दाङका थारु बस्तीमा माघीको चहलपहल  | Khabarhub Khabarhub

दाङका थारु बस्तीमा माघीको चहलपहल 


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देउखुरी– माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । 

यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका बिपना चौधरीले बताइन्। उनका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ ।

‘माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउनेरपिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ’, विपनाले भनिन्, ‘ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल ९जाँड० र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।’

पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उनले जानकारी दिइन्। 

थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताए। वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उनले जानकारी दिए । 

मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि यो पर्व महत्त्वपूर्ण रहेको बताए। थारु समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् । दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उनले उल्लेख गरे। 

थारु समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । 

खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्टाइने गरिन्छ । 

‘छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्‍याउने प्रचलन छ’, महतवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुने घोराही–६ का रामचरण चौधरीले बताए। 

माघ महोत्सवको तयारी 

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका–६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ । 

थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा गत वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं घोराही–१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिए । 

महोत्सवको थप तयारी तथा व्यवस्थापनका लागि समाजसेवी तथा थारु अगुवा घोराही–१७ ओखरा निवासी मोहनलाल चौधरीको संयोजकत्वमा ३५ सदस्यीय उपसमिति, वीरेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपी चौधरीको संयोजकत्वमा ३५ सदस्यीय स्वयंसेवक उपसमिति र अतिथि सत्कारका लागि ओखरा टोल विकास संस्थालाई जिम्मेवारी दिने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए । 

थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताए।

महोत्सवमा थारु परिकार, थारु समुदायको हस्तकला, थारु संस्कृति झल्कने भाषा, वेशभूषालगायत सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिए ।

 उनले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चितताका लागि महोत्सवमा थारु समुदायको सशक्त उपस्थिति रहने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १ : ४४ बजे

नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान – आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै

अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा

फाप्ला – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रको विजयी सुरुआत

पोखरा – पोखरा रंगशालामा जारी २४ औं आहारारा पोखरा गोल्डकप

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको