लुटेराबाट मारिएका दीपक एजेन्टलाई ८० लाख बुझाएर एक वर्षअघि अमेरिका पुगेका थिए « Khabarhub

लुटेराबाट मारिएका दीपक एजेन्टलाई ८० लाख बुझाएर एक वर्षअघि अमेरिका पुगेका थिए


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


58.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-१० का ३० वर्षीय युवा दीपक वली करिब ८० लाख रुपैयाँ खर्चिएर गत वर्षमात्रै स्थलमार्गबाट अमेरिका पुगे ।

करिब ८० लाख रुपैयाँ तिरेर दुई दर्जनभन्दा बढी देशको स्थलमार्ग छिचोल्दै अमेरिका छिरेका उनी त्यहाँ रोजगारीमा पनि लागिसकेका थिए । अमेरिका सपना पछ्याउँदै ३ वर्षअघि घर छाडेका दीपकले सन् २०२३ जुलाईमा त्यहाँको भूमि टेकेका थिए । उनलाई ‘तल्लो बाटो’बाट अमेरिका पुग्न नै डेढ वर्षभन्दा धेरै समय लाग्यो ।

अवैध बाटोबाट लाखौँ तिरेर अमेरिका पुगेका उनी आइतबार बिहानै टेक्सासको एल्म मोटस्थित आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा ड्युटीरत थिए ।

ग्यास स्टेशनमा क्यासियरको काम गर्दै आएका उनले बुनेका कयौँ सुन्दर सपना लुटेराहरूको गोलीका कारण सदाका लागि चुँडिएको छ ।

‘८० लाख भन्दा धेरै रूपैयाँ खर्च गरेर गिरोहको आश्वासनमा परी अनेक दुःख, कष्ट सहँदै अवैध बाटोबाट रूकुम पश्चिमका दीपक वली गत वर्ष टेक्सास आइपुगेका थिए’, अमेरिकाबाट हेम गिरी लेख्छन्, ‘यत्रो दुःख, कष्ट छिचोल्दै ऋण गरिएको पैसाको खोला बगाएर अमेरिका आएका दीपक हिजो टेक्सासमा लुटेरहरूको समूहबाट मारिए ।’

गिरीले आफ्नो सबै परिवार नेपालमै छोडेर दु:ख, कष्ट र पीडामय डेढ वर्ष लामो यात्रा छिचोलेर अमेरिका आएका दीपक यतै बिलाएको भन्दै विलौना गरेका छन् ।

उता दीपकको वडाका अध्यक्ष हरि चन्दले पनि आफूहरूको गाउँले एउटा ऊर्जाशील युवा गुमाएको भन्दै दुखेसो गरेका छन् ।

‘हाम्रो वडाले एक ऊर्जाशीला युवा गुमाएका छौँ, देशमा बेरोजगारीको समस्याले घर छोडनु पर्ने बाध्यता छ । विकसित देशमा एक सेकेन्डमा जीवन अर्पण गर्नुपर्ने अवस्था आयो’, उनले भनेका छन्, ‘मेरो मनले केही पनि लेख्न सक्ने आँट गर्ने सकेको छैन । घरमा परिवारको अवस्था झन पीडामय छ, भाइ दीपक तपाईंप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जलि !’

उनले आफ्नो गाउँको होनाहार युवा गुमाएको भन्दै संलग्नलाई कानुनी कठघरामा ल्याउने पहलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई गुहारेका छन् ।

नेपाली युवक दीपकको गोली हानी हत्या भएको घटनाको पुष्टि म्याक्लेनन काउन्टीको प्रहरी कार्यालयले गरिसकेको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइए पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

अमेरिकामा लुटेराको शिकार हुन पुगेका दीपकका घरमा ५ वर्षीया छोरी र पत्नी रहेका छन् । दीपकको हत्याको खबरले गाउँमा रहेको झुप्रोमा रुवाबासी चलेको छ । दीपककी पत्नी २६ वर्षीया विमला बुढाथोकी वली अहिले छोरीसँग दाङमा बस्छिन् । दीपकका भाइ दिनेश पनि रोजगारीका क्रममा दक्षिण कोरियामा छन् ।

दीपक लुटेराबाट मारिएको खबर उनका बाँफिकोटस्थित परिवारलाई पुगिसकेको छ । म्याक्लेनन काउन्टी प्रहरी कार्यालयले घटनाबारे जानकारी भएका उपलब्ध गराउन भनेको त्यहाँस्थित हिमालयखबरले उल्लेख गरेको छ ।

वडाध्यक्ष चन्दका अनुसार दीपकका ५६ वर्षीय बुवा लीलाराम वली गाउँमै कृषि र बाख्रा पालन गरेर बसेका छन् । दीपकले अमेरिका जाँदा लागेको ८० लाख रुपैयाँमध्ये ४० लाख मात्रै तिर्न सकेको खुलेको छ । उनीमाथि ऋणको बोझ नहट्दै लुटेराबाट मारिन पुगे ।

वैधानिक र अवैधानिक दुवै बाटोबाट अमेरिका पुग्ने नेपालीहरू ग्यास स्टेशनमा बाक्लो संख्यामा काम गर्छन । धेरै संख्यामा काम गर्ने भएकाले उनीहरू पटक पटक लुटेराको आक्रमणमा परिरहेका छन् । रातको समयमा लुटेराले ग्यास स्टेशनलाई निशाना बनाउने गरेका छन् ।

गत वर्ष पनि कोलोराडोस्थित आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको लुटेराले गोली हानी हत्या गरेका थिए । लामिछानेलाई हुइटरिज, कोलोराडोको कन्भिनियन्स स्टोरमै गोली हानी हत्या गरिएको थियो ।

त्यही वर्ष टेक्सासको युलेसमा बस्दै आएका नेपाली युवा दीपेन्द्र जोशी ग्यास स्टेशनमा काम गरेर फर्किँदा गोली लागी घाइते भए । गत वर्ष नै टेक्सासको अष्टिनमा ग्यास स्टेशनमा काम गरिरहेका बेला लुटेराको समूहले ३२ वर्षीय भीमबहादुर नाथलाई गोली हानेर गम्भीर घाइते बनाए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : २२ बजे

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो