नख्खु बाढीपीडित गाडीधनीले सवा करोड क्षतिपूर्ति मागेपछि... | Khabarhub Khabarhub

उपभोक्ता

नख्खु बाढीपीडित गाडीधनीले सवा करोड क्षतिपूर्ति मागेपछि…

उपभोक्ता अदालतमा मुद्दा, बाहिरै मिलापत्र !


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ऋणधन गरेरै भए पनि गाडी चढ्ने’ आकाङ्क्षा पालेका मध्यमवर्गीय परिवारको सङ्ख्या नेपालमा बढ्दैछ । चारपाङ्ग्रे सवारीसाधन खपतको यो बढ्दो बजारमा दर्जनौँ कम्पनीहरूले आफ्ना उत्पादन बेचिरहेका छन्‌ ।

ती मध्ये एक हो – जापानी कम्पनी सुजुकी ! दक्षिणी छिमेकी भारतमा कम्तिमा तीनवटा प्लान्ट राखेर सवारीसाधन उत्पादन गरिरहेको सुजुकीले नेपालको अटोबजार छाड्ने कुरै भएन ।

नेपालमा यहाँका एकमात्र डलर अर्बपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुप अन्तर्गत सीजी मोटोकर्पले सुजुकीका गाडी बेच्छ । सीजी मोटोकर्पको आधिकारिक शोरुम शाखा सूर्य अटोमोबाइल्स प्रा.लि. थापाथली पनि एक हो ।

यही सूर्य अटोमोबाइल्सलाई ६२ लाख ६९ हजार रुपैयाँ तिरेर वि.सं. २०८० माघ ७ गते सुजुकी ग्रान्ड भिटारा खरिद गरेका रामसागर यादवले अनेक सास्ती ब्यहोरे । उपभोक्ता अदालतसम्म पुगे ।

यादवले यो उजुरी गाडी किनेको १४ महिनापछि अर्थात्‌ २०८१ चैत ३ गते उपभोक्ता अदालतमा बिक्रेताविरुद्ध उजुरी हालेका थिए ।

६२ लाख ६९ हजार रुपैयाँ बराबरको गाडी किन्दा बिक्रेताको लापरवाहीबाट आफूलाई एक करोड २५ लाख ७२ हजार ३४५ रुपैयाँ सात पैसा क्षति भएको सवारीधनी यादवले उपभोक्ता अदालतमा चढाएको उजुरीपत्रमा उल्लेख छ ।

भएको के थियो ?

उजुरीकर्ता रामसागर यादव (४४) सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ स्थायी घर भइ ललितपुर महानगरपालिका-१८ मा बसोबास गर्छन्‌ । उनै यादवले मारुती सुजुकीको तत्कालीन आधिकारिक सोरुम सूर्य अटोमोबाइल्सबाट गाडी खरिद गरेका थिए ।

किनेको आठ महिनापछि २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षा पछिको बाढीमा उक्त गाडी डुब्यो ।

यादवको घर सिद्धी विनायक टोलको नख्खु करिडोरमा पर्छ । नख्खु खोलामा आएको बाढी त्यतिखेर करिडोरको बस्तीभित्रसम्म पसेको थियो । दर्जनौँ गाडी बाढीमा डुबेका थिए ।

बाढीले गाडी डुबाए पनि यादव त्यति चिन्तित थिएनन् । किनकि गाडीको बीमा गरेकै थिए । गाडीको पूर्ण बीमा अध्यावधिक समेत गराएका थिए ।

नख्खु खोलामा लेदोसहित आएको बाढी डुबानमा परेको गाडी चलेन । बीमा र मर्मत प्रयोजन निम्ति यादव प्रहरी प्रभाग बुङ्गमती पुगे । प्रभागले स्थानीयको रोहवरमा निरीक्षण गरी प्रतिवेदन तयार पारिदियो ।

त्यसपछि यादव अध्यावधिक बीमाको करारनामा र वारेन्टीसहित गाडी सट्टाभर्ना फिर्ता गरिदिन डल्लुस्थित सुजुकी सर्भिस सेन्टरमा पुगे । डुबानमा परेको दुई दिनपछि असोज १४ गते सुजुकी सर्भिस सेन्टरले सर्भिसिङ, निरीक्षण, परीक्षण र मर्मत गरिदिने भन्दै यादवको गाडी लग्यो ।

यादवले उजुरीपत्रमा उल्लेख गरेअनुसार; सुजुकी सर्भिस सेन्टरले जसै गाडी लग्यो, मर्मत निम्ति वहानाबाजी गर्न थाल्यो ।

सर्भिस सेन्टरले यस्तो गरेपछि यादवले सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पलाई नै गुहारे । कम्पनीका नेशनल म्यानेजर सरोज खड्काले २०८१ फागुन २६ गते उक्त गाडीको ७० प्रतिशत इञ्जिन पार्ट व्यवस्थापन भइसकेको, बाँकी ३० प्रतिशत भारतबाट मगाउँदै गरेको बताए । गाडी मर्मतमा उप्रान्त ढिलाइ नहुनेसमेत बताएका खड्कासँगको संवाद यादवले ह्वाट्सएपमै रेकर्ड गरेका थिए ।

तर, पटकपटक भाखा राखी आलटाल गरी कहिले एउटा त कहिले अर्को कुरा गर्दै भाका सार्दै गरेकाले आफूले आफ्नै गाडी सदुपयोग गर्न नपाएको भन्दै यादव उपभोक्ता अदालत पुगे । अदालतलाई यादवले सीजी मोटोकर्पका नेशनल म्यानेजर खड्कासँगको संवादको छायाँप्रति समेत बुझाए ।

यादवले उजुरीपत्रमा लेखेका छन्, ‘एउटै कम्पनीको उत्पादक, वितरक र सेवा प्रदायकले मूल्य लिइ गाडी पनि उनीहरूकै कब्जामा राखी म एक उपभोक्तामाथि अनुचित कार्य गरी ठगी गर्नुभएको हुँदा निजहरू उपर कारबाही गरी मैले क्षतिपूर्ति पाउने स्पष्ट छ ।’

गाडी लिन यादवले काढेका थिए ऋण

उक्त गाडी किन्न यादवले नेपाली सेनाको सुविधा तथा सहुलियत महाशाखा, सैनिक कल्याणकारी निर्देशनालयबाट २० लाख रुपैयाँ कर्जा समेत लिएको उजुरीपत्रमा उल्लेख गरेका छन्‌ ।

‘…निर्देशनालयबाट २० लाख रुपैयाँ कर्जा लिइ ४२ लाख ६९ हजार मेरो तथा मेरो बुवाको आय-आर्जनबाट भएको बचत, जीवन बीमा परिपक्व भएको रकम, नागरिक लगानी कोषमा रहेको अवकाश बचत वृद्धि कोषको रकम, श्रीमतीको गरगहना समेत राखी गाडी खरिद गरेको हुँ’, उजुरीपत्रमा उल्लेख छ ।

उजुरी दिँदाका बेलासम्म आफूले गाडी खरिद गर्न लिएको कर्जाको ब्याज र किस्ता तिरिरहेको, तर गाडी भने बिक्रेता र सर्भिस सेन्टरकै कब्जामा रहेको यादवले उजुरीपत्रमा लेखेका छन्‌ ।

अगाडि लेखिएको छ, ‘निजहरूको यस किसिमको ठगी कार्यबाट मेरो घर व्यवहार र अफिसको काममा समेत महँगो भाडाको गाडी प्रयोग गर्न बाध्य बनाइएको अवस्था छ ।’

आफ्नो गाडी उचित सरसफाइ नगरी पाँच महिनाभन्दा बढी समयसम्म थन्क्याएर राखेको, इञ्जिन लगायत फलामजन्य पाटपूर्जामा खिया लागी क्षति भएको र विपक्षीहरूले आफ्नो लापरवाहीयुक्त कार्य ढाकछोप गर्न आफ्नो इजाजत नै नलिइ गाडीको इञ्जिन खोली पुनःबिक्री मूल्य (रिसेल भ्याल्यू) नै घटाइदिएको यादवले जनाएका छन्‌ ।

सवा करोड क्षति !

चौधरी मोटोकर्पको आधिकारिक शोरुमबाट ६२ लाख ६९ हजार रुपैयाँमा गाडी किनेका यादवले उपभोक्ता अदालतमा चढाएको उजुरीपत्रमा आफूलाई एक करोड २५ लाख ७२ हजार ३४५ रुपैयाा सात पैसा क्षति पुगेको उल्लेख गरे ।

उनले विपक्षीहरूको लापरवाहीपूर्ण कार्यबाट आफूलाई विभिन्न ११ शीर्षकमा आर्थिक, भौतिक र मानसिक क्षति पुगेको विवरण उजुरीपत्रमा लेखेका छन्‌ ।

कर्जाबापत्‌ २० लाख रुपैयाँ, उजुरी दिँदाका बेलासम्म तिरेको किस्ता रकम तीन लाख २२ हजार रुपैयाँ, नगद ४२ लाख ६९ हजार, गाडी नहुँदा प्रयोग गरेको यातायात खर्च पाँच लाख, घरपरिवारले गाडीको अभावमा तिरेको यातायात खर्च तीन लाख, आफ्नो तथा घरपरिवारको मानसिक क्षति ५० लाख, पहिलो बीमामा तिरेको ६६ हजार ५१९ रुपैयाँ ८७ पैसा, दोस्रो बीमामा तिरेको रकम ६० हजार ३२५ रुपैयाँ २० पैसा, गाडीको अध्यावधिक गराउँदा लागेको खर्च २६ हजार रुपैयाँ, दोस्रोपटक गाडीको अध्यावधिक गराउँदा लागेको खर्च २८ हजार ५०० रुपैयाँ र अन्य पारिवारिक खर्चको क्षति पाँच लाख रुपैयाँ भएको उजुरीपत्रमा उल्लेख छ ।

यादवले उल्लेख गरेको उक्त क्षति बराबरकै रकम विपक्षीबाट दाबी गरेका हुन्‌ ।

मुद्दा परेपछि बाहिरै मिलापत्र

उपभोक्ता अदालतमा मुद्दा हालेपछि कम्पनीले आफूसँग मिलापत्र गरेको उजुरीकर्ता रामसागर यादवले खबरहबलाई बताए ।

‘व्यक्तिगत हिसाबले बाहिरै मिलापत्र भइसक्यो’, यादवले भने, ‘गाडीको पाटपूर्जामा इस्यू भएको थियो, बीमा कम्पनीले नब्यहोर्ने क्षति गाडी बिक्रेताले नै ब्यहोर्‍यो । अहिले त गाडी पनि दिइसक्यो ।’

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ५२ बजे

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका

लचिलो एमाले बन्छ र वामएकता गर्ने प्रतिबद्धता हुन्छ भने विद्या भण्डारीलाई समर्थन छ- झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित

नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण

काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले