जर्जियाको एउटा बदाम किसानले कुनै दिन डेमोक्र्याट पार्टीबाट उम्मेदवारी घोषणा गर्दा अमेरिकी राजनीतिमा तरङ्ग ल्याएको थियो। सन् १९७७ मा तीनै बदाम किसान व्यापारी जिम्मी कार्टर राष्ट्रपतिमा चुनिएका थिए। आर्थिक मन्दी र घरेलु समस्यालाई राम्रोसँग सामना गर्न नसकेकै कारण पदबाट बाहिरिएका कार्टरलाई सन् १९८० मा रिपब्लिक उम्मेदवार रोनाल्ड रेगनले पराजित गरे।
४४ वर्षपछि १०० वर्षको उमेरमा संसारबाट तीनै कार्टर बिदा भए। भौतिक रूपमा उनी सबै भन्दा लामो समय बाँचेका अमेरिकी राष्ट्रपति उनले गरेको कर्मका कारण अमर छन्। उनकै कारण संसारमा धेरै युद्ध सकिएका छन्। धेरैको जीवन सहज बनेको छ।
यसरी शान्तिप्रिय कार्टरले चालेको कदमले संसारका तेस्रो विश्वका धेरै देश लाभान्वित भए । सभ्रान्त अमेरिकी समाजमा हुर्किएका तथा राष्ट्रको माथिल्लो ओहदामा पुगेका उनको जीवनका अधिक समय भने निम्न तथा मध्यम आय भएका देशको गरिबको समस्या समाधान नै बितेको देखिन्छ।
राष्ट्रपतिको रूपमा कार्यकाल असफल मानिए पनि पदावधि पछि उनी शान्ति स्थापना र मानवीय संवेदनाको काममा निरन्तर सहभागी भइरहे। यसैको प्रतिफल नेपालमा युद्धको समाप्तिदेखि शान्ति स्थापनासम्मको समय पनि हो। कार्टरले बिपीलाई जेलबाट छुटाउनसमेत महत्त्वपूर्ण योगदान गरेको चर्चा हुने गरेको छ। २०३३ साल पुस १६ गते बिपी कोइराला मेलमिलाप नीति लिएर नेपाल फर्किदा जिमी अमेरिकाको बहालवाला राष्ट्रपति थिए । जिमीले बिपीलाई जेलबाट छुटाउन पहल गरेकै कारण उनी उपचारका लागि अमेरिका पुगेको कांग्रेसका नेताले बताउने गरेका छन्।
उनको संस्था जिम्मी कार्टरको नेपालमा उपस्थिति सन् २००४ देखि हो। सो समयमा अमेरिकी सरकारले नेपालमा युद्ध लडिरहेको माओवादीलाई आतङ्कवादी घोषणा गरेको थियो। युद्ध लडिरहेको माओवादीलाई सन् २००८ को अप्रिलमा नेपालमा भएको पहिलो संविधान सभा निर्वाचनमा सहभागी गराउने सम्ममा कार्टरको संस्था कार्टर सेन्टरको भूमिका महत्त्वपूर्ण थियो।
पहिलो संविधानसभाको चुनावको अनुगमन र त्यस अघिको अन्योलपूर्ण अवस्थालाई सहजीकरण गर्न राष्ट्रपति कार्टरले करिब एक वर्षको अवधिमा तीन पटक काठमाडौं भ्रमण गरेका थिए।
युद्ध चलिरहेको समयमा माओवादी आतङ्ककारी घोषित भएका कारण अमेरिकाका सरकारी अधिकारीका लागि कुरा गर्न समेत बन्देज थियो। तथापि कार्टर त्यस प्रतिबन्धमा बाँधिएका थिएनन्।
माओवादीहरूलाई सार्वजनिक रूपमा नै कटु आलोचना गर्ने तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीलाई नेपालमा युद्धको अन्त्य गराउने विषयमा सहमत गराउन कार्टरले ठुलो भूमिका निर्वाह गरेका थिए।
सन् २०१२ को सेप्टेम्बरमा अमेरिकी सरकारले शान्ति र मेलमिलाप प्रक्रियामा अघि बढ्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गरेको भन्दै माओवादीलाई आतङ्कवादी सङ्गठनको सूचीबाट हटाएको थियो।
सन् २००७ मा नेपाली राजनीतिमा युद्धबाट खुला भएको माओवादी तथा परम्परागत संसदीय दल बिच विवाद थियो। त्यसबेला संविधान सभाको चुनावअघि नै राजतन्त्र अन्त्यको घोषणा गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने विषय नेपाली राजनीतिको विवादको केन्द्रमा थियो।
पहिलो संविधानसभाको बैठकको साधारण बहुमतले राजतन्त्र अन्त्यको घोषणा गर्ने गरी ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष अनि २६ जना मन्त्रिपरिषद्ले मनोनीत गर्ने गरी ६०१ जना सदस्य रहेको संविधानसभाको चुनाव गर्न दलले सहमति गरेका थिए। सो खाकामा सहमति भएपछि दुई पटक स्थगित भइसकेको संविधानसभाको चुनाव सम्भव भएको थियो।
चुनावको अनुगमन गर्ने उद्देश्यले कार्टरले सन् २००८ को अप्रिल ६ देखि १४ सम्म काठमाडौं भ्रमण गरेका थिए। निर्वाचन १० अप्रिलमा भएको थियो।
कार्टर सेन्टर अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाका रूपमा नेपालमा खटिएकै थियो। सन् २०१३ को अप्रिलमा दोस्रो संविधान सभा चुनाव मात्र होइन डेढ दशकसम्म हुन नसकेको स्थानीय चुनावको वातावरण तयार पार्न कार्टर नेपाल आएका थिए। त्यस समयमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष थिए।
शान्तिका पर्याय कार्टर आफू राष्ट्रपति भएको समयमा नै सन् १९७८ मा सोभियत सङ्घसँग साल्ट २ सम्झौता गरेका थिए। त्यस समयमा अमेरिका र सोभियत सङ्घ बिचको दुरी घटाउने उनको प्रयासले संसारलाई आश्चर्य पारेको थियो। यसलाई लामो समयको शीत युद्धलाई समाप्त गर्ने एउटा प्रयासको रूपमा लिइएको थियो।
सन् १९७८ मा उनकै मध्यस्थतामा ‘क्याम्प डेभिड एकोड’ को रूपमा इजरायल र इजिप्टको बिचमा सम्झौता भएको थियो। सो सम्झौता मध्यपूर्वको शान्ति स्थापनामा कोशेढुंगा मानिन थालिएको हो।
सन् १९७७ मा पनामा क्यानल अमेरिकाले मनामालाई हस्तान्तरण गरेको थियो। मानव अधिकारको विषयमा संवेदनशील जिम्मी कार्टरले अर्जेन्टिना, दक्षिण कोरिया, दक्षिण कोरिया र जिम्बाबेमा भएको मानव अधिकार हननको विषयमा बारम्बार चासो दिएका थिए।
संसारमा बढ्दै गएको रोगको प्रकोपको विषयमा पनि कार्टर त्यत्तिकै संवेदनशील थिए।
सन् १९८२ मा स्थापित कार्टर सेन्टरले इथियोपिया, इरिट्रिया, उत्तर कोरिया, लाइबेरिया, हाइटी, बोस्निया, सुडान, भेनेजुएला र धेरै पश्चिमका देशमा समेत शान्ति स्थापना गर्नमा मध्यस्थताको भूमिका निर्वाह गरेका थिए।
दशकौँसम्म जिम्मी र उनकी श्रीमती रोजलाइन कार्टर मानवीय सेवामा समर्पित भए। प्रजातन्त्र र मानव अधिकार तथा मानवीय सहयोगमा समर्पित भएका कारण नै सन् २००२ मा जिम्मी कार्टरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।
गरिब र बास नभएकाका लागि घर निर्माण कार्यमा समेत जिम्मीको नेतृत्वमा रहेको कार्टर सेन्टर सक्रिय थियो। ३० वर्षको समयमा कार्टर सेन्टरले १४ देशमा ४४ सय बढी घर निर्माण गर्ने काम गरेको थियो।
सन् १९८२ मा स्थापित कार्टर सेन्टरले संसारका ८० देशमा चासो दिएको छ। यसरी चासो दिइएका देशमा शान्ति स्थापना र स्वास्थ्य क्षेत्रमा आफूलाई सक्रिय राखेको छ। सोही कार्टर सेन्टरले धेरै युद्धरत देशमा युद्धको अन्त्य तथा शान्ति स्थापनाका लागि काम गरेको छ भने केही देशमा भने स्वास्थ्यको क्षेत्रमा काम गरेको छ।
चाँदमा सन् १९९० को दशकमा गुयना किरासम्बन्धी रोग देखा परेको थियो। सोही रोगले त्यहाँ उत्पन्न समस्यालाई निराकरण गर्न उनी सधैँ सक्रिय रहे। सन् २०१२ मा सो रोगबाट चाँद मुक्त भएर नै छाड्यो। चाँद मात्र होइन मध्य अफ्रिकाका धेरै देशमा त्यस समयमा सो रोगको प्रकोप थियो। त्यसै रोगसँग मुकाबिला गर्ने सवालमा कार्टर सेन्टर सहयोगी बनेको थियो।
कार्टर सेन्टरले संसारका धनी देशमा काम नगरेको पक्कै होइन। संयुक्त अरब इमिरेट्स र न्युजिल्यान्ड जस्ता देशमा समेत कार्टर सेन्टरले काम गरेको थियो। युएईमा मानसिक स्वास्थ्य विषयमा काम गरेको थियो। तर पनि निम्न तथा मध्यम आय भएका देशको विकास र शान्ति स्थापनामा सक्रिय जिम्मी कार्टरले नेपालको भौगोलिक परिवेश समेत बुझेका थिए। त्यहाँको समस्यासँग प्रत्यक्ष साक्षात्कार गरेका थिए।
जुन समय जर्जियामा पृथकतावादी बहस चली रहेको थियो, त्यसै समयमा कार्टर हुर्किएका थिए। सधैँ विभेदको विरुद्धमा रहेका उनका लागि मानवीय संवेदना नै प्रमुख विषय थियो।
मार्टिन लुथर किङ र महात्मा गान्धीबाट प्रभावित उनको जीवन अमेरिकाको तत्कालीन समयको सामान्य किसानबाट सुरु भएर संसारमा युद्धबाट प्रताडित भएका तथा निम्न तथा मध्यम आय भएका व्यक्तिकै स्वास्थ्य र जीवनको खुसीका लागि समर्पित भएर आइतबार सकिएको छ।
स्रोत : बिबिसी, काटैर सेन्टर र जर्ज मेसन विश्वविद्यालय
प्रतिक्रिया