसमूह, छिमेकी र आफन्तहरूबीच आफूलाई कमजोर अनुभव गर्ने, यस्तै तनावका कारण कति विद्यार्थीहरू डिप्रेसनमा जाने गर्दछन् ।
अभिभावकको भूमिका
आफूले १० वर्षसम्म गरेको मेहनतमा असफल हुँदा ‘मैले सफलता प्राप्त गर्न सकिनँ,अब मलाई घर परिवार समाजले के भन्छ ?’ भन्ने सोचाइले बाबुनानीहरूमा विभिन्न खालका मनोवैज्ञानिक असरहरू पर्छ । यस्तो बेला उनीहरूमा तनाव र हीन मनोभाव कम गर्ने ठूलो भूमिका परिवारकै हुन्छ ।
कतिपय अभिभावक अथवा आमाबुवाले ‘तिमी फेल भयौ, अब खतम भयो, मलाई लाजै भयो’ जस्ता अभिव्यक्ति दिएर संसार नै ध्वस्त भएको जस्तो व्यवहार देखाउने गर्दछन् । जसले गर्दा विद्यार्थीहरूमा थप पीडा हुन्छ ।
आफ्ना बालबालिकाको पढाइ कस्तो छ ? परीक्षाको समयमा कसरी लेखेको छ ? उसलाई अतिरिक्त कक्षाको आवश्यकता छ कि ! केही समस्या छ कि ! भन्ने कुरामा अभिभावकले पहिले नै परामर्श गर्न जरुरी छ । पहिले वास्ता नगर्ने, फेल भएपछि मानसिक तनाव दिने प्रवृत्तिले ठूलो समस्या निम्त्याउँछ ।
त्यसैले; आफ्ना बाबूनानी परीक्षामा असफल भए ‘केही छैन, राम्रो भएन भने अर्को वर्ष राम्रो गर्नू’ भन्दै हौसला दिएर अघि बढाउनुपर्छ । पढाइ मात्रै सबैथोक होइन र परीक्षामा फेल हुनु भनेको जिन्दगी नै सकिनु होइन, आगामी वर्ष मेहनत गरेर पढे अझ राम्रो अङ्क ल्याएर पास गर्न सकिन्छ भन्ने भावना उनीहरूमा जाग्रित गराउन सक्यौँ भने मात्रै विद्यार्थीहरूमा पर्ने मनोवैज्ञानिक असरहरूलाई कम गर्न सकिन्छ ।
अभिभावकले गर्नुपर्ने काम
– सबैभन्दा पहिले बालबालिकालाई सकारात्मक कुराहरू सिकाउने ।
– आफ्नो बच्चाले कम अङ्क ल्यायो भन्दैमा नरिसाउने ।
– आगामी परीक्षा राम्रो अङ्क ल्याउन सहयोगी भूमिका खेल्ने ।
– बालबालिकालाई धेरै नम्बर ल्याउनैपर्छ भनी दबाब नदिने ।
– अभिभावकहरूले नतिजा सकेसम्म सामाजिक सञ्जालमा नराख्ने ।
विद्यार्थीले बुझ्नुपर्ने कुरा
– परीक्षा नै सबै कुरा होइन । एउटा परीक्षामा फेल हुँदैमा सबै कुरा सकिँदैन ।
– पढाइमा मात्रै नभएर जीवनका हरेक मोडहरूमा हामीले विभिन्न किसिमका परीक्षाहरू दिनुपर्छ । कुनैमा पास भइन्छ त कुनैमा फेल ! त्यसैले फेल हुनुलाई सिकाइको रूपमा लिएर अघि बढ्न सक्नुपर्छ ।
विद्यालय र शिक्षकको भूमिका
विद्यार्थीको फेल हुने संख्या बढ्नु र उनीहरूको मनोविज्ञान कमजोर हुनुमा विद्यालय र शिक्षकको भूमिका पनि त्यत्तिकै रहन्छ ।
विद्यालयमा विभिन्न समूहहरू बनाइन्छ । ती समूहहरूमा जेहेन्दार तथा कमजोर विद्यार्थीहरू मिलाएर राख्नुपर्नेमा त्यसो गरिँदैन । जसले गर्दा जेहेन्दार विद्यार्थी झन् राम्रो र कमजोर विद्यार्थी झन् कमजोर बन्दै जान्छ र त्यसको असर एसईईमा देखिन्छ ।
हामीले हाम्रो शिक्षा पद्धतिमा खुला रूपले सिकाउन सक्नुपर्थ्यो । जस्तै ७ कक्षा पढेको विद्यार्थीले पनि प्लम्बिङ, इलेक्ट्रसिटी, घर निर्माणसम्बन्धी काम लगायत धेरै प्राविधिक कुराहरू गर्न सक्छन् ।
शिक्षक तथा अभिभावकहरूले सबै थोक पढाइ नै हो, पढाइभन्दा ठूलो केही होइन भन्ने मनोविज्ञान विद्यार्थीहरूमा हालिदिएका कारण यस्ता समस्याहरू आउन थालेका हुन् ।
पढाइ नै सबै थोक होइन र सबै विद्यार्थीमा एउटै क्षमता हुनुपर्छ भन्ने पनि छैन । त्यसैले उनीहरूको चाहना र क्षमता अनुसारको शिक्षा पद्धति हुन आवश्यक छ ।
(डा. शर्मासँग गरिएको कुराकानीमा आधारित ।)
प्रतिक्रिया