बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास « Khabarhub

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् ।

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् । अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए ।

त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहेकी सुकुमाया सिङतानको पीडा पनि कम छैन । भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेकी उनले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताइन् ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ ।

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुला आकासमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उनीहरू बताउँछन् । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए ।

‘अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिए पनि उनीहरूसँग एक टुक्रा आफ्नो भन्ने जमिन छैन’, अध्यक्ष थिङले भने, ‘जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरूवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।’

अहिलेसम्म पनि सङ्घीय सरकारले अस्थायी घर निर्माण गर्न दिने भनेको ५० हजार रुपैयाँ र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए ।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ । जहाँ विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ३५ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न