तनहुँको १६२ हेक्टर वन क्षेत्रमा डढेलो  | Khabarhub Khabarhub

तनहुँको १६२ हेक्टर वन क्षेत्रमा डढेलो 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा गत चैतयता १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ । यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घटना भने भइरहेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठले यस अवधिमा जिल्लाका विभिन्न १२ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए । उनले यसबारे एकीकृत विवरण सङ्कलनको काम भइरहेको बताए ।

वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लास्थित दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ । उनले भने, ‘स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्य राखेर सचेतना फैलाउने काम निरन्तर भइरहे पनि वर्षैपिच्छे डढेलोका घटना बढिरहेकै छन् । यसमा हामी सबै चिन्तित छौँ ।’

जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ भने दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन र छवटा धार्मिक वन रहेका छन् ।

गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको र सो कार्य मानवीय असावधानीकै कारण भए पनि त्यसमा सङ्लग्नको पहिचान गर्न नहुँदा कारबाहीको दायरामा ल्याउन नसकिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

यहाँ घर नजिकैको पातपतिङ्गर सफा गर्ने नाममा जलाउने, गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने प्रवृत्ति कायमै छ । त्यसलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम गरिए पनि त्यसको प्रतिफल आउन सकेको छैन । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सब डिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसक्रममा वनमा अग्निरेखा बनाउने, पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चीज लिएर वनमा नजाने, सुकेका र ढलेका रूख तथा हाँगाबिङ्गा सुक्खा मौसम अगावै हटाउने विषयमा सामुदायिक वनका उपभोक्तालगायतलाई सचेत गराउने गरिन्छ ।

‘गर्मी मौसममा बिँडी, चुरोट खाएर ननिभाई  फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ’, श्रेष्ठले भने, ‘गोठालो तथा केटाकेटीहरूले मनोरञ्जनका लागि वनमा आगो बाल्ने, वन नजिकका खेतबारीमा झारपात जलाउने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन् । यसतर्फ सचेत हुनुपर्छ भनेर जानकारी दिइरहेकै छौँ ।’

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । वन ऐनमा  राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा  ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : १६ बजे

श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई (तस्बिरहरू)

काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धूमधामका साथ मनाइँदै छ

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू

संसदीय समितिले कहाँ पुर्‍यायो शिक्षा विधेयक ?

काठमाडौं– विद्यालय शिक्षा विधेयक, २०८० अहिले प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य

समृद्धिको यात्रामा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर

काठमाडौं- ठमेलमा रहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले एलओडीले छ