कालीगण्डकी करिडोर : तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र | Khabarhub Khabarhub

कालीगण्डकी करिडोर : तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ ।

तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा थप ६ किलोमिटर सडक कालोपत्र गरिएको हो । विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनी शर्मा–युनाइटेडका ‘साइट इञ्चार्ज’ रमेश सुवेदीले बेगखोला, महभिर, बैसरी, रातोपानी, पोखरेबगर र तातोपानी बजार क्षेत्रमा दोस्रो चरणको कालोपत्रको काम सकिएको बताए । ‘तिप्ल्याङ–बेगखोला खण्डमा थप दुई किलोमिटर सडक पनि यही चैतभित्रमा कालोपत्र गर्न तयारी गरेका छौँ’, उनले भने, ‘बेगखोलाबाट तलको खण्डमा पहिरो खसेका बाहेकका ठाउँमा चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।’

पहिलो चरणको चिप्स र बिटुमिन बिछ्‌याइएको तिप्ल्याङबाट कालीओडारसम्म दोस्रो चरणमा बिछ्‌याउने र कालीओडार–बेगखोलातर्फ पहिलो चरणमा बिटुमीन बिछ्याउने तयारी गरिएको साइट इञ्चार्ज सुवेदीले बताए । बेगखोलाबाट राहुघाट गलेश्वरतर्फको खण्डको आठ किलोमिटरमध्ये कुनौटो–बैसरी खण्डमा दुई वर्षअघि तीन किलोमिटर कालोपत्र भएको थियो ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली,  पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तका अनुसार राहुघाट–तातोपानी खण्डमा ९३ प्रतिशत भौतिक प्रगति भएको छ ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो खण्डमा सडक निर्माणले २०७७ हिउँददेखि गति लिएको थिएन ।

धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्ने कामलाई गति दिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुवकुमार झाले बताए ।

यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहाड भएकाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३–७४ देखि सुरु भएको योजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ ।

छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।  यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् भने छ स्थानमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माणाधीन छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : १९ बजे

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

दार्चुला – दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।