निरन्तरको परिश्रमले स्थापित नेपाली ब्राण्ड अल्टिमा ! | Khabarhub Khabarhub

व्यवसाय

निरन्तरको परिश्रमले स्थापित नेपाली ब्राण्ड अल्टिमा !


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेहनत गर्नेले बालुवामा पनि सुन फलाउन सक्छ भनिन्छ । यो भनाइलाई अमित अग्रवालले पुष्टि गरेका छन् । उनलाई पारिवारिक वातावरण र बाध्यताले एउटा सफल व्यवसायी बनाएको छ ।

इयरबड्स दुनियाँमा अहिले ‘अल्टिमा’ नामको एउटा नेपाली ब्राण्ड निकै चर्चित छ । ग्याजेट्स र असेसरिज बिक्री गर्ने अल्टिमा लाइफस्टाइलले यतिखेर नेपाली बजारमा एकछत्रजस्तै राज गरिरहेको छ । अन्य देशका ब्राण्डेड सामानकै गुणस्तरको सामान सस्तो मूल्यमा पाइने भएकाले अल्टिमाका ग्याजेट्समा ग्राहक आकर्षित छन् ।

कम्पनीका संचालक अमित अग्रवालमा यसरी आक्रमक व्यापार गर्छु भन्ने सोच नै थिएन । उनी मेकानिकल इन्जिनियर बन्न चाहन्थे, तर घरको बाध्यता र परिवेशले उनलाई व्यापारमा पुर्‍यायो ।

चार लाख रुपैयाँबाट शुरू भएको उनको व्यवसायिक यात्रा अहिले नेपाली स्थापित ब्राण्डमा परिणत भइ वार्षिक २५ करोड रुपैयाँ बराबर कारोबार आकारमा पुगेको छ ।

अल्टिमाका स्टोरमा ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाइरहेका नेपालीकै सङ्ख्या सयौँमा छ ।

चार लाख रुपैयाँ ऋण लिएर थालेका थिए व्यवसाय

अमितले एसएलसी दिएलगत्तै व्यापारमा हात हालिसकेका थिए । सन् २०११ बाट उनले व्यापारिक क्षेत्रमा काम थालेका थिए । प्रारम्भमा अमितलाई व्यापारबारे खास जानकारी थिएन ।

विद्युतीय (इलेक्ट्रोनिक्स) सामान बेच्ने एउटा पसलमा अमितले मार्केटिङको काम शुरू गरेका थिए । त्यतिखेर नेपाली बजारमा विद्युतीय सामग्री पर्याप्त पाइँदैनथ्यो । यस्ता सामान बेच्न चुनौती नै हुन्थ्यो ।

केही मानिसहरूले मात्रै मोबाइल फोन बोक्थे । अमितले तिनै मोबाइलका कभर बेच्न थाले । उनले ती सामान कसरी र कहाँबाट आउँछ भन्ने पनि थाहा पाए ।

नेपालमा क्रमशः इलेक्ट्रोनिक्स सामग्री प्रयोग बढ्न थाल्यो । अमितले मानिसहरू बिजुलीबाट चल्ने सामानप्रति आकर्षित हुन थालेको देखे । त्यतिबेलै साहुको पसलका लागि सामान खरिद गर्न चीन जाने मौका पाए ।

त्यसपछि उनले चीनबाट सामान आयात गर्ने तौरतरिका पनि थाहा पाए । बिस्तारै उनी मार्केटिङबाटै थुप्रै ग्राहकबीच परिचित हुँदै गए ।

सामान्य परिवारमा हर्किएका अमितलाई पारिवारिक जिम्मेवारीको बोझले थिच्दै थियो । उनका बुवाले एउटा कम्पनीमा आफ्नो थोरै हिस्सा राखेर परिश्रम गर्दै परिवार धानिरहेका थिए ।

तर, उक्त कम्पनी सञ्चालकले जालझेल गरी उनका बुवालाई कम्पनीबाट अलग गरायो । त्यो पीडाले बुवाको मानसिक स्वास्थ्यमै असर गर्‍यो र अन्य काम गर्न नसक्ने समस्या आयो ।

भर्खरै एसएलसी दिएर बसेका अमितमा घरको सबैजसो जिम्मेवारी थपियो । मार्केटिङ गरेर मात्रै पारिवारको खर्च धान्न गाह्रो भयो । अरूको पसलमा काम गरेर बनाएका ग्राहकलाई आफैँ पसल थापेर सामान बेच्ने निर्णय गरे । त्यही दौरान उनले पहिलोपटक चीनबाट आफैँ सामान आयात गरे ।

आयात गरेर बेच्दा ५० प्रतिशतसम्म फाइदा हुने रहेछ भन्ने थाहा पाए । त्यसपछि उनले अझै धेरै सामान ल्याउने निर्णय गरी सहकारीबाट चार लाख रुपैयाँ ऋण लिए । थप सामान ल्याए ।

‘मैले पहिलोपटक सामान ल्याउनका लागि सहकारीबाट चार लाख रुपैयाँ ऋण लिएको थिएँ । त्यो ऋण नपाएको भए आज म यो अवस्थामा पुग्ने थिइनँ होला’, उनी सम्झन्छन् ।

त्यो समय मोबाइलका ब्याट्री र कभरजस्ता सामग्रीहरू कमैमात्र पाइन्थ्यो । ब्याट्री आयात गरेर बेच्दा राम्रो कमाइ भयो । सन् २०११ बाट शुरू भएको उनको व्यवसाय यात्रा शुरूवाती चरणमै सफलताउन्मुख भयो ।

‘व्यापार शुरूमै राम्रो भयो । अझ ब्याट्रीमा त शुरूबाटै सन् २०१३ सम्म हाम्रो एकछत्र राज रह्यो’, अमितले सुनाए ।

उनले आयात गरेका ब्याट्रीले नेपालभर दुई वर्षसम्म एकछत्र राज गर्‍यो । त्यसपछि विभिन्न देशबाट आयातीत कम गुणस्तर भएका र सस्तो मूल्यमा पाइने ब्याट्री लगायत इलेक्ट्रोनिक सामानहरू नेपाल भित्रिन थाले । खुला सीमाका कारण भारतबाट चोरीतस्करी गरी ल्याइएका राजस्व नतिरेका सामग्रीहरू सस्तो मूल्यमा पाउन थालेपछि अमितलाई केही धक्का पुग्यो ।

त्यस्तो अस्वस्थ व्यवसायले अमितलाई गहिरो धक्का पुर्‍यायो । अब व्यवसायलाई कसरी निरन्तरता दिने र अरूभन्दा अघि पुग्ने भन्नेतर्फ लागे अमित । बाहिरबाट सबै खालका सामानहरू आयात गर्न उनको आर्थिक आर्थिक आधार बलियो थिएन । ग्राहकले माग गरे अनुसारका सबै सामान आयात गर्न सकिरहेका थिएनन् ।

यसै क्रममा उनले विदेशी सामानहरूको ब्राण्ड देखे । आफ्नो पनि त्यस्तै ब्राण्ड बनाएर सामान ल्याउन प्रेरित भए । अन्य देशहरूका ब्राण्डहरू कसरी चलिरहेका छन् भनी अनुसन्धान गरेपछि नेपाली ब्राण्ड बनाएर निरन्तरता दिने निर्णय लिए । र; स्थापना भयो अल्टिमा !

ब्राण्डमा उनले केही निश्चित सामग्री बिक्रीलाई मात्रै निरन्तरता दिन थाले । मोबाइलको ब्याट्री, चार्जर र इयरफोन बिक्रीलाई विशेष प्राथमिकता दिन थाले । नेपाली ब्राण्ड अल्टिमाका गुणस्तरीय सामान पाएपछि उपभोक्ता बढ्दै गए । व्यवसाय सफलताउन्मुख हुँदै आयो ।

पछिल्लो तीन वर्षयता अल्टिमाको इयरबड्सले नेपालमा राम्रो व्यापार गरिरहेको छ । विभिन्न अनलाइन तथा अफलाइन स्टोरहरूमा अल्टिमाका सामग्री भारी मात्रामा बिक्री भइरहेको छ । यस वर्ष मङ्सिरमा दराज अनलाइन स्टोरले ३० हजारभन्दा बढी अल्टिमाका इयरबड्स बचेको उनको भनाइ छ ।

अमितले सफलता सुनाए, ‘हाम्रो मार्केट अहिले राम्रो छ । पछिल्लो समय अनलाइनबाटै धेरै सामान बिक्री भइरहेको छ । अघिल्लो महिनामात्रै दराजले अल्टिमाको ३० हजार पिसभन्दा बढी सामान बचेको छ ।’

चार लाख रुपैयाँ ऋण लिएर शुरू गरिएको व्यवसायले अहिले वार्षिक २५ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै अल्टिमाले पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेको छ ।

अमित अहिले पनि कसरी राम्रो सामान बजारमा ल्याउनेबारे अनुसन्धानरत छन् । ‘सामान कसरी आकर्षक र गुणस्तरीय बनाउन सकिन्छ वा मानिसहरूले कस्तो सामान मन पराउँछन् भनेर म दिनरातै अनुसन्धान गरिरहेको हुन्छु’, उनी भन्छन् ।

ग्राहकले अल्टिमा नै मन पराउनुको कारण

ग्राहकहरूले अल्टिमाकै सामान मन पराउनुको मूख्य कारण भनेकै सस्तो मूल्य र गुणस्तर सुनिश्चितता हो । ‘अल्टिमाले अन्य विदेशी ब्राण्डभन्दा पनि राम्रो गुणस्तरका सामान कम मूल्यमा बजारमा पठाएकाले नै ग्राहकहरूको पहिलो रोजाइमा परेको हो’, उनी सुनाउँछन् ।

बजारमा यस्तो बलियो हिस्सा कायम गर्न अमितले दिनरात गरिरहेको परिश्रम नै मुख्य आधार हो । ‘नाम चलेका विदेशी कम्पनीले ब्राण्डकै भरमा सामानको धेरै मूल्य लिने र अन्य सामान किन्दा ग्यारेन्टी नहुने स्थिति छ । अल्टिमाका सामानमा विश्वास हुने भएकाले नै ग्राहक आकर्षित भएका हुन्’, उनी भन्छन् ।

पहिलोपटक अल्टिमाले नेपालमा इयरबड्स भित्र्याउँदा सिभिल मलमा अल्टिमा मेला राखेको थियो । त्यसमा ग्राहकहरूको लाइन देखेर प्रहरीले समेत त्यो मेला नै अन्य ठाउँमा सार्न वा त्यहाँबाट हटाउनसम्म लगाएको थियो । एकै पटकमा हजारौँ पिस सामान बिक्री भयो ।

अल्टिमाका सामान चीनमा उत्पादन गरे पनि सम्पूर्ण डिजाइन गर्ने वा कस्तो खालको डिजाइन निकाल्ने भन्ने कुरा अमित आफैँले टिममा बसेर निर्णय गर्ने गरेका छन् । सामान बनिसकेपछि पनि पहिले आफूले प्रयोग गर्दा समस्या नआएको खण्डमा मात्रै त्यसलाई बजारमा पठाउने गर्नाले गुणस्तर सुनिश्चित भएको र राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

अमितका अनुसार; अन्य व्यवसायीहरूले त्यही क्वालिटीको सामान अल्टिमाले भन्दा दशौं गुणा बढी नाफा खाएर बेचिरहेका छन् । तर, सामान्य नाफा राख्दा सामान धेरै बिक्री भएका कारण आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

अघिल्लो वर्ष अल्टिमालेसबैभन्दा छिटो व्यापार वृद्धि गर्ने नेपाली कम्पनीको पुरस्कार नै जित्यो । ‘मलाई धेरै नाफा कमाएर धेरै सम्पत्ति जम्मा गर्ने कुनै इच्छा छैन । कम्पनीलाई जतिसक्दो ठूलो बनाएर सम्पूर्ण इलेक्ट्रोनिक्स सामानको हब बनाउने इच्छा छ । ग्राहकहरूलाई जतिसक्दो सस्तो मूल्यमा गुणस्तरीय सामान प्रदान गर्दै अगाडि जाने रहर छ’, उनले भने ।

के के छन् अल्टिमाका सामान ?

कुनै बेला ब्याट्रीमा एकछत्र राज गरेको अल्टिमाले अहिले इयरबड्सबाट त्यही प्रकारको बजार पाइरहेको छ । विभिन्न १० प्रकारका इयरबड्सहरू नेपालमा लञ्च गरिसकेको छ ।

यी सबै सामान सामान्य व्यक्तिहरूले पनि खरिद गर्न सक्ने मूल्यमै पाइन्छ । स्टोर ललितपुरको पुल्चोकमा छ । अल्टिमाका सबै प्रकारका इयरबड्सहरू दुई हजारदेखि तीन हजार रुपैयाँ सम्ममा पाउन सकिन्छ । तर, यसको गुणस्तर भने अन्य ब्राण्डको भन्दा बढी नै भएको कम्पनीका बजार व्यवस्थापक अमित गुप्ता बताउँछन् ।

‘चलेका ब्राण्डहरूको सामान हाम्रो भन्दा कम क्वालिटीको भए पनि मूल्य भने भारी तोकेका हुन्छन् । तर, हामीले उचित नाफामात्रै राखेर ग्राहकहरूलाई दिने गरेका छौँ’, गुप्ताले भने ।

अल्टिमाको मुख्य उद्देश्य धेरै नाफा कमाउनेभन्दा पनि गुणस्तरीय सामान ग्राहकलाई दिने रहेका कारण त्यही अनुसार अगाडि बढेको उनको भनाइ छ ।

अल्टिमामा गुणस्तरीय स्पीकर पनि पाइन्छ । अन्य ब्राण्डका महँगा स्पीकरभन्दा अल्टिमाका सामान्य मूल्यका स्पीकरहरू नै ग्राहकले मन पराउने गरेका छन् । अल्टिमाका स्पीकर २५ सयदेखि सात हजार रुपैयाँसम्ममा पाइन्छ ।

यस्तै, अल्टिमा ब्राण्डका घडीहरू पनि ग्राहकले उत्तिकै मन पराएका छन् । उत्कृष्ट डिजाइनमा निर्माण गरिएका घडीहरू ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।

थोरै मात्रै मार्जिन राखेर सामान दिँदा सबै खालका मानिसहरूले आफ्नो ब्राण्डका सामान उपयोग गर्न सक्ने कम्पनीको भनाइ छ । अहिले अल्टिमाका दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मका घडीहरू उपलब्ध छन् ।

भावी योजना

शुरूभन्दा अहिले अल्टिमाले धेरै नाम कमाइसकेको छ । यो ब्राण्डलाई उपभोक्ताले धेरै विश्वास गरेका छन् । यो विश्वास कायम राख्न आँउदा दिनमा पनि अझै गुणस्तरीय सामान उत्पादन गरी देश–विदेशमा प्रख्यात गराउने कम्पनीको मूख्य उद्देश्य छ ।

अल्टिमाका सामान नेपालका विभिन्न अनलाइनमा व्यापार भइरहेको अवस्थामा अब भने देशभ ६० वटा स्टोर खोल्ने तयारी गरिएको कम्पनीका बजार व्यवस्थापक अमित बताउछन् ।

नेपालमा उत्पादन गर्न सके रोजगारी पनि बढ्ने र आफ्नै देशका मानिसहरू दक्ष हुने हुनाले सामान उत्पादन गर्ने उद्योग नै खोल्ने लक्ष्य रहेको उनले बताए ।

कम्पनीलाई अब्बल दर्जामा पुर्‍याउन दिनरात मेहनत गरी अल्टिमालाई एउटा विशुद्ध इलेक्ट्रोनिक्स नेपाली ब्राण्डका रूपमा चिनाउने कम्पनीको लक्ष्य छ । अहिले सीमित सामानमात्रै उपलब्ध गराइरहेको कम्पनीलाई सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको हब बनाउने अमित अग्रवालको लक्ष्य छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ४२ बजे

सुदूरपश्चिमका रिक्त राजनीतिक पदमा तत्काल नियुक्त गर्न कांग्रेस–एमाले सहमत 

धनगढी– सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका पदहरूमा तत्काल नियुक्ति गर्न

‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका

शासकको सनकले लम्बिएको रुस-युक्रेन युद्ध: सफल होला ट्रम्पको प्रयास ?

फेब्रुअरी २०२२ मा सुरु भएको रुस-युक्रेन युद्ध अन्त्यको सम्भावना देखिएको

चार देशीय सिरिज : आज नेपाल र युगाण्डा खेल्ने

काठमाडौं– चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र

‘होली’ हर्ष र उमङ्गको पर्व : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण