स्वस्थ मुटुको सूत्र- तत्काल बदल्नुस् जीवनशैली | Khabarhub Khabarhub

सन्दर्भ : विश्व मुटु दिवस

स्वस्थ मुटुको सूत्र- तत्काल बदल्नुस् जीवनशैली

धूमपान, मद्यपान र गुलियो नियन्त्रण आवश्यक 



प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ । यस वर्ष विश्वभर “मेरो काम–मेरो मुटुको सुरक्षा” भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै छ । यस वर्ष मुटु मैत्री जीवनशैली र मुटु सुरक्षाका नीति तथा कार्यक्रम तर्जुमाका माध्यमबाट मुटुलाई स्वस्थ बनाउन सबैलाई प्रोत्साहित गर्ने तर्फ नारा र कार्यक्रमहरू केन्द्रित छन् । यस वर्षको विश्व मुटु दिवसको नारामा २ वटा विषय समेटिएका छन् । पहिलो कुरा मुटुको सुरक्षालाई ध्यान देऊ भन्ने छ । दोस्रो, मुटु सुरक्षाका लागि नीति तथा कार्यक्रमहरू ल्याउन नेता र नीति निर्माताहरुलाई आव्हान गरिएको छ ।

विश्व मुटु महासंघका अनुसार विश्वभर वर्षेनी २ करोड ५ लाख मानिसहरू मुटु रोगबाट मर्ने गर्दछन् । यी मध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरूमा वर्षेनी मुटु रोगबाट मर्नेहरूको संख्या यसको ८० प्रतिशत भन्दा बढी पर्न आउँछ । १९ औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोग र कुपोषण थिए । २० औं शताब्दीको सुरु सम्ममा पनि मुटु रोगबाट मर्नेहरूको संख्या १० प्रतिशत भन्दा कम थियो ।

२१ औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरूको संख्या विकसित राष्ट्रहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरूमा २५ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरे अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरूको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने छ । कोरोनरी मुटुको रोग ९हृदयाघात० संसार कै हत्यारा नंं। १ रोगका रूपमा स्थापित हुनेछ । सन् २०३० सम्ममा नेपाल लगायतका विकासोन्मुख राष्ट्रहरूमा हृदयाघात भएर मर्नेहरूको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा हाल ३० प्रतिशत अर्थात् करिब १ करोड जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । मुटु रोगीहरूको संख्या नेपालमा २० वर्ष यता ५ गुणाले वृद्धि भएको छ । हाल नेपालमा विद्यमान मुटुरोगहरु मध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन् । मुटुका रोगहरू मध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ र यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औँल्याइएको छ ।

आजका मानिसहरूको जीवनशैली अस्वस्थकर भएको छ । मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ । धूम्रपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ । सागसब्जी र फलफूल खाने बानी एकदमै कम छ । तयारी खाना ९फाष्टफुड० धेरै खाने बानी छ ।

नेपाल एनसीडी एलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतामा उच्च रक्तचाप, २५ प्रतिशत कोलेस्टेरोल, १० प्रतिशत मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोग छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् ।

करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । जताततै वातावरणीय प्रदूषण छ । शुद्ध खानेपानीको अभाव छ । तरकारी र फलफूलहरू विषादीले भरिएका छन् । मानिसको जीवन कष्टकर भएको छ ।

आज विश्वमा ३० करोड भन्दा बढी मानिसहरू मोटोपनको सिकार भएका छन् । ५ वर्ष मुनिका २ करोड २० लाख बालबालिकाहरू आवश्यक भन्दा बढी शारीरिक तौल भएका छन् । मोटोपन मुटुको लागि खतरा हो । नेपालका सहर बजारमा बालबालिकाहरूलाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ । २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ ।
मोटोपना जस्तै धूम्रपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ, जसका कारण हृदयाघात, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदिको समस्या पनि आकासिँदै गइरहेको छ । यसरी बढ्दै गइरहेको मुटुरोगको समस्यालाई रोकथाम गर्न जनचेतना जगाउने साथै नीति निर्माताहरुलाई मुटु रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीति कार्यक्रमहरू बनाउन घच्घच्याउन अति जरुरी देखिन्छ । यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मुटु दिवस मनाउने चलन चलाएको हो ।

धेरै मानिसहरूलाई आफ्नो मुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हुँदैन किनकि उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन् । यस्तै प्रकारले धेरैलाई  मुटु रोगका कारक तत्त्वहरूबाट आफू प्रभावित भए नभएको बारे जानकारी राख्नुपर्छ । यसबाट मुक्त हुने उपायहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन । यो चेतना अभावको कारण बहुसङ्ख्यक मानिसहरूको हृदयाघात र मस्तिष्क घातबाट मृत्यु भइराखेको छ । प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ त्यो थाहा पाइराख्नु पर्छ । यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ ।

मुटुका लागि जोखिम तत्त्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूम्रपान गर्ने बानी, वंशाणुगत, व्यायामको कमी र मानसिक तनाव आदि प्रमुख हुन् । यदि कसैलाई यी समस्याहरू छन् भने तुरुन्त यसबाट छुटकारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनु पर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ । अन्यथा हृदयाघात र मस्तिष्क घात भएर आकस्मिक मृत्यु हुन सक्छ ।

मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन् । अध्ययन अनुसन्धानले देखिएको छ कि जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशत भन्दा बढी मुटु रोगका कारण माथि नियन्त्रण गर्न सकिन्छ । यस कारण मुटु रोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउने तर्फ लक्षित हुनुपर्छ । सबै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले मुटुमैत्री वातावरण सृजना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानु पर्छ । यसै सन्दर्भमा विश्व मुटु महासंघले विश्वका जनतालाई मुटु रोगबाट बच्नका लागि निम्न लिखित सन्देशहरु जारी गरेको छ । यसलाई सबैले पालना गरी आफ्नो मुटुलाई स्वस्थ राख्ने प्रयास गरौँ । मेरो काम मेरो मुटुको सुरक्षा नै हो ।

१. आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जँचाउनुका साथै पेटको नाप र मोटोपन बारे पनि जानकारी लिनुपर्छ ।
२. आफूलाई रहेको खतराबारे जानकारी पाए पछि स्वास्थ्यकर्मीसंग यी खतराहरूबाट मुक्त रहन के कसो गर्ने हो त्यसबारे परामर्श लिनु पर्छ ।
३. हृदयाघात र मस्तिष्कघातको प्रमुख कारण उच्चरक्तचाप हो, जसको कुनै लक्षण हुँदैन । औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन । यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्टेरोल बढेको छ छैन भन्ने बारे थाहा पाउन नियमित रगत परीक्षण गराउनु पर्दछ ।
४.  नियमित व्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्ने तर्फ लाग्नु पर्छ ।
५. दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानु पर्छ ।
६. धूम्रपान निषेधित सार्वजनिक स्थलहरू विस्तार गर्दै जान सम्बन्धित निकायहरूले सहयोग गर्नु पर्छ ।
७. तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनु पर्छ ।
८. बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरू ९फाष्टफुड० को उपभोग कम गर्नु पर्छ ।
९. मानसिक तनाव र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ ।
१०. आफूभित्र प्रसन्नता, सन्तुष्टि, सहयोगी र दानी प्रवृत्तिको विकास गर्न सके सुख र स्वास्थ्य दुवै पाउन
सकिन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : २७ बजे

वनमै कुहिँदै काठ, वर्षेनी अर्बौंको आयात

काठमाडौं – ‘हरियो वन नेपालको धन’ भन्ने नारा धेरै पुरानो

मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग

थारू सङ्ग्रहालयमा आकर्षण बढ्दो

तुलसीपुर – दाङको दंगीशरण गाउँपालिका–३ स्थित थारू सङ्ग्रहालयमा संरचना थपिएसँगै

झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा

एजेन्सी – झारखण्डको विधानसभाका ८१ सीटका लागि नोभेम्बर १३ र

चिनियाँ राजदूत सोङ र अध्यक्ष लिङ्देनबीच भेट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र