चिसोले सोलुको जनजीवन प्रभावित, खुम्बुक्षेत्र सुनसान | Khabarhub Khabarhub

चिसोले सोलुको जनजीवन प्रभावित, खुम्बुक्षेत्र सुनसान


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु–  चिसो अत्यधिक बढेपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् ।

पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् ।  स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् ।  अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका तोया श्रेष्ठले बताए ।

उनका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् ।

नाम्चेका लामाकाजी शेर्पाले सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको बताए ।

केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्याङ्क छ ।

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा ६ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सर्वसाधरण आगो तापेर समय बिताउने क्रम बढेको छ । चिसोबाट बच्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा आगो तापेर बस्न थालेका हुन् ।

चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको सल्लेरीका दावा शेर्पाले बताए । हावापानी मापन केन्द्र सल्लेरीका नवराज पराजुलीका अनुसार पछिल्लो एक सातायता सल्लेरीको तापक्रम निरन्तर माइनसमा गएको छ ।

मङ्गलबार सल्लेरीको तापक्रम माइनस दुई डिग्री सेल्सियस मापन गरिएको उनले बताए । उनका अनुसार उक्त तापक्रम जिल्लामा यस वर्षकै कम हो । सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन् ।

घरभित्र बस्दासमेत चिसोले कठ्याङ्ग्रिन थालेपछि सडकमा आगो बालेर बस्न थालेको नयाँ बजारकी सूर्यकुमारी राजभण्डारीले बताइन् ।

अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्दै आएका खड्गबहादुर हिङ्माङले बताए ।

जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ । हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायतका स्थानमा चिसोले दैनिकी कष्टकर बनेको स्थानीय आङफुर्वा शेर्पाले बताउँछन् । जसका कारण अन्य काम वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्नसमेत समस्या भएको उहाँको भनाइ छ ।
जिल्लाको खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताए ।

चिसोले विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित  बनेको छ भने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ४० बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते