महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै « Khabarhub

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादशैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ । फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आआफ्नो भाकलअनुसार शक्तिपीठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ ।

आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन् । यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन् । दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो । यो क्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ । देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरुप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।

मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपीठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रीको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ ।

हाल महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास–१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ । ‘खोइँछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दशैँको  सप्तमीदेखि नवमी तिथिभर ‘खोइँछ’ भरिने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू पनि ‘खोइँछ’ भर्न लामबद्ध छन् ।

‘खोइँछ’ भरिँदा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउँछन् ।

‘खोइँछ’ भरिनेक्रमसँगै बडादशैँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै  यी ठाउँ (देवीस्थल)मा बलि दिनेक्रम सुरु भएको छ । फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेसका जिल्लाका साथै छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् । (रासस)

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ११ : ५४ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००