मध्यभोटेकोशी आयोजनाको प्रसारण लाइन निर्माणमा सहमति | Khabarhub Khabarhub

मध्यभोटेकोशी आयोजनाको प्रसारण लाइन निर्माणमा सहमति


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारणलाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि, जनप्रतिनिधि र आयोजनाबीच हिजो (बुधबार) प्रसारणलाइन निर्माण निम्ति सहमति जुटेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार छलफल भएको थियो ।

मध्यभोटेकोशी आयोजनाबाट उत्पादित विद्युत प्रवाह गर्न २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन ।

उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ । बुधबार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार स्थानीयबासीको माग सम्बोधन भएसँगै  प्रसारण लाइनको बाँकी निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताए । मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए ।

स्थानीयको अपनत्व हुने आयोजना निर्माण अगाडि बढाइएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गरे । घिसिङले आयोजनाको विद्युत प्रवाहका लागि २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको बताए ।

सहमति बमोजिम तत्काल निर्माण कार्य सुरु गर्न निर्देशन दिँदै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री तामाङले निर्माण कार्यको आफूले नियमित अनुगमन गर्ने वनप बताए । सांसद बस्नेतले विगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको जनाए ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ ।निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको छ ।

मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ ।

सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरु सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ ।

मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १२ : ५० बजे

अपांगता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपालमा 

काठमाडौं– अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली

भारतको आर्थिक सहयोगमा भक्तपुरमा तयार भयो विद्यालय भवन

भक्तपुर– भारत सरकारको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण गरिएको छ

संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य आवश्यक : सभामुख घिमिरे

पाटन – सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सरोकार भएका

मिस नेपाल बनेको डेढ महिनामै राप्रपाको राजनीतिमा आश्मा

काठमाडौं– गत साउन १८ मा सन् २०२४ को मिस नेपाल

दहचोकस्थित इन्द्रदहमा भक्तजनको घुइँचो

 काठमाडौं– चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो