‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’ | Khabarhub Khabarhub

बहस

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

कांग्रेस–कम्युनिस्टबीच फरक छुट्याऊँ, विकृत गठबन्धनबाट मुक्ति पाइन्छ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

०६३ सालको बैशाख ११ गते शाही घोषणा भइसकेपछि महाराजगञ्जस्थित गिरिजाप्रसाद कोइराला बस्ने गरेको घरमा सबै नेताहरु जम्मा हुनुभएको थियो । नेताहरुबीच सरसल्लाह भइसकेपछि एकजना नेता बाहिर जम्मा भएको ठूलो हुललाई हामीले के कुरामा समझदारी गर्‍यौं भनेर पढ्न उभिनुभयो । त्यहाँ आएको हुलले त्यो कुरा सुन्नै चाहेन, त्यो हुलले धेरै फरक कुराहरु सुन्न चाहेको थियो । त्यसपछि मैले अनुरोध गरेर त्यो सात दलले हस्ताक्षर गरेको सम्झौता लिएँ र त्यो पढ्नलाई उभिएँ ।

मैले त्यो सम्झौता पढ्दै गर्दा थुप्रै कुराहरु आफैं थप्दै पढें । हामी संविधानसभामा जानेछौं । हामी गणतन्त्र ल्याउनेछौं, जे–जे भन्दाखेरि तलको ‘मास’ले मान्थ्यो, मैले थप्दै थप्दै पढिरहेको थिएँ, ताली बज्दै गयो । त्यसपछि त्यो भीडलाई घुमाउँदै रत्नपार्कसम्म ल्याएको म सम्झन्छु ।

त्यसको केही दिनपछाडि सिंहदरबार बाहिर पृथ्वीनारायण शाहको शालिक भत्काउनैपर्छ भनेर माओवादीसँग सम्वद्ध केही युवा साथीहरु त्यहाँ भेला हुनुभएको थियो । यो शालिक भत्काउन हुँदैन र कुनै हालतमा भत्काउन दिइँदैन भनेर पछि उहाँहरुलाई केही सम्झाएर, केही भिडेर भत्काउन नदिएको पनि म सम्झन्छु । ०६३ सालको जेठतिरको कुरा हो । हामी हामी ०८२ सालको जेठमा छौं ।

यो करिब २० वर्षको यात्रामा हामीले धेरै उतार–चढावहरु देख्यौं । हामीले उतार–चढावहरु संविधानसभाभित्र देख्यौं, बाहिर देख्यौं । संस्थाहरु भित्र र बाहिर देख्यौं । आन्दोलनपछिको यात्राका क्रममा अब यो यात्रा दुर्घटनातर्फ गयो–गयो, डिलबाट झर्‍यो–झर्‍यो भन्ने पनि देखेको छु । तर, जोगिएर आयो । यसको समष्टिरुपलाई हामीले गणतन्त्र भन्यौं ।

गणतन्त्र राजमार्ग हो, सेलिब्रेट गर्नुपर्छ

आज जुन गणतन्त्र भनेर हामीसँग छ, यो सेलिब्रेट गर्ने कुरा हो । हामीजस्तै अवस्थाबाट निस्केका थुप्रै देशहरुले आफूलाई सम्हाल्न नसक्दाखेरि यात्रा अगाडि बढाउनै सकेनन् । हामी चुकेनौं र सम्हाल्दै यहाँसम्म ल्याएका छौं ।

हामीले एउटा राम्रो हाई–वे (सडक) बनाएका छौं । यो हाई–वे बनाएको कुराको अपनत्व पनि लिनुपर्छ, यसमा गौरव पनि गर्नुपर्छ, यसमा सन्तोष पनि व्यक्त गर्नुपर्छ र अरुलाई बताउनु पनि पर्छ । नौजवान र नयाँ पुस्तालाई बताउनुपर्छ, यो हाइ–वे बनाएको हो, रोजेको हो र यही हाई–वेबाट देश अगाडि बढाउनुपर्छ, बढ्छ ।

यहाँ प्रश्न उठ्यो, हाई–वेको एउटा लेनमा हामी दौडेका छौं, अर्को लेनमा चाहिँ अर्कै कुरा दौडिएको छ भन्ने कुरा आयो । तर, हामीले के बताउनुपर्छ भने यो हाई–वेमा गाडीहरु छन्, त्यो गाडीमा गडबडी छ । त्यो गडबडी सच्यायो भने गाडी रहन्छ, सच्याएन भने गाडी सकिन्छ । हाई–वेको नियमै यही हो ।

गाडीको गडबडीमा सबैभन्दा ठूलो समस्या त्यसको चालकमा छ । जसले चालक फेर्छ, उसको गडबडी सचिन्छ, जसले चालक फेर्दैन, उसको गडबडी बढ्दै जान्छ । समस्या त्यो गाडीमा हो । समस्या त्यो चालकमा हो ।

यसलाई हिजोको दिनसँग किन तुलना गर्न सकिँदैन भने हिजो हाई–वे नै थिएन । गाडी नै थिएनन् । हाई–वे नभएको हुनाले गाडी थिएन । गाडी नभएको हुनाले गाडीको दोष देखिने कुरै भएन । यो हाई–वेका बारेमा हामीले यसलाई सेलिब्रेट गर्नुपर्छ भन्ने विश्वासका साथ सम्वाद गर्दै जाने कुरामा हामी कहीँ न कहीँ अनावश्यक ढंगले रक्षात्मक भएका छौं भन्ने लाग्छ ।

प्रश्नको मृत्यु भएको छैन

समस्याहरु छन् । प्रश्नहरु छन् । एकदमै छन् । भ्रष्टाचारको समस्या छ । कुशासनको समस्या छ । यस विषयमा कुरा गर्न सकिन्छ । तर, सँगसँगै यो पनि त भन्दै जानुपर्‍यो नि, घनश्याम दाइले भनेजस्तो हिजो राजाका पालामा जस्तोखालको फुर्मास( फजुल खर्च) हुन्थ्यो, अहिले नेताहरुले त्यस्तै गर्दैगर्दा के जवाफ दिने भन्ने सन्दर्भमा म के भन्छु भने हिजो महाराजधिराजले फुर्मास गरिबक्स्यो, असाध्यै राम्रो गरिबक्स्यो भनिन्थ्यो भने अहिले नेताहरुलाई तिम्रो फुर्मास बदल, नभए तिमीलाई बदल्छु भन्ने हिम्मत त गरेका छौं ।

यो पनि-

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं 

समस्या छ, भ्रष्टाचार छ, खराब कामहरु भइरहेका छन् । तर, त्यसमाथि प्रश्न पनि छ । संवैधानिक संस्थादेखि, अदालतदेखि यावत क्षेत्रमा समस्या छ । यहाँ सपनाको मृत्यु भयो भन्ने कोणबाट पनि डा. महेश मास्केले कुरा उठाउनुभयो । तर, प्रश्नको मृत्यु भएको छैन । प्रश्नहरु छन् । त्यसकारण बर्बाद भयो र सक्कियो भन्ने अवस्था आएको छैन ।

पुराना अनुहार हटेकै दिन आन्दोलन सकिन्छ

हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्‍यौं । हामीले पार्टीमा काम गर्ने भएकाले पार्टीको कुरा गर्नैपर्छ । लोकतन्त्रान्त्रिक गणतन्त्रको आधारभूत इकाई भनेको राजनीतिक दल नै हो । अहिले समस्या भनेको राजनीतिक दलभित्र विरलै मात्र यस्तो हुन्छ होला, जहाँ यत्ति लामो समयसम्म समाजले अस्वीकार गरेको, एउटै अनुहार एउटै भूमिकामा रहँदै आएका छन् । मेरो विचारमा यस्तो विरलै हुन्छ । हाम्रो लोकतन्त्रको सबैभन्दा ठूलो समस्या यो हो ।

मैले त खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरुलाई म आदरका साथ पुनः दोहोर्‍याएर भन्छु– आजको दिनबाट आ–आफ्नो दलबाट विश्राम लियौं भन्नुभयो भने आजै बेलुकाबाट यो आन्दोलन–सान्दोलन घर फर्कन्छ, केही बाँकी रहँदैन ।

यसको अर्थ सबै सुध्रिन्छ भन्न खोजेको होइन । त्यो भन्दा धेरै गहिरो र व्यापक समस्याहरु छन्, त्यसैले जादु हुने होइन । तर, त्यो ( नेताको बहिगर्मन) हाम्रो सन्दर्भमा आवश्यक भयो । हामी त यो ठानेर के निष्कर्षमा पुगेको हो भने यो आवश्यकतालाई पूरा नगरिकन बाँकी समस्या समाधान गर्नै सकिँदैन भन्ने ठाउँमा पुगेका हौं । त्यसैले यसलाई बदल्ने प्रयास गर्नुपर्छ ।

हामीलाई के लाग्छ भने भएन र सकिएन भन्ने निष्कर्ष सुनाइदिने कि भएन, त्यसकारण यसलाई बदल्नुपर्छ भन्नेतिर जाने ? त्यहाँ(पार्टी)भित्र निरन्तर लडाइँ चलिरहेको छ, त्यसलाई बदल्छन् र बदलिन्छ भन्ने कुरालाई पनि सँगसँगै लिएर जानुपर्छ ।

फरक छुट्याउँ, विकृत गठबन्धनबाट मुक्ति पाइन्छ

दलभित्र अर्को छलफल गर्नुपर्ने कुरा छ । हाम्रा केही साझा कुराहरु छन् । साझा कुराहरुको बारेमा हामी एक ठाउँमा छौं । तर, हाम्रा भिन्न कुराहरु पनि छन् भन्ने मानौं । घनश्याम भुसालले नेपाली समाजलाई हेर्ने दृष्टिकोण र मेरो दृष्टिकोण एउटै छँदै छैन, हुनु पनि हुन्न । नभएको कारणले गर्दा हामी भिन्न–भिन्न दलहरुमा छौं ।

नेपाली समाजको शिक्षामा समस्या छ । नेपालको स्वास्थ्य क्षेत्रमा समस्या छ । नेपालको ठूलो समस्या बेरोगजारी हो भन्नेमा हामी दुबैजना सहमत छौं । तर, नेपालमा रोजगारी कसरी सिर्जना गर्ने हो, मोडालिटीबाट रोजगारी ल्याउने हो भन्ने कुरामा हाम्रा भिन्न–भिन्न दृष्टिकोणहरु छन् र न हामी यो दृष्टिकोणचाहिँ अब्बल हो भनेर जनतामा लिएर जान चाहन्छौं । र, त्यसका आधारमा जनमत निर्माण गर्न चाहन्छौं ।

हामी केमा फस्यौं भन्ने लाग्छ भने हामी एउटै हौं, हामी एकै ठाउँबाट आएको, एउटै मूलको, पानी खाएको, त्यसकारणले गर्दा हामी एउटै हो भन्ने कुराले गर्दा हामी रामकुमारी झाँक्रीले भनेजस्तै हामी ‘डि–पोलिटिसाइज्ड’ भयौं । तर, हामी एउटै होइनौं । हामी फरक हौं ।

यो फरक हो भन्ने कुराले कहाँ लिएर जान्छ भने यो विकृत गठबन्धनको राजनीतिक संस्कृतिले हामीलाई थिचेको छ, त्यसबाट बाहिर निकाल्छ । अब त कतिपय नेताहरुले के भन्न थाल्नुभएको छ भने ०८४ सालमा दल पनि नचाहिने भयो । दलको कुनै विचार नै चाहिएन । दल बनाउन मिहेनत पनि गर्नुपरेन । खाली एउटै कुरा– कोसँग मिल्ने हो, कसलाई ढाँट्ने हो ।

किनभने, शुरुदेखि नै विश्वास र भरोसा टुटेको अवस्था भयो । यसबाट बाहिर निकाल्नका लागि मेरो आग्रह के छ भने राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र मात्र होइन, राजनीतिक दलभित्र शुद्धता चाहिन्छ । हाम्रो दल के हो ? हामी को हौं ? हाम्रो परिचय के हो ? हाम्रो सीमा के हो ? हामी कोसँग कहाँनेर छुट्टिन्छौं ?

नयाँ पुस्ताका साथीहरुले यहाँ घनश्याम भुसाल, म, ठाकुर गैरे, रामकुमारी झाँक्रीलाई राखेर परबाट हेर्दैगर्दा आन्दोलनका सहयात्रीहरु एउटै देख्ने कुरा त हो । हाम्रा केही आधारभूत मूल्य मान्यताहरु एउटै छन् । तर, नेपाली समाजलाई कसरी अगाडि बढाउने भन्नेबारेमा हाम्रा भिन्न–भिन्न मतहरु छन् भन्ने नयाँ पुस्ताले थाहा पाउनुपर्छ । उनीहरुले सुन्नुपर्छ, बुझ्नुपर्छ र हाम्राबीचमा प्रतिस्पर्धा हुनुपर्छ । यो नहुँदै गर्दा उनीहरुले हामीलाई एउटै बास्केटमा हालिदिएका छन् । अनि हामी एउटैजस्तो देखिएका छौं । यो एउटा समस्या हो भन्ने मलाई लाग्छ ।

ज्ञानेन्द्रले मैदानमा आएर जवाफ दिनुपर्छ

नेपाली कांग्रेसमा म विद्यार्थी राजनीतिमा लामो समयसम्म रहँदै गर्दा नेपाली कांग्रेसले संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्था दुईवटा पिल्लरहरु छन् र यसबाट अगाडि बढ्ने भन्ने कुरालाई नेपाली कांग्रेसले खाली कार्यनीतिक कुरामात्र होइन, विश्वासको साथ मान्दै आएको हो । त्यसैबाट प्रशिक्षित भएर हामी कांग्रेस भयौं ।

सँगसँगै हामी के निष्कर्षमा पुग्यौं भने नेपाली कांग्रेस राजावादी भयो तर नेपालको राजसंस्था कहिल्यै पनि राजावादी भएन । नेपालको राजसंस्था चाहिँ राजतन्त्रवादी भयो । नेपालको राजसंस्था राजतन्त्रवादी भएका कारणले गर्दा नेपालको राजसंस्थालाई न हिजो, न भोलि बसैले पनि संवैधानिक बनाउनै सक्दैन ।

त्यसैले हाम्रो बहस–संवैधानिक राजसंस्था, संवैधानिक राजतन्त्र वा गणतन्त्र छान्ने भन्ने त हुँदै हुँदैन । अहिलेका राप्रपाका नेताहरुले झुक्याएर हुँदैन । कसैले यस्तो नचाहिने कुरा गरेर बरालेर भएन । हाम्रो बहस के कुरामा हो भने नेपालमा कि राजतन्त्र रहन्छ, कि गणतन्त्र रहन्छ । यीमध्ये कुन छान्ने भन्ने कुरा हो ।

अब नेपालको राजा, राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह मचाहिँ नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो चट्टापट्टाको कुरा नगरौं । सिधा–सिधा मैदानमा आउनुपर्‍यो । प्रश्नको घेरामा त ज्ञानेन्द्र पनि आउनुपर्‍यो नि । तपाई पत्रकारहरुको क्यामेरा अब हामीतिर मात्रै सोझिएर हुँदैन, त्यता (ज्ञानेन्द्र) तिर पनि जानुपर्‍यो । सोध्नुपर्‍यो । यो प्रश्नको जवाफ चाहियो, ज्ञानेन्द्रले गर्ने के हो ? ल ठीक छ, आन्दोलन पनि सफल भयो रे, ल राजतन्त्र आयो रे, त्यसपछि के ? त्यसपछिका योजनाहरु के हुन् ?

हाम्रो समस्या अहिले रोजगारीको समस्या हो । यसमा प्रस्ताव के हो ? सोचेको के हो ? हिजो दिवारभित्र बसेर तीन महिना÷चार महिनामा एउटा वक्तव्य फालिदियो, हामी त्यसमा घुम्यौं, यस्तो भनेको होला भनेर अनुमान लगाएर त्यसैको वरिपरि दौडियौं, रुमल्लियौं । हिजो राजा हुँदाखेरि त्यसो गर्ने सुविधा थियो, आज आन्दोलनकारी हुँदा त्यो कुरा गर्ने सुविधा हुँदैन । आन्दोलनकारी हुँदैगर्दा सडकमा आएर जवाफ दिनुपर्छ ।

यो जवाफ दिनुपर्छ मैले किन भनेको हुँ भने हामी एकदमै डिफेन्सिभ भयौं । हामी एकदमै डिफेन्सिभ भएर सडकमा छाडिदिएपछि के हुन्छ भने अमेरिका वा युरोप सबैतिर हेर्दा के देन्छि भने मानिस अब आजको प्रश्नको जवाफ दिँदैन र त्यसबाट भाग्न खोज्छ, उसले हिजोको सहारा खोज्छ । ‘गोल्डेन पास्ट’ (सुनौलो विगत) भन्छ । नौजवानलाई कत्ति सजिलै भनिदिएको छ कि मेक अमेरिका ग्रेट अगेन भनिदिएजस्तो मेक नेपाल ग्रेट अगेन भनिदिएपछि । नेपाल कुनैबेला एकदमै ग्रेट थियो भन्नेतिर लगेपछि त अहिलेका हामी त झुर भइहाल्यौं ।

हामीचाहिँ यहाँभित्र प्रतिस्पर्धा गर्नुपर्ने, प्रश्नहरुको सामना गर्नुपर्ने, अनि म नेपालमा राजतन्त्र स्थापना गर्छु र म त्यसको नाइके हुँ भन्नेले चाहिँ कुनै प्रश्नको सामना गर्नु नपर्ने ? आनन्दले बस्नुपर्ने ? नेपालको मिडियाले पनि उनीहरुलाई प्रश्न गर्नु नपर्ने ? प्रश्न सधैं यतातिर मात्रै हुने ? यो कोणबाट पनि बहसलाई लिएर जान आवश्यक छ ।

हिजो भन्दा आज के राम्रो छ भन्नेतिर जाँदा हिजो यतिवटा टेलिभिजन थिए, आज यतिवटा छन्, हिजो यति बिजुली थियो, आज यतिवटा छन् भनेर आँकडा पढेर यसले हामीलाई कहीँ पुर्‍याउँदैन । आजका यी समस्या छन् र यसको समाधानको विषयमा हामीबीच प्रतिस्पर्धा छ भनेर लाग्नुपर्छ ।

कांग्रेसमा प्रधानमन्त्री चलाउन सक्ने दर्जनौं छन्

मेरो पार्टीको सभापति १२/१५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने समझदारी छ । म के विश्वास गर्छु भने मेरो पार्टीभित्र उहाँभन्दा अरु दर्जन राम्रा मान्छे प्रधानमन्त्री चलाउन सक्छन् भन्ने कुरामा म विश्वास गर्छु । म त्यसको निम्ति प्रयास पनि गर्छु ।

तर, म खेलको नियम पनि मान्छु । भएन भने फेरि प्रयास गर्छु । मन नपरेर भनेको हैन, हाम्रो त दाइ–भाइको सम्बन्ध हुन्छ, एकदमै मन पर्ने कुरा भइहाल्यो । तर, उहाँसँग भन्दा बढी हामी आजको समस्या बुझ्न सक्छौं, समाधान दिन सक्छौं र समस्याको हल हामीसँग छ भन्ने मानेर हो नि त ।

(शनिबार पाटनढोकामा नागरिक अगुवाहरुले आयोजना गरेको ‘गणतन्त्र नै सहि बाटो’ विषयक सम्वादमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा व्यक्त विचारको सम्पादित अंश)

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ४६ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन