अर्थसंक्षेप : शेयर बजारमा १४ अंकको गिरावट, विश्वमा वायुसेवा क्षेत्रको नाफा ५.७ प्रतिशत | Khabarhub Khabarhub

अर्थसंक्षेप : शेयर बजारमा १४ अंकको गिरावट, विश्वमा वायुसेवा क्षेत्रको नाफा ५.७ प्रतिशत


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाउने भएको छ । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ जम्मा गरेको छ । सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ । विश्वमा वायुसेवा क्षेत्रको नाफा ५.७ रहेको छ ।

शेयर बजारमा १४ अंकको गिरावट, कारोबार कति ?

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेको छ । आज नेप्से ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा पुगेको हो ।
५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ ।

उक्त समयमा ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ६९८ पटक शेयर किनबेच भएको छ।

१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूहको शेयर मूल्य घटेको छ । होटल एण्ड टुरिजम २.५२ प्रतिशतले, निर्जीवन बीमा ०.४९ प्रतिशतले र ट्रेडिङ समूह ०.३२ प्रतिशतले बढेको हो ।

त्यस्तै, वाणिज्य बैंक ०.७२ प्रतिशतले, विकास बैंक ०.४३ प्रतिशतले, फाइनान्स १.०१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी १.४१ प्रतिशतले, जीवन बीमा ०.९८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९६ प्रतिशतले, लघुवित्त ०.१४ प्रतिशतले म्युचुअल फण्ड ०.७२ प्रतिशतले र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

इप्पानले माघमा २५औँ वार्षिकोत्सव मनाउने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाउने भएको छ । २०५७ साल माघ ४ गते इप्पानको स्थापना भएको थियो ।

वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निणर्य गरेको इप्पानले जनाएको छ ।

उक्त कार्यक्रमा ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशनका साथै विभिन्न विधामा अवार्डहरु दिने इप्पान कार्यसमितिको १८७औँ बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीका लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको इप्पानले जनाएको छ ।

‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ इप्पानको रजत जयन्तीको नारा रहेको छ । त्यस्तै रजत जयन्तीको पूर्वसन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछन् । जसमा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी ¥याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।

इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने छ भने २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड सहयोग

नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ जम्मा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् ।

गत भाद्र १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी–पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहत स्वरूप टेलिकमले कोषमा उक्त रकम जम्मा गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएका थिए ।

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ ।

तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’

बेनी–दरबाङ हुँदै ढोरपाटन सिरकार आरक्ष

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङ–मुना–मरेनीदेखि पातीहाल्ना हुँदै ढोरपाटन जलजला जोड्न थालिएको हो ।

बागलुङतर्फबाट एक दशकअगाडि नै ढोरपाटन जोडिए पनि म्याग्दीबाट अझै १० किलोमिटर ‘ट्र्याक’ खुलाउन बाँकी रहेको छ । विसं २०६७ मा दरबाङबाट सुरु भएको सडकको ट्रयाकले अझै पूर्णता पाएको छैन । सङ्घीय सरकारले उक्त सडकका लागि यस वर्ष पनि बजेट विनियोजन गरेको छ ।

तनहुँको सयपत्री कतार निर्यात

आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो ।

कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरूलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन् । समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो ।

गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताइन्।

दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा

सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगहरूले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत विद्युत सेवाबापतको महशुल बक्यौता तिर्ने भएका छन् ।

खासगरी, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न किस्ताबन्दीको सुविधा लिने गरी निवेदन दिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

यसअघि प्राधिकरणले महशुल नतिर्ने ३४ उद्योगको लाइन काटेको थियो । तर, सरकारी दुई सिमेन्टले महशुल तिर्ने बताउँदै आएका थिए । जसका कारण ती सिमेन्ट उद्योगमा लाइन जोड्नु भने परेन ।

लाइन काटिएका ३४ वटामध्ये हालसम्म १४ वटा उद्योगहरूले बक्यौता तिर्न सम्पर्कमा आएकाले लाइन जोडिएको प्रवक्ता घोषले बताए ।

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।

यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उत्पादन बढाउनुहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् ।

आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए। देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उहाँको धारणा थियो ।

‘वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं’, मन्त्री पौडेलले भने। उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उल्लेख गरे।

विश्वमा वायुसेवा क्षेत्रको नाफा ५.७, नेपालमा निगमको ऋणब्याज नै १० प्रतिशत

व्यवसायिक क्षमता विस्तार र नाफाभन्दा राज्यलाई ऋणभार मात्रै बढाइरहेको नेपाल वायुसेवा निगम (एनएसी) लाई राज्यको ‘सेतो हात्ती’ आरोप लागेको निकै वर्ष भयो ।

व्यवसायिकता नै प्रदर्शन गर्न नसकेको आरोप निगममाथि छ । निगमका योजना निर्माणदेखि कार्यान्वयन सम्मका विभिन्न पाटोमा निकै प्रश्न उठ्ने गरेको छ । यतिसम्म कि मुस्किलले किनेका जहाजको साँवाब्याज भुक्तानी गर्न पनि निगमलाई सकस परिरहेको छ ।

राष्ट्रिय ध्वजावाहकको यस्तो स्थिति निम्तनुमा त्यहाँभित्र सेटिङ मिलाएर भइरहेको भनिएको संस्थागत भ्रष्टाचार लगायत अपारदर्शीताका दर्जन बढी कारण बताइन्छ । तर, निगमलाई त्यो भन्दा ठूलो समस्या चाहिँ राज्य नै जमानी बसेर दिलाएको निकै महँगो ब्याजदरको ऋण पनि हो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : ५४ बजे

हङकङमा खेलकुद क्षेत्रका लेजेन्ड व्यक्तित्वहरू अभिनन्दित

हङकङ – हङकङ नेप्लिज टेनिस सोसाइटीले  विभिन्न खेल क्षेत्रका हङकंगेली

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी– पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा दश जनाको मृत्यु

मुस्ताङको रेस्टुरेन्टमा जुवाखाल : साढे ८ लाखसहित १२ जना समातिए

काठमाडौं- मुस्ताङस्थित एउटा रेस्टुरेन्टमा जुवाखाल जमाइरहेको अवस्थामा प्रहरीले १२ जनालाई

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा

काठमाडौं- बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया

छठ पर्वका लागि सिँगारिए वीरगञ्जका पोखरी

वीरगञ्ज– यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष